logo
२०८१ बैशाख ७ शुक्रवार



खोपमार्फत बाल सुरक्षा (सम्पादकीय)

विचार/दृष्टिकोण |






नेपाल सरकारले रोटा भाइरस, टाइफाइड, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) जस्ता थप तीन खोप निःशुल्क उपलब्ध गराउने भएको छ । यी खोपले बालबालिकालाई विभिन्न रोगसँग लड्न प्रतिरोधी शक्ति प्राप्त गर्नेछन् । सरकारको यस्तो निर्णयबाट मूलतः विपन्न परिवारका बालबालिक लाभान्वित हुनेछन् । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले रोगसँग लड्न यस्ता खोप अनिवार्य हुने भए पनि आर्थिकलगायत विभिन्न समस्याले खोप दिन नसक्ने परिवारका बालबच्चालाई यस्तो कार्यक्रमबाट प्रत्यक्ष फाइदा पुग्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि गरी बालबालिकालाई दीर्घकालसम्म विभिन्न रोगबाट बचाउन खोप लगाउन आवश्यक हुन्छ । चिकित्सकका अनुसार पाँच वर्षसम्मका बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा विभिन्न सङ्क्रमित रोगले उनीहरूमा स्वास्थ्य चुनौती आउन सक्ने भएकाले निर्धारित समयभित्र उनीहरूलाई खोप दिँदै पूर्वसावधानी अपनाउनुपर्छ । जन्मिनासाथ वा जन्मिएको एक महिनाभित्र दिइने बीसीजी खोपले बच्चालाई क्षयरोगबाट बचाउन सहयोग गर्छ भने हाल दिने भनिएका खोपले पनि यस्ता विभिन्न रोगको प्रतिरोध गर्नेछन् । बच्चा जन्मिएको ६, १० र १४ हप्तामा डीपीटी, हेपाटाइटिस–बी र एचआईबी लगाइन्छ । यी खोप एकएक महिनाको अन्तरमा तीनपटक लगाउनुपर्छ, जसले भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस–बी र हेमाफिलस ‘बी’ बाट हुने मेनेन्जाइटिस र निमोनियाबाट बचाउन बालबालिकामा प्रतिरोधी शक्ति वृद्धि गर्नेछन् । नेपाल सरकारले ११ वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएकामा अब दिइने तीनवटा निःशुल्क नयाँ खोप पनि बालस्वास्थ्यमा प्रभावकारी हुने देखिन्छ ।
नेपालमा खोपको भण्डार सहज छैन । स्वास्थ्यचौकीका भवन, बिजुली, भण्डारणका लागि आवश्यक फ्रिजलगायतका उपकरणको उचित व्यवस्था मिलाउन नसक्दासम्म खोप लगाउन जिल्ला वा केन्द्रका अस्पताल जानुपर्ने अवस्थाले लक्षित वर्ग यस्ता कार्यक्रमबाट अपेक्षित रूपमा लाभान्वित हुन सक्दैनन् । खोप कार्यक्रमसँगै अन्य आवश्यक सुविधा र सेवालाई पनि एकीकृत गर्न सकिएमा अपेक्षित उपलब्धि प्राप्त गर्न सकिनेछ, साथै विज्ञान, प्रविधि तथा स्वास्थ्यक्षेत्रमा भएका नयाँ आविष्कारको उपयोग गर्दै स्वस्थ रहन नागरिक पनि सचेत रहनुपर्छ । स्वास्थ्य नै धन हो भन्ने भनाइलार्ई चरितार्थ गर्न नेपालले विगतदेखि विभिन्न पहल गर्दै आएको छ । यस्ता पहल सरकारको नेतृत्वमा हुने भए पनि यसमा नागरिक र सम्बद्ध सबै पक्षको सहयोग आवश्यक हुने भएकाले खोप कार्यक्रम सफल बनाई बालबालिकालाई सुरक्षित गर्न सबैले आआफ्ना स्थानबाट सहयोग गर्नु आवश्यक छ ।
नेपालमा खोपका बारेमा अपेक्षित जनचेतना वृद्धि भएको पाइँदैन बरु कतिपय अवस्था र क्षेत्रमा खोपप्रति नकारात्मक धारणा पाइन्छ । बजारमा उपलब्ध सबै खोप बालबच्चालाई दिन आवश्यक छ÷छैन भन्नेमा सर्वसाधारणलाई जानकार बनाउन नसकिएकाले उनीहरू खोपप्रति नकारात्मक बनेका हुनसक्छन् । सरकारले ठूलो धनराशी तथा जनशक्ति परिचालन गरेर दिने यस्ता निःशुल्क खोपमात्र होइन, पोलियो थोपा खान हिच्किचाउने जनतालाई यी पक्षमा स्पष्ट पार्नुपर्ने देखिन्छ । मुलुकमा विद्यमान स्वास्थ्य समस्या, जनताको आर्थिक अवस्थाले ल्याउनसक्ने जोखिम, उपचारको सुलभता, आमा तथा बच्चाको स्वास्थ्यका कारण पनि यस्ता खोपहरू आवश्यक वा अनावश्यक हुन सक्छन् । स्वास्थ्य विशेषज्ञ पनि सबै प्रकारका खोप सबै जनालाई आवश्यक नहुने बताउँछन् । विकसित मुलुकले विकास गरेका खोप तथा औषधि विकासोन्मुख मुलुकका नागरिकमाथि परीक्षण गरिन्छ भन्ने समाचार पनि यदाकदा आउने गरेका छन् । यसबारेमा सर्वसाधारणलाई यथार्थ जानकारी दिन सकिए औषधि तथा खोपको उपयोग बढाई बालबच्चाको स्वास्थ्य जोखिम न्यून गर्न सकिनेछ । जन्मेदेखि कुन उमेर समूह र कस्ता रोगका व्यक्तिले कस्ता खोप लगाउनुपर्छ भन्ने जानकारी पनि सर्वसाधारणमा छैन । कतिपय खोप एकपटक मात्र लगाए हुन्छ भने कतिपय नियमित रूपमा लगाइरहनु पर्छ । फ्लु भ्याक्सिन छ महिनामा, त्यसपछि सात महिनामा र त्यसपछि वर्षैैपिच्छे रोगविरुद्ध लड्ने क्षमता कम भएका, मुटुरोग, मधुमेह भएका, दमरोग भएका बालबालिकालाई लगाउनुपर्छ । मेनेन्जाइटिस गराउने ब्याक्टेरियाविरुद्धको खोप तीन÷तीन महिनामा तीनपटक दिएमा मस्तिष्क ज्वरोबाट जोगाउँछ तर यी सबै जानकारी अभिभावकलार्ई नहुने र सम्झन समस्या पर्ने, सबै स्वास्थ्य क्षेत्रमा खोपको उपलब्धता नहुनेजस्ता कारण पनि खोपको उपयोग चुनौतीपूर्ण बनेको छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?