logo
२०८१ बैशाख १३ बिहीवार



नारामा सीमित अपाङ्गता दिवस

विचार/दृष्टिकोण |




शर्मिला विश्वकर्मा

कुनै पनि व्यक्तिमा अपाङ्गता हुनु उसको रहर नभएर बाध्यता हो । अपाङ्गता पूर्वजन्मको पाप होइन, कुनै रोग पनि होइन । यो त एक अवस्था मात्र हो । अन्य व्यक्तिको तुलनामा अपाङ्गता हुनु भनेको शरीरको कुनै एक वा सोभन्दा बढी अङ्गमा जन्मजात वा जन्मपश्चात् हुने घटना वा दुर्घटनामा परेर शारीरिक विकृति आउनु र त्यो अङ्गले सक्रियरूपमा काम गर्न अवरोध हुनु हो । तर त्यो अङ्गले पूर्णरूपमा कार्य सम्पादन गर्न कठिन भएको अवस्थामा विभिन्न उपयोगी तथा सहयोगी सामग्रीको सहयोगमा कार्य सम्पन्न गर्न सकिन्छ । नेपाल सरकारले पनि अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को २ को (ख) ले अपाङ्गता भएका व्यक्ति भन्नाले मनोसामाजिक, बौद्धिक वा इन्दि«यसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधका कारण वा अन्य व्यक्तिसरहको आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाध्य भएका व्यक्ति सम्झनुपर्दछ भनेको छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६ को धारा १ मा पनि शारीरिक, मनोसामाजिक, बौद्धिक वा इन्दि«यसम्बन्धी दीर्घ अशक्तताद्वारा सिर्जित विभिन्न अवरोधका कारणले समाजमा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाध्य हुने अवस्था भएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्ति भनेर परिभाषित गरेको छ ।
नेपाल सरकारले ल्याएको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ ले शारीरिक अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्या वा कठिनाइअनुसार अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरेको छ । जस्तै– १. शारीरिक अपाङ्गता २. दृष्टिसम्बन्धी अपाङ्गता (क) दृष्टिविहीनता (ख) न्यून दृष्टियुक्त (ग) पूर्ण दृष्टिविहीन ३. सुनाइसम्बन्धी अपाङ्गता (क) बहिरा अपाङ्गता (ख) सुस्तश्रवण अपाङ्गता ४. श्रवण दृष्टिविहीन अपाङ्गता (जो आँखा पनि देख्दैनन् र कान पनि सुन्दैनन् ) ५. स्वर बोलाइसम्बन्धी अपाङ्गता ६. मनोसामाजिक अपाङ्गता ७. बौद्धिक अपाङ्गता ८. अनुवंशीय रक्तस्राव (हेमोफेलिया) सम्बन्धी अपाङ्गता ९. अटिजम अपाङ्गता १०. बहुअपाङ्गता (एउटै व्यक्तिमा दुई वा सोभन्दा बढी अपाङ्गता हुनु जस्तै– एउटै व्यक्तिमा बौद्धिक, अटिजम, दृष्टिविहीनलगायतका अपाङ्गता हुनु) त्यसैगरी अशक्तता तथा गम्भीरताका आधारमा अपाङ्गतालाई चार भागमा वर्गीकरण गरिएको छ । जस्तै– १. पूर्ण अशक्त अपाङ्गता २. अति अशक्त अपाङ्गता ३. मध्यम अपाङ्गता ४. सामान्य अपाङ्गता । यसरी नेपाल सरकारले अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाको साझेदारी, सहकार्यमा उनीहरूको सल्लाह सुझावअनुरूप पछिल्लो चरणमा अपाङ्गता भएका व्यक्तिका विषयमा केही उपलब्धिमूलक कामको थालनी गरेको छ । तर यहाँ अझै अपाङ्गता हुनु भनेको पूर्वजन्मको पाप, कमजोरी, दया गर्नुपर्ने, घरपरिवार तथा समाजको बोझका रूपमा लिने परम्परागत र नकारात्मक दृष्टिकोणको पूर्णरूपमा अन्त्य हुन सकेको छैन ।
नेपाल सरकार तथा यससँग सम्बन्धित सरोकारवाला निकायका साथै अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले विभिन्न समयमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकारका विषयमा वकालत तथा पैरवी गर्दै आएका छन् । अपाङ्गता भएका व्यक्तिले पनि अन्य नागरिकसरह आफ्नो जीवनयापन गर्न पाउनुपर्छ । राज्यले उपलब्ध गराउँदै आएका सेवा सुविधाको उपभोग गर्न पाउनुपर्छ । त्यसका लागि साङ्ग व्यक्तिको तुलनामा अपाङ्गता अनुकूलको वातावरण तथा अपाङ्गतामैत्री संरचना निर्माण गरिनुपर्ने भनेर विभिन्न समयमा वकालत तथा पैरवी नभएका होइनन् । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभरि अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । यस दिवसका अवसरमा सबै राष्ट्रमा रहेका अपाङ्गता भएका व्यक्तिका सवाललाई सम्बोधन गर्न सहज होस् । अपाङ्गता भएका व्यक्तिका सवालप्रति राज्यको ध्यान केन्दि«त होस् र अन्य नागरिकसरह उनीहरूले पनि अपाङ्गता अनुकूलको वातावरण, संरचनामा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना होस् भनेर संयुक्त राष्ट्रसङ्घले नारा तय गर्ने गर्दछ । सोही नाराको मर्मअनुरूप आफ्ना देशले राष्ट्रिय नारा र सहायक नाराहरू बनाएर विभिन्न कार्यक्रमसहित अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९८१ लाई अन्तर्राष्ट्रिय अपाङ्गता वर्षका रूपमा घोषणा गरेपछि विश्वभरि रहेका अपाङ्गता भएका व्यक्तिका लागि विश्वव्यापी काम गर्न सन् १९८२ मा अपाङ्गता भएका व्यक्तिका लागि अवसर सामाजिकरण पुनस्र्थापना, अपाङ्गतासम्बन्धी १० वर्षे विश्व कार्ययोजना निर्माण गर्न आह्वान ग¥यो । सन् १९८२ मा नै अपाङ्गतासम्बन्धी विश्व कार्ययोजना सन् १९८३ बाट लागु गरियो । यसै वर्षदेखि सन् १९९२ को कार्यन्वयन अवधिलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरिएको इतिहास अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालमार्फत जानकारी लिन सकिन्छ । सन् १९९२ को अक्टोबरमा अपाङ्गतासम्बन्धी विश्व कार्ययोजनाको दशक पूरा भएको अवसरमा संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्षको डिसेम्बर ३ लाई विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको छ ।
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको नाम सुरुमा इन्टरनेशनल डे अफ डिसएबल्ड पर्सन्स राखिएको थियो । सन् २००७ मा इन्टरनेशनल डे अफ पर्सन्स विथ डिसएबिलिटिज राखियो । यस नामलाई सन् २००८ मा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउँदादेखि प्रयोग गरिँदै आइएको छ । हरेक वर्षको डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय नारा तय गर्ने गर्दछ । यसैका आधारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका साथै राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको छलफलपश्चात् यस वर्षको अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नारा ‘दिगो विकासको लक्ष्य ः अपाङ्गता मैत्री भविष्य’ तय गरिएको छ । यसरी अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि २८ वर्ष पुगेको छ । यो २८ वर्षमा विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक परिवर्तन आएका छन् । यो सहरका केही स्थानमा मात्र केन्द्रित छ । अपाङ्गता भएकाहरूले अझै पनि अपमानजनक शब्द, कमजोरी, घरपरिवारको बोझ, हेला र तिरस्कारमा जीवन बाँच्न बाध्य छन् । कतियप अपाङ्गता भएका व्यक्तिका घरपरिवारले राम्रो व्यवहार गरे तापनि समाजका अन्य नागरिक तथा हामी मानवले निर्माण गरेका मानवीय अवरोधका कारण अपाङ्गता भएका व्यक्तिको जीवनयापनका निकै चुनौती छन् ।
राज्यस्तरका नीति नियम, ऐन कानुनमा अपाङ्गता भएका व्यक्तिका सवाललाई समावेश गर्ने प्रयास गरिएको त छ तर अपाङ्गता भएका व्यक्तिका लागि बनेका नीतिनियम, ऐनकानुनमा भएका व्यवस्था पूर्णरूपमा कार्यान्वयन भएको छैन । अझै पनि सबै सरकारी तथा सार्वजनिक कार्यालय, भवन, सार्वजनिक शौचालय अपाङ्गतामैत्री बन्नसकेका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारलगायतका निकायमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न सकेको छैन । जसले गर्दा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस ¥याली र भाषणमा मात्र सीमित हुने पो हो कि ! त्यसैले अबका दिनमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसलाई ¥याली र भाषणमा मात्र सीमित नराखेर संयुक्त राष्ट्रसङ्घले तय गरेको नारा, राष्ट्रिय नारा अनुसार काम गरौँ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको अन्य नागरिकसरह बाँच्न पाउने अधिकार सुनिश्चित गरौँ ।

(लेखक पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?