logo
२०८१ बैशाख ११ मंगलवार



अवैज्ञानिक श्रमिक छनोट प्रणाली (सम्पादकीय)

विचार/दृष्टिकोण |





जापान फाउन्डेसनले लिएको नर्सिङ केयर गिभरको सीप परीक्षामा सबै नेपाली श्रमिक अनुत्तीर्ण भएपछि वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा भाषा परीक्षामा भने एक जना मात्र उत्तीर्ण भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’ (चिठ्ठा) मार्फत एक हजार जना आवेदक छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोट भई ४९७ जना परीक्षामा सहभागी थिए, जसमा ५६ जना मात्र उत्तीर्ण भए । यस्तो अवस्थाले नेपाली युवा श्रमिकलाई मात्र होइन सम्बन्धित सबैलाई चकित बनाएको छ । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका तर अन्तिम चरणको परीक्षामा भाषामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीक्षामा सबै असफल भएबाट यसका आन्तरिक र वाह्य पक्षमा रहेका कमीकमजोरीको समीक्षा गर्दै आगामी दिनका लागि सुधार गर्नुपर्ने देखिएको छ ।
रोजगारीमा जान कोरिया र जापान आर्थिक रूपमा आकर्षक र सुरक्षित मानिएका छन् । जापान नेपालको विकासको ठूलो सहयोगी साझेदार र शुभचिन्तक पनि हो । त्यहाँ रोजगारीमा जानका लागि नेपाली बढी नै आकर्षित छन् तर अन्य मुलुकमा जस्तो गुणस्तरमा ध्यान नदिई जापानले श्रमिक नलिने भएकाले पनि परीक्षामा यस्तो परिणाम आएको हुन सक्छ । यसमा प्रशिक्षार्थी अर्थात् त्यहाँ जान चाहने श्रमिकको तयारी नपुगेको पनि हुन सक्छ । यसैगरी त्यसबारेमा पढाउने भनेर खोलिएका संस्थाहरूले राम्ररी पढाउन नसकेका पनि हुन सक्छन् । सबैभन्दा ठुलो त चिठ्ठा प्रणालीको असफलता देखिएको छ । त्यसैले कहाँबाट कस्ता कमजोरी भएका हुन् भन्ने जानकारी राखी त्यही अनुसारको समाधान खोज्नु पर्ने भएको छ । नेपालले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान पठाउने नीति लिएकाले आगामी दिनमा यस्ता कमजोरी दोहरिन नदिन पनि होसियारी अपनाउनु पर्ने भएको छ । नेपाल र जापान सरकारबीच गत वर्षको चैत ११ गते नेपाली नागरिकलाई जापानी नागरिकसरहको सेवा सुविधा दिएर जापानमा नेपाली श्रमिक जानेबारे सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि नेपालीले यस प्रकारको सुविधा पाएका हुन् । उक्त सुविधा लिन नेपाली श्रमिकले सीप, प्राविधिक र भाषाका पक्षमा मापदण्ड अनुसारको दक्षता हासिस गर्नु अनिवार्य हुन्छ । यस्तै सुविधा प्रदान गरेर जापानले नेपाल, चीन, इन्डोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने भएकाले ती देशका युवासरह नोपालीले पनि श्रम र भाषिक गुणस्तर कायम गर्नुपर्छ ।
नेपालले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान पठाउने भने पनि जापानले नेपालीलाई वार्षिक रूपमा वा जम्मा कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो छैन । यस बारेमा यकिन गरी त्यहाँ जान इच्छुक युवालाई लामो समयससम्म सीप तथा भाषाको तालिम र तयारी गर्ने अवसर मिलाइदिनु पर्ने देखिएको छ । दुई देशबीच भएको समझदारीअनुसार भाषा र सीप दुवैमा उत्तीर्ण भएपछि मात्र जापान जान सकिने छ । तर सीप परीक्षामा पहिलो चरणमा सहभागी भएकामध्ये एक जना पनि उत्तीर्ण नभएपछि जापान जाने सम्भावना कमजोर मात्र भएको छैन, भविश्यमा नेपाललाई जापानले निर्धारण गर्ने श्रमिक कोटा पनि प्रभावित हुन सक्छ । तर आवेदनलाई गोला प्रथाबाट छानिएकाले क्षमतावान युवा पनि किनारा लागेको हुन सक्ने देखिएकाले आवेदन, परीक्षा र परिणामलाई थप वैज्ञानिक तथा पारदर्शी बनाउनु पर्ने आवश्यकता छ । परीक्षा दिएका व्यक्तिलाई मैले कहाँ के कमजोरी गरेको रहेछु भन्ने जानकारी दिन सकियो भने आगामी दिनमा उनीहरूले आफूलार्ई सच्याउन सक्छन् र राम्रो परिणामको अपेक्षा गर्न सकिन्छ । चिठ्ठा प्रणालीका सन्दर्भमा नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट प्रणालीप्रति असहमति जनाइसकेको छ । जापानले पनि परीक्षाको यस्तो तरिकामा पुनरावलोकन गर्नुपर्ने देखिएको छ । मानिसको दक्षता र सीप पनि चिठ्ठामार्फत हुन सक्छ र ? भन्ने गम्भीर प्रश्नको वैज्ञानिक उत्तर अपेक्षित छ । श्रमिक छनोटमा चिठ्ठा प्रणालीको परिमार्जन आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?