logo
२०८० चैत्र १६ शुक्रवार



कोभिड नाइन्टिनको अफवाह (सम्पादकीय)

विचार/दृष्टिकोण |




पत्रकारिता जिम्मेवार पेशा हो, त्यसो त जिम्मेवार हुनु नपर्ने कुनै पनि पेशा हुँदैनन् तर युद्धको समाचार लेखिरहेको पत्रकारिताको अन्तिम उद्देश्य युद्ध लम्बिनु हुन सक्दैन । टुङ्गिनुपर्छ भन्ने नै हुनुपर्छ । सङ्कटका बेला पत्रकारिताको जिम्मेवारी अझ धेरै हुन्छ । बुधाबर बिहानैदेखि नेपाली अनलाइनले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा कोरोना भाइरस (कोभिड नाइन्टिन) ले एक सयभन्दा बढी स्थानीय बिरामी भएका भन्ने समाचार प्रस्तुत गरे । त्योभन्दा धेरै सोसल मिडिया (सामाजिक सञ्जाल) का व्यक्तिगत भित्ताले अफवाह फैलाए । सर्वसाधारणमा यस्तो अफवाहले निकै तनाव दिएको अनुभव गरियो । अनलाइनका समाचार र सामाजिक सञ्जालमा चर्चा गरिएको भाइरसको समस्या यथार्थपरक नरहेको केही घण्टामै पुष्टि भयो । दुःखका साथ भन्नुपर्छ, कतिपय अनलाइनले यस सन्दर्भमा ‘पत्रकारिता’ गर्न सकेनन् । प्रचार गरे, त्यो पनि अफवाह । अघिपछि पनि उनीहरूले सूचना वा ‘अरे’लाई नै समाचार बनाइरहेका हुन्छन् । यसपटक पनि यस्तै भयो । सबै हल्ला, अरे वा सूचना समाचार हुन सक्दैनन्, पुष्टि भएका हल्ला, अरे वा सूचना मात्र समाचार बन्न सक्छन् भन्ने पत्रकारिताको सामान्य मान्यतालाई नेपाली अनलाइन पत्रकारिताले विशेष हेक्का गर्नुपर्ने देखिएको छ । पत्रकारितालाई गुरुविनाको शिक्षा पनि भन्ने गरिन्छ । सबैलाई अर्ती उपदेश शिक्षा दिने पत्रकारिताले कान नछामी कागको पछाडि दौडियो भने पत्रकारिताको गहन जिम्मेवारी कसले वहन गरिदिने ? स्थानीयमा सामूहिक रुघाखोकी देखिएपछि गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक दिनअघि पत्राचार गरेपछि यसैलाई आधार बनाएर अनलाइनले समाचार सार्वजनिक गरे । उनीहरू पत्रकारिताको क्रस चेक, डबल चेकजस्ता मान्यतालाई ख्याल गरी सरकारले उपचार तथा परीक्षणका लागि पठाएको स्वास्थ्य टोलीसँग सोधपुछ गर्नु अगावै कोरोना भाइरसबारे समाचार सम्प्रेषण गरे । यहाँ अनलाइन, केही एफएम रेडियो र टेलिभिजन चुके । यद्यपि छापामाध्यममा यस्तो समाचार आएन । यसर्थ यस घटनामा नेपाली पत्रकारिता चुकेको छैन केवल विद्युतीय माध्यम चुकेकाले दु्रत समाचारका माध्यमले दु्रतका नाममा सत्य, तथ्यलाई बेवास्ता गर्न हुँदैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको रुघाखोकीको समस्या मौसमी इन्फ्लुएन्जा हुनसक्ने भन्दै त्यसैलाई कोरोना भाइरस भन्दै प्रचार नगर्न आग्रह गरेको छ । चीनबाट आवतजावत हुनसक्ने स्थिति नरहेको उक्त स्थानमा यातायातको सम्पर्क पनि कम रहेकाले त्यहाँ कोरोना भाइरस फैलन सक्ने कुनै आधार नरहेको विज्ञले दाबी गरेका छन् ।
सरकारले देशभित्र कोभिड नाइन्टिन नियन्त्रणका लागि व्यापक तयारी गरिरहेको छ भने नेपाल आउने यात्रुको स्वास्थ्य परीक्षण र चीनबाट नेपाल ल्याइने नेपाली (जो हालसम्म स्वस्थ छन्) लाई पनि विशेष निगरानीमा राख्ने भएको छ । भोलि ३ गते नेपालको विशेष विमान चीनमा रहेका नेपाली लिन जाँदैछ । विमानले पहिलो खेपमा हुबेईमा रहेका नेपालीलाई ल्याउनेछ । उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता परे उपचारका ८६ जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइसकिएको छ । नेपाल आउने नेपालीलाई विमानस्थलदेखि विशेष यातायातमा क्वारेनटाइनमा लगी पूर्ण परीक्षण गरिनेछ । सरकार यस बारेमा पूर्ण जानकार र संवेदनशील छ । स्थानीय तहहरूले सामान्य लक्षण देखिएपछि परीक्षणको तत्परता देखाउनु उचित र स्वाभाविक हुन्छ तर यसैको भरमा सर्वसाधारणमा पर्न सक्ने मनोविज्ञानलाई उपेक्षा गरेर अपुष्ट सूचनालाई समाचार बनाइयो भने यसले थप समस्या निम्त्याउनेछ । यसअघि बझाङ र बाजुरामा देखिएको सामान्य मौसमी रुघाखोकी नियन्त्रणमा आइसकेकाले पनि रुघाखोकी देखिनेबित्तिकै अत्तालिनु आवश्यक छैन । साधारणतया मौसम परिवर्तनका बेला स्वाभाविकरुपमा मौसमी रुघाखोकीको समस्या देखिन सक्छ । जहाँसम्म हरेक रोगविरुद्ध सामुदायिक तथा व्यक्तिगत होसियारी छ त्यो सबै व्यक्ति वा निकायले अपनाउनैपर्छ । भाइरसबाट सर्ने रोग वर्तमान साँगुरो विश्वमा एकै प्रयासले नियन्त्रण हुन सक्नेछैन । विश्वले गम्भीरताका साथ हेरेको यो समस्यामा हर नेपाली र सम्बद्ध पक्ष होसियार हुनु आवश्यक छ तर होसियारी र चिन्ता, अफवाह तथा समाचारमा रहेका भिन्नतालाई पनि हामीले बिर्सनुहुँदैन ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?