logo
२०७७ श्रावण २३ शुक्रवार

कोरोना आख्यानको अर्को आयाम

विचार/दृष्टिकोण |




डा. अतीन्द्र दाहाल

संसारभर कोरोना भाइरस (कोभिड १९) को भय उत्कर्षमा छ । गत डिसेम्बरमा छिमेकी मित्रराष्ट्र चीनको वुहानलाई इपिसेन्टर (केन्द्र) बनाएर प्रकट यस प्रकोपले अहिले आम विश्व र विशेषतः युरोप तथा पश्चिमा राष्ट्रहरू निकै ग्रस्त, कोलाहल अनि कुँजिएका छन् । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिएपछि विश्वव्यापी ‘लकडाउन’ले शून्यता, सन्नाटा र सन्त्रास व्याप्त छ ।
नियमित अद्यावधिक गरिएका तथ्यांक तथा पछिल्ला सर्वेक्षणका अनुसार अफ्रिका र दक्षिण एसियाका देशमा तुलनात्मक कम संक्रमण देखिन्छ तर अवस्था नियन्त्रण बाहिर जानसक्ने सम्भावनालाई भने नकार्न सकिँदैन । यद्यपि आतंकित हुनुभन्दा संयमित बन्दै सचेत भएर सावधानीका उपाय अवलम्बन गर्दा यसबाट बच्न सहज नै देखिन्छ । अहिलेको अवस्थामा हदैसम्मका प्रयास प्रयोग गरेर यसको रोकथाम गर्न उच्च कौशल देखाउनु नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ । तर यस तवरका संकटलाई अत्यन्तै नयाँ तथा मानवीय कल्पना वा अनुभव बाहिरको विषय मान्नुपर्ने स्थिति चाहिँ छैन । यो विपत् विगतमा भोग्दै आएका र अधिक असहजताको अर्को एउटा नयाँ संस्करण मात्र हो ।
नयाँ संस्करण
विविध खालका यस्ता भाइरस सन्त्रास विश्वले विगतमा समेत यदाकदा बेहोर्दै आएको छ । सन् २००३ को सार्स, २००१ मा एन्थ्राक्स, २००५ मा बर्डफ्लु, २००९ को स्वाइनफ्लु, २०१४ मा इबोला, २०१६ को जीका, १९९० आसपासको एड्सलगायतका जीवाणु संक्रमण यसका अनवरत साक्षी हुन् । यी भाइरस अलिक क्षेत्रगत थिए । अहिले विश्वव्यापी रूपमा एकैपटक आतङ्क नै सिर्जना गरेको छ । विगतका अधिकांश ती संक्रमणका पनि लक्षण र विशेषता भने समान थिए ।
यसप्रकारका विपत् र महामारी नियमित तथा स्वचालित प्राकृतिक प्राक्कथन हुने कुरा थोमस रोबर्ट माल्थसबाट प्रतिपादित विख्यात माल्थसको जनसंख्या सिद्धान्तमा पनि उल्लेखित छ । लेखक डीन कोट्झको उपन्यास ‘दी आइज अफ डार्कनेस’ (सन् १९८१) मा वुहानलाई केन्द्र बनाएर ‘वुहान–४००’ नामक भाइरसको भयावह संक्रमणको अनुमान गरिएको थियो । क्लेयर नर्थको पुस्तक ‘दी एण्ड अफ द डे’ (२०१७) मा पनि यस प्रकारको आँकलन छ । आणविक तथा परमाणु कोषिका अध्ययनसम्बन्धी अनुसन्धानहरूले देखाएअनुसार कुनै न कुनै बिन्दुमा यस प्रकारका महामारी संसारभर फैलिएका छन् र हायलकायल बनाएका छन् । प्राचीन दार्शनिक सोफोक्लिसको हृदयविदारक कृति ‘इडिपक्स रेक्स’ मा राजा इडिपसको राज्यारोहण लगत्तै क्रूर महामारीबाट अधिक मानिस हताहतीको सन्दर्भ उल्लेख छ । बीसौँ शताब्दीमा अल्बर्ट क्यामुको ‘द प्लेग’ नामक कृतिमा यसको कारुणिक व्याख्या छ ।
