logo
२०८१ बैशाख १२ बुधवार



नेपालका नौ चुनौती

विचार/दृष्टिकोण |




मुकुन्दराज दाहाल

सन् २०१९ डिसेम्बरको सुरुवातमै चीनको वुहान सहरमा एकाएक देखिएर आज एक सय ८० देशसम्म फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सङ्क्रमण हुनबाट जोगाइराख्नु नेपाल र नेपालीको अहिलेसम्मकै सर्वाधिक चुनौती हुन आएको छ । मार्च २० सम्म आइपुग्दा कोरोना सङ्क्रमणका कारण दश हजार ४६ जनाको मृत्यु भइसकेको छ भने रोगको सङ्क्रमण हुनेहरूको सङ्ख्या दुई लाख ४५ हजार ७२५ जनामा यो सङ्क्रमण भई अहिलेसम्मकै सर्वाधिक विश्व महामारी बन्न गएको छ ।
नेपाल भने यस महामारीबाट यो लेख तयार पार्दासम्म मुक्त रहेको आधिकारिक निकायले बताएका छन् । निश्चय नै यो सुखद पक्ष हो तर यो अवस्थालाई कायमै राख्न सक्नु नेपालको ठूलो चुनौतीका रूपमा छ । यसलाई कायम राख्न सक्ने हो भने हालसम्म नागरिकमा व्याप्त अविश्वास र आशङ्कालाई विश्वासमा बदल्न सकिन्छ । कोरोना भाइरसको चुनौतीको सामनाका साथ देशलाई आत्मनिर्भर बनाउने देशभित्रै अवसरको सिर्जना गर्ने र देशभित्रै हामीले केही गर्न सक्छौँ भन्ने विश्वास आर्जन गर्न सकिन्छ । नेपालले एक चरणको सफल उद्धार एवं क्वारेन्टाइनको उदाहरणीय व्यवस्थापन गर्ने क्षमता देखाइसकेको अवस्थामा अब कोरोना सङ्क्रमण हुनबाट बचाउन सक्नु नेपाल र नेपालीको ठूलो सफलता मानिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत फागुन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठनपछि योजनाबद्ध र प्रभावकारी कदम चलिरहेका छन् । यही क्रममा शनिबार प्रधानमन्त्री केपी ओलीले राष्ट्रलाई सम्बोधन गर्दै यस महामारीको सम्भावनालाई सामना गर्ने तयारीलाई अझै प्रभावकारी बनाइने जानकारी दिइसक्नुभएको छ । कोभिड– १९ को विश्वव्यापी महामारीको असरले नेपालमा मानवीय, आर्थिक, सामाजिक र व्यवस्थापकीय लगायत अनेकौँ चुनौती सिर्जना हुन सक्छन् । विशाल जनसङ्ख्या भएको उत्तरतर्फको छिमेकी राष्ट्र चीन सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रणमा लिइसकेको बताए पनि दक्षिणतर्फको छिमेकी भारतमा यसको सङ्क्रमण फैलिँदो छ । त्यसमाथि खुला सीमानाकाबाट सहज आउजाउ हुने हुँदा कतैबाट नेपालमा यसको सङ्क्रमण हुनसक्छ । त्यसैले बाह्य र आन्तरिक दुवैतर्फबाट हुनसक्ने जोखिमलाई आँकलन गरेर यसको तयारी गर्नुपर्दछ ।
पहिलो चुनौती
अहिले नेपाली जनमानसमा देखिएको आशङ्का, अविश्वास र भ्रमलाई स्पष्ट पार्नु, पारदर्शितासँगै समग्र समाजलाई एकीकृत परिचालन हुने अवस्था सिर्जना गर्नु वर्तमानमा सबैभन्दा ठूलो चुनौती छ । पछिल्लो चरणमा समन्वय समितिमार्फत सरकारले लिएका निर्णयहरूबाट जनतामा राम्रो सन्देश गएको छ । विशेषगरी ठूला जमघट र भेला हुने अवस्थालाई नियन्त्रण गर्ने र कालाबजारी र कृत्रिम अभाव सिर्जना गर्ने विरुद्ध सरकारले गरेका कारबाहीबाट जनतामा विश्वास अभिवृद्धि भएको छ । यो सकारात्मक पक्ष हो यसलाई अझ बढोत्तरी गर्न सङ्घीय सरकारको तहबाट लिइएका निर्णयहरूलाई प्रदेश सरकार र स्थानीय तहबाट पनि प्रभावकारी रूपमा संयोजन गर्न एवं आवश्यकताअनुसार थप निर्णय गर्दै सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने फराकिलो आधार निर्माण गर्न तीनै तहको संयोजनकारी संयन्त्र थप क्रियाशील हुनुपर्दछ ।
