logo
२०७८ श्रावण २० बुधवार

दैनिक अध्यावधिक

image
2448

सङ्क्रमित

image
1994

निको भएका

image
24

मृत्यु भएका

मिति:श्रावण १९, २०७८ (१७:३८)
स्राेत:https://covid19.mohp.gov.np/



पोखरीको भौगर्भिक र पर्यटकीय महत्व

विचार/दृष्टिकोण |




प्रा. डा. तारानिधि भट्टराई


देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने हुन्छ । त्यसका लागि थुप्रै सम्भावना छन् । यी सम्भावनामध्ये पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण छ । नेपाल पहाडी मुलुक भएको र यहाँका हिमचुचुरा मात्र होइन, डाँडाकाँडा, पहाड पर्वत, उकालीओराली, भञ्ज्याङ चौतारी, नदीनाला, झरना, पोखरी सबै ठाउँ पर्यटकीय दृष्टिकोणले आकर्षक छन् । झन् आन्तरिक पर्यटनको कुरा गर्ने हो भने देशभित्र पर्यटकीय सम्भावना नभएका ठाउँ नै छैनन् भन्दा पनि अतिशयोक्ति नहोला । देशका विभिन्न भागमा रहेका हाटबजार लाग्ने ठाउँदेखि चाडपर्व मनाउने ठाउँसम्म परापूर्वकालदेखि नै आन्तरिक पर्यटकका केन्द्रबिन्दु बनेका छन् । यस्ता ठाउँमध्ये पोखरी भएका स्थानको बिशेष महत्व छ । हाम्रो देशमा पानी जमेको ठाउँ अर्थात् पोखरीलाई विभिन्न नामले चिनिन्छ । जस्तो कि सिमसार, सरोवर, आहाल, दह, धाप, भास, इत्यादि । यस्ता पोखरीको भौगर्भिक र पर्यटकीय महत्व के छ त ?
पोखरीको पानीको स्रोत नदी, वर्षाको पानी, भूमिगत जल या यी सबै मिसिएको पनि हुनसक्छ । त्यस्तै, पोखरी प्राकृतिक प्रक्रियाका कारण बनेको पनि हुनसक्छ र मानिसले बनाएको पनि हुन सक्छ । प्राकृतिकरुपमा पोखरीको उत्पत्ति हुनुमा भौगर्भिक कारण हुन्छ ।
पृथ्वीको सतह स्थिर नभएर सदैव परिवर्तनशील हुन्छ । जस्तो कि भूकम्प, ज्वालामुखी, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप हुँदा, पृथ्वीको सतह कतै उठ्ने त कतै धस्सिने गर्छ । त्यो बाहेक पनि, पृथ्वीभित्र विभिन्न प्रकारका भौगर्भिक बलहरु निरन्तर कार्यरत छन् । फलस्वरूप, चट्टान बाङ्गिने, कोल्टे पर्ने, दोब्रिने या चिरा पर्ने स्थितिको सिर्जना हुन्छ र चट्टान पट्पटी फुट्छन् । यसरी चिरा परेको ठाउँबाट वर्षाको पानी भित्र छिर्न थालेपछि पृथ्वीको सतहमा देखापरेका कमलो