इतिहासका अन्य कालखण्डमा पनि यस्ता कालजयी विध्वंस भए तर तिनीहरूको वैज्ञानिक र प्रयोगशाला परीक्षण सम्भव नभएका कारण छुट्टाछुट्टै पहिचान भएन । सञ्चार उद्योगको आक्रामक विस्तार नभएका कारण आम मानिससम्म सूचनासमेत पुगेनन् । इतिहासमा तिनीहरूलाई महामारी अथवा हैजा भनेर उल्लेख गरिएका उदाहरण प्रशस्त छन् । केही इतिहासकारबाट वि.सं. १८३० र १९२० मा नेपालमा समेत त्यस्ता घटना भएका लेखिएको छ । तसर्थ मानवीय अथवा प्राकृतिक कारणले यस्ता सम्भावनाहरू नियमित चक्र नै हुन् । यसबाट बच्न सावधानी र रोकथामका पूर्वतयारी नै प्रमुख सार्थकता हो । सरकारले गरेको सतर्कता क्रियाकलापलाई सबैले सहयोग र समर्थन गर्नुपर्छ । स्थिति काबु बाहिर गएमा कुनै पनि निकाय फंगसनल (कार्यप्रभावी) नहुन सक्छ । आफू सुरक्षित त जगत् सुरक्षित भन्ने आधार सत्यलाई आत्मसात् गर्नुपर्छ । चीनले यस महामारी नियन्त्रणमा सफलता पाउन अपनाएको पद्धतिबाट शिक्षा लिनुपर्छ । सतर्क, सचेत र संयमित रहँदै यसलाई परास्त गर्नुपर्छ । आफू त्यसरी नै तयार हुनुपर्छ र अरूलाई पनि सघाउनुपर्छ । यद्यपि समाचार, बहस र विश्लेषणमा केवल विज्ञान, स्वास्थ्य, जैविक हताहती तथा रोगका आधारमा मात्र कोरोनाको विषयलाई संकुचित गर्नुहुँदैन । कोरोना सन्त्रासले प्राचीन पूर्वीय सभ्यताको सशक्तीकरण उन्मुख नयाँ सामाजिक आख्यान निर्माण गर्दैछ ।
नयाँ सामाजिक आख्यान
सञ्चारलाई आजको युगको एक वरदान र मानव आविष्कारको उच्चतम उचाइ मानिन्छ । तर त्रासदीको यस समयमा आएका अनेक रूपका सूचना आतङ्क (इन्फोडेमिक्स) ले आम मानिसलाई झन् त्रसित बनाएकाले यसलाई रोक्नुपर्छ । गलत सूचना वा अफवाह, सूचनाको अभावभन्दा बढी हानिकारक हुन्छ भन्ने सन्देश यो महामारीले दिएको छ ।
यस महामारीले विश्व शक्ति मापनको सूचांकलाई पूर्ण परिवर्तन गरिदिएको छ । हुन त लेखक जोसेफ एस. न्येले पुस्तक ‘सफ्ट पावरः द मिन्स टु सक्सेस इन वल्र्ड पोलिटिक्स’ बाट नै यसको उद्घोष गर्नुभएको थियो । तर अहिले आएर संसारले राम्रोसँग बुझ्दैछ कि शक्ति भनेको हतियार, लडाकु अनि युद्धपोत हैन । संसारका शक्तिशाली भनेर अहंकार तथा अभिमान प्रदर्शन गर्ने राष्ट्रका सामु आज एउटा यक्षप्रश्न एकदमै पेचिलो भएको छ । के काम लाग्यो उनीहरूको आणविक हतियार, अणुबम, परमाणुको सञ्चय, रासायनिक भट्टीहरू, लामो दूरीसम्म मार हान्ने क्षेप्यास्त्र, बीजिकिरणीय तोप, विविध प्रकारका सैन्य तालिम अन्य युद्धका सशक्त बन्दोबस्तीहरू ? अधिकांश राष्ट्रले बजेटको ठूलो हिस्सा खर्च गरेर पाएका ती सबै कथित उपलब्धि आज निर्धा र लाचार बन्दैछन् । आफ्नो क्षमता प्रमाणित गर्न कसैले युद्ध वा लडाइँमा जानुपर्दैन । अरूलाई जित्नु हैन, आफैँलाई व्यवस्थापन गर्न सक्नु चाहिँ उच्चतम पक्ष र विशाल सफलता हो । महामारीले महानतासाथ सबैलाई आत्मसात् गर्न बाध्य बनाइदियो ।
