logo
२०७७ श्रावण २१ बुधवार

समृद्धिका लागि रज्जुमार्ग

विचार/दृष्टिकोण |





निर्मलकुमार आचार्य

हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोप वे) पुनः सञ्चालन हुने जानकारीले नवीन आशा सञ्चार गराएको छ । दशकौँ चलेको तर उपेक्षाका कारण अनाहकै बन्द हुन पुगेको रज्जुमार्गप्रति २० वर्षपछि भए पनि देखाइएको उत्सुकता र बढाइएको सक्रियता साधुवादको विषय बनेको छ ।
यतिखेर बाग्मती प्रदेश सरकार हेटौँडा–काठमाडौँ रज्जुमार्गलाई पुनर्जीवन दिने तयारीमा छ । नेपालमा कुनै राष्ट्रिय मार्ग नभएको बेलामा खुलेको यो रज्जुमार्गको आफ्नै कथा र व्यथा छ । भीमफेदीबाट बोकाएर सामान ढुवानी गर्नुको विकल्प खोज्ने क्रममा विदेशी (बेलायती) प्राविधिकको सल्लाह अनुसार तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले रज्जुमार्ग निर्माण गराएका हुन् । वि.सं. १९७९ ताका निर्माणकार्य प्रारम्भ भई तीन वर्षपछि १९८२ सालमा निर्माण सम्पन्न भएको नेपालको यो पहिलो रज्जुमार्ग हो । त्यतिखेर १४ माइलको ‘धुर्सिङ (धोर्सिङ) देखि किसिपिडी (मातातीर्थ)’ सम्म मात्रै यो रज्जुमार्ग बनेको थियो । इतिहासकार प्रमोदशमशेर राणाका अनुसार ‘विद्युत् शक्तिबाट चल्ने रोपलाइन तयार गर्न १५ लाख रुपियाँ लागत पर्ने अनुमान गरी योजना सुरु गरियो । बेलायतबाट आएका इन्जिनियर आर.एस. अन्डरहिलको रेखदेखमा काम पूरा गरी रोपलाइन चालू भयो ।’ यो रज्जुमार्गले सामान ढुवानीतर्फ निकै राहत दिएकामा दुईमत छैन । भनिन्छ, २०१०÷११ सालसम्म प्रतिकिलो सामान ढुवानीदर पाँच पैसा थियो ।
वि.सं. २०१९÷२० तिर काठमाडौँतर्फ टेकु र मकवानपुरतिर धोर्सिङबाट चौकीटोल, हेटौँडासम्म रज्जुमार्ग विस्तार गरिएको हो । अमेरिकी आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण तथा विस्तार गरिएको झन्डै ४३ किमि दूरीको ‘हेटौँडा–काठमाडौँ रज्जुमार्ग’ को भारवहन क्षमता २५ टन थियो भने चार घन्टा १० मिनेटको समयमा यात्रा पूरा हुन्थ्यो । प्रतिघन्टा दुई ट्रक बराबरको सामान ढुवानी गर्ने यो रज्जुमार्ग १२ घन्टा सञ्चालन गरिँदा पाँच हजार लिटर डिजेल बचत हुने एक अध्ययनको तथ्याङ्कले पनि यसको औचित्य र उपादेयता अपरिहार्य रहेको दर्शाएकै हो ।
२०१३ सालमा त्रिभुवन राजपथ बन्नुअघि त यस रज्जुमार्गले ढुवानीका क्षेत्रमा योगदान पु¥याएको थियो नै, पृथ्वी राजमार्ग बनेपछि पनि सस्तो ढुवानी र महँगो मूल्यमा किन्नुपर्ने पेट्रोलियम पदार्थको समस्यालाई केही मात्रामा भए पनि यसले घटाएकै थियो । नेपालको पहिलो रज्जुमार्गका रूपमा मात्रै होइन, विश्वकै लामा रज्जुमार्गका सन्दर्भमा पनि यसको कीर्ति प्रख्यात छ । नेपालका सहयोगी राष्ट्रमध्ये अग्रणी रहेका संयुक्त अधिराज्य (बेलायत) तथा संयुक्त राज्य अमेरिकाको मैत्रीपूर्ण ऐतिहासिक सम्बन्धलाई पनि यसले दर्शाइरहेको थियो ।
व्यवस्थापकीय लापर्वाही र शासकीय उदासीनताको नमुना बन्नपुग्यो– हेटौँडा–काठमाडौं रज्जुमार्ग । मर्मतसम्भारका लागि चार लाख रुपियाँको अभावमा यसले अकाल गति अँगाल्नुपरेको सुन्दा छक्क पर्नुछ ! लागत, लाभ, औचित्य, उपादेयता र सान्दर्भिकता सबै कुरो सटीक तथा सही हुँदाहुँदै पनि किन यसले घात बेहोर्नुप¥यो ?
