logo
२०८१ बैशाख ७ शुक्रवार



निजी स्कुल ‘ब्रोइलर फ्याक्टरी’

विचार/दृष्टिकोण |




अभिषेक घिमिरे

निजी स्कुल सङ्गठनका एक उच्च नेता तथा प्रिन्सिपलले एक दिन अनौपचारिक कुराकानीका सन्दर्भमा भन्नुभयो, ‘हामी निजी स्कुल त बाघको छाला ओढेका स्याल पो हौँ त !’
‘कसरी ?’ मेरो उत्सुकता जाग्यो ।
‘हामीले अभिभावकमा जे भ्रम छरेका छौँ, त्यो हामीले दिन सकेका छैनौँ,’ उहाँले थप्नुभयो ।
‘जस्तै... ’ बुझ पचाउँदै सबै उहाँकै मुखबाट सुन्न खोजेँ ।
‘हामी ठ्याक्कै ब्रोइलर कुखुराको फ्याक्ट्री’ उहाँ खुल्दै जानुभयो ‘घ्वाप्प सुई हान्यो, तीन महिनामै भक्क फुलेको ब्रोइलर ! सबै कृत्रिम, सबै अप्राकृतिक,’ उहाँ मुडमा हुनुहुन्छ । मसँग भेट हुँदा प्राय सबैसँग आजकाल शिक्षाकै सवालमा कुरा हुन्छ । प्रायः निजी स्कुलका सञ्चालकसँग राज्यको विभेदकारी भूमिका, निजी स्कुललाई निरुत्साहित गर्ने राज्यको नीति र अन्य शिक्षाका सरोकारवाला र चिन्तकसँग सार्वजनिक स्कुलको खस्कँदो स्थितिको कुराकानी हुन्छ । प्रायः सबैले शैक्षिक विकृति तथा मुद्दाका विषयमा प्रशस्तै कुराकानी गर्ने भए पनि आफ्नै आत्मालोचना गर्ने ढङ्गबाट थोरैमात्र व्यक्ति प्रस्तुत हुने गरेको देखिन्छ ।
निश्चित तापमान कायम गरी कृत्रिम पद्धतिबाट उत्पादन गरिएका ब्रोइलर कुखुराका चल्ला तीन महिनामै पुटुक्क परेका, हर्लक्क बढेका हुन्छन् । तर, सामान्यखालको प्रतिकूल वातावरणमा पनि आफूलाई जोगाउन सक्दैनन् । के साँचिक्कै निजी स्कुल ब्रोइलर कुखुराका फ्याक्टरीजस्तै हुन् ? के निजी स्कुलले उत्पादन गरेका जनशक्ति ब्रोइलर कुखुरालाई सुई लगाएजस्तै भुक्क फुलाइएका हुन् त ? नेपालगन्जको एउटा स्कुलमा अभिभावक परामर्श कार्यक्रम सहजीकरण गर्दै गर्दा एकजना अभिभावकले सोध्नुभयो, ‘निजी स्कुलका बालबालिकाभन्दा सार्वजनिक स्कुलका विद्यार्थी किन बाठा हुन्छन् ?’
मैले प्रति प्रश्न गरे, ‘तपाईंलाई किन त्यस्तो लाग्यो ?’
‘आफैँले जानेर कुनै काम गर्दैनन् । आफ्नो काम आफैँ गर्न सक्दैनन् । सबै अरूले गरिदिनुपर्छ । असामाजिक छन् । छिमेकी चिन्दैनन् । आफन्त र पाहुना चिन्दैनन्....।’
उहाँ बोल्दै जान थाल्नुभयो । सबैजना अभिभावक हो मा हो मिलाउन थाल्नुभयो ।
अभिभावकको प्रश्नमा सत्यता थियो । आजका बालबालिकामा सामाजिकीकरणका सवालमा समस्या देखिँदै छ । अहिलेका बालबालिका परनिर्भर बन्दै छन् । तर, निजी र सार्वजनिक स्कुलका विद्यार्थीबीच तुलना नै गरेर उहाँलाई जवाफ दिन मन लागेन । यद्यपि, उक्त प्रश्नले एक अर्को खोजतर्फ प्रेरित ग¥यो ।
विक्रम संवत् २०७५ सालको एसईईमा चार लाख ५९ हजार २७५ विद्यार्थीले भाग लिएका थिए । यसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको सङ्ख्या तीन लाख २५ हजार ३३० (७१ प्रतिशत) थियो भने निजी विद्यालयबाट एक लाख ३३ हजार ९४५ (२९ प्रतिशत) विद्यार्थी थिए । सबैभन्दा माथिल्लो जीपीए समूह ३.६० देखि ४.०० ल्याएका १७ हजार ५८० मध्ये सामुदायिक र निजी विद्यालयमा क्रमशः १६ र ८४ प्रतिशत छन् । जीपीए समूह ३.२० देखि ३.६० ल्याउने ५१ हजार १३७ मध्ये सामुदायिक विद्यालयमा २२ र निजी विद्यालयमा ७८ प्रतिशत छ ।
अर्को पाटोबाट नतिजालाई विश्लेषण गर्ने हो भने सबैभन्दा कम जीपीए समूहमा ०.८० देखि १.२० ल्याएका जम्मा चार हजार ४२९ विद्यार्थीमध्ये सामुदायिक विद्यालयमा ९७ र निजी विद्यालयमा तीन प्रतिशत छ । त्यस्तै पुच्छरभन्दा अलिक माथितिरको जीपीए १.२० देखि १.६० भन्दा कम समूहमा पर्ने ४३ हजार ८४१ विद्यार्थीमध्ये ९७ र ३ प्रतिशत क्रमशः सामुदायिक र निजी विद्यालयका छन् । जीपीए समूह १.६० देखि २.०० ल्याउने जम्मा ९५ हजार ३०७ विद्यार्थीमध्ये सामुदायिक र निजी विद्यालयका क्रमशः ९५ र ५ प्रतिशत रहेको छ । जीपीए समूह २.०० देखि २.४० ल्याउने ९८ हजार २०७ मध्ये ८९ प्रतिशत सामुदायिक विद्यालयका र ११ प्रतिशत निजी विद्यालयका छन् ।
यो त केवल गत सालको परीक्षाको नतिजा हो । विगतको पूरै दशकलाई फर्केर नियाल्ने हो भने पनि निजी स्कुलको नतिजा आकर्षक र सार्वजनिक स्कुलको नतिजा कहालीलाग्दो देखिन्छ । एसईई परीक्षाको नतिजालाई आधार मान्ने हो भने निजी स्कुललाई दोष लगाउने आधार भेटिँदैन । तर, विद्यार्थीको समग्र विकासको मापन एसईई परीक्षा वा अन्य कुनै तीनघण्टे परीक्षाले गर्न सक्छ ? परीक्षाको नतिजाका आधारमा कसैलाई उत्कृष्ट र कसैलाई कमजोर मान्न सकिन्छ ? यदि सकिन्न भने यसको विकल्प के हो त ?
दुई वर्षअगाडि सिरहाको मिर्चैयामा शिक्षक तालिमको सहजीकरण गर्नेक्रममा बिहानै जाँदै थिएँ । गोलबजारनेर हटिया लागेको रहेछ । तराईमा प्रायः बेलुका हाटबजार लाग्ने चलन छ । तर, उक्त स्थानमा बिहानै लागेको देखेपछि गाडी सडकको एक छेउ रोकेर बजार घुम्न निस्किएँ । एउटा दृश्यले ध्यान खिचिहाल्यो । त्यहाँ त खेलमात्र होइन, आठ वर्षीय एक बालिका तरकारी पसल राखेर बेच्न बसेकी रहिछन् । संयोगले उनको पसलमा अर्का सोही उमेरका बालक झोला बोकेर तरकारी किन्न आए । एकछिन तरकारीको दामको विषयमा मोलमोलाइ भयो । ग्राहक बनेर आएका बालकले धेरै घटाउन खोजे । साहुनीले मानिनन् । दामको विषयमा निकैबेर कुरा गरेपछि ग्राहक भइआएका बालकले तरकारी जोखी किनेर गए । तरकारीको न्यूनतम मूल्य र आफ्नो निश्चित नाफा राखेरमात्र बेच्ने अडान लिने ती बालिका र सबैतिर बुझेर भाउको तुलनात्मक अध्ययन गर्ने बालक व्यावहारिक ज्ञानमा निपूर्ण थिए । तर, विडम्बना ! पछि जानकारी भयो, घरायसी काम सघाउनुपर्ने अवस्थाका कारण दुवैजना स्कुल जानबाट वञ्चित रहेछन् ।
यो सबै देखेपछि मलाई तुरुन्तै अर्को घटना याद आयो । काठमाडौँको अनामनगरस्थित एक किराना पसलको छेउमा उभिएको थिएँ । प्रतिष्ठित निजी स्कुलमा पढ्ने एकजना नौ वर्षीय बालक हातमा २० रुपियाँको नोट लिएर पसलमा आए र साहुजीसँग १० रुपियाँका दुईवटा नोट साटे । त्यसपछि फेरि एउटा १० को नोट दिएर चाउचाउ र अर्को १० दिएर बिस्कुट किनेर घरतिर लागे । मलाई अचम्म लाग्यो । उनले २० रुपियाँ एकैपटक किन नदिएका होलान् ? १० मा १० जोड्दा २० हुन्छ भनेर जोड्न त उनलाई सिकाइयो तर व्यावहारिक पाटोमा ध्यान दिएको भेटिएन ।
काठमाडौँको एक महँगो निजी स्कुलको नर्सरीमा आफ्नी चार वर्षीय छोरी भर्ना गर्नुभएकी एकजना छिमेकी महिलाले आफ्नो स्कुलको खुब तारिफ गर्दै भन्नुभयो, ‘मेरी छोरी त स्कुल जानमात्र के थालेकी थिइन्, ‘वान’ देखि ‘हन्ड्रेड’सम्म सबै आउँछ उनलाई ।’
‘हो र ?’ मैले भनेँ, ‘अचम्म भयो त !’
‘हो नि,’ दङ्ग पर्दै उहाँले भन्नुभयो, ‘नपत्याए आफैँ सोध्नुस् न ।’
मैले बाटोबाट बाटुलो परेका केही साना ढुङ्गा ल्याएर उनको अगाडि राख्दै भनेँ, ‘ल छोरी १० वटा ढुङ्गा टिपेर मलाई दिनुहोस् त ।’
छोरीले ढुङ्गा टिप्दै एकै सासमा गन्न थालिन् ‘वान, टु, थ्री, फोर... टेन ।’
...र टिपेको ढुङ्गा मेरो हातमा राखिन् । तर, मसँग जम्मा चारवटा ढुङ्गामात्र थिए !