खालका चट्टानको माथिल्लो भाग विस्तारै माटोमा परिणत हुन थाल्छ । उक्त माटोलाई पानीले बगाएर वा हावाले उडाएर लाने प्रक्रिया लाखौँ वर्षसम्म चल्ने क्रममा त्यहाँ खाल्टो पर्न थाल्छ । उक्त खाल्टो कालान्तरमा बढ्दै गएर ठूलोे क्षेत्रफल भएको खाडलमा परिणत हुन्छ । भूमिगत जल वा वर्षाको पानीले उक्त खाडल भरिने अवस्था सिर्जना भएपछि त्यहाँ एउटा सुन्दर पोखरी बन्दछ । पोखरी बनाउन अहम् भूमिका खेल्ने अर्को कारक नदी हो । विभिन्न भौगर्भिक कारणले गर्दा नदीहरूले आफ्नो बाटो बदल्छन् । यसरी बाटो बदल्ने क्रममा नदीले आफ्नो भूतपूर्व बाटोमा कमलो माटो या चट्टानलाई खियाएर बनाएका खाल्टा विभिन्न कारणले सुरक्षित रहन्छन् । यिनै खाल्टा कालान्तरमा पोखरीको रूपमा विकसित हुन्छन् ।
त्यसैगरी, कतिपय ठाउँमा भूमिगत जल सजिलै छिर्ने माटो (जस्तै बलौटे माटो) बाट बग्दै जाँदा पानी छिर्न समय लाग्ने खालको माटो (जस्तै पाँगो माटो) भएको ठाउँमा पुगेपछि पानीको गति धिमा हुन्छ । फलस्वरूप, उक्त बलौटे माटो भएको ठाउँमा भूमिगत जल जम्मा हुन थाल्छ । त्यसपछि, भूमिगत जलको सतह बिस्तारै उचालिँदै जाने क्रममा पृथ्वीको सतहमा निक्लन्छ र पोखरी बन्छ । तराईका विभिन्न ठाउँमा भएका कतिपय पोखरी यसरी नै बनेका हुन् । चट्टानका विभिन्न भौगर्भिक गुणले पनि पोखरी बन्न सहयोग पु¥याउँछन् । उदाहरणका लागि, चट्टान एकै किसिमको भए पनि योभित्र समाहित भएका खनिज पदार्थ चट्टानको कुनैै भागमा धेरै र कुनैै भागमा थोरै पाइन्छ । त्यसैगरी पत्रेदार चट्टान बन्दा सँगै टाँसिएर बसेको माटो, बालुवा र गिट्टीका टुक्रालाई एकआपसमा जोड्ने पदार्थको किसिम पनि सबैतिर एकनाशको हुँदैन । फलस्वरूप, एउटै चट्टानले बनेका कतिपय निश्चित ठाउँमा चट्टानहरू सजिलैसँग फुट्ने या टाँसिएर बसेका खनिज पदार्थ एकआपसबाट बिस्तारै छुट्टिने प्रक्रिया अरु ठाउँको दाँजोमा त्यहाँ घनिभूत हुन्छ । यसरी चट्टानबाट छुट्टिएका माटोका कणलाई हावाले उडाएर वा पानीले बगाएर लगेपछि त्यहाँ विस्तारै खाल्टो बन्छ र उक्त खाल्टो कालान्तरमा पोखरीमा परिणत हुन्छ । चुरे पहाडमा भएका कतिपय पोखरीको उत्पत्ति हुनुमा यो प्रक्रियाको पनि भूमिका छ ।

