logo
२०८० चैत्र १६ शुक्रवार



ऊर्जाको अन्तर्राष्ट्रिय सम्भावना (सम्पादकीय)

विचार/दृष्टिकोण |





नेपालको आर्थिक विकासको पहिलो सम्भावना रहेको क्षेत्र जलस्रोतको विकासमा विविधीकरणको सम्भावना बढेको छ । विद्युत्को क्षेत्रीय बजार विस्तार, व्यवस्थापन, नीतिगत सुधार, लगानी तथा स्वदेशी ऊर्जा खपत विस्तार, प्राविधिक सुधारलगायतका विषयमा छलफल गर्दै राजधानीमा आयोजित ऊर्जा सम्मेलनमा यस्तो सम्भावनामाथि मन्थन गरिएको छ । नेपालको जलस्रोतलाई यस क्षेत्रको सिँचाइ तथा यातायातमा पनि उपयोग गर्न सकिनेछ । आगामी दिनमा यस्ता सम्भावनामाथि पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा परिचर्चा हुँदै जानेछ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानद्वारा आयोजित दुईदिने ऊर्जा सम्मेलनमा २१ देशका ७६४ सरोकारवालाको सहभागिता र ७९ जना वक्ताले नेपालको जलविद्युत् दक्षिण एसियाली मुलुकका लागि प्राकृतिक ब्याट्रीका रूपमा स्वीकार गरेर उच्च सम्भावना देखाएका छन् ।
सम्मेलनकै क्रममा नेपालको विद्युत् विकासका लागि विभिन्न छवटा समझदारी हुनुले यस क्षेत्रमा लगानी गर्न देखिएको आतुरता स्पष्ट गर्छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र इप्पानबीच जलविद्युत् क्षेत्रमा लैङ्गिक सन्तुलन कायम गर्न भएको समझदारीले नेपालको आर्थिक विकासका साथै सामाजिक न्यायमा योगदान दिने विश्वास गर्न सकिन्छ । भारत, बङ्गलादेश, भुटान, चीन, पाकिस्तानसम्म जलविद्युत्को पहुँच विस्तार गरी नेपालले जलद्रव्य (पानी पैसा) आर्जन गर्न सक्नेछ । त्यसका लागि तत्कालीन योजना र दीर्घकालीन दृष्टिकोणसहित वर्तमान नेपालले ऊर्जा विकासमा सक्रियता देखाइरहेको छ । विगतमा विद्युत् अभाव व्यहोरेको नेपालले विद्युत् निर्यात गर्ने मुलुक बन्न प्रशस्त गृहकार्य गर्नुपर्नेछ । प्रसारण लाइन निर्माण, तिनको अन्तरसञ्जाल विस्तार, बजारीकरण प्रवद्र्धन गर्नसके नेपाललाई विद्युत्को क्षेत्रीय बजारको ठूलो हिस्सा प्राप्त हुनसक्छ । उत्पादनको यही वेग रहेमा नेपाललाई एकदुई वर्षभित्र वर्षायाममा विद्युत् धेरै हुने देखिएको छ भने हिउँदमा पनि केही वर्षभित्रै पर्याप्त विद्युत् उत्पादन हुन सक्नेछ । यस्तो परिवेशमा नेपालले विद्युत्को अन्तर्राष्ट्रिय बजारीकरणलाई प्राथमिकता दिनु स्वाभाविक छ ।
विद्युत्को अन्तर्राष्ट्रिय बजारीकरण गर्न नियमित आपूर्ति र गुणस्तरमा खरिद गर्ने मुलुकलाई प्रत्याभूति दिनुपर्छ । तुलनात्मकरूपमा हाम्रो बिजुली सस्तो र भरपर्दो पनि हुनु आवश्यक हुन्छ । खुला विश्व अर्थतन्त्र र बजारमा हाम्रो उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने चुनौती नेपाललाई रहेकै छ । यति ठूलो परिमाणमा विद्युत् आपूर्तिको सपना देख्दै गर्दा नेपालले यहाँको आन्तरिक माग, लगानीको क्षमता र वातावरण सुधार गर्नुपर्छ । लगानीमा गरिने विदेशी मुद्रा अवमूल्यनको चुनौती व्यवस्थापन, स्थानीय पुँजी परिचालन तथा सहज व्यावसायिक वातावरण निर्माणमा नेपालले अझै धेरै काम र पहल गर्नुपर्ने देखिएको छ । लगानीमैत्री वातावरणको प्रत्याभूति दिएर अन्तर्राष्ट्रिय बैङ्क तथा वित्त साझेदारमार्फत लगानी भिœयाउन सकिन्छ । नेपालले ऊर्जामा गरिएको लगानीमार्फत हुने प्रतिफल कानुनीरूपमा लगानीकर्ताले लैजान पाउने व्यवस्था गरिसकेकाले लगानीकर्ता विश्वस्त देखिँदै आएका छन् । अझै पनि प्रशासनिक र प्रक्रियागत रूपमा रहेका द्विविधा तथा झन्झट हटाउनुपर्ने उनीहरूको मागलाई सम्बोधन गर्नु त्यत्तिकै आवश्यक छ । निर्यात मात्र होइन नेपालले आन्तरिकरूपमा पनि विद्युत्को खपत बढाउन सक्छ । विद्युत् भनेको बत्ती बाल्ने साधन मात्र हो भन्ने मानसिकता हटाएर यसको उपयोग बढाउँदै, पेट्रोलियमको आयात घटाएर पनि आन्तरिक रूपमा विद्युत्को बजार विस्तार गर्न सकिनेछ । सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दर एक हजार पाँच सय युनिट बनाउने योजना बनाएकोले विद्युुत्को आन्तरिक बजार बढ्नेछ । विद्युत् क्षेत्रमा लगानी गर्न यस्तो बजार वृद्धि थप सकारात्मक हुनेछ ।
नेपाल सरकारले जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न ‘क्राउड सोर्स फाइनान्सिङ’ को व्यवस्था गर्न लागेको र एसियाली पूर्वाधार विकास बैङ्कले ऊर्जामा लगानी विस्तारको योजनालाई महìव दिएको छ । यस्ता योजनाबाट नेपालले आगामी केही वर्षमा विद्युत् उत्पादन, आन्तरिक खपत, बाह्य विस्तारमा अद्भुत चमत्कार देखाउन सक्नेछ । जलविद्युत्का साना लगानीकर्ताले झोलामा खोला राख्ने र ठूला वैदेशिक लगानीका योजना लामो समयसम्म सम्पन्न नहुने अवस्थाले यस्ता सम्भावनालाई दुरुह गर्ने भएकाले निर्धारित समयमा आयोजना सम्पन्न गराउन थप बाध्यकारी व्यवस्था हुनु आवश्यक देखिन्छ । जसबाट आन्तरिक र बाह्य विद्युत् बजारलाई नियमित तथा विश्वसनीय बनाउन सकिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?