वैदिक दर्शनमा व्याख्या गरिएका अहिंसा तथा आरोग्यता सबैभन्दा प्रमुख पक्ष हुन् । स्वास्थ्य बहुमूल्य धन हो । प्रकृतिमाथि प्रभाव र विजय सम्भव छैन । प्रकृति, जीवदेखि लिएर खोलानाला, वनस्पति र जनावरसम्मलाई पूजा आराधनाको पूर्वीय सनातन चिन्तन तथा व्यवहारको वैज्ञानिक आधार अहिले संसारसामु प्रष्ट भयो । जीवन संस्कारमा प्राचीन पूर्वीय दर्शनको विराट् महत्व अब आएर विश्वभर उजागर भयो । अल्पज्ञानी आधुनिक समाजले रुढीवाद महसुस गर्ने गला अथवा हात मिलाउनु सट्टा नमस्ते गर्नु, निश्चित दूरीमा आवास बनाएर बस्नु, बाहिरफेरर गएर आएपछि अर्को लुगा लगाउनु, खान बस्दा लुगा फेरेर बस्नु भन्ने जस्ता व्यवहारको उज्यालोपना अब चित्रित भयो ।
एसिया गरिब र फोहोरीहरूको महादेश हो । रुघा, खोकी, हैजा र महामारी भनेका कुरा एसियाली र अफ्रिकीहरूका पेवा हुन् भन्ने विवेकहीन र आडम्बरपूर्ण पश्चिमा दम्भ निरन्तर प्रकटित हुन्थ्यो । केही संख्यामा पश्चिमा लेखक तथा सर्जकहरूको लेखकीय व्यस्तता एसिया र अफ्रिकाका मानिसलाई असभ्य, जंगली, अमानवीय, अविकसित तथा घृणायोग्य देखाउन केन्द्रित थियो । त्यहाँ बसोबास गर्ने मानिसले उनीहरूको जस्तो जीवनचर्या अवलम्बन गरेर आफूलाई विकसित र सभ्य बनाउनुपर्ने दबाबमूलक सन्देश विचरण गराउँँथे । कोरोना महामारीले पूर्वाग्रही ज्ञान उत्पादनमार्पmत हिंसा प्रवद्र्धनको उपाय अपनाउनेहरूलाई कठोर प्रत्युत्तरसमेत दिएको छ । थुक, खकार तथा पिसाब मिसिएका स्वीमिंग पुलमा नुहाउने, शौचालय गएपछि कागजले पुछ्ने, दालभात तरकारी अचारको सट्टा पाउरोटी टोक्ने, तुलसीको मठमा बत्ती बाल्ने सट्टा प्लास्टिकको रुखमा बिजुलीको बल्ब झुन्ड्याउने, घरभित्र चर्पी बनाउने कुरा वैज्ञानिक दरिद्रताका स्वरूप रहेछन् भन्ने प्रमाणित गरिदियो । आधुनिकता नामक आडम्बरभित्रको खोक्रोपनालाई सर्वाङ्ग उदांगो बनाइदियो । पूर्वीय सभ्यता र प्रचलन हरेक हिसाबले वैज्ञानिक थियो भन्ने सन्देशसमेत दिएको छ । श्सहरले सुरक्षाको विश्वास दिन सक्दोेरहेनछ भन्ने पनि प्रष्ट भयो ।
फेसन, मनोरञ्जन, प्रविधि, सवारी, पर्यटन जस्ता उद्योग धराशयउन्मुख छन् । कृषि सबैभन्दा प्रधान आधार, प्रमुख आवश्यकता तथा पहिलो प्राथमिकता हो भन्ने सत्य एकपटक पुनः प्रमाणित हुँदैछ । लेखक पर्ल एस. वकको कृति ‘द गुड अर्थ’ को सन्देशको महत्व झन् विचारणीय बन्दैछ । योग, ध्यान, विश्राम चाहिँ जीवनका प्रमुख लयहरू हुन् भन्ने पनि स्थापित हँुदैछ ।
विकसित भनेको वैज्ञानिक हुनु हो । पश्चिमाले हामीमा देख्ने कतिपय अव्यवस्था अन्य विविध पक्षले वैज्ञानिक छन् त्यसैले हामी उनीहरूभन्दा विकसित छौँ भन्ने ज्ञानलाई आत्मसात् गर्ने र विश्वव्यापी बनाउने सुवर्ण अवसर आयो । स्वकेन्द्रित पँुजीवादभन्दा समाजकेन्द्रित सहकार्यका अभ्यासको आभास महसुस गरायो । अरूलाई कत्लेआम गरेर जित्नुभन्दा बाँच्न पाउनु र बचाउन सहयोग गर्नुमा स्वर्गीय सौभाग्य रहन्छ भन्ने बोध गरायो । तसर्थ कोरोनामाथिका बहस र आख्यानमा ज्ञान विनिर्माणको नयाँ आयामलाई बेवास्ता गर्न सकिँदैन र गर्नुहँुदैन ।

(लेखक काठमाडौँ स्कुल अफ लमा प्राध्यापन गर्नुहुन्छ)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?