चुनढुङ्गा भएको ठाउँमा प्राकृतिक गुफाहरू बनेका हुन्छन् । कतिपय ठाउँमा यस्ता गुफा पृथ्वीको सतहमा नदेखिएर भूमिगतरुपमा रहेका हुन्छन् । त्यस्ता भूमिगत गुफाको छानो कहिलेकाहीं धस्सिन्छ र पृथ्वीको सतहमा खाल्टो (पोखरी) देखापर्छ । चुनढुङ्गा भएको पहाडमा भएका केही पोखरीको उत्पत्ति यो प्रक्रियाले भएको हुनसक्छ । खहरे खोला या सदाबहार नदीहरूको किनारमा पहिरो गई खोलालाई थुनिदिंदा पनि खोलामा पोखरी बन्न जान्छ । हिउँले सधैं ढाकिने नेपालको उत्तरी भूभागमा एउटा हिमनदीले अर्को हिमनदीलाई थुनिदिँदा बनेका हिमताल पनि प्रशस्तै छन् । माथि उल्लिखित बाहेक पोखरी उत्पत्तिका कारण अरू पनि हुन सक्छन् । निश्चित कारण पत्ता लगाउनलाई भौगर्भिक सर्वेक्षण गर्नुपर्ने हुन्छ ।
भौगर्भिक दृष्टिकोणले हेर्दा पोखरीहरू भूमिगत जल भण्डारलाई पुनर्भरण गर्ने प्राकृतिक माध्यम हुन् । पोखरीको विनासले भूमिगत जल भण्डारमा सञ्चित हुनजाने जलको मात्रालाई सिमित बनाइदिन्छ र अन्तत्वोगत्वा भूमिगत जल नै समाप्त हुने स्थति सिर्जना हुनसक्छ्र । त्यसैगरी, पोखरीहरू विगतको वातावरण अथवा हावापानीको इतिहासलाई आफ्नो गर्भमा सुरिक्षत राख्ने प्राकृतिक दस्तावेज हुन् । उदाहरणका लागि, पोखरीको पिँधमा हजारौं वर्षदेखि जम्मा भएको गेग्रानको प्रकृति अध्ययन गर्ने हो भने त्यो बेला पोखरीको वरिपरिको क्षेत्रमा सुक्खा मौसम थियो वा प्रशस्त वर्षा हुन्थ्यो भन्ने कुरा पत्ता लगाउन सकिन्छ । कहिलेकाहीं त हुरी वतासको शक्तिसमेत आँकलन गर्न सकिने प्रमाण पनि पोखरीको पिँधमा रहेका गेग्रानको आकार र आयतनले उजागार गर्न सक्छन् । पहिलेका जीवजन्तु र रूख विरुवाको अवशेष पनि जिवांशको रूपमा पोखरीको गेग्रानमा पाउन सकिने हुनाले भौगार्भिक दृष्टिकोणले यिनीहरुको महत्व उच्च छ । तसर्थ पोखरीहरूलाई भौगर्भिक सङ्ग्रहालयको रूपमा पनि लिन सकिने हुनाले यिनीहरुको विनाश भनेको विगतको महत्वपूर्ण प्राकृतिक सङ्ग्रहालयको लोप हुनु पनि हो ।
विभिन्न ठाउँमा रहेका पोखरीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यो स्थानको वरपर उद्गम स्थल भएका झरना र नदीनालालाई पानी उपलब्ध गराउँछन् । हाम्रा चुरे क्षेत्रमा भएका पोखरी तराईको भावर क्षेत्रका पोखरीसँग पानी आदानप्रदान गर्ने प्राकृतिक माध्यम पनि हुन् । विभिन्न प्रकारका जलचरको बासस्थान पनि हो पोखरी । त्यसैगरी, पोखरीहरूले आकासे पानी र भल पानीलाई आफूमा सञ्चित गरी बाढी र भूक्षयको जोखिमलाई न्यूनीकरण गरिरहेका हुन्छन् । तसर्थ, पोखरीहरूको संरक्षण विपद् व्यवस्थापनको दृष्टिकोणले पनि अत्यन्त जरुरी छ ।
विभिन्न कारणबाट उत्पत्ति भएका पोखरीको संरक्षण वर्षैपिच्छे कठिन हँुदैछ । सबैभन्दा टड्कारो समस्या भनेको अनाधिकृत अतिक्रमण र पोखरीमा वर्षेनि माटो थुपिँ्रदै जानु हो । त्यसैगरी जलवायु परिवर्तनका कारणले हुने अतिवृष्टि, खण्डवृष्टि र खडेरीले पनि पोखरीको आयुलाई अनिश्चित बनाइदिएको छ । पोखरी वरिपरिको क्षेत्रमा अवैज्ञानिक तरिकाले बाटो बनाउने, कुलो खन्ने, खोरिया फाँड्ने र भिरालो जमिनमा खेती गर्ने परम्पराले पनि पोखरीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको छ्र । यी सब कुरालाई ध्यानमा राख्दै पोखरीको स्याहार सम्भार गर्न यथाशीघ्र चाँडो पाइला चाल्नुपर्छ ।