कुरा प्रस्ट छ, स्कुलमा उनलाई अङ्क भन्न सिकाइयो तर गन्न सिकाइएन । अङ्कको नाम घोकाइयो तर एक अङ्कबराबर एक वस्तु वा पदार्थ हुन्छ भनेर सिकाइएन ।
एक नाम चलेका निजी स्कुलका प्रिन्सिपलले मेरो फेसबुकको म्यासेन्जरमा लेख्नुभयो, ‘कक्षा १० का मेरा विद्यार्थी गणित विषयमा कमजोर छन् । जति घोटाए पनि पास हुने छाँटकाँट देखिएन । शिक्षकले नै स्कुल छोड्छु भन्न थाल्नुभयो ।’ मैले सोच्दै नसोची जवाफ फर्काएँ । ‘कुरा साधारण छ । तपाईं हामीले गणितजस्तो व्यावहारिक विषय पनि पुस्तक र कक्षाकोठाभित्र मात्र सीमित गर्छौं ।’
यी सबै घटना यहाँ जोड्नुको अर्थ अभिभावकले मलाई सोधेको प्रश्नको जवाफ खोज्नु थियो । दिन–रात पढाइमा लगाउने, रेखदेख गर्ने, उच्च अङ्क ल्याउने निजी स्कुलका विद्यार्थीभन्दा सार्वजनिक स्कुलमा प्रायः अनियमित हुने, पढ्न नजान्ने बालबालिका किन चलाख र व्यावहारिक हुन्छन् भन्ने प्रश्नको उत्तर खोज्नु थियो ।
चर्चित शिक्षा अन्वेषक जोन डेवेले भनेका छन्, ‘बालबालिकालाई कुनै कुरा पढ्न दिनुभन्दा केही काम गर्न दिनुभयो भने अझ मन लगाएर गर्छन् । कमीकमजोरी आफैँ पत्ता लगाउँछन् र त्यसलाई सच्याएर काम सम्पन्न गर्दछन् ।’ मारिया मन्टेसरीले ‘सेल्फ करेक्सन’ लाई स्वसिकाइको महŒवपूर्ण पाटो मानेकी छन् । रूसोले पनि प्रकृतिसँग जोडेर स्वसिकाइलाई जोड दिएका छन् ।
सिकाइ प्राकृतिक प्रक्रिया हो । सिकाइ उपलब्धि नियन्त्रित विधिभन्दा स्वस्फूर्त रूपमा बढी हुन्छ । आइन्सटाइनले सिकाइ शिक्षकभन्दा वातावरणकेन्द्रित हुनुपर्छ भनेर जोड गरे । डाक्टर मारियाले पनि के सिक्ने भन्ने कुरा शिक्षकले तय गर्ने नभई, बालबालिकाको रुचिलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
माथिका प्रसङ्गसँग जोडेर तुलना गर्ने हो भने सिकाइ हरेक ठाउँ र परिस्थितिमा प्राकृतिक प्रक्रियाकै रूपमा जारी रहने कुराको पुष्टि हुन्छ । अध्ययन र अनुसन्धानको विधामा ‘एक्सन रिसर्च’ लाई महŒवपूर्ण मानिन्छ । मानिसले जीवनका अनेक पाटामा भोगेर सिकेका अनुभव र ज्ञान नै एक्सन रिसर्चभित्र पर्दछन् । बालबालिकाले खेल्दै, अनुभव गर्दै सिकेका ज्ञानलाई पनि यसर्थ एक्सन रिसर्च मान्न सकिन्छ ।
मैले तेह्रथुमको विकट गाउँमा बिहान करिब ९ः३० बजे घाँसको भारीसहित ११ वर्षीय बालकलाई देखेँ । सुटुक्क फोटो खिचेँ र सोधेँ, ‘भाइ स्कुल जानुपर्दैन ?’ टाउकोमा नाम्लो समाउँदै मलाई पुलुक्क हेरे र उकालो चढ्दै उनले जवाफ दिए, ‘पर्छ । घाँस पु¥याएर ।’
ए, मेरो मनमा खिन्नता जाग्यो । उनको पछि–पछि लाग्दै सोधेँ, ‘अनि स्कुल कहाँ छ नि ?
‘तल बेंसीमा... मलाई हेर्दै नहेरी जवाफ फर्काए, ‘एक घण्टा लाग्छ ।’
ओहो.... अनि कहिले घर पुगेर, कहिले खाना खाएर स्कुल पुग्ने ? अनि बेलुका घर फर्केपछि पनि त घरको काम त सघाउनुपर्दो हो । उनीजस्ता लाखौँ बालबालिका घरको काममा बाबुआमालाई सघाएर घण्टौँ हिँडेर स्कुल पुग्छन् । कति स्कुलमा त ठीकसँग पढाइ नै हुँदैन । अनि कसरी परीक्षामा राम्रो नतिजा ल्याउन सक्छन् ? परीक्षाको कडीमा यस्ता बालबालिकालाई राख्दा अन्याय हुन्न र ?
