logo
२०८० चैत्र १६ शुक्रवार



करदाताको सम्मान

विचार/दृष्टिकोण |




नरसागर श्रेष्ठ

सन् २००८ को वित्तीय सङ्कटपछि विश्वका धेरै देशले आफ्नो बढ्दो राजस्वको आवश्यकतालाई ध्यानमा राखी दीर्घकालीन सोचसहित कर सहभागिताको संस्कृति विकास गर्न अरू थप प्रयास चालेको पाइन्छ । यसले वर्तमान करदातालाई मात्र सम्बोधन नगरी भविष्यका करदातालाई समेत करसम्बन्धी सूचना र ज्ञान उपलब्ध गराई कर सहभागिताको संस्कृति विकास गर्न खोजेको देखिन्छ । आर्थिक विकास तथा सहयोग संस्था (ओईसीडी) ले यसलाई नागरिकतासँग आबद्ध गरी नागरिक र राज्यको लोकतान्त्रिक सहअस्तित्वका लागि सामूहिक जवाफदेहितासँग जोडेको पाइन्छ । करदाता शिक्षामार्फत करदातालाई सूचना र ज्ञान मात्र नदिई विद्यालय स्तरमा कर क्लबहरू गठन गर्ने, कर दिवस मान्ने, करसम्बन्धी कविता, वादविवाद, निबन्ध प्रतियोगिता, कर दौड प्रतियोगिता आदि गर्ने गरिन्छ र यसै अन्तर्गत करदाताहरूलाई पनि सम्मान गर्ने गरिन्छ । राज्यकोषमा आफ्नो क्षमता र योग्यता अनुसार योगदान गर्ने करदातालाई राज्यले सतहमा देखिने गरी खेलाडी, कलाकर्मीलाई जस्तो सम्मान गरेको विरलै पाइन्छ ।
अहिलेको समयमा कर प्रशासनले करदातालाई गर्ने व्यवहारमा धेरै परिवर्तन गरेको छ तर धेरै समयसम्म कर प्रशासनको दबाबमूलक कार्यले गर्दा करदाताहरूमा कर प्रशासनप्रतिको धारणामा अझै परिवर्तन आउन सकेको पाइँदैन । अहिले करदातालाई एउटा दायित्व बोकेको अभिकर्ताका रूपमा मात्र नलिइकन एउटा सहयोगीका रूपमा कर प्रशासनले लिन थालेको पाइन्छ । यसैलाई मूर्तरूप दिन र अरू करदातालाई पनि स्वयं कर सहभागितामा सहभागी गराउने प्रोत्साहान दिने उद्देश्यले धेरै कर प्रशासनहरूले बढी कर तिर्ने र इमानदार करदातालाई पुरस्कृत गर्ने गरेको पाइन्छ । कर तिर्ने भनेको सभ्यतालाई तिर्ने भनी अहिले आएको प्रवृत्तिलाई मूर्तरूप दिई राज्यको नागरिकप्रतिको दायित्व निर्वाह गर्न पनि यो कार्यले सहयोग पु¥याउने देखिन्छ । यसलाई करदाता शिक्षाको एउटा अङ्गका रूपमा लिइएको छ ।
सम्मानको अन्तर्राष्ट्रिय प्रचलन
विभिन्न देशमा करदातालाई सम्मान गर्ने विभिन्न उपाय अपनाएको पाइन्छ । जापानमा सबभन्दा बढी कर तिर्ने व्यक्तिलाई सम्राटसँगको चियापानमा बोलाएर सम्मान गर्ने गरिन्छ । जापानमा इमानदार करदाताहरूका लागि भनेर नीलो आय विवरणको छुट्टै व्यवस्था गरिएको छ जसमा करदातालै कर परीक्षण र अन्य झन्झटको भार बोक्नुपर्दैन । करदाताहरूलाई छुट्टै पासपोर्टको व्यवस्था गरिदिने, विदेश भ्रमणमा एयरपोर्ट काउन्टरलगायत अध्यागमनमा पहिलो प्राथमिकता दिने, भीआईपी लाउञ्ज प्रयोग गर्न दिने, करदातालाई विशेष पासपोर्ट जारी गर्ने र पासपोर्ट जारी गर्दा छिटो र कम समयमा जारी गर्ने आदि तरिका विभिन्न देशले अपनाउँदै आएको पाइन्छ । भारत र पाकिस्तान जस्ता देशले आआफ्नै तरिकाले करदातालाई सम्मान गर्ने व्यवस्था गरेका छन् ।
सङ्घीय व्यवस्था अपनाउने देशहरूका राज्य सरकारले पनि करदातालाई सम्मान गर्ने कार्य गरेको पाइन्छ । भारतमा बढी कर तिर्ने करदातालाई राज्यका गभर्नरले चियापानका लागि आमन्त्रण गर्ने, विमानस्थलमा भ्रमणको क्रममा अग्रस्थान दिने, पासपोर्ट लिन चाहेमा अग्राधिकार दिई अरूलाई भन्दा छिटो दिने, एयरपोर्ट, रेल स्टेशनमा लाउञ्ज प्रयोग गर्न पाउने र राजमार्गहरू उपयोग गर्दा ‘टोलवे’ प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराएका छन् ।
