logo
२०७७ फाल्गुन १४ शुक्रवार

कोरोनामा हाम्रो नजर

विचार/दृष्टिकोण |




डा. सुबोध ढकाल

विश्वमा बेलाबेलामा विभिन्नखाले भाइरसले विपत्ति निम्त्याउने गरेका छन् । भाइरसको प्रकोपको कुरा गर्ने हो भने सन् २०१३ देखि २०१६ सम्म अफ्रिकी देशहरुमा फैलिएको ‘इबोला भाइरस’ को प्रकोपले एघार हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । गिनियामा सबैभन्दा पहिले देखिएको यो प्रकोपले अन्य अफ्रिकी मुलुक लाइबेरिया, सियरालियोन, नाइजेरिया जस्ता देशमा मात्र नभई अमेरिका, इटाली र बेलायतमा समेत क्षति पु¥याएको थियो । यो बेलाबेलामा विश्वमा कसरी महामारी फैलिने गरेका छन् भन्ने कुराको एउटा उदाहरण मात्र हो । कुनै न कुनै बेला यस्ता भाइरसले विपत्ति निम्त्याउन सक्ने भएकाले यसका लागि हामी सबै तयारी र सबल अवस्थामा रहनुपर्छ भन्ने सन्देशलाई पनि आत्मसात् गर्नु जरुरी देखिएको छ ।
पछिल्लो समयमा कोभिड– १९ अथवा कोरोना भाइरसले संसारलाई नै त्राहीत्राही बनाइरहेको छ । यसको पहिलो रिपोर्ट चीनको वुहानमा सन् २०१९ डिसेम्बर ३१ मा भेटिएको मानिएको छ । विश्वको उदीयमान र हरेक कुरामा सबल छिमेकी चीनबाट सुरु भएको यो भाइरस अहिले जापान, कोरिया, इरानलगायत अति सक्षम युरोपका अन्य मुलुकमा पनि फैलिसकेको छ । यसबाहेक अमेरिकामा समेत यसबाट मानवीय क्षति भएको समाचार आएको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने कोरोनाकै कारण संसारभर करिब तीन हजार मानिसको ज्यान गइसकेको छ भने ८४ हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेको बताइएको छ । यसको फैलावट ट्याक्सीको मिटर चलेझैँ दिनदिनै बढेको बढ्यै छ ।
यो भाइरसलाई वैज्ञानिकहरुले ‘जुनोटिक डिजिज’ भन्ने गरेका छन् जसको मतलब यो रोग जनावरबाट मानिसमा सर्ने रोग हो भन्ने हुन्छ । यो भाइरस सन् २००२÷२००३ मा फैलिएको ‘सार्स’ भाइरससँग धेरै मिल्दोजुल्दो भएको बताइएको छ । उक्त भाइरसका कारण ७७४ जना मानिसले ज्यान गुमाएका थिए । कोरोना भाइरस सार्सभन्दा छिटो फैलिएको पाइए पनि सङ्क्रमितहरुको मृत्युदर भने अहिलेको कोरोनामा कम पाइएको छ । पछिल्लो अध्ययनले कोरोनाका कारणले हुने मृत्युदर झन्डै दुई दशमलव तीन प्रतिशतको हाराहारीमा रहेको देखाएको छ । तर यो मृत्युदर सङ्क्रमितको उमेर, लिङ्गलगायत उनीहरुको रोग प्रतिरक्षात्मक क्षमता र समग्र स्वास्थ्य अवस्थामा आधारित हुने कुरा भुल्नुहुँदैन । चीनमा भेटिएका सङ्क्रमितमध्ये कोरोनाबाट मृत्यु हुनेहरुमा ८० वर्षभन्दा माथिका सङ्क्रमितमा मृत्युदर झन्डै १५ प्रतिशत, ७० देखि ७९ वर्षका मानिसमा आठ प्रतिशत, ६० देखि ६९ वर्षका मानिसमा चार प्रतिशत पाइएको छ भने १० देखि ३९ वर्षका सङ्क्रमितमा शून्य दशमलव दुई प्रतिशत मात्र मृत्युदर पाइएको छ ।