दोस्रो चुनौती
नागरिकलाई विश्वासमा लिएर कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्रिनबाट रोकी नागरिकको स्वास्थ्यको संरक्षण गर्न सक्नु हो । विश्व स्वास्थ्य सङ्गठनले नेपालसमेत उच्च जोखिममा रहेको देशहरूको सूचीमा राखेको र संसारभर फैलने क्रम जारी रहेको हुँदा नेपालमा सङ्क्रमण रोक्न निकै ठूलो चुनौती भएको अन्दाज गर्न कठिन छैन । यो चानचुने चुनौती नभएको हुँदा यसको सामना गर्न निकै उच्चस्तरको सोच, आवश्यक सामग्री एवं जनशक्तिको तयारी र व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले देशव्यापीरूपमा बन्दै गरेको माहोल, सबै राजनीतिक दलको एकताबद्ध प्रयास र सबै सरोकारवालाको चासो र सक्रियताले नेपाल यो सम्भावित सक्रमणबाट आफूलाई बचाउन सक्छ भन्ने आधार देखिन्छ ।
तेस्रो चुनौती
हाल कोरोना भाइरस सङ्क्रमण भएका देशमा रहेका नेपालीको सरोकार चासोको सम्बोधन कसरी गर्ने भन्ने हो । त्यसमा पनि भिसाको अवधि सकिएका नागरिकले न नेपाल फर्कन पाउने न ती देशमा रहन सक्ने असजिलो परिस्थिति आएको सार्वजनिक सञ्चारमाध्यममा देखिन्छ । कूटनीतिक पहल र प्रयासमार्फत राज्यले अविलम्ब उनीहरूका चासो र सरोकारलाई सम्बोधन गरी आश्वस्त पारिहाल्नुपर्छ । राज्यको दायित्व नागरिकको सम्मान गर्ने, संरक्षण गर्ने, परिपूर्ति गर्ने आदि छन् । राज्यले वैदेशिक रोजगारी रहेका नेपाली नागरिकको यी तीनवटै दायित्वलाई राम्ररी पूरा गर्न सक्नुपर्दछ । तबमात्र नागरिकले राज्यले अभिभावकत्व लिएको महसुस गर्दछ । राज्यप्रति जनताको विश्वास र आस्था रहनसक्छ ।
चौथो चुनौती
कोभिड–१९ को महामारी हाम्रो भूमिमा प्रवेश गरेछ भने त्यसबाट प्रभावित हुनेहरूलाई सम्भावित उद्धार र उपचारको कार्य सम्पन्न गर्न सक्नु अर्को चुनौती हुनेछ । त्यसबाहेक रोगको महामारी हाम्रो भूमिमा प्रवेश नगरे तापनि विश्वव्यापी बनिरहेको यस महामारीका कारण विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउनुपरेको अवस्थामा उनीहरूको उद्धार र व्यवस्थापन एवं त्यसपछि गर्नुपर्ने मानवीय लगायतका तत्कालीन एवं दीर्घकालीन दायित्वका कार्य सम्पन्न गर्नु पनि नेपाल राज्यको चुनौती हुनेछ । त्यस कार्यको प्रभावकारिता सुनिश्चित गर्नु पनि चुनौती नै हुनेछ । चीनको वुहान सहरमा रहेका नेपालीको उद्धार र व्यवस्थापनमा जुन कुशलता र क्षमतासहित गरिएको कार्यले उद्धार गरिएका नेपालीसहित आम नेपालीका उत्साह र प्रेरणादायी भूमिका निर्वाह गर्न राज्य सक्षम भएको अनुभूति गर्ने अवसर मिल्यो, जुन नमुनालायक कार्य ठहरियो ।
पाँचौँ चुनौती
