logo
२०८१ बैशाख ७ शुक्रवार



विद्याको अवधारणा र शिक्षा प्रणाली

विचार/दृष्टिकोण |




डा. प्रमोद ढकाल

विश्वका सभ्यताहरूको इतिहास एकनासको नभएर उतार–चढावयुक्त छ । खास सभ्यता खास समयमा सोचको उत्कर्षमा पुगे पनि त्यो उत्कर्ष सधैँ कायम रहिरहेको देखिँदैन । पूर्वीय समाज पनि कुनै बेला त्यस्तो उत्कर्षमा पुगेको थियो । उसले धेरै समय र शक्ति खर्चेर मानव जीवनलाई सरल, सहज, उन्नत र रमणीय बनाउन ज्ञान–विज्ञानको विकास गरिरहेको थियो । त्यही समयमा उसले ज्ञान, विज्ञान, शिक्षा, विद्या, प्रज्ञाजस्ता अवधारणाहरूको विकास गरेको थियो । तीमध्ये विद्या त्यो अवधारणा थियो, जसले ज्ञान, विज्ञान, संस्कार र व्यवहारको संयोजनलाई जनाउँथ्यो । विद्याले मानवमुक्तिको उपायको हैसियत प्राप्त गरेको थियो । भनिएको थियो, ‘त्यो पो कर्म, जसले बन्धनमा पार्दैन र त्यो पो विद्या जसले बन्धनबाट मुक्त पार्दछ ।’
विद्यामा मानसिक, शारीरिक, हृदयिक (हार्दिक) र नवप्रवर्तनात्मक घटकहरू सम्मिलित हुन्छन् । यसलाई प्रतीकवादी शिक्षणमा टाउको (हेड), हात (ह्यान्ड), हृदय (हार्ट), पेट (गट) र खुट्टा (लेग) को उपमा दिएर बुझाउन सकिन्छ । अर्थात् विद्यामा ज्ञानका अलावा सीप, विनय, जीविका, उन्नति र मार्गदर्शक विशिष्टता पनि रहेका हुन्छन् ।
हुन त विद्वान् हरू यो पनि भन्छन् कि ज्ञान नै शक्ति हो, ज्ञानमै मुक्ति छ । वास्तवमा ज्ञानमा शक्ति हुन्छ पनि । तर, शक्ति दिने ज्ञानले मुक्ति पनि दिन्छ नै भन्ने हुँदैन । उसलाई अरू गुणहरूले परिपूरण गरेमात्र त्यसले मानिसलाई मुक्त पार्न सक्छ । विद्यामा विद्यावान्, विद्यावत् वा विद्याहीनजस्ता शब्द हुन्छन् । विद्या त शिक्षा, ज्ञान, विज्ञान, सीप, जीवन र व्यवहारको संयोजन हो, जसमा मानसिक, शारीरिक, हार्दिक, आर्थिक र नवप्रवर्तनात्मक घटकहरू सम्मिलित हुन्छन् ।
मानिसलाई विद्याले सुसज्जित बनाउने उद्देश्य लिएर हाम्रो समाजले विद्या आर्जनको आफ्नै मौलिक परिपाटीको विकास ग¥यो । व्यक्ति, परिवार र समाजलाई उन्नत बनाउने खास विधाका विशिष्टीकृत ज्ञान, विज्ञान, सीप, उत्पादन–शक्ति र नवप्रवर्तन–शक्तिको आर्जनलाई विद्या नामले चिन्यो । विद्याको प्राप्तिमा समर्पित मानिसलाई विद्यार्थी नामले चिन्यो । विद्यालयको काम एउटा विद्यार्थीलाई बौद्धिक विकास र स्व–उत्थानको बाटोमा निरन्तर हिँड्न सक्षम पार्ने हुन गयो । यस्तो उपाय अपनाएर हाम्रो समाजले पनि कुनै बेला चिन्तनको उत्कर्ष छोप्यो ।
विद्याको त्यो आगो बलिरहन सकेन । कुनै बेला ऋषिमुनिहरूको तपस्यास्थल भनेर चिनिएको देश, जनकको देश, बुद्धको देश, नेपाल निद्रामा भासिएको ठाउँजस्तो बन्यो । अनि त्यो अन्धकार लामो समयसम्म जमेर बस्न सफल भयो । त्यो अँध्यारोलाई चिर्दै आज हामी पश्चिममा फैलिएको ज्ञानको उज्यालोबाट प्रेरित हुँदै त्यहीँबाट आयात गरिएको शिक्षाबाट थोरै धेरै शिक्षित भएर आफ्नो भौतिक र बौद्धिक विकासको बाटो तय गर्न खोजिरहेका छौँ । उज्यालोतर्फ जाने हाम्रो प्रयत्नले सही बाटो समात्न आवश्यक बनिरहेको छ ।
हामीले अन्य राष्ट्रका शिक्षा प्रणाली अपनाउन त खोज्यौँ तर हाम्रो आकाङ्क्षा, आवश्यकता र अधिष्ठान (जग) अनुरूप यसलाई ढाल्न सकेका छैनौँ । फलस्वरूप आज हाम्रो शिक्षामा सिद्धान्त छ, व्यवहार छैन । एक्ला–एक्ला विषय छन्, एकीकरण छैन, प्रतिस्पर्धा छ, सहकार्य छैन, परीक्षा छ, परीक्षण छैन, मार्कसिट छ, योग्यतापात्रता छैन । उपाधि भएर के गर्ने ती मूलतः निरुपाख्य छन् । सिकाइ पनि विद्यावतन भएर यन्त्रवत् अर्थात् रटानमा आधारित बनेको छ, विद्यालयहरू विद्याको विकासमा नभएर शिक्षण अर्थात् मतारोपणमा वा पकाएको ज्ञान ख्वाउनमा शक्ति खर्चिरहेका छन् । विद्यालाई नचिनेर शिक्षालाई मात्र चिनेकाले होला यहाँ शिक्षा प्रणाली छ तर विद्या प्रणाली छैन । अनि एउटा शिक्षा प्रणालीले हामीलाई शिक्षाप्रद बनाउने हो, विद्यावत् बनाउने त ऊसँग अवधारणा नै छैन ।
नेपाली या त नेपालको शिक्षा प्रणालीमा पढ्न नसकेर विदेशीको गुलाम बन्नु परिरहेको छ या त उसले दिएको शिक्षाबाट जीवन रूपान्तरण गर्ने उपायहरू पत्ता नलागेर प्राप्त ज्ञानको उपयोगका लागि बिदेसिनुपरिरहेको छ । एउटा नेपाली अमूल्य हीराकै रूपमा जन्मे पनि त्यो हीरालाई चम्काउन खटिएको शिक्षा प्रणालीले उसलाई काट्न, घोट्न र चम्किलो पार्न सकेको छैन । सिद्धान्त घोकाएको हुन सक्ला तर विद्यार्थीलाई व्यवहार र विधिले सुसज्जित पारेको छैन, वास्तविक वातावरणमा काम गराएर योग्यता, पात्रता, सभ्यता र दक्षताले घोटिएको र चम्किलो पारेको छैन । नेपालमै विद्यमान सम्भावनालाई चिनेर तिनलाई शक्तिमा बदल्ने क्षमता दिएको छैन र यहाँको सुन्दरता र विचित्रतालाई देख्ने आँखा दिएको छैन ।
व्यावहारिक ज्ञान र सीपको स्थान नै नभएको शिक्षा पद्धतिमा सिद्धिको, सिद्धान्तको मात्र मूल्य भएको ठाउँमा व्यवहारको, व्यवहार र अनुभवको मूल्य नभएको प्रणालीमा अनुभवजन्य सिकाइको, घोकेर जाँच पास गर्ने शिक्षामा समालोचक चेत र विवेकशील चिन्तनको, अरूले पकाएको ज्ञान खाने ठाउँमा आफ्नै सिर्जना र उत्पादनको, एक्लाएक्लै अङ्क ल्याउने होड गर्ने ठाउँमा सहकार्यको, सहकार्य नहुने ठाउँमा अनुकरण र अनुकृतिजन्य सिकाइको र यन्त्रवत् सिकाइको नशा चढेको ठाउँमा विद्यावत् सिकाइको कुनै स्थान हुँदैन । नेपालको विद्यमान शिक्षा प्रणालीमा त्यस्तै अनेक विकृति रहेका छन् । यो त्यस्तो जर्जर प्रणाली बनेर रहेको छ, जहाँ नेपाली समाजले गरेको लगानीबाट न्यूनतम मात्र प्रतिफलको आशा गर्न सकिन्छ ।
आज पश्चिमका मानिस जीवनको जटिलताबाट विरक्त भएका छन् र नेपालका मानिस यहाँको सरलताबाट । सरलताबाट यो मानेमा कि हामीलाई पश्चिमजस्तै जटिल र तनावयुक्त स्थितिमा पुग्न हतारो भइसकेको छ । हाम्रो दार्शनिक र साँस्कृतिक परम्पराले जीवनलाई सरल र रोचक बनाउन त सकेको छ तर यहाँ प्रामाणिक ज्ञानको विकास गर्ने विज्ञानको उपेक्षा छ । जीवनका भौतिक कठिनाइलाई न्यूनीकरण गर्ने प्रविधिको विकासको उपेक्षा छ । फलस्वरूप, आज अन्य राष्ट्रले गरेका विकासका उत्कर्षसँग संसर्ग गर्नुपर्दा हामीमा कुनै लज्जा, हीनता वा अज्ञानको अनुभूति भइरहेको छ । हामीले आफ्नो सरलता, सहजता र रम्यताको संस्कारलाई बचाएरै पनि विज्ञान र प्रविधिको उपयोग गर्न सकिन्थ्यो होला तर त्यो हीनताले हामीमा छटपटी भइसकेको छ । त्यही हतारमा नीतिहरू बदलिरहँदा हाम्रो शिक्षा प्रणाली कुहिराका कागझैँ अल्मलिइरहेको छ । यो नहुनु थियो तर भयो । अब हामीले यसमा चिन्ता गर्ने होइन कि हिजोका अनुभव, आजका आवश्यकता र भोलिका अवसरहरूलाई विचार गरेर भविष्यको मार्ग तय गर्नुपर्छ ।
