logo
२०८१ बैशाख १३ बिहीवार



औचित्यको कसीमा गाँजाखेती

विचार/दृष्टिकोण |




दधिराम खतिवडा / पुष्प लामा


अहिले मुलुकमा गाँजालाई वैधानिक बनाउनुपर्ने चर्चा राजनीतिक उचाइमा पुगेको छ । सङ्घीय संसद्मा यसबारेमा हालसालै सार्वजनिक महìवको प्रस्तावका रूपमा पेश भएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको अवगत नै छ । पाँचपटक संशोधन भइसकेको उक्त ऐनलाई पुनः परिमार्जन गरी विश्वव्यापी मान्यताअनुसार गाँजा उत्पादन, प्रशोधन र बिक्री वितरणमा सहजता ल्याउन नीतिगत तहबाट प्रारम्भिक अभ्यास थालिएको छ ।
मुलुकको आर्थिक वृद्धिदर सबल र सक्षम बनाउन, प्राकृतिक उपचारका लागि आयुर्वेदिक औषधि उत्पादन गर्न, औद्योगिक व्यवसाय गरी किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको कानुनी प्रतिबन्ध फुकाउनुपर्ने प्रस्तावमा उल्लेख छ । समग्रमा अध्ययन गर्दा केही प्राविधिक विषयवस्तुमाथि जटिलता देखिन्छ । नेपालमा हालसम्म गाँजा प्रशोधन गर्ने यथेष्ट पूर्वाधार, उपभोग, प्रयोगको मापदण्ड, जैविकीय गुण नियन्त्रण गर्ने प्रयोगशाला, उचित अनुसन्धान, खेती गर्ने मापदण्ड विधि केही छैन । कानुनीकरण गर्नु सम्भावित पूर्वाधारको कार्ययोजना पनि सँगसँगै अगाडि सारिनुपर्छ ।
प्राकृतिक रूपमा आफैँ उम्रेको गाँजालाई प्रहरी तथा सुरक्षाकर्मी बारी तथा जङ्गलका पाटातिर पसेर नष्ट गरिरहेका दृश्य हामीले कैयौँ पटक देखेका छौँ । अन्तर्राष्ट्रियस्तरमै गाँजाको प्रयोग खुला हुँदै जाँदा हामीले आफ्नो उत्पादन र ज्ञान सदुपयोग गर्न सक्यौँ भने गाँजाबाट निर्मित बहुमूल्य औषधि निर्यात गर्ने सम्भावना देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले औषधीय गुण र मानव स्वास्थ्यका लागि लाभदायी छ भन्ने घोषणा गरिसकेपछि गाँजाको पुनः उत्पादमा ढिलाइ गर्नुहँुदैन । गाँजाको आयुर्वेदिक प्रयोग नजानेर पनि हामी पछि परिरहेका छाँै ।
नेपालको उर्वर भूमि गाँजामैत्री छ । हरेक वर्ष गाँजा नष्ट गरे पनि अर्को वर्ष आफैँ उम्रेर सप्रिन्छ । प्रकृतिप्रदत्त गाँजालाई कानुन लगाएर घिच्याउन मिल्दैन । सदुपयोग र व्यवसायीकरण अबको निर्विकल्प हो । तराईदेखि पहाडसम्म सबैतिर गाँजाको लागि उपयुक्त वातावरण र हावापानी छ । विश्वमा गाँजा खेतीका लागि माटो, बीउ, हावापानी र अन्य बालीमा पर्ने असरका बारेमा निकै खर्चिलो अनुसन्धान गर्नुपरेको छ । नेपालमा गाँजा खेतीका लागि अति सजिलो छ । एक त गाँजा आफैँ उम्रिन्छ । दोस्रो व्यवसायीकरण गर्ने हो भने पनि कम लगानी पर्छ । नगदेबालीका रूपमा अब गाँजालाई प्रवद्र्धन गर्नैपर्छ । विश्वव्यापी अभ्यासको विश्लेषण गर्दा गाँजा खेतीबाट किसानको आम्दानी चार गुणा बढ्ने प्रक्षेपण गर्न सकिन्छ ।
गाँजा अर्थात् मारिजुआनाको इतिहास पहिल्याउन हजारौँ वर्षअगाडि फर्किनुपर्छ । गाँजा एक वनस्पतिजन्य नसिलो वनस्पति हो । गाँजा जसलाई झार, जडीबुटी, भाँडो, घाँस, कोप, गाँजा, मेरी जेन र अन्य धेरै नामले चिन्ने गरिन्छ । मारिजुआना चिया पिउन पनि प्रयोग गर्न सकिन्छ । पश्चिमा मुलुकमा विशेषगरी यो बेच्ने वा औषधीय उद्देश्यका लागि खपत गरिन्छ भने प्राय (खाद्य) ब्राउनी, कुकिज, वा क्यान्डीजस्ता पदार्थमा मिसाइन्छ ।
नेपालमा गाँजा उत्पादन र बिक्रीको इतिहास लामो छ । तराईका बारा, पर्सा, सिराहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो । ठूलो परिमाणमा गाँजा र चरेस निर्यात भइरहेको थियो । सन् १९७० को दशकमा नेपालमा फैलिएको पश्चिमी हिप्पी संस्कृतिको प्रभाव र गाँजाको सहज उपलब्धतासँगै लागुऔषध दुव्यर्सन विकृतिजन्य घटना बढेपछि गाँजा कानुनतः अवैैधानिक
बनाइएको थियो ।