लामो समयदेखि औद्योगिक, व्यापारिक सरसामान ढुवानी गर्दै आएको हेटौँडा–काठमाडौँ रज्जुमार्गलाई आधुनिक रूप दिँदै अघि बढ्नुपर्नेमा ससाना समस्यासमेत समाधान नगरी जानाजान यसलाई अवसानमा पु¥याइएको देखिन्छ । २०५६ सालमा बन्द हुनपुगेको यो रज्जुमार्गलाई त्यसको तीन वर्षपछि २०५९ सालमा खारेजीमै पारियो । रज्जुमार्गको अन्त्यले प्रत्यक्ष, परोक्ष इतिहासप्रति मात्रै होइन, राष्ट्रिय अर्थतन्त्रप्रति समेत कुठाराघात ग¥यो । नयाँ काम नथाल्ने र भएका राम्रा पक्ष पनि ध्वस्त पार्दै जाने प्रवृत्तिले स्वागतयोग्य ‘आहट’को समेत हेक्का राख्न सकेन ।
निजीक्षेत्रबाट चाहिँ रज्जुमार्गको महव बुझेको देखियो । तब त हेटौँडा–काठमाडौँ रज्जुमार्ग मरणासन्नमै रहँदाको कुरो हो, निजी तबरबाट थालिएको छोटो दूरीको मनकामना केवल कार (२०५५) ले दिन दुईगुना, रात चौगुना प्रगति गर्दै आयो । यसले कमाउँदै गएको ख्याति र आर्जन गरेका सम्पत्तिबाट धेरैका आँखा खुले । थानकोट–चन्द्रागिरी केवल कार (२०७२) ले चम्काएको हैसियत थप उत्साहको किरण बन्दै गर्दा कालिञ्चोकको केवल कार (२०७४÷७५) समेत सुन्दर दृष्टान्त बनेको छ ।
‘रोप वे’ भनौँ चाहे ‘केवल वे’ कुरो उही रज्जुमार्ग हो । डोरी वा तारमा गुड्ने डिब्बा जसलाई केवल कार भनिन्छ, नेपालीमा ‘रज्जु वाहन’ वा ‘डोरी गाडी’ पनि भन्न सकिन्छ । यसलाई पहिले ‘रूपलाइन’ पनि भनियो । भारतीयले चाहिँ तारमा झुन्डिएर चल्ने वाहन ‘केवल कार’लाई ‘उडन खटोला’ नाम दिएका छन् । काल्पनिक वायुयानलाई ‘उडन खटोला’ भन्ने गरिए तापनि उत्तरी भारत तथा पाकिस्तानमा केवल कारसमेत यही नामले परिचित छ । मनकामना दर्शन गर्न आउने भारतीय पर्यटक यहाँ ‘उडन खटोला’ भट्याइरहेका पनि भेटिन्छन् ।
नाम जे भए पनि दुनियाभरि कामले चिनिएको छ– रज्जुमार्ग । एकचोटिको लगानी हो, त्यसपछि वर्षौं लाभ पाउन सकिने भएकाले अहिले जतासुकै रज्जुमार्गको माग छ । जानकारका भनाइमा नेपालको भौगोलिक, सामाजिक, आर्थिक आदि दृष्टिले रज्जुमार्ग वरदानको विषय हो । भनिन्छ, सडकका तुलनामा रज्जुमार्ग निर्माणमा छ गुना लागत कम हुन्छ ।
निजीक्षेत्रबाट बनाइएका छोटो दूरीका रज्जुमार्ग उदाहरणीय बनेका छन् । भट्टेडाँडा, बारपाक आदिमा बनाइएका रज्जुमार्ग होऊन् वा कुश्मा–बलेवाको रज्जुमार्ग, उत्साह बढेकै देखिन्छ । खिम्ती जलविद्युत् आयोजनाको किर्ने–भोटेछाप रज्जुमार्ग तथा झिमरुकको दारिमचौर–खैरे रज्जुमार्ग पनि उल्लेखनीय छन् ।
लामो दूरीका रज्जुमार्ग बनाउनेतर्फ पनि सक्रियता छ । सबैभन्दा लामो दूरीको रज्जुमार्गमा कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्मको छ, यसको लम्बाइ ८३.६ किमि छ । बिरेठाँटीमा मुख्य स्टेसन रहने यो रज्जुमार्ग घोरेपानी, तातोपानी, लेते, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ सबस्टेसन हुने जनाइएको छ ।