प्रभावित स्थानबाट उद्धार गरी ल्याइने नागरिकलाई राख्ने स्थानका बासिन्दाका आशङ्का र भयलाई दूर गर्दै विश्वासिलो वातावरण निर्माण गर्नु पनि चुनौतीको कार्य हो । यस कुरालाई सर्वाधिक महìव दिएर तत्कालै अभियान सञ्चालन गर्नु अपरिहार्य छ । महामारीको सामना हामीले गर्नुपरोस् या नपरोस् यस कार्यको दीर्घकालीन महìवसमेत छ । यसमा सर्वपक्षको सहभागितामा योजना बनाई एकीकृत पहलमा लागू गर्नुपर्दछ । यसको अपनत्व समग्र समाजले नै लिनेगरी अभियान सञ्चालन गर्नुपर्दछ । परिस्थिति प्रतिकूल बन्दै गएमा रोजगारी र व्यवसायका लागि विभिन्न देशमा रहेका नेपालीलाई उद्धार र उपचारको दायित्व पूरा गर्नुपर्ने अर्को चुनौती हुनेछ ।
सातौँ चुनौती
सङ्क्रमितहरूको उद्धारमात्र हैन, निश्चित अवधिसम्म उनीहरूको उपचार, अस्थायी आवास र खानपानको समेत राज्यले व्यवस्था गर्नुपर्दछ । उपचार, आवास र आवश्यक खाद्यान्नको उत्पादन, आपूर्ति, भण्डारण र वितरणलगायत समग्र व्यवस्थापन अर्को चुनौती हो । यसको सामना गर्न कति कठिन हुन्छ भन्ने कुरा हाल बजारमा सिर्जना हुन लागेको मास्क र स्यानिटरी सामानको स्वाभाविक वा कृत्रिम अभावले छनक दिइसकेको छ । यस महामारीका बारेमा रहेका अज्ञानता, भम र सिर्जना हुने र फैलाइने अफवाहहरू, कृत्रिम अभावले सिर्जना गर्ने कालोबजारी र महँगीसमेतले चुनौतीलाई थप बहुआयामिक बनाउन सक्छ । यसको सम्भावनातर्फ ध्यान दिई आवश्यक कदम चालिनुपर्दछ । सरकारले चाल्ने त्यस्ता कदमलाई नागरिकहरूले सचेतनतापूर्वक सहयोग र समर्थन गर्नु आवश्यक छ ।
आठौँ चुनौती
विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि अहिले देशमा सबैभन्दा बढी नकारात्मक असर परेको क्षेत्र नै आर्थिक क्षेत्र हो । यसको आयतन अझ कति बढ्ने हो यकिन गर्न नसकिने अर्थविद्हरूको भनाइ देखिन्छ । महामारीको विश्वव्यापी विस्तारसँगै अर्थतन्त्रका समग्र क्षेत्रमा यसले निराशाजनक अवस्था ल्याउने सङ्केत देखाएको छ । नेपालको पर्यटन क्षेत्र, पूर्वाधारलगायतका निर्माणका क्षेत्र, विदेशमा रोजगारी गर्ने नेपालीबाट पठाउने गरेको रेमिट्यान्स र पुँजीगत खर्चको न्यूनताले उत्पन्न गर्नसक्ने आर्थिक समस्या र सङ्कटको सामना चानचुने तरिकाबाट नहुने स्पष्ट छ । हरेक चुनौती र सङ्कटका साथै अवसरहरू पनि सिर्जना गर्ने हुनाले सम्भावित अवसरको खोजी, पहिचान र अवलम्बनतर्फ योजनाबद्ध कदमसमेत चालिनु आवश्यक छ ।
नवौँ चुनौती
माथिका चुनौतीको उपयुक्त तरिकाले सामना गर्न सक्दा त्यसका सहउत्पादक चुनौती आउन सक्ने छैनन् । सम्भावित नयाँ चुनौतीतर्फ पनि ध्यान दिई माथि उल्लेखित चुनौतीको उपयुक्त तरिकाले सामना गर्नुपर्दछ । त्यसको सामना गर्ने दूरदृष्टि, समग्र सोच एवं रणनीतिक योजना र व्यवस्थित कार्यप्रणाली अवलम्बन गर्दै नोभल कोरोना (कोभिड–१९) विरुद्धको राष्ट्रिय महाअभियान सञ्चालन गरेमा त्यसमाथि विजय हासिल गर्न सकिनेछ ।

(लेखक अधिवक्ता हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?