logo
२०८१ बैशाख ४ मंगलवार



नेपाल–बङ्गलादेश सम्बन्ध (सम्पादकीय)

विचार/दृष्टिकोण |




राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा नेपाल आउनुभएको छ । चारदिने राजकीय भ्रमणमा आउनुभएका उहाँले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, संसद्मा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुईपक्षीय हितका विविध विषयलगायत नेपाल र बङ्गलादेशबीच पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको छ । यसैगरी यसअघि दुई देशबीच भइरहेका सहकार्यलाई थप बलियो बनाउने सन्दर्भमा भएको छलफलले आगामी दिनका सुखद परिणामबारे आशावादी हुन सकिन्छ । दुवै मुलुकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको एकीकृत पहल(बिम्स्टेक)जस्ता मञ्चमा रहेर यस क्षेत्रको विकासमा उच्च योगदान दिएका छन् । संयुक्त राष्ट्रसङ्घलगायत विश्व तथा क्षेत्रीय अन्तर्राष्ट्रिय मञ्चमा दुवै मुलुकले निर्वाह गरेका भूमिकाले पनि यी दुई देशलाई अझ नजिक बनाएको छ । भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई दुवै देशको आर्थिक विकासमा सदुपयोग गर्दै क्षेत्रीय समृद्धि प्राप्त गर्नुपर्नेमा दुवै राष्ट्रपतिले जोड दिनुभएको छ । विशिष्ट पाहुनासँगको भेटमा हाल काठमाडौँ र ढाकाबीच मात्र हवाई उडान हुने गरेकामा अब त्यसलाई वृद्धि गर्न सकिने सम्भावनाबारे भएको छलफलले आगामी दिन नेपालको पर्यटकीय विकासमा सहयोग पुग्ने देखिन्छ ।
यसैगरी दुबै देशबीच व्यापार वाणिज्य विस्तार, सडक सञ्जाल, ऊर्जा विस्तार, औषधिलगायत अन्य क्षेत्रमा सहकार्यको सम्भावना बढेको छ । दुई देशबीचको विद्यमान व्यापारघाटा कम गर्न जलविद्युत् उत्पादन, ग्रिड जडानसँगै विद्युत् प्रवाहमा सहकार्य गर्न सकिने सम्भावना देखिएको छ । नेपालले बङ्गलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको सदुपयोग गर्न र त्यहाँको विशालबजारमा नेपाली उत्पादन पठाएर व्यापार वृद्धि गर्न सक्नेछ । बङ्गलादेशबाट नेपाल भ्रमणमा आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको र गतवर्ष २० हजारभन्दा बढी सर्वसाधारण बङ्गलादेशीले भ्रमण गरेकाले नेपाल भ्रमण वर्षको लक्ष्यमा पनि यो उच्च भ्रमणले सहयोग गर्नेछ ।
दुवै मुलुकले प्रजातान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था अङ्गीकार गरेका छन् । नेपाल र बङ्गलादेशले संसदीय व्यवस्थालाई अपरिहार्य गर्दै मैत्री समूहसँग सहकार्य गरेर प्रभावकारिता बढाउन सक्नेछन् । दुवै मुलुकका केही विशिष्ट र साझा मुद्दा तथा सवाल रहँदै आएका छन् । खासगरी विकासशील मुलुकले पाउनुपर्ने सुविधा तथा अवसरका लागि यी देशले मिलेर काम गर्न सक्नेछन् । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालले पु¥याएको सहयोग र बङ्गलादेश स्थापना भएलगत्तै मान्यता दिने सातौँ राष्ट्र नेपालबीच घनिष्ठ र भावनात्मक सम्बन्ध रहँदै आएको छ ।
नेपालले प्राप्त गरेको राजनीतिक स्थिरतासँगै नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बङ्गलादेशले सहयोग गर्दै सद्भाव व्यक्त गर्न सक्नेछ । दुवै देश मिलेर यस क्षेत्रको गरिबी निवारण, शान्ति सुरक्षा र व्यापार व्यवसायमा विशिष्ट अभ्यास गर्न सक्नेछन् । नेपाली विद्यार्थीले बङ्गलादेशबाट उच्चस्तरको प्राविधिक तथा चिकित्साशास्त्रको अध्ययन अवसर पाएका छन् । अध्ययनका लागि बङ्गलादेश जाने नेपाली विद्यार्थीले भोगिरहेका भिसालगायतका समस्या, छात्रवृत्ति वृद्धि, विद्यार्थीको सुरक्षाजस्ता विषयमा नेपाल तथा बङ्गलादेशले आपसी समाधान गर्न सक्दा बङ्गलादेश नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य बन्नसक्छ । बदलिँदो विश्वपरिस्थितिमा आपसी सहयोग र सहकार्यका थप क्षेत्र पहिचान गरी दुई मुलुकको सहकार्यलाई मजबुत बनाउन सक्दा दुई देशको सम्बन्धमा थप उचाइ हासिल हुनेछ । राष्ट्रपति हमिदले भ्रमणका क्रममा व्यक्त गर्नुभएको विचारजस्तै हामी भौगोलिकरूपमा ३० किलोमिटर टाढा छौँ तर भावनात्मक रूपमा यहाँका जनताले धेरै नजिकको सम्बन्ध अनुभव गरिरहेका छन् । यसो हुनुका पछाडि बङ्गलादेश स्वतन्त्र भएदेखि नै दुवै देशबीच रहँदै आएको सौहार्द एवं भ्रातृत्वपूर्ण सम्बन्ध निर्णायक रहँदै आएका छन् । दुवै देशले आगामी विश्व मुद्दा र भूमण्डलीकरणका अवसर र चुनौतीलाई क्षेत्रीय सहयोगमार्फत आआफ्ना हितमा प्रयोग गर्न सक्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?