एउटा अध्ययनले घरायसी काममा सघाउने बालबालिका अन्यको तुलनामा बढी व्यावहारिक र जिम्मेवार हुने जनाएको छ । सार्वजनिक स्कुलमा पढ्ने बालबालिका बढी व्यावहारिक, जिम्मेवार र आत्मनिर्भर हुने कुरा त प्रस्ट देखियो । तर, यो गुण त अशिक्षित व्यक्तिमा पनि हुन्छ । शिक्षाको राष्ट्रिय उद्देश्य यतिमात्र त होइन । सार्वजनिक स्कुलमा पढ्ने बालबालिका भोलि राष्ट्रिय र विश्वस्तरमा प्रतिस्पर्धी बन्नुपर्दैन ? स्वतन्त्र खेल, व्यवहार, भोगाइ, संलग्नता, अनुभव आदि सबैले व्यक्तिको चिन्तन र सोचलाई परिष्कृत त बनाउँछ तर प्रतिस्पर्धी र क्षमतावान् बनाउन सक्दैन । यसले सिक्नका लागि तत्पर मस्तिष्कको निर्माण त गर्दछ तर सिकाइको वातावरणको अभावमा व्यक्ति पछि पर्दछ ।
निजी स्कुल सञ्चालक आफैँले भनेको ब्रोइलर कुखुरा फ्याक्ट्री र अभिभावकले जिज्ञासा राखेको विषयवस्तु, निजी स्कुलको शिक्षण विधि र जनशक्ति उत्पादनको आधारलाई हेर्ने हो भने त्यसलाई पुष्टि गर्ने सत्य प्रशस्त देखिन्छ । निजी स्कुलमा पढ्ने बालबालिकाले सानैदेखि बाबुआमाको प्रशस्त माया र हेरचाह पाएका हुन्छन् । खुवाउने, पिलाउने, नुहाइदिने, कपडा धोइदिने, कपडा लगाइदिने, जुत्ताको तुनासमेत आफैँ बाँधिदिने, कहिलेकाहीँ गृहकार्य पनि बायाँ हातले आफैँ गरिदिने गर्दा घरमै परनिर्भर बनिसकेका हुन्छन् । स्कुलमा समेत सुरु–सुरुमा शिक्षकले नै घर पठाउने बेला पोसाक आफैँ मिलाइदिने, जुत्ता, टाई आफैँ मिलाइदिने, कपाल आफैँ कोरिदिने, नङ काटिदिने, खाना, खाजा आफैँ खुवाइदिनेजस्ता गतिविधिले बालबालिकाले कुनै पनि कुरा गर्न आफैँ सिक्न सक्दैनन् । बिस्तारै राम्रो नतिजा ल्याएर अभिभावकलाई खुसी र आकर्षित पार्ने बहानामा बालबालिकामाथि बढी दबाब बढाउन थालिन्छ । अभिभावकको माग भन्दै गृहकार्यको बोझ क्रमशः बढ्न थाल्छ । बढी र पट्ट्यारलाग्दो गृहकार्यका कारण बालबालिकाको सिर्जनात्मक क्षमता नष्ट हुन थाल्छ । उनीहरूको खेल्ने, रमाउने समय कटौती हुन थाल्दछ । परिवार, आफन्त तथा छिमेकीसँग कुराकानी गर्ने, बाबुआमासँग घुम्ने, विचरण गर्ने सबै समय कटौती हुन थाल्दछ ।
कतिपय सहरी क्षेत्रका बालबालिकालाई घरबाट बाहिर निस्किने अनुमति हुन्न । सडकमा दुर्घटना हुने, अपहरण हुनेजस्ता डर देखाएर उनीहरूलाई घरभित्रै रहन दबाब दिने गरिन्छ । यसले उनीहरूको बाहिरी संसारसँग सम्बन्ध कटौती हुन्छ । फलस्वरूप, उनीहरू टेलिभिजन, कार्टुन, भिडियो गेमलगायतमा समय दिन थाल्छन् । बिस्तारै घरपरिवार र समाजभन्दा पनि डिजिटल र भच्र्युअल दुनियाँमा रमाउन थाल्छन् । घरमा पाहुना आउँदा सामान्य शिष्टाचारसमेत पालन नगर्नु, सामान्य व्यक्तिगत काम पनि गर्न नसक्नु, घरपरिवार र समाजबारे सामान्य जानकारी पनि राख्न नसक्नु आदि सबै यसैको परिणाम हो ।
निजी स्कुलमा शिक्षकका कारण पनि विद्यार्थी परनिर्भर बनेको देखिएको छ । नर्सरीदेखि उच्च शिक्षासम्मै विद्यार्थीलाई आवश्यक पर्ने सबै कुरा शिक्षकले आफैँ गरिदिने देखिएको छ । विद्यालयले अभिभावकलाई खुसी बनाउन त्यसो गरे पनि उक्त कुरा बालबालिका स्वयम्का लागि हानिकारक देखिएको छ । कक्षा ठूलो हुँदै जाँदा विद्यार्थीले आफैँले बुझेर लेख्नुपर्ने उत्तर शिक्षकले बोर्डमा लेखिदिने, आफूले लेखिदिएको उत्तर हुबहु लेख्दा परीक्षामा बढी अङ्क दिने, विद्यार्थीले आफैँ प्रयास गरेर लेखेको उत्तरमा रातो मसीले बढी त्रुटि देखाइदिनेलगायतले गर्दा विद्यार्थी स्वयम्को आत्मविश्वास कमजोर बनेको देखिएको छ । यसले उनीहरूलाई सृजनशील हुनबाट वञ्चित गरेको छ । त्यतिमात्र होइन, शिक्षकले लेखाइदिएको उत्तर र पुस्तकका बुँदा सकेजति घोक्दा नै फाइदा देख्न थाल्छन् र आफ्नोपन तथा मौलिकता बिर्सने गरेका छन् ।
पाठ्यपुस्तकको भार तथा झोलाको वजन विद्यार्थीले थाम्नै नसकिने देखिएको छ । सात÷आठ वर्षको बालकले झन्डै दस केजी झोला बोकेर स्कुल जानुपर्ने बाध्यता छ । “धेरै पाठ्यपुस्तक राखेर विद्यार्थीको गुणस्तर बढ्दैन भन्ने मलाई थाहा छ, “एक प्रतिष्ठित निजी स्कुलका सञ्चालकले बताउनुभयो, ‘तर के गर्नु ? जति धेरै विद्यार्थीलाई पढाइमा पेल्यो, अभिभावक त्यति नै धेरै खुसी हुन्छन् । “व्यवसाय त चलाउनुप¥यो नि, होइन र ?’ उहाँले हाँस्दै भन्नुभयो ।
अभिभावक खुसी बनाउने नियतले धेरै विद्यार्थी पढाइको अनावश्यक तनावमा फँसेका देखिन्छन् । सिकाइ मूलतः जिज्ञासा र कौतूहलको खोजीमा केन्द्रित हुनुपर्ने हो । तर उत्कृष्ट नतिजा ल्याउने, विद्यालयको प्रतिष्ठा र गरिमालाई उच्च बनाउने नाममा विद्यार्थीलाई अनुत्पादक रटाइ र कार्यमा दबाब दिनु उनीहरूलाई मानसिक र बौद्धिक रूपमा ‘प्यारालाइज्ड’ गर्नु हो । कौतूहल र जिज्ञासालाई पूर्ण रूपमा नष्ट गर्नु हो । स्वविवेकलाई दबाउनु हो । विद्यार्थीको सर्वाङ्गीण विकास र सिकाइलाई आधारित बनाएर मूल्याङ्कन र सोहीअनुसारको विकास गर्न जरुरी देखिन्छ ।
(लेखक वृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक हुन्ुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?