काठमाडौँमा पनि अनेक रज्जुमार्ग चर्चामा छन् । ती हुन्– १. जगडोलस्थित शहीद पार्कबाट शिवपुरी निकुञ्जको मुलाबारी पुग्ने रज्जुमार्ग, २. बूढानीलकण्ठ–शिवपुरी र ३. नागार्जुनस्थित रानीवन–जामाचो रज्जुमार्ग । यसबाहेक गोदावरी–फुलचोकी, कीर्तिपुर– चम्पादेवी र साँगा, नगरकोट आदिमा पनि रज्जुमार्गतर्फ सोच बढेकै छ ।
प्यूठानको स्वर्गद्वारी मन्दिर, ताप्लेजुङको पाथीभरा मन्दिर र रसुवाको गोसाइँकुण्डका लागि समेत रज्जुमार्ग निर्माणतर्फ पाइला सरेका छन् । तनहुँमा ठूलढुङ्गादेखि बन्दीपुरसम्म र बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म पनि रज्जुमार्गको सुरसार छ । बाग्लुङस्थित बडाचौरदेखि पञ्चकोटसम्म रज्जुमार्ग निर्माणका लागि चिनियाँ कम्पनी लागिपरेको विदितै छ भने कास्कीको पुम्दीभुम्दी, फेवाताल–सराङकोटका रज्जुमार्ग चर्चामा मात्र रहेनन्, फेवातालमाथि केवल कार नबनाउन आदेशसमेत दिनुपरेको अवस्था छ ।
रज्जुमार्गको चर्चा गर्दा लुक्ला–नाम्चे, दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, थवाङ–दुनै, विदुर–केरुङ, उदयपुर–ओखलढुङ्गा, धनकुटा–खाँदबारीलाई पनि बिर्सन मिल्दैन । स्थानीय सहभागितामा नमुना ‘प्रोजेक्ट’का रूपमा गैँडाकोट–मौलाकालिका रज्जुमार्ग निर्माण हुने भएको छ भने हेटौँडामै भैरवडाँडासम्म चल्ने रज्जुमार्ग पनि छ ।
यी त केही खबरमा आएका, सार्वजनिक भएका र चर्चामा रही सम्झनामा रहेका रज्जुमार्ग मात्र हुन् । यसबाहेक पनि विभिन्न जिल्लामा रज्जुमार्गका अवधारणा, योजना र कार्यक्रम बनिरहेका छन् । मुलुकभरि रज्जुमार्गको माग, आवश्यकता र औचित्य प्रदर्शन भइरहेको वस्तुगत परिपे्रक्ष्यमा ‘मणि’ हराएको हेटौँडा (प्रादेशिक राजधानी) बाट पुनः मणिको खोजी हुन थालेको छ ।
ढिलै भए पनि शुभकार्यको पुनः आरम्भ हुनु राम्रो लक्षण हो । हेटौँडा–काठमाडौँ रज्जुमार्गका लागि पहिलेकै मार्ग रहेकाले अध्ययनमा धेरै टाउको दुखाइरहनुपर्ने अवस्था पनि छैन । अब यो रज्जुमार्गलाई यात्रुवाहक तथा मालवाहकका रूपमा उपयोग गर्नुपर्ने भएकाले ज्यादै उचाइमा रहेका रज्जुलाई कसरी होचो बनाउने, कसरी रज्जुमार्गकोे यात्रालाई अधिकतम सुरक्षित एवं भरपर्दो तुल्याउने र अत्याकर्षक बनाउने पक्ष नै अध्ययनका मूलबिन्दु हुनसक्छन् ।
रज्जुमार्गले स्थानीय बासिन्दालाई त सुविधा जुटाउनेछ नै, आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा पनि ठूलो गुन लगाउनेछ । यस रज्जुमार्गलाई हेटौँडा–काठमाडौँ यात्रा, मकवानपुरका पर्यटकीय स्थलको अवलोकन तथा मालसामान ढुवानीका हिसाबले फरक, फरक रूपमा सञ्चालन गरिनु उचित हुनेछ । दुईथरी डिब्बा (कार) बनाई एकथरीबाट दिउँसो यात्रु ओसारपसार गराउने र अर्काबाट राति सामान ढुवानीको काम लिनसकिन्छ । यसो हुनसके मुलुकको ऐतिहासिक रज्जुमार्गले समृद्धिको यात्रामा अहोरात्र खट्ने अपूर्व अवसर पाउनेछ ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?