कानुनीकरणको अमेरिकी अभ्यास
बीसौँ शताब्दीको अवधिमा धेरै देशमा यो अवैध औषधि बनाइएको थियो । संयुक्त राज्य अमेरिकामा २० वर्षयता मेडिकल प्रयोजनका लागि गाँजासम्बन्धी कानुनीकरणका पक्ष र विपक्षमा गम्भीर बहस सुरु भयो । प्रतिबन्धित लागूऔषधमा सूचीकृत गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएपछि विभिन्न मुलुकले प्रतिबन्ध हटाउने अभियान सुरु गरेका हुन् । अमेरिकी राज्यहरूमा करिब ११ वर्ष लगाएर गरिएको अध्ययनले दुःखाइ कम गर्ने अन्य औषधि (पेन किलर) का तुलनामा गाँजाको गुणस्तर बढी प्रभावकारी देखिएको छ ।
“ड्रग्सको विरुद्ध युद्ध“ नामक एक अभियानका रूपमा १९७० मा अमेरिकन राष्ट्रपति रिचर्ड निक्सनले कानूनमा हस्ताक्षर गरी मारिजुआना कर ऐन रद्द गर्नुभयो र मारिजुआनालाई अनुसूची १ को औषधिको रूपमा सूचीबद्ध गरियो । हेरोइन, एलएसडी र एक्स्टेसीको प्रशोधन गरी मेडिकल प्रयोजनका उपयोग गर्न सकिने पहिचान भयो । दोस्रो विश्वयुद्धको अवधिमा अमेरिकामा औद्योगिक भाङको उब्जनी जारी नै रह्यो ।
अमेरिकामा सन् २०१४ मा गाँजाबारे अनुसन्धान गर्न विश्वविद्यालय र राज्यहरूलाई खुला गरियो । सन् २०१८ मा किसानहरूले राज्य सरकारमा दर्ता भएर मापदण्ड पूरा गरेर सिफारिस गरिएका गाँजाका प्रजाति खेती गर्न खुला गरियो। औषधिय प्रयोजनका लागि ३३ वटा राज्यले गाँजा खेतीलाई पूर्ण खुला गरिसकेका छन् भने ११ वटा राज्यमा मनोरञ्जनात्मक प्रयोजनका लागि खुला गरिएको छ । अन्य राज्य मापदण्ड तर्जुमाको तयारीमा छन् । स्वतन्त्रतापूर्वक धान, मकै, तरकारीजस्तो खेती गर्न र बिक्री–वितरण गर्न भने खुला गरिएको छैन । प्रान्तीय राज्यहरूमा गाँजा नीतिगत रूपमा वैधानिक भए पनि सङ्घीय सरकारको कानुनले खाँटी गाँजाको खुला खेती र बिक्रीवितरण अवैधानिक मान्छ ।
अहिले युरोप र क्यानाडामा गाँजालाई वैध गरेर धेरै उत्पादन तयार भइसकेका छन् । गाँजाबाट निर्मित अर्बौं डलरका सामान अमेरिका र क्यानाडाले विश्वस्तरमा आयात निर्यात गरिरहेको छ । अमेरिकी सरकारले अहिले उच्च प्राथमिकता दिएर गाँजामा अनुसन्धान, उत्पादन, उपभोग र निर्यातको नीति लागू गरेको छ । तुलनात्मक रूपमा नेपाल सरकारले पनि गाँजामा लगाएको प्रतिबन्ध फुकुवा गर्ने र उनीहरूको अनुभवबाट पाठ सिक्नु अपरिहार्य छ ।

वेदमा गाँजा
अथर्व वेदका अनुसार पाँच आधारभूत वनस्पतिमा गाँजा पर्छ । वेदका अनुसार यसले स्वतन्त्रता, खुसी र एकाग्रता दिन्छ । विषले मुच्र्छित व्यक्तिलाई गाँजाको उपचारले बचाउन सकिने उल्लेख छ । विभिन्न रोग लाग्दा मानिस र पशुपक्षीलाई गाँजाको पात, फूल र फल (दाना) खुवाउने चलन पनि छ ।
गाँजा उत्पत्तिका विभिन्न व्याख्या भए पनि यसलाई हिन्दुहरूले शिवको प्रसाद मानेर सेवन गर्ने चलन छ । धर्मशास्त्रले गाँजा पाप पखाल्न र शिव भगवान्सँग निकट हुन सेवन गरिने भनिएको छ । हिन्दु धर्ममा भगवान् शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको धर्मशास्त्रमा उल्लेख छ । अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरुवा उम्रेको हो ।
चिकित्सा प्रयोजनमा गाँजा
गाँजा जसलाई मेरिनोल (ड्रोबिनोल) पनि भनिन्छ । यो गाँजाको कृत्रिम रूप हो । चिकित्सा विज्ञानअनुसार गाँजामा नशा लगाउने र औषधिको रूपमा उपयोग हुने दुई प्रमुख तत्व हुन्छन् । गाँजामा हुने ८० रसायनमध्ये फूलमा हुने क्यान्ना बिडियोल (सीबीडी) र टेट्रा हाइड्रो क्यान्नाबिनोल (टीएचसी) को मात्राको आधारमा अमेरिकामा दुई वर्गमा छुट्याइएको छ । गाँजामा टीएचसी ०.३ प्रतिशतभन्दा बढी भए म्यारुवाना र सोभन्दा कम भए हेम्प भनिएको छ । टीएचसीमा औषधीय गुण भए तापनि यसले नशा लगाउने कार्य गर्छ । गाँजाको फल वा भाँगो त्यसै वा अचार बनाएर खान अत्यन्त स्वादिलो र स्वास्थवर्धक मानिन्छ ।
वैज्ञानिकहरूले पछि पत्ता लगाएको टीएचसी गाँजाको औषधीय गुणहरूको स्रोत थियो । हार्वड विश्वविद्यालयमा मेडिकल विषयका प्रोफेसर पिटर ग्रिन्सपोन लेख्नुहुन्छ, ‘क्यान्नाबिसमा हुने रसायन सीबीडीले दुःखाइ (पेन), चिन्ता (एन्जाइटी), अनिद्रा (इन्सोमेनिया), मिर्गी (इपिलेप्सी), मनोविकृत (साइकोसिस), अटिजम जस्ता सबै मानसिक रोगमा सबैभन्दा प्रभावकारी औषधिको काम गर्छ ।’ कमजोर भोक र भोजन सेवन (एनोरेक्सिया) प्रतिरक्षा कमी सिन्ड्रोम (एड्स) भएका मानिसहरूमा वजन घटाउने र क्यान्सरको कारण बान्ता र उल्टीको उपचारका लागि प्रयोग गरिन्छ ।
नेसनल इन्स्टिच्युड अन ड्रग अवुसका अनुसार गाँजाबाट निर्मित औषधि मानसिक स्वास्थ्य निदान, विशेष गरी डिप्रेसन, मुड बदल्ने, स्किजोफ्रेनिया, वा लागुपदार्थको दुरूपयोग गरी ग्रसित भएका व्यक्तिहरूमा सावधानीका साथ प्रयोग गरिनुपर्छ । आर्थराइटिस (जोर्नी खिइने) रोगमा गाँजाको तेल सबैभन्दा प्रभावकारी पाइएको छ । सीबीडीले कलेजोलाई बलियो पार्ने अनुसन्धानबाट देखिएको छ । केही रोगमा सीबीडी सेवनको मात्रा अझै यकिन गर्न बाँकी छ । जनावरहरूमा यसको परीक्षणमा पूर्ण सफलता मिलेको छ । यसको कुनै साइड इफेक्ट हुँदैन ।
मरिनोलको सबैभन्दा सामान्य शारीरिक साइड इफेक्टहरूमा अस्थेनिया (ऊर्जाको कमी), पेट अस्वस्थता, बान्ता, दौड मुटुको दर, अनुहारको फ्लशिङ र चक्कर आउँछ । मेरिनोलको सबैभन्दा सामान्य मनोवैज्ञानिक साइड इफेक्टहरूमा चिन्ता, निद्रा, भ्रम, र पागलपन समावेश छ ।
न्यूयोर्क टाइम्समा प्रकाशित विवरणअनुसार दुःखाइ कम गर्ने अन्य औषधि अत्यधिक सेवन गर्दा बिरामीको मृत्युको सम्भावना ४० प्रतिशतभन्दा बढी पाइएको, तर गाँजा सेवनले मृत्युदर २५ प्रतिशतमा झरेको उल्लेख छ । त्यस्तै शरीरमा क्यान्सरका कोष मार्न तथा लागूऔषध र रक्सीको लत छुटाउन गाँजा प्रभावकारी हुने देखाएको छ । अध्ययनले गाँजा खुला गरिएपछि अमेरिकाको कोलोराडो राज्यमा रक्सीको बिक्री घटेको र क्यालिफोर्नियामा अपराधमा समेत कमी आएको देखाएका छन् ।

