logo
२०७८ श्रावण २० बुधवार

दैनिक अध्यावधिक

image
2448

सङ्क्रमित

image
1994

निको भएका

image
24

मृत्यु भएका

मिति:श्रावण १९, २०७८ (१७:३८)
स्राेत:https://covid19.mohp.gov.np/



नेपालमा भूकम्पीय विपत्

विचार/दृष्टिकोण |




प्रा. डा. तारानिधि भट्टराई

देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने सवालमा व्यापक बहस भइरहेको छ । यस प्रसङ्गमा, अरू कुराको साथै, भूकम्प प्रतिरोधक भौतिक पूर्वाधार निर्माणको आवश्यकता टड्कारो महसुस भएको छ । तर, जबसम्म सर्वसाधारणले सम्भावित विनाशकारी भूकम्पबारे बुझ्दैनन्, तबसम्म उनीहरूले भूकम्प प्रतिरोधक भवनको आवश्यकतालाई आत्मसात् गर्दैनन् । त्यसैले जनचेतना अभिवृद्धि गर्नु अर्थात् सर्वसाधारण नागरिकलाई भूकम्पसम्बन्धी आधारभूत ज्ञानको जानकारी दिनु पहिलो कर्तव्य हुन आउँछ । यस लेखमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित लेखका आधारमा नेपालको भूकम्पीय विपत्बारेमा विज्ञानले पत्ता लगाएको ज्ञान र पत्ता लगाउन बाँकी केही कुराबारेमा चर्चा गरिएको छ ।
नेपाल दुई ठूला भौगर्भिक प्लेटहरू आपसमा ठ्याक्कै ठोक्किएको ठाउँमा अवस्थित छ । यी प्लेटहरू ठोक्किसकेपछि पनि एकले अर्कोलाई ठेल्नेक्रम लगभग पाँच करोड वर्षअघिदेखि अहिलेसम्म निरन्तर चलिरहेको छ । ठोक्किएको भू–भागमा एकप्रकारको शक्ति सञ्चित हुन्छ, जसलाई स्ट्रेन इनर्जी भनिन्छ । जब त्यो शक्ति बढ्दै गएर चट्टानको भार वहन गर्ने क्षमताभन्दा बढी हुन्छ तब चट्टान भाँच्चिन्छ । अर्थात् चट्टानमा अचानक चिरा पर्छ । चिरा पर्नेक्रममा, चिरामाथि अवस्थित भू–भाग जोडले ठेलिन्छ र चिरासँगै चिप्लन्छ अर्थात् भूकम्प जान्छ । चट्टानमा जति धेरै शक्ति सञ्चित भएको हुन्छ, त्यति नै ठूलो भूकम्प जान्छ । तर, भूकम्प जाँदैमा प्लेटहरूको एकापसमा जुध्ने प्रक्रिया रोकिँदैन । त्यसैले भूकम्पपश्चात् चट्टानमा पुनः शक्ति सञ्चित हुन थाल्छ । फलस्वरूप, कालान्तरमा फेरि अर्को भूकम्प जान्छ । यो प्राकृतिक प्रक्रिया हाम्रोमा निरन्तर चलिरहने हुनाले यहाँ बारम्बार भूकम्प गइरहन्छ । सानातिना भूकम्प त दिनैपिच्छे गैरहन्छन् । पहिले गएकै ठाउँमा विनाशकारी भूकम्पको पुनरावृति भने निकै वर्षको अन्तरालमा हुन्छ । विगतमा पनि धेरैचोटि विनाशकारी भूकम्प गएका छन् । हामीले सुनेको र भोगेको सन् १९३४ र २०१५ को भूकम्पको अलावा ७ म्याग्निच्युडभन्दा ठूला भूकम्प सन् १२५५, १४०८, १५०५, १८३३ मा गएको कुरा हिमालय क्षेत्रमा अनुसन्धानरत भूवैज्ञानिकले उल्लेख गरेका छन् । त्यसैले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देशमा विगतमा जस्तै भविष्यमा पनि विनाशकारी भूकम्प पक्का आउँछन् । तर, भूकम्प आउने तिथि, मिति र समयको पूर्वानुमान गर्ने भरपर्दो सूत्र भने वैज्ञानिकले अहिलेसम्म पत्ता लगाएका छैनन् ।