मानवको चौतर्फी बौद्धिक विकास गर्न विद्यालय, विश्वविद्यालय पर्याप्त हुँदैनन्, समग्र समाज नै सिकाइ र रचनामा होमिएको हुनुपर्छ । हाम्रो मानवजीवनलाई उत्पादक, सिर्जनशील र निरन्तर उन्नत बनाउने नौलो प्रकारको बौद्धिक पर्यावरण भएको समाज र अर्थतन्त्र निर्माण गर्नुपर्छ ।
हुन त कुनै बेला हाम्रो चिन्तनपरम्परामा शिक्षा, दीक्षा र विद्याको आ–आफ्नै मौलिक स्थान थियो । शिक्षाले शिक्षकद्वारा शिक्षण गर्ने प्रक्रियाको प्रतिनिधित्व गर्दथ्यो । दीक्षाले कोही दीक्षापालवा दीक्षा गुरूका अगाडि कुनै विशिष्ट सिकाइको यात्राको दृढप्रतिज्ञा गरेर उक्त यात्रा थाल्नुलाई जनाउँथ्यो र उसले त्यो प्रतिज्ञा गरेको सिकाइको यात्रा पूरा गरेपछि दीक्षान्त समारोह गरेर उसलाई स–सम्मान दीक्षागुरूले बिदा दिन्थे । विद्याले स्वाध्यायद्वारा तथा गुरुको मार्गदर्शनमा सिकाइ, प्रयोग र व्यवहारमा खारिँदै गएर विद्यावत् बन्ने यात्राको प्रतिनिधित्व गर्दथ्यो । त्यही विद्याको बाटोमा हिँडून् भनेर हामीले हाम्रा सिकाइका केन्द्रहरूलाई शिक्षालय नामकरण नगरेर विद्यालय विश्वविद्यालय नामकरण गरेका थियौँ । तर, दुर्भाग्य यो हुन गयो कि हाम्रा विद्यालय र विश्वविद्यालयहरू आफ्नो नामले बनाएअनुरूपका उत्कृष्ट सिकाइका र विद्या आर्जनका केन्द्र नभएर शिक्षकका भाषण सुनाउने र किताब घोकाउने स्थानमा परिणत हुन गए । हाम्रा विद्यार्थीलाई जीविका, जीवन र नागरिक दायित्वको अन्तज्र्ञान पनि राम्ररी प्राप्त हुन सकेन । अब हामीले तिनलाई शिक्षालयको अवस्थाबाट फर्काएर फेरि विद्यालय र विश्वविद्यालयको स्थितिमा ल्याउनु छ ।
अबको अर्थतन्त्र र समाज विकासको प्रमुख आधार नै ज्ञान हुन गएकाले स्वाध्याय, खोज, अनुसन्धान, आविष्कार, नवप्रवर्तन र विद्यावत् उद्यमशीलता हाम्रो संस्कृतिका अभिन्न पाटा हुनुपर्ने भएको छ । जसका लागि मुख्यतः हाम्रा विद्यालय र विश्वविद्यालयले योग्य जनशक्ति आकर्षण गर्ने र तिनलाई दक्ष र विद्यायुक्त बनाएर निकाल्ने परिपाटी स्थापित गर्नुपर्छ । खोज, अनुसन्धान, नवप्रवर्तन, उत्पादन र आत्मोत्थान संस्कृतिकै अभिन्न अङ्ग बनेको हुनुपर्छ । समाजका व्यक्ति पनि र संस्था पनि विद्यावत् हुनुपर्छ, उनीहरू निरन्तर सिकाइ र उन्नयनमा संलग्न रहनुपर्छ । कलात्मक, बौद्धिक, प्राविधिक र वैज्ञानिक विकासमा सक्रिय र योजनाबद्ध प्रयत्न हुनुपर्छ । तब नै त्यहाँका शैक्षिक प्रणाली, समाज र अर्थतन्त्र विद्यावत् हुनेछन् र त्यस्तो विद्यावत् समाजले आगामी युगको रूपान्तरण र विकासको अनुकरणीय नेतृत्व गर्न सक्नेछ ।

(लेखक इन्जिनियरिङ, विज्ञान र दर्शनको क्षेत्रका शोधकर्ता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?