logo
२०८१ बैशाख ११ मंगलवार



फोहोर व्यवस्थापनमा सफलता (सम्पादकीय )

विचार/दृष्टिकोण |




मध्यपुर थिमी नगरपालिकाले फोहोर व्यवस्थापनमा नमूना सफलता प्राप्त गरेको छ । घरबाट निस्कने फोहोरबाट जापानी प्रविधि प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गरेर फोहोर व्यवस्थापनमा नगरपालिकाले सफलता प्राप्त गरेको छ । दुई वर्षअघि फोहोर व्यवस्थापन गर्दै जापानी कम्पोष्ट प्रविधिबाट विना रसायन प्राङ्गारिक मलको सफल उत्पादन गरिएको हो । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रूपियाँमा धमाधम बिक्री भइरहेको छ । उक्त मल कृषकमाझ लोकप्रिय बन्दै गएको छ । उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको जनाइएको छ । मल दूषितरहित भएको प्रमाणित भएकाले राष्ट्रपति कार्यालय परिसरको बगैँचामा पनि प्रयोग गरिएको छ । नगरपालिको वडा नं. ४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोष्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ । यो अनुभव र सफलताबाट उक्त नगरपालिकाका अन्य वडामा पनि यस्तो पहल गर्न सकिने सम्भावना देखिएको छ । काठमाडौँको फोहोर सिसडोलमा अट्न छाडेपछि त्यसको विकल्प खोजिरहेको काठमाडौंँ महानगरपालिकाले प्राङ्गारिक मल उत्पादन गरी फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा आयआर्जनको ढोका खोलिदिन सक्छ । काठमाडौँलगायत अन्य नगरपालिकाहरूले पनि यस्ता विकल्पको प्रयाग गर्न सक्छन् ।
मध्यपुर थिमी नगरपालिकाकोे विधि तथा प्रविधिअनुरूप चितवनको राप्ती नगरपालिकाले पनि यस्तै मल उत्पादन गर्ने भएको छ । काठमाडौँंको कागेश्वरी मनोहरा, गोकर्णेश्वर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले सोही प्रविधिबाट मल उत्पादन गर्न प्रारम्भिक योजना बनाएका छन् । सरकारले यस्तो पहललाई व्यापकरूपमा विकास गर्न केही नीतिगत र आर्थिक योजना अघि बढाएमा यस क्षेत्रमा सफलता गर्न सकिने देखिएको छ । मध्यपुर थिमीले यस कार्यका लागि विशेष तयारी गरेकाले अन्य तह वा निकायले यहाँबाट व्यावहारिक ज्ञान लिन सक्ने छन् । सो नगरपालिकाले जापानको टोबा सहरसँग भगिनी सम्बन्ध कायम गरी मल उत्पादनको आधार तयार गरेको छ । लामो समय जापानमा यस्तै मल उत्पादनसम्बन्धी अध्ययन र अनुसन्धानमा संलग्न जनशक्तिको अनुभवका आधारमा गरिएको उत्पादन दीर्घकालीन हुने देखिन्छ । यस्ता उत्पादन परीक्षणका रूपमा मात्र उत्पादन गरियो भने व्यावसायिक महत्व राख्न नसक्ने भएकाले आमउत्पादन गरी मललाई व्यावसायिकता प्रदान गर्नु भने चुनौती देखिन्छ । साथै, वितरण र सहज उपलब्धता, मलको उर्वरा शक्ति, मूल्य तुलनाका आधारमा मललाई किसानमैत्री बनाउने हो भने यस्ता मलको राष्ट्रिय उत्पादन र उपभोगको सम्भावना देखिन्छ । तर रासायनिक मलभन्दा महङ्गो र सुलभ उपलब्ध हुन नसक्ने अवस्थामा यस्तो सफलता प्रचारमा मात्र केन्द्रित हुनेछ । एकतिर विदेशी मुद्रा तिरेर ल्याउनु रासायनिक मल अर्कोतिर त्यही मल पनि किसानले उपयुक्त समयमा पाउन नसक्ने अवस्थाको अन्त्य गर्न प्राङ्गारिक मलको राष्ट्रियस्तरमा उत्पादन तथा उपभोगको सम्भावनाबारे पनि अध्ययन गर्नु आवश्यक हुन्छ ।
थिमीले मल उत्पादनमा स्थानीयको सहभागितालाई उच्च महत्व दिएको छ । मल उत्पादनका लागि सबै भौतिक संरचना नगरपालिकाले निर्माण गरेको र नाफाको १५ प्रतिशत रकम कम्पनीले नगरपालिकालाई प्रदान गर्नुपर्नेछ । अहिले वार्षिक दश टन मल उत्पादन हुने गरेको छ । सहकारी मोडलमा मलको कच्चा पदार्थ सङ्कलन, उत्पादन तथा उपयोग गर्ने वातावरणले मल कारखानाको स्थायित्व रहन्छ । वडाबासीलाई अनिवार्यरूपमा कुहिने र नकुहिने गरी छुट्ट्याएर राख्नु पर्नेजस्ता नियम राखी फोहोरको व्यवस्थापनमा घरदेखिकै पहललाई मूर्तरूप दिनुपर्ने हुन्छ । जसबाट वडाबासीलाई फोहोर उपलब्ध गराएको आधारमा कम शुल्क वा निःशुल्कमा मल उपलब्ध गराएर खेती तथा फूलबारीमा यसको उपभोग बढाउन सकिने छ । मल उत्पादनका लागि धेरै परिश्रम र लगानी नपर्ने भएकाले पनि यसमा वडाबासीको सहज संलग्नता हुने देखिन्छ । पातपतेला, पराल, खर रातो माटो, भुस, साना डाले घाँस, कार्बन, खनिज तत्व, उपयोगी ब्याक्टेरिया र नाइट्रोजको मिश्रणबाट मलको उत्पादन गर्न सकिने भएकाले यसको उत्पादन मूल्य किसानमैत्री हुनेमा विश्वास गर्न सकिने छ । कच्चा पदार्थलाई दुई हप्तासम्म छोपेर मलको तापक्रम ६० देखि ७० डिग्री पु¥याइने भएकाले मल प्रदुषणमुक्त हुने तथ्यलाई प्रचारप्रसार गरी यसको उपयोगमा वृद्धि गर्न सकिने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?