पछिल्लो समयको फैलावटलाई हेर्दा कोरोनाले निम्त्याएको प्रकोप विश्वका सबै देश र मानिसको साझा चुनौती बनेको छ । अति चुस्त र दुरुस्त स्वास्थ्य साधन, प्रविधि, विज्ञता, स्रोत हुनुका साथै व्यवस्थित र वैज्ञानिक विपद् व्यवस्थापन अङ्गीकार गरिसकेका यस्ता सबल मुलुकले समेत यो भाइरसको विपत्तिलाई समयमै निराकरण अथवा न्यूनीकरण गर्न नसकेको देख्दा हामी जस्ता सीमित साधनस्रोत, प्रविधि, विज्ञता अनि विपद् व्यवस्थापनको हिसाबले लगभग सिकारु अवस्थामा नै रहेका मुलुकलाई बढी चिन्तित बनाएको छ ।
यो भाइरसको प्रकोप नियन्त्रणमा आउनुको सट्टा झनै विश्वव्यापी बन्दै गएको, भूगोलको हिसाबले बढी सङ्क्रमित भएको देशको नजिकै रहेको अनि यसका नियन्त्रण, रोकथाम र प्रविधिका हिसाबले समेत त्यति सबल नभएकाले हाम्रो देश कोरोना भाइरसको जोखिमयुक्त र संवेदनशील अवस्थामा नै छ भन्ने कुरा पनि बिर्सनुहुँदैन । हामीहरुको रोग प्रतिरोधक क्षमता बढी भएर, कोरोनाको लागि प्रतिकूल मौसम भएर, रोग सार्नसक्ने जोखिमयुक्त मानिसको आवतजावतलाई समयमै निगरानी गर्न सकिएर वा जुनसुकै कारणले भए पनि कम्तीमा हाम्रो देशमा अहिलेसम्म कोरोना सङ्क्रमित नभेटिनु सुखद कुरा हो । समग्रमा भन्ने हो भने पर्यटनसँगै यो प्रकोपको कारण शिक्षा, वैदेशिक रोजगार, विकास निर्माण, बजारभाउ लगायत अन्य धेरैतिर नकारात्मक असर पर्ने कुरा अनुमान गर्न गाह्रो छैन ।
त्यसो त अहिले यसको प्रकोपबाट बच्न र योजस्तै भविष्यमा निम्तिन सक्ने अन्य महामारीबाट बच्नका लागि योजना, तयारी, जोखिम न्यूनीकरण आदिका लागि अवसर पनि प्राप्त भएको छ । तर हाम्रो अहिलेको महìवपूर्ण काम भनेको कुनै पनि सङ्क्रमित वा जोखिमयुक्तलाई देशभित्र छिर्न बन्देज लगाउनुका साथै कतै यो भाइरस देशभित्र छिरिहाल्यो भने के गर्ने भन्नेतिर समय खेर नफाली पूर्णरुपमा तयारीमा जुट्नु अति जरुरी देखिन्छ ।
संसारभर कोरोना जसरी फैलिरहेको छ, यसबाट के बुझ्नु जरुरी छ भने हामीकहाँ यो भाइरस आउँदै आउँदैन, हामी कोरोना फ्री (मुक्त) भइसक्यौँ भन्ने मानसिकतालाई परिवर्तन गरी कुनै पनि समय यो हाम्रो देशमा भित्रिन पनि सक्छ, त्यसैले हामी सबै सतर्क र सावधान रहनुपर्छ भन्ने कुरा सबैलाई बुझाउनुपर्छ । सङ्क्रमित पहिचान गर्ने हाम्रो प्रविधि दुरुस्त छ कि छैन, यसलाई छिटोछरितो कसरी पहिचान गर्ने, कहीँ कतै भेटिइहालेमा त्यस्तो सङ्क्रमितलाई कहाँ राख्ने, कसरी निगरानी र उपचार गर्ने, अरूमा फैलिन नदिन के गर्ने, धेरै मानिसमा फैलिए देशका कुनै पनि स्थानीय तह, प्रदेश र समग्र मुलुकमा नै तिनीहरुलाई ‘आइसोलेसन’ मा राख्ने ठाउँ कुन हो भन्नेतर्फ तयारी गर्नुपर्छ । यस्तै सङ्क्रमित पहिचान र उपचारका लागि आवश्यक पर्याप्त औषधि र चिकित्सक उपलब्ध छन् कि छैनन् वा उनीहरुलाई तयारी अवस्थामा राखिएको छ कि छैन ? साथै समग्रमा हामी कोरोना जस्तासँग जुध्न पूर्णरुपमा तयार छौँ कि छैनौँ भन्ने जस्ता कुराको उत्तरले स्वास्थ्य र सुरक्षामा कत्तिको ध्यान दिन सकेका छौँ भन्ने मूल्याङ्कन गर्न सक्छौँ । हाम्रो फलानो क्षेत्र धरासायी भयो, अर्थतन्त्र डुब्ने भयो, फलानो कार्यक्रमलाई नकारात्मक असर पार्छ भन्ने जस्ता कुरालाई अघि सारेर सम्भावित सङ्क्रमित विदेशीलाई जोखिम मोलेर कुनै पनि हालतमा हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन किनकि कोरोनाको एउटा ‘केस’ भेटिनु भनेको हाम्रो देशमा बिपत्तीको बिउ रोपिनु जस्तै हो । यसमा सानोभन्दा सानो गल्ती वा असावधानीको पनि गुञ्जायस रहँदैन । त्यसपछिको अवस्था हाम्रो पकडभन्दा बाहिर जानसक्ने कुराको गाम्भीर्यतालाई आत्मसात गर्नु जरुरी छ । हाम्रो ध्यान यस्तो नकारात्मक असरलाई न्यून गर्ने, वैकल्पिक उपायहरु पत्ता लगाउने र सोही अनुसारका परिमार्जित नीति, योजना र कार्यक्रमहरु अगाडि सारी सोही अनुरुप क्रियाकलाप बढाउनु जरुरी देखिन्छ ।
अहिले उपलब्ध समयलाई अध्ययन र अनुसन्धानको क्षेत्रमा सदुपयोग गर्नु भविष्यको लागि आत्मनिर्भरका साथ पूरा तयारी अवस्थामा रहनको लागि सार्थक हुनसक्छ । यसमा हामी कसरी गर्न सक्छौँ, हाम्रोमा यो छैन, त्यो छैन भनेर निराशावादी नभई बलबुताले भ्याएसम्म सकारात्मक सोचकासाथ लागि पर्नु वाञ्छनीय देखिन्छ । सम्बन्धित निकाय र सरकारले यस्ता अनुसन्धानलाई अहिलेको लागि मात्र नभई भविष्यका लागि समेत निरन्तरता दिनु अति जरुरी छ ।
यस्ता प्रकोप नियन्त्रण गर्ने पहिलो कडी भनेकै यिनीहरुको उत्पत्ति कसरी हुनसक्छ वा कसरी भयो, के कारणले यसका किटाणुहरु फैलिनसक्छन्, कस्तो मौसम र तापक्रम यिनीहरुको लागि अनुकुल हुन्छ, कस्तो वातावरणले यसको वृद्धिलाई फैलाउनसक्छ अनि के गर्दा यसको वृद्धि र सङ्क्रमितलाई रोक्न सकिन्छ जस्ता प्रश्नको उत्तर सम्बन्धित विषयको विज्ञ वा अनुसन्धानले मात्र दिनसक्छ । त्यसैले अनुसन्धानमा आधारित समस्या पहिचान, समाधान, पूर्वतयारी र जोखिम न्युनिकरणका कामहरुले मात्र हाम्रो जस्तो जोखिमयुक्त देशले कोरोना जस्ता भाईरसहरुले निम्त्याएको बिपत्तीबाट पार पाउन सक्नेछ । यस्ताखाले समस्यालाई स्वास्थ्यको समस्याको रुपमामात्र नलिई विपद् ब्यवस्थापनको हिसाबले समेत ध्यान दिनु पनि उत्तिकै जरुरी छ ।


(लेखक प्राध्यापन गर्नुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance