logo
२०७६ फाल्गुन १४ बुधवार

पर्यटक लोभ्याउने गन्तव्य

विचार/दृष्टिकोण |




गोविन्द मरासिनी

गण्डकी प्रदेशको पर्यटकीय दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो– स्याङ्जा । पोखराबाट सवारीसाधनमा एक घण्टाको यात्रापछि स्याङ्जा पुगिन्छ । स्याङ्जा जिल्लामा रहेका विविध पर्यटकीय स्थान र धार्मिक स्थलले स्याङजा पुग्ने जोकोही आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउँछ । सरकारले पर्यटन वर्ष मनाइरहेका बेला पर्यटक लोभ्याउने यहाँका स्थलबारे चर्चा गर्नु उपयुक्त हुन्छ ।
दरौँ सिरुबारी ः यो ठाउँ स्याङ्जाको उत्तरी भेग आँधीखोला गाउँपालिकामा पर्छ । स्थापित ग्रामीण पर्यटनको अवधारणामा दक्षिण एसियाकै पहिलो घरवास (होमस्टे) पनि यहाँ चलाइएको छ । पोखराबाट करिब ६५ किमि टाढा पर्ने सिरुबारी १ हजार ५ सय मिटरको उचाइमा अवस्थित छ । यो ठाउँ गुरुङ बस्तीका लागि प्रख्यात छ । धौलागिरि र माछापुच्छ«े हिमशृङ्खलाको अवलोकन यहाँबाट गर्न सकिन्छ ।
स्वरेक मैदान ः स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ५ मा पर्ने स्वरेक मैदान पर्यटकीय रूपमा विकास गर्न खोजिएको छ । हालसालै यस स्थानमा पहिलोपटक अन्तर्राष्ट्रिय खुला प्याराग्लाइडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनोट प्रतियोगिता २०७४ सम्पन्न भइसकेकाले यस स्थानको नाम नेपालमा मात्र नभई विश्वमै उँचो भइसकेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १० किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । भालुपहाड ः पोखराबाट सिद्धार्थ राजमार्ग २८ किलोमिटर पार गरेपछि भालुपहाड पुगिन्छ । मुख्य राजमार्गमा नै घुम्ती र चट्टानको पहरो भालुपहाडले सबै यात्रुलाई आनन्द दिलाउने गर्छ । भालुपहाडलाई ‘भालुपहरो’ पनि भन्ने गरिन्छ ।
कालीगण्डकी जलविद्युत् आयोजना र सेतीवेणी ः कालीगण्डकी जलविद्युत् आयोजना पोखराबाट करिब एक सय किलोमिटर पश्चिममा छ । यसको क्षमता १ सय ४४ मेगावट छ । कालीगण्डकी जलविद्युत् आयोजना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ५, ७ र गल्याङ नगरपालिकाको वडा नं २ सम्म फैलिएको छ । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमा पर्ने सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन गरिएको छ ।
राम्दीघाट ः स्याङ्जा र पाल्पा जिल्लाको सिमानामा रहेको कालीगण्डकी नदीकिनारामा रहेको प्रसिद्ध धार्मिक स्थल हो– राम्दीघाट । यहाँ वैशाख सङ्क्रान्ति, ठूली एकादशी आदि समयमा मेला लाग्ने गर्छ । यो धामिक स्थल सदरमुकामबाट ५२ किलोमिटर दक्षिणमा पर्छ । राम्दीघाट नजिकै सिद्ध गुफा छ ।
बहाकोट कालिका मन्दिर ः पुतलीबजार नगरपालिका वडा नं ८ मा बहाकोट कालिका मन्दिर छ । मन्दिरमा विशेषगरी बडादसैँको नवमी, चैतेदसैँको अष्टमीलगायत प्रमुख दिनमा कुश्मावती, कण्ठावती र देवीको पूजा गरिन्छ । पूजाका लागि यस स्थानमा स्याङ्जासहित कास्की, तनहुँ, पर्वतलगायतका जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।
कैलाश गुफा ः यो गुफा पुतलीबजार नगरपालिका वडा नं ८ (साविकको बहाकोट गाविस ७ र ८) मा पर्दछ । पौराणिककालमा भगवान् महादेव यसै गुफामा आएर बसेको विश्वास गरिन्छ । यस गुफामा जाने दुईवटा मार्ग छन् । गुफाभित्र देवीदेवताको मूर्ति छ । पटक–पटकको बाढीपहिरोले गुफाभित्र कोही पनि नगएको र सरसफाइ पनि नगरेकाले लोप हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।
सतौँ चण्डीथान र चण्डीकालिका ः पुतलीवजार नगरपालिका वडा नं. ८ को सन्तौँमा यो मन्दिर पर्छ । पुतलीबजारबाट करिब डेढ घण्टा पैदल हिँडेर वा सवारीसाधनमा पनि जान सकिन्छ । कालोपत्रे गरिएकाले यहाँ पुग्न सहज छ । यहाँ विभिन्न तिथिमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरबाट हिमाली दृश्यको अवलोकन गर्न सकिन्छ । नेपाल सरकारको एक सयवटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत स्याङ्जाको सतौँ चण्डीथान पनि एक हो । सुन्तलाबारी होमस्टे र क्यानोनिङ ः वालिङ नगरपालिका वडा नं. ४ एलादीमा सुन्तलाबारी घरवास (होमस्टे) र क्यानोनिङ रहेको छ । सदरमुकामबाट करिब २४ किलोमिटर दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रामबाच्छा पुगेपछि यहाँबाट पूर्व ७ किलोमिटर ग्रामीण सडकको यात्रापछि सुन्तलाबारी होमस्टे पुग्न सकिन्छ । होमस्टे स्थलदेखि करिब २० देखि २५ मिनेटको दूरीमा रहेको खाल्टेमा दुईवटा क्यानोनिङ स्थल निर्माण गरिएको छ । वसन्ती रह र खाल्टे रह क्रमशः ५५ र ३५ मिटर उचाइमा छन् । जहाँ पर्यटक होमस्टेको मज्जासँगै क्यानोनिङ्मा रमाउँछन् ।
नुवाकोट ः स्याङ्जाको पुरानो सदरमुकामसमेत रहेको नुवाकोट समुन्द्र सतहबाट १ हजार ९०० मिटरको उचाइमा छ । चौबीसे राज्यमध्ये एक शक्तिशाली राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट माछापुच्छे«, अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइन्छ । पर्यटकीयसँगै यो एक धार्मिक स्थल पनि हो । यहाँका चण्डी माई भैरवनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।
आलमदेवी ः कालिगण्डकी गाउँपालिका वडा नं. ३ मा पर्छ– आलमदेवी मन्दिर । सदरमुकाम पुतलीबजारबाट ७५ किमि पश्चिम पर्छ, यो मन्दिर । स्याङ्जाको प्रसिद्ध मन्दिर हो यो । आलमदेवीलाई शाहवंशका कुलदेवीका रूपमा लिइन्छ । मन्दिरमा शिवरात्री, रामनवमीमा विशेष मेला लाग्छ ।
श्रवणकुमार समाधी क्षेत्र र अन्धाअन्धी दह ः साबिक सङ्ग गाविस वडा नं. ८ को घ्याङ्गसिरीमा श्रवणकुमार समाधि क्षेत्र रहेको छ । यस स्थानमा पानी भर्दा वाण लागी श्रवणकुमारको मृत्यु भएकाले यस ठाउँलाई श्रवणकुमार समाधी क्षेत्रको नामले चिनिएको किंवदन्ती छ । यहाँ श्रवणकुमारले पानी भर्दा घोप्टो परेको मूर्ति, पानीको रङ रातो र दशरथले वाण हान्न लुकेर बसेको पहरासमेत छ । उक्त स्थानमा हाल बालाचतुर्दशीमा ठूलो मेला लाग्छ । यस क्षेत्रमा मन्दिरसमेत निर्माण गरिएको छ । स्याङ्जा, आँधीखोला गाउँपालिका वडा नं. २, चिलाउनेबासमा अन्धाअन्धी दह सदरमुकामबाट २८ किलोमिटर उत्तर पश्चिममा पर्छ । यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ ।
छाङ्गछाङ्गदी ः स्याङ्जा, भीरकोट नगरपालिका वडा नं. ४ मा रहेको यो स्थल सदरमुकामबाट करिब १८ किलोमिटर दक्षिण सिद्धार्थ राजमार्गमको छेउमै पर्छ । स्वस्थानी व्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थल पनि हो यो । छायाँ क्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र गाईको मुखजस्तै देखिने धाराबाट आउने पानीले पर्यटकलाई लोभ्याउँछ । सिद्धार्थ राजमार्गमा ओहोरदोहोर गर्ने जोकोही पनि यस स्थानको दर्शन गर्ने गर्छन् । पञ्चासेडाँडा ः स्याङ्जा, कास्की र पर्वत जिल्लाको सीमामा पर्ने पञ्चासेडाँडा पर्यटकीय स्थानका रूपमा चर्चित छ । समुद्र सतहबाट २ हजार ५१२ मिटरको उचाइमा रहेको छ । बालाचतुर्दशीको दिन मेला लाग्ने यो स्थान सदरमुकामबाट ३० किमि उत्तर–पश्चिममा पर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?