विगतमा गएका विनाशकारी भूकम्पको पुनरावृतीय विश्लेषणका आधारमा हिमालय क्षेत्रमा अनुसन्धानरत भूकम्पविद्ले नेपालमा भूकम्प जाने सम्भावित ठाउँहरू आँैल्याएका छन् । उनीहरूका अनुसार नेपालको पूर्वमा सर्वोच्च शिखर सगरमाथा आसपासको क्षेत्र (सन् १९३४ को भूकम्पले नहल्लाएको भू–भाग), काठमाडौँको दक्षिणी क्षेत्र (सन् २०१५ को भूकम्पले नहल्लाएको भू–भाग), पोखरा क्षेत्र (सन् १३४४ अथवा १४०८ भन्दा पछि विनाशकारी भूकम्प नगएको क्षेत्र) र पश्चिम नेपाल (सन् १५०५ पछि विनाशकारी भूकम्प नगएको क्षेत्र) विनाशकारी भूकम्प आउने सम्भावित ठाउँ हुन् । यी सम्भावित क्षेत्रमध्ये कुन ठाउँलाई प्राथमिकता (बढी जोखिमको क्षेत्र) मा राख्ने गहन अनुसन्धानको विषय हो । अहिले यसै हो भन्नेलाई वैज्ञानिक तथ्यहरू उपलब्ध छैनन् । साथै, उल्लिखित ठाउँबाहेक अन्त विनाशकारी भूकम्प जाँदैन भन्नलाई पनि वैज्ञानिक आधार तयार भइसकेको छैन ।
सन् २०१५ को भूकम्पले हाम्रो अनुसन्धान नपुगेको कुरालाई सङ्केत गरेको छ । सन् २०१५ मा जुन ठाउँमा भूकम्प गयो, त्यो ठाउँमा त्यस्तो भूकम्प आउँछ भनेर पूर्वानुमान गरिएको थिएन । भूकम्पको केन्द्र त पूर्वानुमान गरेकै ठाउँमा थियो । तर, भूकम्पीय तरङ्गहरू पूर्वानुमान गरिएअनुसार पश्चिम नेपालतिर जानुको सट्टा पूर्व (काठमाडौँ–दोलखा) तिर फैलियो । त्यस्तै, भूकम्पको शक्ति पनि म्याग्निच्युड ८ वा सोभन्दा बढी पुर्वानुमान गरिएकोमा म्याग्निच्युड ७.८ मा सीमित भयो । संसारका अरू भागमा प्रयोग गरिएका सूत्रलाई आधार मानी नेपालमा विनाशकारी भूकम्प आउँदा हुने पृथ्वी सतहको अधिकतम कम्पन (पिक ग्राउन्ड एक्सेलेरेसन) गुरुत्वाकर्षण बलको २५ प्रतिशतभन्दा बढी हुने पूर्वानुमान गरिएको थियो । तर, काठमाडौँमा जडान गरिएका भूकम्प मापन यन्त्रहरूले त्योभन्दा थोरै (गुरुत्वाकर्षण बलको १६ प्रतिशतमात्र) पृथ्वी सतहको अधिकतम कम्पन रेकर्ड ग¥यो । काठमाडौँबाहिरका ठाउँमा ‘पिक ग्राउन्ड एक्सेलेरेसन’ के–कति भयो भन्ने तथ्य अहिलेसम्म सार्वजनिक भएको छैन । ‘पिक ग्राउन्ड एक्सेलेरेसन’ को मान थाहा नपाई भूकम्प प्रतिरोधक भौतिक संरचना निर्माण गर्न कठिन हुन्छ । त्यसैगरी, गगनचुम्बी भवनको डिजाइन गर्नलाई चाहिने ‘पिक ग्राउन्ड भेलोसिटी’ को सम्भावित मानका बारेमा राम्रोसँग लेखाजोखा भएको तथ्य पनि सार्वजनिक भएको छैन । यसले के देखाउँछ भने भूकम्पीय जोखिम न्यूनीकरणका लागि आवश्यक ज्ञान आर्जन गर्न देशका विभिन्न भागमा भूकम्प मापन उपकरण जडान गरेर अझै अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।
