logo
२०८१ बैशाख १३ बिहीवार



कोरोनाविरुद्ध प्रभावकारी नेपाली नेतृत्व

विचार/दृष्टिकोण |




गोपाल खनाल

चीनमा कोरोना भाइरसको नयाँ सङ्क्रमण नदेखिएको आज (चैत ८) तेस्रो दिन हो । स्थानीयबाट विस्तार हुने सङ्क्रमण चीनमा रोकिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार देखिएका ४१ सङ्क्रमित बाहिरबाट आएका हुन्, जसलाई कडा क्वारेन्टाइनमा राखिएको छ । ३१ डिसेम्बर २०१९ मा देखिएको कोरोना भाइरस चीनमा नियन्त्रित हुँदैछ भने इटाली, अमेरिका, भारतमा विस्तार हुँदैछ । द इकोनोमिष्टका अनुसार अमेरिका र इटालीजस्ता देश यो भाइरसविरुद्ध लड्न तयारी अवस्थामा रहन सकेनन् भने सिङ्गापुरले तुरुन्तै सङ्क्रमण रोक्यो । भारतले अधिकतम प्रयास गरिरहेको छ । कोरोना सङ्क्रमण जतिबेला पनि देखिनसक्ने भएकाले सबै देशले तयारी अवस्थामा रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
कोरोनाविरुद्धको विश्वयुद्ध चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तयारीलाई केन्द्रमा राखेर शुक्रबार देशवासीलाई सम्बोधन गर्नुभयो । दोस्रोपटकको मिर्गौलाको सफल प्रत्यारोपणपछि स्वास्थ्यलाभकै क्रममा प्रधानमन्त्री सक्रिय हुनुभयो र उहाँले सामना गरेको पहिलो ठूलो मुद्दा बन्यो कोरोना । अहिलेसम्म नेपालमा यो सङ्क्रमण देखिएको छैन भने सकेसम्म नेपालमा प्रवेश निषेध गर्न सरकारले सक्दो प्रयास गरिरहेको छ, जुन प्रभावकारी देखिएको छ । यस आलेखमा प्रधानमन्त्री ओलीको शुक्रबारको सम्बोधनलाई विश्लेषण गर्दै कसरी यो सन्त्रासलाई परास्त गर्ने भन्नेबारे बहस गरिएको छ ।
महामारीप्रतिको गम्भीरता
प्रधानमन्त्रीले सम्बोधनमा भनेजस्तो कोरोना सङ्क्रमणको प्रत्यक्ष प्रभाव नेपालमा अहिलेसम्म देखिएको छैन तर विश्वका अधिकांश मुलुक यो सङ्क्रमणबाट आक्रान्त भएका बेला नेपाल ढुक्क हुने अवस्थामा पनि छैन । जब चीनको वुहानबाट अन्य देशमा विस्तार हुन थाल्यो, नेपालले सुरुमै गम्भीरतापूर्वक लियो, जसको नेतृत्व प्रधानमन्त्रीले लिनुभयो । प्रधानमन्त्रीले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न निर्देशन दिनुभयो । सङ्क्रमण भित्रिन नदिन, सचेतना जगाउन, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीतिमात्र सरकारले बनाएन, सुरुबाटै विशेष तयारी ग¥यो । प्रधानमन्त्रीकै नेतृत्वमा पाँच तयारी बैठक सम्पन्न भए । वुहानबाट विद्यार्थीहरूको उद्धार र क्वारेन्टाइनको व्यवस्था गरियो र त्यसमा सफलता प्राप्त भयो ।
जब प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुने सुनिश्चित भयो, उहाँले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाउनुभयो । समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाउनुभयो । त्यस्तै मुख्यसचिवको नेतृत्वमा रहेको कार्यान्वयन समितिमार्फत गरिएका निर्णय कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाउनुभयो । पोखरेल समितिलाई कोरोना छिर्न नदिने र उपचार दुवै पक्षमा लाग्न उहाँले निर्देशन दिनुभयो । पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले वास्तवमै प्रभावकारी कार्यसम्पादन ग¥यो । हरेक राजनीतिक नेतृत्व र राजकीय जिम्मेवारीको परीक्षा सङ्कटका बेलामा हुन्छ । प्रधानमन्त्री ओलीले त्यस्ता जटिल र अप्ठ्यारा मोडमा आफूलाई अब्बल सावित गर्नुभएको थियो, त्यही भएर राजनेताको हैसियत प्राप्त भएको हो । यसपटक उपप्रधानमन्त्री पोखरेलको नेतृत्व कार्यान्वयनको चरणमा सफल भएको देखिन्छ ।
