logo
२०८० चैत्र १५ बिहीवार



कोरोना सतर्कता (सम्पादकीय)

विचार/दृष्टिकोण |





प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (२०१९– एन सीओभी) सङ्क्रमणको सम्भावित जोखिम नियन्त्रणका लागि पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ । नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी भेटिएकाले प्रधानमन्त्री ओलीले स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्यासहित सम्बद्ध मन्त्रालयलाई निर्देशन दिनुभएको हो । नेपालमा कोरोना भाइरसको जोखिम, सङ्क्रमितहरूको अवस्था र व्यवस्थापनको पूर्वतयारीबारे गम्भीर जानकारी लिँदै प्रधानमन्त्रीले आवश्यकताअनुसार तयारी थाल्न विशेष दिर्नेशन दिनुभएको हो । प्रधानमन्त्रीले चीनमा रहेका विद्यार्थीको उद्धारका लागि गर्नुपर्ने तयारीका बारेमा पनि गृहकार्य थाल्नुपर्ने आवश्यकता औँल्याउनु भएपछि उद्धार तथा उपचारमा व्यापक तयारी थालिसकिएको छ । सङ्क्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालय, शुक्रराज ट्रपिकल अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा विशेष वार्डको व्यवस्था गरिएको छ । त्रिवि शिक्षण, वीर र सिभिल अस्पताललाई आइसोलेसन वार्ड तयार पारी तीन दिनभित्र योजना पेश गर्न निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएको जहाजलाई छुट्टै राखेर त्यहाँ स्थापना गरिएको हेल्थ डेक्समा विदेशबाट आउने यात्रुमा कोरोना भाइरसको आशङ्का गरिएमा सिधै अस्पताल पु¥याउने व्यवस्था गरिएको छ । पहिलोपटक चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमण दु्रतगतिमा संसारभर फैलिरहेको र नेपाल–चीनबीच हुने यात्रु आवतजावतले नेपालले पनि यस समस्यामा उच्च सतर्कता अपनाएको छ । त्यसमाथि चीनबाट आएका नेपालीमा यस प्रकारको भाइरस सङ्क्रमण पाइएपछि नेपालमा सर्वसाधारणले यस्तो सङ्क्रमणलाई ठूलो समस्याका रूपमा लिएका छन् भने नेपाली चिकित्सकले चुनौतीका रूपमा ।
चिकित्सकका अनुसार कोरोना भाइरस सङ्क्रमण असाध्य रोग होइन । सुरुमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने यसमा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । सङ्क्रमणपछि मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने र जोखिम बढ्ने गर्छ । सङ्क्रमित र उपचारपछि निको भएकाको अहिलेसम्मको सङ्ख्या विश्ेलषण गर्दा कोरोनाबाट मृत्यु हुनेको दर तीनदेखि पाँच प्रतिशत रहेकाले आतङ्कित हुनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् तर व्यक्तिगत सरसफाइदेखि अनावश्यक जनसम्पर्कलाई नियन्त्रण गर्दै सुरक्षित मास्कको प्रयोग गर्नेजस्ता सुरक्षात्मक विधि अपनाउन आवश्यक छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य आपत्काल घोषणा गर्ने विषयमा सोच्नुपर्ने उल्लेख गरेको छ । कुनै एक राष्ट्रको मात्र नभएर विश्वकै समस्याका रूपमा देखिएको कोरोना नियन्त्रणमा प्रत्येक देश र नागरिकले होसियार रहनुपर्ने अवस्था छ । रुघा प्रकृतिको सङ्क्रमण भएकाले यसको सामान्य लक्षण रुघाको जस्तै हुने भए पनि घरपरिवार, सार्वजनिक स्थल तथा यातायातमा खोक्दा, हाच्छिउँ गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा होसियारी अपनाउनुपर्ने हुन्छ । यसका साथै नागरिकले तत्काल अपनाउनुपर्ने सतर्कताका बारेमा थप स्पष्ट गरिदिनु वाञ्छनीय हुनेछ । सर्वसाधारणले पनि यस्ता पक्षमा ध्यान दिनुपर्ने हुन्छ । साधारणतया यो सङ्क्रमणको कुनै एक निश्चित विधिले उपचार गर्न वा औषधि प्रयोग गर्न नसकिने भएकाले अस्वाभाविक तरिकाले ज्वरो, रुघाखोकी, टाउको दुख्ने भएमा तत्काल चिकित्सको सल्लाहमा पुग्नुपर्छ । सक्रिय व्यक्ति बढी जनसम्पर्कमा आउने भएकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्छन् भने बालबालिका, वृद्धवृद्धाका साथै क्यान्सर, एचआईभी, मुटुरोग, मधुमेहका बिरामी साथै यस्ता बिरामीको सम्पर्कमा आउने स्वास्थ्यकर्मी पनि सङ्क्रमणको उच्च जोखिम रहने भएकाले अनावश्यक भीडभाड र सार्वजनिक स्थलमा नजानु पनि सुरक्षा सतर्कता हुनसक्छ । चिकित्सकका अनुसार कोरोना मात्र नभएर अन्य भाइरस सङ्क्रमणविरुद्ध लड्न स्वास्थ्य प्रवद्र्धन गर्नु नै प्रमुख सुरक्षात्मक विधि हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने यस्ता सङ्क्रमणको डर मान्नु नपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् । होसियार हुनुपर्छ तर यसैका कारण आतङ्कित हुनुपर्ने अवस्था नरहेको जानकारले बताएका सन्दर्भमा सरकारलगायत सम्बद्ध सबै पक्षले कोरोनाविरुद्ध यसै अनुकूल पहल गर्नु आवश्यक देखिन्छ । सागसब्जी, फलफूल, दूध, दाल, गेडागुडीलगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा स्वस्थ जीवनशैली अपनाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले अन्य अवस्थामा पनि खानपिन तथा दिनचर्यामा सन्तुलन गर्दा यस्ता महामारीबाट बच्न सकिनेछ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?