logo
२०८१ बैशाख ८ शनिवार



सम्पदा क्षेत्रमा पार्किङ ! (सम्पादकीय)

विचार/दृष्टिकोण |





विश्वसम्पदामा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक महìवको वसन्तपुर–हनुमानढोका दरबारक्षेत्र अहिले सवारीसाधनको अव्यवस्थित पार्किङ स्थलका रुपमा देखिन थालेको छ । पार्किङले यो क्षेत्र कोलाहलपूर्ण बन्नुका साथै यहाँको सांस्कृतिक पक्ष ओझेलमा पर्ने देखिएको छ । अत्यधिक सवारीसाधनको प्रयोग तर सीमित सार्वजनिक स्थलका कारण उपत्यकामा पार्किङ र यातायात सेवा नियन्त्रणबाहिर पुगेको हो कि भन्ने अनुभव गर्न थालिएको छ । काठमाडौँ महानगरपालिका अन्तर्गतको हनुमानढोका दरबारक्षेत्र कार्यालयले यस क्षेत्रमा सञ्चालित व्यवसायी र सरकारी नम्बर प्लेटका गाडीलाई पार्किङ सुविधा उपलब्ध गराउने निर्णय गरेकाले समस्या जटिल बनेको छ । उल्लिखित सवारीसाधनलाई मात्र पार्किङ सुविधा उपलब्ध गराइएमा स्थानीयवासीले असहमति व्यक्त गर्दैै स्थानीयले पनि आफ्ना सवारीसाधन पार्किङ गर्न पाउनुपर्ने सुविधा माग गरेका छन् ।
यो त समस्याको एउटा उदाहरणमात्र हो । दर्जनौँ ऐतिहासिक तथा धार्मिकस्थानमा गरिने यस्ता पार्किङ्ले ती क्षेत्रलाई पार्किङ् स्थलमा परिणत गर्दैछन् । पसल अगाडिको पार्किङ्ले क्रेता सहजैसँग पसलमा पुग्न सक्दैनन्, पार्किङ असुविधामा सहरका भित्री पसलमा चाहेर पनि ग्राहक जानसक्ने अवस्था छैन । स्थानीयले आफ्ना घरछेउ पार्किङ गर्न नपाएर दुःख पाएका छन् । पार्किङ अव्यवस्थापनबारे पैदलयात्रु, ट्राफिक र नगर प्रहरीका आफ्नै समस्या र गुनासा छन् । यस्तो अव्यवस्थाका सन्दर्भमा कोही पनि सन्तुष्ट हुन सक्दैनन् तर भोगाइ भने यस्तै हुन्छ । किनमेल तथा अन्य प्रयोजनमा नयाँसडक क्षेत्र घुम्न आउने सरकारी कर्मचारीका सवारी साधनसमेत घण्टौँसम्म पार्किङ हुने गरेकाले समस्यालाई थप जटिल बनाएको छ । यो क्षेत्रलाई पार्किङस्थलका रूपमा बुझ्नु र त्यसैअनुरूप व्यवहार गर्नु समस्याको जड हो । पूजापाठ तथा व्यापारिक प्रयोजनका लागि छोटो समय सवारीसाधन रोक्नदिइनु र दिनभरि, रातभरि रोक्नपाउने व्यवस्थामा परिवर्तन गर्नुपर्ने देखिन्छ ।
अनियन्त्रित पार्किङले एउटा समस्या ल्याएको छ तर पार्किङ् गर्न नपाउँदा त्यहाँका बासिन्दालाई पनि कम समस्या हुँदैन । यसो भनेर हालको जस्तै पार्किङ् गर्न दिइने हो भने त्यस क्षेत्रमा हुनसक्ने आगलागी, आपत्कालीन तथा बिरामी उद्धारमा साधन प्रवेश गर्न नसकी अनपेक्षित दुर्घटना निम्तिन सक्नेतिर पनि होसियार हुनुपर्छ । दिउँसोभन्दा कार्यालय समयपछि साँझतिर हुने सवारीसाधनको बाक्लो पार्किङ् हेर्दा यहाँ स्थानीयवासीभन्दा घुम्न आउनेको सवारीसाधन बढी हुनसक्ने देखिन्छ । त्यसो हो भने यो क्षेत्र घुम्न आउनेको पार्किङ् क्षेत्र होइन भन्ने स्पष्ट सन्देशका साथ व्यवस्थापन गरिनुपर्छ । सार्वजनिक क्षेत्र त्यसमा विश्वसम्पदामा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक महìवको वसन्तपुर–हनुमानढोका परिसर वरिपरि सवारीसाधन पार्किङ् गर्न पाइँदैन तर स्थानीयको हकमा भने कसरी उचित व्यवस्थापन गर्न सकिन्छ मूलतः स्थानीयवासीकै पहल र सहभागितामा समाधान निकाल्नु आवश्यक हुन्छ ।
यस्तो समस्यालाई एकै पहल र प्रयोगबाट समाधान गर्न सम्भव छैन । यो क्षेत्रसहित उपत्यकालगायत मुलुकका सहरी क्षेत्रमा आगामी ट्राफिक व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । तत्कालका लागि सहरी क्षेत्रमा छोटो र लामो समय गरिने पार्किङ व्यवस्थापनलाई चुस्त बनाउन सकिन्छ । दीर्घकालीनरूपमा योजनाबद्ध उपाय र योजना तर्जुमा गर्न सकिन्छ । सहरी क्षेत्रका पुराना घरमा पार्किङका लागि राख्ने जग्गा अभाव प्रमुख समस्या हो । विगतमा बनाइएका संरचनामा पार्किङ् क्षेत्र राख्नुपर्ने चेतना र आवश्यकता नभएकाले तत्काल ती घरमा पार्किङस्थल राख्न सम्भव छैन तर नयाँ बन्ने संरचनामा पार्किङ्लगायतका व्यवस्थापन गर्नुुपर्ने आवश्यकतालाई नीतिगत रूपमै कार्यान्वयन गर्नुपर्ने देखिन्छ । सहरभित्रका सार्वजनिक जग्गा धमाधम अतिक्रमणमा परेका छन् । पुराना गल्ली÷बाटा मासिएका छन् । यी सबै प्रवृत्तिमा कानुनी तथा प्राविधिक सुधार गरेर दीर्घकालीन समाधान गर्न सकिन्छ । अब बनाइने व्यक्तिगत तथा सार्वजनिक भवनमा पार्किङ क्षेत्र राख्नुपर्ने, धारा र आकाशे पानीका लागि छुट्टाछुट्टै भूमिगत टङ्की बनाउनुपर्ने, सबै जग्गा भवनले ढाक्न नपाउने जस्ता उपाय गर्न सकिन्छ । सहरी क्षेत्रमा पार्किङ् स्थलसहितको भवन बनाउन प्रेरित गरी ठूला भवनमा भूमिगत पार्किङ बनाउनैपर्ने जस्ता प्रावधानको कार्यान्वयन गर्नुपर्ने हुन्छ । यस्ता विभिन्न उपायका साथै सम्बन्धित जानकार, विषयविज्ञहरूको परामर्शमा पनि हाल देखिएको समस्या समाधान गर्नुपर्ने देखिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?