आफ्ना पारिवारिक सदस्यलाई उद्धार गरेर नेपाल ल्याउन ढिलो भयो भन्दै बिलौना गर्नेहरू सरकारको आवश्यक तयारी, खरिपाटीको क्वारेन्टाइनपछि ‘प्रधानमन्त्री ओली जिन्दावाद’ भन्दै सार्वजनिक भएका दृश्य ताजै छन् । बुबाआमाको आफ्ना सन्तानप्रतिको मायाप्रेमबाट सिर्जित चिन्तालाई शक्ति ठान्दै सरकारविरुद्ध प्रचारयन्त्र चलाउने तत्वका विध्वंसका अस्थायी फसल केहीछिनमै बन्द भए । १७५ जनालाई सरकारले व्यवस्थित उद्धार ग¥यो । उनीहरूकै भनाइमा सरकार छ भन्ने महसुस भयो । त्यसयता लगातार सरकारले नागरिक स्वास्थ्यलाई सबैभन्दा उच्च प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री ओलीले सम्बोधनमा भन्नुभयो, ‘नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैँ उच्च प्राथमिकतामा राखेको छु ।’ वास्तवमा त्यो प्रमाणित भएको छ । विदेशमा रहेकाहरूलाई स्वदेश फर्कन केही असुविधा परेको जानकारीमा रहेको भन्दै नआत्तिन र चिन्तित नहुन आग्रह गर्नु बाध्यात्मक अवस्था हो ।
इच्छाशिक्त र मनोबल
एउटा व्यक्ति सफल हुन के चाहिन्छ, धारणा फरक हुनसक्छन् तर प्रधानमन्त्री ओलीलाई नजिकबाट नियाल्दाको निष्कर्ष हो– उच्च आत्मबल, अदम्य आत्मविश्वास । तीनको पृष्ठभूमिका व्यक्तिगत आधार हुनसक्छन् । प्रधानमन्त्री ओलीले राष्ट्रनिर्माणको उद्देश्य राखेर जुन उतारचढावको यात्रा गर्नुभयो, आधार त्यही हो । समकालीन राजनीतिक नेतृत्वमा आफूप्रति विश्वास गर्ने नेता कम हुनुहुन्छ, त्यसको परिणाम सत्तारोहण, सत्ता निरन्तरतामा छिमेकीले आफूलाई सहयोग गरिदेओस् भन्ने ठान्नुहुन्छ । विदेशी शक्तिले पनि त्यस्ता हीनभावना सिर्जित अस्थिरताको प्रशस्तै फाइदा उठाए ।
प्रधानमन्त्रीले कोरोनाविरुद्ध केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न आह्वान गर्नुभयो । त्यससँगै आफ्नो उच्च मनोबललाई ‘रिफरेन्स्’ का रूपमा लिएर अघि बढ्न सबैमा आग्रह गर्नुभयो । भन्नैपर्दैन, प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा उहाँको इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक थियो । उहाँले भन्नुभयो, ‘यसघडीमा मुलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने विश्वास लिएको छु ।’ नेपालीले २०७२ सालको विनाशकारी भूकम्प र त्यसले सिर्जित प्रतिकूलतालाई दृढतासाथ सामना गरेको विगत छ । कोरोनालाई पनि त्यसरी नै सामना गर्ने सामथ्र्य नेपालीमा छ । आफूलाई सकारात्मक परिवर्तन गर्ने अवसर पनि हो यो । जसमा प्रधानमन्त्री ‘टिप्स’ सुखी जीवनका सूत्र प्रमाणित हुनसक्छन् । अप्ठ्यारो समयमा व्यक्तिको परीक्षा हुन्छ भनिन्छ, त्यसको परिधिभित्र व्यापारी, उद्योगी पनि पर्छन् । त्यसतर्फ सङ्केत गर्दै प्रधानमन्त्रीले अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न र हल्ला अफवाहबाट भ्रमित र प्रभावित नहुन सबैमा आग्रह गर्नुभयो । त्यसको सम्बन्ध सर्वसाधारण उपभोक्तासँगमात्र छैन, व्यापारी र उद्योगीसँग पनि छ । यस्तो बेला मास्क र ग्याँस लुकाउने, कालोबजारी गर्नेहरू वास्तवमा मानवताका शत्रु हुन् । अप्ठ्यारोमा एक अर्कामा सहयोग गर्नुपर्नेमा पैसा कमाउने सोचमात्रै राख्नु पनि अपराध हो । यस्ताविरुद्ध सरकारले कडा कारबाही त गर्छ नै तर आफैँ पश्चात्ताप गरेर सरकारलाई उपलब्ध गराई नागरिकसमक्ष सहज पु¥याउने वातावरणका सहयोगी बन्नुपर्छ । सम्पत्ति जीवनको अन्तिम सत्य होइन । निजी क्षेत्रसमेतको सहयोगमा खाद्यान्नलगायतका अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था सरकारले मिलाएको छ । अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा संलग्नलाई कानुन बमोजिम कडा कारबाही गर्ने तयारीमा सरकार छ । त्यसक्रममा प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चालेका कदम प्रभावकारी देखिएका छन् ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारको प्रवक्ताका रूपमा मुलुकको समग्र अवस्थाको तथ्याङ्कीय चित्र राख्दै नआत्तिन र त्रसित नहुन आह्वान गर्नुभयो । विश्वव्यापी यो महामारीको समग्र अर्थतन्त्रमा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । त्यसको नेतृत्व अर्थमन्त्रीले लिनुभएको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा सङ्कुचन आउन नदिन छिट्टै उपयुक्त कार्यक्रम ल्याउने तयारीमा अर्थमन्त्री हुनुहुन्छ । पोखरेल समितिमा रहेर होस् वा विभागीय मन्त्रीको हैसियतमा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ‘एक्सन’ मा देखिनुभएको छ ।
छिमेकी सहकार्य
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क भिडियो कन्फरेन्स्मार्फत सार्क राष्ट्र एक भएर कोरोनाविरुद्ध लड्ने आह्वान गर्दै कोषको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले मोदीको उक्त प्रस्तावको समर्थन गर्दै नेपालले पनि आफ्नो योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । शुक्रबारको सम्बोधनमा उहाँले उक्त संयुक्त कोषमा नेपाली रुपियाँ दश करोड योगदान गर्ने घोषणा गर्नुभयो । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्य रहेको र त्यसमा सबै सदस्य राष्ट्रको सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ । प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षी मोदीको नेतृत्वको प्रसङ्ग झिके पनि दुवै छिमेकीसँग पारस्परिक सहयोगमा काम गर्न प्रतिबद्ध रहेको दोहो¥याउनुभयो । नेपाल सरकारले छिमेक र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका सन्दर्भमा मूलतः दुई माध्यममा जोड दिनुपर्छ, जसको उचित सम्बोधन प्रधानमन्त्रीबाट भयो । त्यसअनुसार नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान चैत ९ देखि १८ सम्मका लागि स्थगित गरिएको छ । सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्यजाँचको व्यवस्थासहितको आवागमनको व्यवस्था छ । यससम्बन्धमा भारत र चीनलगायतका देशसँग आवश्यक समन्वय सरकारले गरिरहेको छ ।
भारतमा सङ्क्रमण विस्तार भएकोले नेपाल बढी सचेत हुनुपर्छ । फेरि भारतसँगको खुला सीमाका कारण विशेष सावधानी अपनाउनुपर्छ । त्यसका लागि भारत सरकारसँग निरन्तरको संवाद र छलफलपछिका उचित मापदण्ड अपनाउनुको विकल्प छैन । शुक्रबार नै यसबारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुब्रमन्यम् जयशंकरबीच संवाद भयो । दुई मन्त्रीबीच नाकाबाट हुने जोखिम न्यूनीकरण गर्न कडा सुरक्षा, स्वास्थ्य परीक्षण र सुरक्षा सतर्कता बढाउने सहमति भयो । दैनिक उपभोग्य सामग्री, औषधिलगायतका सामग्रीको सहज उपलब्धता, ¥यापिड रेन्स्पोन्स टिमको सहयोगलगायतका विषयमा दुवैबीच सहकार्य गर्ने सहमति पनि बन्यो । त्यस्तै चीनसँग पनि मेडिकल सामग्री सहयोग लिनेदेखि भाइरसविरुद्ध लड्न पूर्वतयारीमा अत्यावश्यक सहयोग लिने तयारीमा सरकार छ । यसबारेमा नेपाल र चीनसहित दक्षिण पूर्वी एसियाका विज्ञहरूको भिडियो कन्फरेन्स् शुक्रबार भयो ।सरकारले सकेसम्म सुरक्षाका लागि तयारी गरेको छ । नागरिकले पनि जिम्मेवारी पूरा गर्नुपर्छ । सरकारलाई साथ दिऔँ । आफू सुरक्षित रहांँै, अरूलाई पनि सुरक्षित राखौँ ।

(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?