logo
२०८१ बैशाख १४ शुक्रवार



धार्मिक पर्यटनको कोशेढुङ्गा

विचार/दृष्टिकोण |




कमल रिजाल

पाकिस्तान सरकारले श्री करतारपुर साहिब गुरुद्वाराको ढोका भारतीयका लागि खुला गरेको समाचारले निकै चर्चा पायो अन्तर्राष्ट्रिय जगत्मा । पाकिस्तानले नोभेम्बर ९ मा ढोका खोलेर धार्मिक सहिष्णुता र सदासयता देखाएको थियो, जतिबेला गुरु नानकको ५५०औँ जन्मोत्सव मनाइँदै थियो । यसबाट शिख धर्मावलम्बीबीच खुसीको नयाँ बिहानी उदय भएको आसय व्यक्त गर्नुभयो दिल्ली गुरुद्वारा व्यवस्थापन कमिटीका अध्यक्ष मजिन्दरसिंह सिर्साले । शिख धर्मावलम्बीका लागि पवित्रतम तीर्थस्थल मानिन्छ करतारपुर गुरुद्वारा । यस धर्मका संस्थापक गुरु नानकले यहीँबाट मानव धर्मको शिक्षा र सन्देश दिनुभएको थियो । नानक दर्र्शनको मूलभूत विशेषता भनेकै शान्ति, एकता र विश्वभ्रातृत्व हो, जसलाई गुरु नानकले आजीवन पछ्याइरहनुभयो । भारतीय पञ्जाव राज्यको सीमावर्ती सहरमा पर्ने करतारपुर जानका लागि पञ्जाव प्रान्तबाट करिब चार किलोमिटर करिडोर पार गर्नुपर्ने हुन्छ, जुन करिडोर नानकले तत्कालीन भारत– पाक एकताका लागि बनाउनुभएको थियो तर सन् १९४७ मा भारत–पाक विभाजन हुँदा पकिस्तानतर्फ पर्न गएकाले सो स्थानको ढोका भारतीयका शिखका लागि विगत ७२ वर्षसम्म बन्द रहेको थियो । भारतीय शिखहरूले आस्था र सत्कर्मको बाटोमा एउटा ठूलो छलाङ मानेका छन् ।
धार्मिक पर्यटनको विशिष्टतम नमुना मान्न सकिने करतारपुर प्रकरण नेपाल–भारत दुवैका लागि नयाँ शिक्षा हुन सक्छ । धार्मिक सम्पदा र धार्मिक पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेका मुलुक हुन्, यी दुवै । ज्योतिलिङ्गको बाटो, चारधामको बाटो, बुद्धको बाटो, जैनको बाटो, शक्तिपीठको बाटो र रामजानकीको बाटो यिनका केही उदाहरण हुन् । यी क्षेत्रको प्याकेजमै दर्शन–भ्रमणको मात्र व्यवस्था हुन सके पनि पक्कै केही हुने थियो तर हालसम्म सामान्य पहलसम्म हुन सकिरहेको छैन । यद्यपि, रामजानकीको बाटोबारे केही प्रयास नभएको होइनन् तर खासै गति लिन सकिरहेको छैन यसले । बुद्धको बाटोबारे कुरासम्म चलेको छ, काम बाँकी नै छ । यसबाहेक अन्य क्षेत्रको चर्चासम्म पनि सुनिएका छैनन् । ज्योतिर्लिङ्ग भगवान् शिवको प्रधान लिङ्गमा पर्छ । यी भक्तहरूको मनोकामना पूरा गर्न आफैँ उत्पन्न भएका शिवलिङ्ग मानिन्छिन् । शिवपुराणमा उल्लेख भएअनुसार सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ओमकारेश्वर, केदारनाथ, भीमशङ्कर, विश्वनाथ, क्र्याम्बकेश्वर, वैद्यनाथ, नागेश्वर, रामेश्वर