अर्थतन्त्रमा गाँजा
अमेरिकामा गाँजाको (हेम्प) बाट बनेका मलम, तेल, चक्की र गैर औषधीय वस्तुसमेत गरी दुई हजार पाँच सयभन्दा बढी उत्पादन बजारमा छन् । नियन्त्रित रूपमा उत्पादन गरिएको र अनुसन्धानमा धेरै लागत परेको कारण हाल औषधि र अन्य उत्पादित वस्तुहरू महँगा छन् । बजारमा माग उत्तिकै बढ्दो मात्रामा छ ।
अस्ट्रेलियाबाट प्रकाशित हुने दैनिक पत्रिका ‘सिड्नी मर्निङ हेराल्ड’ का अनुसार, अस्ट्रेलियाको सेयर बजारमा सूचीकृत गाँजा उत्पादक उद्योगहरूको सेयर उकालो लाग्ने क्रममा छ । यसअघि उरुग्वे, क्यानडा र नेदरल्याण्ड्सले गाँजाबाट निर्मित औषधि निर्यात गर्ने घोषणा गरिसकेका छन् । प्रतिस्पर्धात्मक रूपले विभिन्न देशमा गाँजालाई खुला गर्ने आफ्नो चुनावी मुद्दा र संसदीय अभ्यास निरन्तर जारी छ ।
लागू औषधलाई सरकारले तोकेको मापदण्ड अनुरूप नियन्त्रित तरिकाले खेती र प्रशोधन गरी औषधि बनाउन पाइने, अनुसन्धान गर्न पाइने र अयुर्वेधिक औषधिमा प्रयोग गरी डाक्टरको सिफारिसमा बिरामीले खान पाउने गरी गाँजाको प्रशोधित पदार्थलाई उपभोग्य बनाइनुपर्छ । नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्दा आर्जन गर्ने सम्भावना छ । निःशुल्क रूपमा नेपालबाट बाहिर तस्करी भएका घटना भने धेरै छन् । यसबाट मोटो राजस्व भन्सार हामीले गुमाएका छौँ ।
गाँजालाई गैरकानुनी बनाइएपछि कतिपय आयुर्वेदिक औषधिको उत्पादन नै बन्द भएकाले महँगो दरमा आयात गरेको तीतो सत्य छ । आयुर्वेदिक चिकित्सक र औषधि उत्पादक औषधीय प्रयोजनका लागि नियन्त्रित खेती गर्नुपर्ने तर्क गर्छन् । गाँजा कम खेतीयोग्य जमिनमा हुने भएकाले पनि त्यसलाई सरकारले प्रवद्र्धन र प्रोत्साहन गर्नुपर्छ ।
अन्तर्राष्ट्रियस्तरमै गाँजालाई अमृतजन्य औषधको रूपमा चित्रण गरी खुला भइसकेपछि नेपालले जोखाना हेरेर बस्नुपर्ने स्थिति छैन । सामाजिक आर्थिक राजनीतिक रणनीतिक योजनाका साथ उत्पादन प्रोत्साहन, विविधीकरण, व्यापारीकरण गरी आर्थिक लाभ उठाउन सक्नुपर्छ ।
(खतिवडा अमेरिका आधारित स्वतन्त्र पत्रकार र लामा सूचना प्रविधि अध्येता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?