logo
२०८० चैत्र १६ शुक्रवार



सन्निकट नेपाल भ्रमण वर्ष

विचार/दृष्टिकोण |





निनाम कुलुङ ‘मङ्गले’

निकट भविष्यमै (सन् २०२०) मा हामीले नेपाल भ्रमण वर्ष–२०२० मनाउँदैछौँ । त्यसो त हामीले यसरी नेपाल भ्रमण वर्ष मनाउन थालेको सन् १९९८ देखि नै हो ।
हाल धेरै नेपालीले खासगरी पर्यटन व्यवसायी र नीति निर्माताले बिर्सिसके होलान् कि हामीले सन् २०१६ मै ‘सन् २०१८’ लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने तय गरेका थियौँ । त्यो बेला कुनै पूर्वतयारी बिनै ‘सन् २०१८’ लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरिएकोले पछि ‘सन् २०१८’ रद्द गरेर ‘सन् २०२०’ लाई फेरि नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिएको हो । हुन पनि कुनै पूर्वतयारी बिना भ्रमण वर्ष मनाउने गरिएकाले हालसम्म मनाइएको वा भनौँ घोषणा गरिएको कुनै पनि भ्रमण वर्ष वा पर्यटन वर्षमा निर्धारण गरेका विभिन्न लक्ष्य पूरा हुने गरेको छैन ।
उदाहरणका लागि सन् १९९८ को नेपाल भ्रमण वर्ष, सन् २००२ को नेपाल पर्वतीय पर्यटन वर्ष, सन् २०११ को नेपाल पर्यटन वर्ष, सन् २०१२ को पोखरा भ्रमण वर्ष, सन् २०१३–१४ को लुम्बिनी भ्रमण वर्ष आदिलाई लिन सकिन्छ । त्यो बेला जेजस्तो लक्ष्य र उद्देश्य लिएर कार्यक्रम गरिएको थियो, ती कुनै पनि लक्ष्य र उद्देश्य पूरा भएका थिएनन् । कतिपय पर्यटनसम्बन्धी कार्यक्रम त लक्ष्यको नजिक पुग्ने त कता हो कता, लक्ष्यको झण्डै आधा मात्रै उपलब्धि हासिल भएको थियो । त्यसैले हामीले भ्रमण वर्षलगायतका पर्यटनसम्बन्धी अन्य कार्यक्रम गर्दा लक्ष्यमा पुग्न के के पूर्व तयारी गर्नुपर्छ ? सोच–विचार गरेर अघि बढ्नुपर्ने देखिन्छ ।
नेपालमा हामीमध्ये कोहीले सन् २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएका छौँ, सपना देखेका छौँ । कोहीले सन् २०३० सम्ममा ५० लाख विदेशी पर्यटक भिœयाउने सपना देखेका छौँ । प्रश्न उठ्छ, यी लक्ष्य र सपना व्यावहारिक रुपमा पूरा गर्न सक्ने खालका छन् ? हचुवाका भरमा घोषणा गरिहालेकै भरमा लक्ष्य पूरा गर्न सकिएला ? किनभने हालसम्म हामीले समग्र पर्यटनक्षेत्रमा गर्न सकेको÷गरेको प्रगति विवरणका ठेली÷प्रतिवेदन हेर्ने हो भने त्यति सकारात्मक छैनन्  ।
नेपालले यसअघि सन् १९९८ मा पनि पाँच लाख विदेशी पर्यटकलाई नेपाल भ्रमणार्थ आकर्षित गर्नेलगायतका विभिन्न उद्देश्य र कार्यक्रमसहित ‘नेपाल भ्रमण वर्ष’ मनाइएको थियो । त्यस्तै सन् २००० मा पर्वतीय पर्यटन वर्ष, सन् २०११ मा १० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष’ मनाइएको थियो भने सन् २०१२ ‘पोखरा भ्रमण वर्ष’, सन् २०१३–१४ मा ‘लुम्बिनी भ्रमण वर्षलगायत विभिन्न पर्यटकीय कार्यक्रम अनेकौँ उद्देश्य र लक्ष्यसहित
मनाइएको हो ।
पहिलोपटक नेपालले मनाएको ‘नेपाल भ्रमण वर्ष ९८’ मा पाँच लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्य लिइएकोमा चार लाख ६३ हजार ६८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गरेको दैनिक खर्च भने लगभग ४१ अमेरिकी डलर मात्रै थियो । उद्देश्य भने नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई दैनिक ४९ अमेरिकी डलर खर्च गराउने लिइएको थियो । सन् १९९९ मा भने (पाँच लाखको नजिक) चार लाख ९१ हजार पाँच सय चारजना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । त्यसपछि नेपालमा बढ्दै गएको आन्तरिक राजनीतिक द्वन्द्व, भारतीय विमान नेपालबाट उड्ने क्रममा भएको अपहरण, राजदरबार हत्याकाण्डलगायत अनेक कारणले नेपाल आउने पर्यटकको सङ्ख्या लगातार घटेर दुई लाख ६० हजारमा झरेको थियो ।