विनाशकारी भूकम्प आउँदा साधारणतया तीनवटा समस्या देखापर्छन् । जमिन हल्लिने, पहिरो जाने र जमिन तरलीकरण हुने । जमिन कति जोडले हल्लिन्छ भन्ने कुरा अरू विषयको साथै, त्यो ठाउँमा कति बाक्लो र कुन प्रकारको माटो छ, उक्त माटोभित्रको चट्टान कस्तो छ भन्नेमा भर पर्छ । यो कुरालाई एकिन गर्न भूगर्भशास्त्रीहरू गाउँ अथवा सहर बसाउने ठाउँको विशेषप्रकारको नक्सा बनाउँछन् । जसलाई ‘क्वाटनरी जिओलोजिकल म्याप’ भनिन्छ । यस्तो नक्सा बनाउन हामीले सुरु गरेका छैनौँ । त्यसैगरी, विनाशकारी भूकम्प आउँदा पहिरो जाने सम्भावित क्षेत्रहरू पहिचान र नक्साङ्कन गर्न सकिन्छ । तर, एक÷दुई ठाउँलाई छाडेर, यो कामलाई पनि हामीले योजनाबद्ध रूपले अगाडि बढाउन सकेका छैनौँ । भूमिगत जलको सतह नजिकै भएको र मसिनो माटो (खासगरेर मसिनो बलौटे माटो) को तह बाक्लो भएको ठाउँमा मात्र जमिन तरलीकरण हुन्छ । यस्ता ठाउँको पनि पहिचान गर्न सकिन्छ । यो कामले पनि (काठमाडौँको केही ठाउँलाई छोडेर) पूर्णता पाएको छैन । व्यवहारतः प्रयोगमा आउनेगरी माथि उल्लिखित कामको नतिजा निकाल्नलाई बहुआयामिक अनुसन्धानको आवश्यकता पर्छ । जसका बारेमा हामीले सोच्न अब ढिलो गर्नुहुँदैन ।
नेपाललाई केन्द्रमा राखेर गरिएका भूकम्पसम्बन्धी अधिकांश अनुसन्धान विदेशी विश्वविद्यालय एवम् सङ्घ–संस्थाको नेतृत्वमा भएको देखिन्छ । साधारणतया अनुसन्धानकर्ताले आफ्नो उद्देश्यअनुसार अनुसन्धान गर्छन् । उनीहरूको उद्देश्य हाम्रो समस्यासँग सरोकार नराख्ने पनि हुन सक्छ । सरोकार राखे पनि उनीहरूले तयार गरेको अनुसन्धानको डेटाबेस उपलब्ध हुन गाह्रो छ । फलस्वरूप, त्यो अनुसन्धानलाई निरन्तरता दिएर बाँकी काम सक्न वा पहिलेको नतिजालाई परिमार्जन गर्नुप¥यो भने कठिन हुन्छ । अर्थात् जे–जति अनुसन्धान भएका छन्, ती सबैको डेटाबेस हामीसँग छैन । भूकम्पसम्बन्धी अनुसन्धानको नेतृत्व गर्ने समर्पित सरकारी संस्था नभएकाले यो स्थितिको सिर्जना भएको हो ।
अन्त्यमा, नेपालको भूकम्पीय विपत् र जोखिमलाई पूर्ण रूपमा बुझ्न अझै अध्ययन र अनुसन्धानको खाँचो छ । भूकम्पसम्बन्धी अनुसन्धानका लागि थुप्रै तथ्याङ्कको सङ्कलन गर्नुपर्ने हुन्छ । जसका लागि समय, स्रोत र विज्ञताको आवश्यकता पर्छ । साथै, भूकम्पसँग सम्बन्धित अध्ययन र अनुसन्धानको नेतृत्व लिने एउटा समर्पित सरकारी निकायको पनि आवश्यकता पर्छ । त्यस्तो संस्था राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणभित्र यथासम्भव चाँडो स्थापना गर्नु वाञ्छनीय हुन्छ । अर्को महŒवपूर्ण कुरा हाम्रो प्रयास अनुसन्धानमा मात्र सीमित नराखी विपत् व्यवस्थापनका अरू पक्षमा पनि उत्तिकै ध्यान दिनुपर्छ । भूकम्पलाई रोक्न सकिँदैन तर भूकम्पले पार्ने प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरालाई विज्ञानले पुष्टि गरिसकेको छ । त्यसैले, भवन निर्माण आचार संहिताअनुरूप भूकम्प प्रतिरोधक भौतिक संरचना निर्माण गर्नु र भूकम्पसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता हो । भवन निर्माण आचारसंहिताको कार्यान्वयनले मात्र विनाशकारी भूकम्पका कारण भविष्यमा हुने ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।
(लेखक भूगर्भशास्त्रका अध्येता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?