logo
२०८० चैत्र १६ शुक्रवार



प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन

समाज |




फिदिम, मङ्सिर २२ गते । बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेशनल क्लब पाँचथरले रु ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो । बढ्दो जनसङ्ख्याका कारण हेंवाघाटमा शवदहन गर्ने सङ्ख्या बढिरहेको छ । जलाउन मिल्ने फोहरसमेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदूषण बढेको पाइएपछि फोहर जलाउन मिल्ने फलामको डस्टबिनको व्यवस्था गरिएको क्लबका मिलन विश्वकर्माले जानकारी दिनुभयो ।

हेंवाघाट र घाट नजिकै खाजा बाँड्ने स्थानमा एक÷एक डस्टबिन तथा सूचनापाटी स्थापना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा क्लबले यी सामग्री फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले युवाहरुले रूपान्तरण र सुधारका लागि नवीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । क्लबले पाँचथरमा स्थानीयस्तरका समस्या समाधान, मानवीय सहयोग तथा जागरणका काम गरिरहेको पाइएको भन्दै सभापति थेबेले खुशी व्यक्त गर्नुभयो ।

गत दीपावलीमा देउसीभैलो खेलेर सङ्कलित रकमबाट उक्त डस्टबिनको प्रबन्ध मिलाइएको क्लबका अध्यक्ष सूर्य आङ्देम्बेको भनाइ छ । यो क्लबले पाँचथरमा ‘जीवित रगत बैंक’ स्थापना गर्न लागेको जनाएको छ । हेंवाघाटमा सरकारी लगानीबिना नै यहाँ नागरिक तथा जातीय सङ्घसंस्थाले पूर्वाधार निर्माणका काम गर्दै आएका छन् । घाटमा पूर्वाधार निर्माणमा सक्रिय हेटनारायण श्रेष्ठका अनुसार यहाँ शव जलाउने घाट नेवाः दयदबु पाँचथरले निर्माण गरेको छ भने मलामी बस्ने चौतारो नेपाल मगर सङ्घ पाँचथरले निर्माण गरेको छ । समाजसेवी मित्रप्रसाद काफ्लेले यहाँ स्वच्छ खानेपानीको प्रबन्ध मिलाउनुभएको छ । दैनिक प्रयोग हुने घाटमा पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?