यसका लागि सबभन्दा पहिलो काम पोखरी क्षेत्रको भौगर्भिक नक्शा बनाई पोखरी बन्नुको प्रमुख कारण पत्ता लगाउनु नै हो । दोस्रो काम, पोखरी वरिपरिको क्षेत्रमा पहिरो जाने, नदीले कटान गर्ने र भूक्षय हुने सम्भावनाको मूल्याङ्कन गरी जोखिम वर्गीकरण दर्शाउने नक्शा बनाई उच्च जोखिम भएको ठाउँमा यथाशीघ्र चाँडो वृक्षारोपण र अरू जोखिम न्यूनीकरण गर्ने सान्दर्भिक उपायकोे अवलम्बन गर्नु हो । तेस्रो काम, पोखरीको सुरक्षित दीर्घायुका लागि आवश्यक वरिपरिको क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्ने र उक्त क्षेत्रभित्र ढुङ्गा खानी तथा बालुवा गिट्टी उत्खनन् कार्य एवं वन अतिक्रमणलाई प्रतिबन्ध लगाउने हो । त्यस्तै, पोखरीमा बगेर आउने भल पानीलाई व्यवस्थित गरी भलले बगाएर ल्याउने माटोको मात्रा न्यूनीकरण गर्ने उपायको अवलम्बन पनि गर्नुपर्छ । चौथो काम, पोखरी क्षेत्रमा पर्ने पानीको वार्षिक मात्रा र वाष्पीकरण भएर जाने पानीको वार्षिक मात्राको तथ्याङ्क नियमित रूपमा राख्नुपर्छ । यो तथ्याङ्कको आधारमा भविष्यमा पोखरीमा पानीको मात्रामा घटबढ के हुन्छ अनुमान गर्न सकिन्छ । पाँचौँ काम, पोखरीको पानी भूमिगत जलभण्डारमा छिरिरहेको छ कि छैन पत्ता लगाउनु हो । पोखरीको पानी भूमिगत जलभण्डारमा छिरिरहेको छ र पोखरीको वरिपरिको क्षेत्रमा भूमिगत जललाई पम्पले तानेर सिँचाइ वा अरू कुनै काममा लगाइएको छ भने पोखरी सुक्ने सम्भावना हुने हुनाले त्यस्ता कार्यलाई यथाशीघ्र चाँडो हतोत्साही गर्नुपर्छ ।
प्रायः पोखरीहरू हाम्रा परापूर्वकालदेखि चलिआएका चाडपर्व र संस्कृतिसँग जोडिएका छन् । यसले के देखाउँछ भने हाम्रा पितापुर्खाले पोखरीको महत्व राम्रोसँग बुझेका थिए र सोही अनुरुप पोखरीको दीर्घकालीन संरक्षण र सम्बद्र्धनको ब्यवस्था पनि मिलाएका थिए । त्यो कुरालाई मनन गर्दै आआफ्नो क्षेत्रमा भएका पोखरीलाई स्थानीय सरकारको नेतृत्वमा आन्तरिक र वाह्य दुवैखाले पर्यटकलाई आकर्षण गर्ने गरी स्याहारसम्भार गर्नु हामी सबैको कर्तब्य हो । स्थानीय सरकारले आफ्नो क्षेत्रमा भएका पोखरीको अध्ययन गराई पोखरी उत्पत्ति हुनुको भौगर्भिक कारण, पोखरी र भूमिगत जलको सम्बन्ध, पोखरीमा आस्रित जलचर र थलचरको सूची, पोखरीले वातावरणलाई पु¥याएको लाभ, पोखरीसँग गाँसिएको स्थानीय संस्कृति जस्ता महत्वपूर्ण सूचना तयार पारी पोखरीको छेउमा एउटा अध्ययन कक्ष बनाउनु राम्रो हुन्छ । पोखरी रहेको क्षेत्रका स्कुले विद्यार्थीलाई अनिवार्य रूपमा एकचोटि पोखरीको अध्ययन भ्रमण गराउने परिपाटी पनि बसाल्नु पर्छ । स्थानीय सरकारले यो कार्य गर्नु भनेको आफ्ना नागरिकलाई आफ्नो क्षेत्रबारे सुसूचित गराउनु त हो नै । त्यो बाहेक, आन्तरिक र वाह्य पर्यटकलाई आकर्षण गरी राजस्व वृद्धि गर्ने यो एउटा राम्रो अवसर पनि हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?