यी सुविधा प्रदान गर्दा बढी कर बुझाएको आधारमा नभई करदाताले नियमित रूपमा कर विवरण पेश गरेको, कर सम्बन्धमा कुनै प्रकारको दण्ड सजायको भागी नभएको कर अड्डाले कहिल्यै पनि खानतलासी र छापा मार्ने कार्य नभएको आधारहरू लिने गरेको पाइन्छ । इमानदार कर दातालाई सम्मान गर्ने, धेरैभन्दा धेरै करदातालाई कर विवरण बुझाउन लगाई ‘नन फाइलर’ को सङ्ख्या घटाउने र कर सहभागिता अभिवृद्धि गर्नु यस्तो कार्यक्रमको मूल उद्देश्य हुन्छ । फिलिपिन्समा यस्ता करदाताको नाम मूल्य अभिवृद्धि करको चिट्ठामा समावेश गर्ने गरिएको छ । दक्षिण कोरियामा यस्ता करदातालाई प्रमाणपत्र उपलब्ध गराउनुको अतिरिक्त विमानस्थलहरूमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराउने र विमानस्थलहरूमा ‘भीआईपी’हरूले उपयोग गर्ने कोठा करदाताले उपयोग गर्न पाउने सुविधा दिएको पाइन्छ ।
पाकिस्तानमा हरेक वर्ष एक सयजना करदातालाई विभिन्न तरिकाले पुरस्कृत गर्ने गरिएको छ । यस्ता करदाताले आन्तरिक र वैदेशिक भ्रमण गर्दा विमानस्थलमा रहेको भीआईपी लाउञ्ज प्रयोग गर्न पाउने, निःशुल्क पासपोर्ट पाउने र अरूलाई भन्दा बढी तौलको ब्यागेज सुविधा दिने गरेको पाइन्छ । बङ्गलादेशमा पनि सेप्टेम्बर १५ मा मनाइने राष्ट्रिय आयकर दिवसको दिनमा सबभन्दा बढी आयकर तिर्ने करदातालाई सम्मान गर्ने गरिएको छ । सन् १९९० को दशकको नरसंहारपछि उँभो लागेको अफ्रिकाको सिङ्गापुर नामले चिनिने रुवाण्डामा पनि त्यहाँको कर दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट नै बढी कर तिर्ने करदातालाई सम्मान गर्ने गरिएको छ र यसरी सम्मान गर्दा बढी कर तिर्ने कुनै किसिमको जरिवाना नतिरेको, साना र मझौला करदातालाई पनि पुरस्कृत गर्ने गरिएको छ ।
स्वयं कर परिपालनाको उपाय
यस्ता कार्यले करदाता र कर प्रशासनबीचमा रहेको मिथ्याज्ञानलाई कम गर्न सहयोग पुग्ने, राष्ट्रको विकासमा महìवपूर्ण योगदान पु¥याउने करदातालाई सम्मान गर्ने र करदाता र कर प्रशासनको बीचमा विवादलाई कम गर्ने र करदातालाई उनीहरूको योगदानलाई पुरस्कृत गर्ने यस्तो कार्यक्रमको उद्देश्य हुन्छ । नेपालमा हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाई करदाताहरूलाई सम्मान गर्ने गरिएको छ । करदाता र कर प्रशासनबीचमा रहेको विवादलाई विश्वासमा बदल्न यस्तो कार्यले धेरै योगदान पु¥याउने देखिन्छ ।
केही देशको प्रचलनलाई अध्ययन गर्दा नेपालको कर प्रशासनले दुईवटा विषयमा ध्यान दिनुपर्ने देखिन्छ । पहिलो हो– प्रत्यक्ष र अप्रत्यक्ष दुवैमा करदातालाई सम्मान गर्ने विषय करको सैद्धान्तिक दृष्टिले उपयुक्त मान्न सकिँदैन । किनभने अप्रत्यक्ष करको वास्तविक भार वहन गर्ने भनेको अन्तिम उपभोक्ता हो । कारखानाका मालिक र आयातकर्ताहरू भनेका कर उठाउने अभिकर्ता मात्र हुन्, करको भार वहन गर्ने वास्तविक करदाता होइनन् । अर्को कुरा, बढी कर तिरेको आधारमा कर तिर्नेलाई यो सम्मान उपलब्ध गराउने व्यवस्थातर्फ पनि पुनर्विचार गर्नुपर्ने देखिन्छ । अप्रत्यक्ष करमा सम्मान गर्ने प्रचलनलाई रोक्नैपर्दछ भने प्रत्यक्ष करतर्फ पनि साना र मझौला करदातासमेत वा आयकरका शीर्षक अनुसार वा रोजगारी, व्यवसाय र लगानी आयको आधारमा सम्मान गर्ने प्रचलन अगााडि बढाउनु आवश्यक देखिन्छ । सम्मान गर्दाखेरि पनि वास्तवमा कर तिर्ने र करको माध्यम बनेकाहरूलाई एउटै वर्गमा राखी सम्मान गर्ने गरेबाट वास्तविक करदाता निकै मर्कामा परेको भान हुन्छ र यसले गर्दा स्वयं कर परिपालनाको स्तर बढाउन कुनै उत्साह नभएको पाइन्छ ।
(लेखक आन्तरिक राजस्व विभागका सेवानिवृत्त निर्देशक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?