र घुश्मेश्वर गरी १२ वटा विशेष ज्योतिर्लिङ्ग मानिएका छन् । यिनीहरू भारतको विभिन्न स्थानमा छन् तर केदारनाथको शिरोभाग डोलेश्वर महादेव र आदि ज्योतिर्लिङ्ग पशुपतिनाथ नेपालमा छन् र यिनको दर्शन नगरी गरिएको अन्य ज्योतिर्लिङ्ग दर्शनको फल पाइँदैन भन्ने धार्मिक विश्वास अद्यावधि छ । त्यसैले प्याकेजमै एकैसाथ यी सबै ज्योतिर्लिङ्ग दर्शनको परम्परा बसाउने हो भने धार्र्मिक पर्यटन उद्योगमा यसको छुट्टै महŒव हुनेछ ।
चारधाम भन्नाले विशेष किसिमको पुण्यस्थल वा तीर्थस्थल भन्ने बुझिन्छ । तीर्थयात्रामा चारधामको यात्रालाई विशेष मानिन्छ । यिनमा जगन्नाथ धाम, द्वारका, बद्रीनाथ र रामेश्वर पर्छन् । यिनीहरू भारतीय भू–भागको क्रमशः पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा रहेका छन् । नेपालमा पनि यस्तै महŒव राख्ने चारधाम छन् । यिनमा मुक्तिक्षेत्र, पाशुपत क्षेत्र, रुरु क्षेत्र र वराहक्षेत्रलार्ई लिन सकिन्छ । त्यसैले हामीले प्याकेज बनाई एकैसाथ यी दुवै मुलुकका चारधाम दर्शनको परम्परा बसाउने हो भने यसले पनि पक्कै छुट्टै महŒव राख्नेछ । त्यस्तै शक्तिपीठ भनेको विशेष तीर्थस्थल हो । दक्षपुत्री सतीदेवीको अङ्ग पतन भएको स्थान यस्तै किसिमको शक्तिपीठमा पर्छ । तन्त्रचूडामणिमा उल्लेख भएअनुसार जुन स्थानमा सतीदेवीको अङ्ग पतन भएको थियो ती स्थानमा एक–एक शक्ति र भैरव उत्पत्ति भएका थिए । यस्ता स्थानहरू कुल ५२ वटा रहेका छन् । तीमध्ये नेपालको गुह्येश्वरी एक मानिएको छ । अन्य भारतीय भू–भागमा रहेका छन् । त्यसैले प्याकेज बनाई एकैसाथ यी शक्तिपीठ दर्शनको परम्परा बसाउन सकिन्छ । यसले पार्ने धार्मिक, सामाजिक र आर्थिक प्रभव छुट्टै हुनेछ । यद्यपि, केही पीठ हाल पाकिस्तान र बङ्गलादेशमा पनि पर्न आएका छन् तर पासको व्यवस्था मिलाउने हो भने तिनको दर्शन पनि त्यता असहज हुने देखिन्न । यसबाहेकका दसमहाविद्या अर्थात् दसमहाशक्ति पनि दुवै देशका जनताले बढी मान्ने शक्तिपीठमै पर्छन् । यिनमा बङ्गलामुखी, छिन्नमस्ता, उग्रतारा, कमला, त्रिपुरासुन्दरी आदि पर्छन् । यिनीहरूको समेत एकैसाथ दर्शन गर्न सकिने प्रक्रिया अपनाउने हो भने त्यसको समेत महŒव अझै बढी हुनेछ ।
लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर विश्वकै बौद्धमार्गीहरूका लागि विशेष तीर्थस्थल हुन् । लुम्बिनी नेपालको कपिलवस्तुमा पर्छ । यहाँ बुद्ध जन्मनुभएको थियो । यसबाहेक बुद्धले ज्ञान प्राप्त गरेका स्थान बोधगया, ज्ञान प्रचार गरेका स्थान सारनाथ र मोक्ष प्राप्त गरेका स्थान कुशीनगर भारतमा पर्छन् । यिनीहरूको पनि एकैसाथ दर्शनको प्याकेज बनाउन सकिन्छ, जसले धार्मिक पर्यटन उद्योगमा कोशेढुङ्गाको काम गर्न सक्छ । जैनको बाटो अर्को महŒवपूर्ण पक्ष हो । जैन धर्ममा प्राचीनकालदेखि नै तीर्थलाई सम्मान गर्ने परम्परा रहँदै आएको छ । खासगरी उनीहरू मुक्तिको बाटो देखाउने महापुरुषहरूसित सम्बन्धित स्थानलार्ई तीर्थस्थल मान्ने गर्छन् । हालसम्म उनीहरूका २४ वटा तीर्थकर भइसकेका छन् । उनीहरू जन्मेका, ज्ञान प्राप्त गरेका, मुक्ति प्राप्त गरेका स्थानहरू नै जैनहरूको तीर्थस्थल हो । २४ तीर्थङ्करमध्ये प्राय सबै भारतकै विभिन्न स्थानमा जन्मेका र त्यहीँ नै मुक्ति प्राप्त गरेका छन् तर १९औँ मल्लिनाथ र २१औँ नमिनाथको जन्म मिथिलामा भएको जैन ग्रन्थहरूका उल्लेख छ । अन्तिम तीर्थङ्कर महावीरको जन्मस्थान पनि नेपालकै आसपासमा रहेको मानिएको छ । त्यसैले यी दुवै मुलुक जैनहरूको पनि साझा तीर्थस्थलका रूपमा रहेको देखिएकाले यसलाई समेत एकैसाथ तीर्थाटनको व्यवस्था मिलाउन सकिन्छ ।
धार्मिक पर्यटन उद्योगको क्षेत्रमा नेपाल र चीनबीच पनि नयाँ शिक्षा हुन सक्छ करतारपुर प्रकरण । हिन्दु धर्मावलम्बी नेपालीका लागि मानसरोवर जति पवित्र तीर्थस्थल मानिन्छ, बौद्ध धर्मावलम्बी चिनियाँका निम्ति बुद्धका जन्मस्थल लुम्बिनी उत्तिकै पवित्र तीर्थ मानिँदै आएको छ तर भाषा र भिसालगायत विभिन्न समस्याका कारण सहज अनुभव गर्न सकिरहेका छैनन्, ती स्थानका तीर्थयात्रीहरूले । करतारपुरमा जस्तै तीर्थयात्रीहरूले विनाभिसा आवागमन गर्ने अवसर पाउने हो भने यसको महŒव छुट्टै हुनेमा शङ्कै छैन ।
नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै छ । यस अवधिमा लाखौँ चिनियाँयात्री लुम्बिनी दर्शनमा आउने अनुमान गरिएको छ । अलिकति मात्र थप सहज हुने हो भने पनि लुम्बिनी आउने चिनियाँयात्रीको सङ्ख्या पक्कै बढ्नेछ । यसबाट चिनियाँ पक्षलाई पनि दबाब पर्नेछ र नेपालीले सहज रूपमा मानरोवर दर्शनको सुविधा पाउनेछन् । चीनबाहेक एसियामा थुप्रै बौद्ध धर्मावलम्बी देश रहेका छन् । तिनलाई समेत बिस्तारै यसैभित्र ल्याउन सकिन्छ । हो तीर्थयात्रीहरूले जुन मुलुकमा गइएको छ, त्यस मुलुकमा बसुन्जेल सोही मुलुकको ऐन, कानुन र नियमको सम्मान भने गर्नुपर्छ । अन्यथा उसलाई दण्डभागी बनाइनुपर्छ । यहाँ त बहुउदेश्यीय सरकारी नियमको कुरो आएको छ । सरकारले चाहने हो भने त्यस्तो व्यवस्था मिलाउन नसक्ने पनि होइन ।
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?