नेपालले फेरि सन् २०११ मा १० लाख पर्यटक भिœयाउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष २०११’ मनायो । यस वर्ष पनि लक्ष्यभन्दा निक्कै कम पर्यटक नेपाल आए । अर्थात् दश लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य लिएकोमा सात लाख ३६ हजार २१५ जना पर्यटकले मात्रै नेपाल भ्रमण गरे । त्यस्तै नेपाल पर्यटन वर्ष मनाएको दोस्रो वर्ष अर्थात् सन् २०१२ मा भने नेपाल आउने पर्यटकको सङ्ख्या बढेर आठ लाख तीन हजार ९२ जना पुगे ।
कुनै पनि सपना देख्नु र लक्ष्य÷उद्देश्य लिनु आफैँमा नराम्रो होइन । नेपालको पर्यटन र पर्यटन उद्योगको क्षेत्रमा सपना देख्ने र उद्देश्य लक्ष्य लिने क्रममा हामीले खाली पर्यटकको टाउको गन्ने वा यो सालमा यति सङ्ख्यामा विदेशी पर्यटक भिœयाउने भन्ने मात्रै सपना देख्छौँ÷उद्देश्य लिन्छौँ । त्यही पनि कहिल्यै पूरा हुने होइन÷भएको छैन । यद्यपि गत केही महिनाअघि उत्तरी छिमेकी देश चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र उहाँले आफ्नो सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको रात्रिभोजलाई सम्बोधन गर्ने क्रममा आफ्नो देशका नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने भन्नुभएकोले साँच्चै चिनियाँ पर्यटक कल्पनै नगरेको सङ्ख्यामा नेपालको भ्रमणमा आउने अनुमान गर्न सकिन्छ । अनुमान मात्रै होइन, यो सम्भावना छ पनि । किनकि चीनका राष्ट्रपति सी चिनफिङ चिनियाँ जनताका लागि हाल ‘महानिर्देशक’ हुनुहुन्छ । फेरि यो माओ र देङको पालाको समय नभएर २१ औँ शताब्दीको समय हो ।
नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्न नसक्नुमा निश्चय नै विभिन्न कारण छन् । जस्तै नेपालका विभिन्न राजनीतिक दल र तिनका भ्रातृ सङ्गठन, धार्मिक सङ्घ–संस्था, जातीय सङ्घ–सङ्गठन, स्थानीयवासीलगायतले गर्ने बेमौसमी र बेफ्वाँकको बन्द–हडताल अभैm पनि रोकिएको छैन । नेपालको पर्यटन व्यवसाय अपेक्षित ढङ्गले नफस्टाउनुमा यी कारण पनि हुन् ।
भनिन्छ, हाल वार्षिक लगभग २५ लाख पर्यटकलाई धान्ने बेड क्षमता छ नेपाली होटलहरूको । यहाँ पर्यटकको सङ्ख्या बढाउनका लागि टड्कारो आवश्यकता भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै मुख्य हो । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ स्तरोन्नति क्रममै छ । बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा सकेसम्म आफ्नै (नेपालकै) लगानी जोहो गर्ने प्रयास भइरहेको र छिट्टै शिलान्यास गर्ने भनिए तापनि हालसम्म त्यसको चाँजोपाँजो मिलेको छैन । त्यसो त सकेसम्म सन् २०१८ मै सक्ने गरी भनेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्कालीन प्रधानमन्त्रीबाट शिलान्यास भएको थियो ।
उता सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को प्रतिवेदनलाई आधार मान्दै र युरोपियन युनियन अन्तर्गत रहेको युरोपेली उड्डयन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार नेपालका प्रायः सबै हवाईसेवा कम्पनीलाई असुरक्षित मान्दै आफ्नो आकाशमा कुनै पनि नेपाली वायुसेवा कम्पनीलाई उडान भर्न नपाउने गरी अस्थायी प्रतिबन्ध अर्थात् कालोसूचीमा
राखेको छ ।
युरोपियन उड्डयन आयोगले लगाएको अस्थायी प्रतिबन्धबाट हटाउन नेपालले सुरुदेखि नै पहल गर्दै आएको छ । तापनि हालसम्म युरोपियन उड्डयन आयोगको कालोसूचीबाट हट्न भने नेपाल सफल हुन सकेको छैन । उल्टै सन् २०१९ मा पनि अस्थायी प्रतिबन्ध कायमै छ भने सन् २०२० मा के हुने हो ? यसबारेमा अभैm टुङ्गो लागेको छैन । कालोसूचीबाट हटाई पाऊँ भनी नेपालस्थित युरोपियन युनियन अन्तर्गत रहेको तत्कालीन राजदूत रेन्जे टिन्रिकलाई नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको आधारपत्र बुझाएको पनि दुई वर्ष भइसकेको छ । यो समस्या समाधानमा दत्तचित्त भएर लाग्दा हवाईमार्गबाट आउने गुणस्तरीय पर्यटकमा वृद्धि हुनसक्थ्यो ।
(लेखक पर्यटन क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?