logo
२०८१ बैशाख ६ बिहीवार



खेलकुद महामेला (सम्पादकीय)

विचार/दृष्टिकोण |




आजदेखि तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को १० दिने प्रतियोगिता नेपालमा सुरु हुँदै छ । यसअघि वि.सं. २०४१ र २०५६ मा साग आयोजना गरेको नेपालले सबै प्रतियोगिता काठमाडौँमा गराएको थियो । यसपटक पर्यटकीय नगरी पोखरा र ऐतिहासिक पवित्रस्थल जनकपुरमा प्रतियोगिता हुने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतियोगिताको समुद्घाटन गरिने कार्यक्रम तय भएको छ । सरकारले प्रतियोगितालाई लक्षित गरी आवश्यक रकम विनियोजन गर्दै ‘फास्ट ट्र्याक’बाट सामग्री खरिद गर्नसक्ने गरी राष्ट्रिय खेलकुद परिषद्लाई अनुमति दिएको छ । सङ्घीय संसदीय समिति मातहतमा सागको तयारीबारे अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ । प्रतियोगिताका लागि नेपालले करिब चार अर्ब रुपियाँ खर्च गरेको छ भने खेलाडीको प्रशिक्षणका लागि मात्र ४५ करोड खर्च गरेको छ । यस्ता पहलले साग र समग्र खेलकुद क्षेत्रलाई नेपालले दिएको महìव स्पष्ट हुन्छ । नेपालले दक्षिण एसियाली खेलकुद (साग)को स्थापनादेखि प्रतियोगिता आयोजनाका लागि प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । यस्ता प्रतियोगिताले क्षेत्रीय खेलाडीलाई विश्व खेल मञ्चमा प्रतिस्पर्धी बनाउन सकिनेमा नेपाल विश्वस्त रहिआएको छ ।
नेपालले साग र यस प्रतियोगितालाई यस क्षेत्रका राष्ट्र, खेलाडी र नागरिकमा भाइचारा अभिवृद्धि गर्ने अवसरका रूपमा स्थापित गर्न चाहेको छ । यो प्रतियोगिता आफैँमा क्षेत्रीय मिलन पनि हो । यसअघि भएका १२औँ प्रतियोगितामा नेपालको सक्रिय र उत्साहपूर्ण सहभागिताले नेपालले क्षेत्रीय खेलकुदलाई उच्च सम्मान गरेको पुष्टि हुन्छ । नेपालले हालसम्म सागका विभिन्न प्रतियोगितामा ६९ स्वर्ण पदक प्राप्त गरेर चौथो स्थानमा रहेको छ, जबकि पहिलो स्थान प्राप्त भारतले एक हजार एक सय स्वर्ण जितेको छ । यसरी हेर्दा नेपालले खेलकुदमा अझै धेरै समय, स्रोत र साधन परिचालन गर्नुपर्ने देखिन्छ । यसपटक नेपालले विशेष रुचाएका केही खेलकुद प्रतियोगितामा समावेश भएकाले ती प्रतियोगितामार्फत स्वर्ण पदकको सङ्ख्या बढाउन सकिने आशा गरिएको छ । प्रतियोगिता भन्ने बित्तिकै जित्नै पर्ने लक्ष्य रहन्छ तर कतिपय खेलहरू अति राम्रो खेल्दाखेल्दै पनि, दर्शकको मन जित्दा जित्दै पनि हारिन्छ । यस अर्थमा पदक मात्र खेलकुदको परिणाम छुट्टयाउने आधार नहुन सक्छ । घरेलु मैदान खेलकुदको भावनात्मक र मनोवैज्ञानिक तìव हो तर असली खेलको प्रशंसा गर्न सक्नु खेलकुदका विशिष्ट पारखीको क्षमता हो, जसलाई नेपाली दर्शकले पालन गर्ने छन् । नेपालले असल खेलकुद नियम, मैत्रीवत् प्रतिस्पर्धा, अतिथिको उच्च सम्मान गरेर पनि पाहुना खेलाडीको मन जित्न सक्छ । त्यसका लागि निर्णायक र दर्शकले विशेष आत्मसंयम प्रदर्शन गर्नुपर्छ ।
दक्षिण एसियाली खेलकुद (साग)लाई क्षेत्रीय संयन्त्रका रूपमा लिन सकिन्छ जसले खेलकुदको क्षेत्रीय सम्भावनाको अभिवृद्धि गर्न महìवपूर्ण योगदान दिनसक्छ । संयोगवश यसपटक नेपालले मनाउँदै गरेका भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालका तीन सहरमा हुने साग प्रतियोगिताले यहाँको पर्यटकीय विकासमा समेत विशेष योगदान दिने छ । कुनै पनि खेलाडीले स्वदेश फर्कदा उनीहरूले आयोजक देशको आतिथ्यता, प्राकृतिक परिवेश तथा अनुभव आफ्नो देश पु¥याउने छन् । यस अवस्थामा नेपालले खेलकुदमार्फत पर्यटकीय सम्भावनालाई अझ विस्तार गर्न सक्छ ।
नेपालले आसन्न प्रतियोगिताका अवसरमा मात्र नभएर निरन्तर स्रोत, साधन, प्रशिक्षण र घरेलु प्रतियोगिताका वातावरण प्रदान गर्न सक्दा केही खेलमा विश्वस्तरीय सम्भावना देखिएको छ । खेलकुदमा गरिने राष्ट्रिय लगानी, यस क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने दायित्व र खेल जीवनपछि खेलाडीलाई दिनुपर्ने मर्यादित जीवनको प्रत्याभूतिले खेलाडीले समर्पित भएर देशका लागि खेल्न सक्छन् । कतिपय खेलाडीले आफ्नो मुलुकलाई विश्वमा चिनाएका छन् । खेलाडी साँच्चै नै देशका दूत हुन् जसको कला र समर्पणमा मुलुकले अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सक्छ । तर, सत्यको अर्को पाटो पनि बिर्सनु हुँदैन । कतिपय खेलाडीका व्यक्तिगत आनिबानी, लागूऔषध प्रयोग, खेल मिलेमतो तथा अवाञ्छित क्रियाकलापमा संलग्न भएर आफ्नो खेल जीवन मात्र समाप्त गरेका छैनन्, मुलुककै प्रतिष्ठा गिराएका उदाहरण छन् । खेलाडी असल उदाहरण बन्नुपर्छ । गोरखापत्र दैनिक विभिन्न प्रतियोगितामा संलग्न ५९९ नेपाली खेलाडीलाई हृदयतः विशेष स्नेह गर्दै सातै देशका दुई हजार ९१० जना खेलाडीलाई असल खेलमार्फत सफलताको शुभकामना व्यक्त गर्दछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?