logo
२०८१ बैशाख १३ बिहीवार



सहरी कृषिका लागि घरकै मल

विचार/दृष्टिकोण |




डा. अनिल पोख्रेल

कृषि उपजहरूको उत्पादन, प्रशोधन र बजारीकरण तथा त्यसका लागि आवश्यक पर्ने उत्पादन सामग्रीहरूको उत्पादन र व्यवस्थापन सहरी क्षेत्र वा त्यसको वरपर गरिन्छ भने त्यसलाई सहरी कृषि भनिन्छ । मुख्य बजारको नजिक र सहरी फोहोरलाई प्रशोधन गरी कृषि उत्पादनमा प्रयोग गर्नु सहरी कृषिका दुई मुख्य विशेषता हुन् ।
प्लास्टिक तथा जाली घरमा तरकारी र फलफूलहरूको सघन खेती तथा उन्नत नश्लहरूको प्रयोग गरेर पशुजन्य वस्तुहरूको उत्पादन गर्नेजस्ता व्यावसायिक र घरमा आवश्यक पर्ने तरकारी तथा फलफूलहरूका लागि घरको छतमा गरिने कौसीखेती सहरी क्षेत्रमा प्रयोगमा आएका मुख्य कृषि अभ्यासहरू हुन् ।
सहरी कृषिको इतिहास धेरै पहिलेदेखिकै भए पनि अहिले यसको व्यापक रूपमा प्रचार र विस्तार हुँदै छ । बजारमा पाइने महँगा विषादीयुक्त तरकारी र फलफूलहरूको विकल्पका रूपमा घरमा आवश्यक पर्ने तरकारी तथा फलफूलहरूको स्वस्थ र ताजा रूपमा आपूर्ति गर्नमात्र नभएर थोरै आयस्रोत भएका सहरी बासिन्दाहरूलाई बजारबाट महँगोमा तरकारी किन्ने झन्झटबाट मुक्त पार्नका लागि कौसीखेतीको अझ बढी महŒव देखिन्छ । मुलुकमा कृषिजन्य वस्तुहरूको मूल्य वार्षिक रूपमा आकासिँदै गइराखेको छ, जुन समय र ठाउँअनुसार दुई गुणासम्मले वृद्धि भएको पाइन्छ । समग्र रूपमा सन् २००७ देखि २०१९ सम्मको खाद्यान्नको मुद्रास्फीति दरलाई हेर्ने हो भने औसत ९.५ प्रतिशत रहेको देखिन्छ ।
व्यावसायिक कृषि र कौसीखेतीजस्ता कृषि प्रणालीहरूको विस्तारले गर्दा कुनै न कुनै रूपमा कृषिमा संलग्न सहरी परिवारको जनसङ्ख्या बढ्दोक्रममा रहेको छ, जो उत्तर अमेरिकामा १० प्रतिशतदेखि एसियाली मुलुकहरूमा ८० प्रतिशतसम्म छ । संयुक्त राज्य अमेरिकामा २५ प्रतिशत सहरी घरधुरीहरू कृषिमा संलग्न देखिन्छन् । सहरी क्षेत्रमा व्यावसायिक कृषिले एकातिर सहरवासीलाई आवश्यक पर्ने कृषिजन्य उत्पादन पु¥याउन सहयोग गर्दछ भने अर्कोतिर रोजगारीको अवसर सिर्जना गरी सहरमा भएको बहुआयामिक गरिबीको दर (७ प्रतिशत) लाई सुधारी सहरको आर्थिक विकासमा सहयोग पु¥याउँछ ।
रोजगारीको अवसर, शिक्षा र स्वास्थ्यमा सहज पहंँुचजस्ता मुख्य कारणहरूले गर्दा नेपालमा सहरी जनसङ्ख्या वार्षिक रूपमा ३.७ प्रतिशतका दरले बढ्दै गएको छ । कुल जनसङ्ख्याको १९.७ प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोवास गर्छन् । सन् २०२५ सम्ममा सहरी जनसङ्ख्या २५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । एक अध्ययनअनुसार सन् २०५० सम्ममा विश्वमा ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा बसोवास गर्ने देखाउँछ । सहरकेन्द्रित बढ्दो जनसङ्ख्याका कारणले गर्दा एकातिर ग्रामीण क्षेत्रमा कृषि उत्पादनमा कमि आउँदै छ भने अर्कोतिर सहरी क्षेत्रमा तरकारी तथा खाद्यान्न पु¥याउन कठिन हुँदै छ । यसले गर्दा देशमा कृषिजन्य वस्तुहरू र उत्पादन सामग्रीहरूको आयात आकासिँदो छ । गत आर्थिक वर्षमा मात्रै देशमा दुई खर्ब ३२ अर्ब रुपियाँबराबरको कृषिजन्य वस्तु तथा मल र विषादीहरू आयात गरेको देखिन्छ, जुन देशको कुल आयातको १७.३ प्रतिशत हिस्सा हो । अधिकांश आयातीत तरकारी तथा फलफूलहरूको हिस्सा सहरी क्षेत्रमै खपत हुने गरेको छ ।
सहरमा कृषिजन्य वस्तुहरूको मागलाई सम्बोधन गर्न र कृषि उपजहरूको आयात प्रतिस्थापन गर्न सहरी कृषिमा व्यापकता ल्याउनु आवश्यक देखिन्छ । विश्वमा पनि यसको विकास तथा विस्तारलाई महŒव दिइएको पाइन्छ । सिङ्गापुरले तरकारीको २५ प्रतिशत माग सहरी कृषिबाटै पूरा गर्छ । त्यसैगरी चीनले आवश्यक पर्ने ताजा तरकारीको ८५ प्रतिशतभन्दा धेरै भाग १४ वटा ठूला सहरमा उत्पादन गर्छ भने थाइल्यान्डको राजधानी बैङ्ककमा ६० प्रतिशतभन्दा बढी जग्गा कृषि उत्पादनमा प्रयोग भएको पाइन्छ । यसरी समग्र विश्वमा २० प्रतिशत कृषि उत्पादन सहरी क्षेत्रबाट हुने गर्छ भने लगभग ८० करोड जनसङ्ख्या (१० प्रतिशत) सहरी कृषिमा संलग्न भएको देखिन्छ ।
नेपालमा बढ्दो जनसङ्ख्यासँगै वार्षिक ४.७ प्रतिशतका दरले बढ्दै गइराखेको सहरीकरण र त्यसबाट उत्पन्न हुने सहरी फोहोर व्यवस्थापन अहिले सामाजिक तथा राजनीतिक दुवै वृत्तमा ठूलो चासोको विषय बनेको छ । बढ्दो सहरी फोहोरका कारण वातावरण प्रदूषितमात्र नभएर, यसको व्यवस्थापनका लागि राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने देखिन्छ । विश्वव्यापी रूपमा सहरी फोहोरको वृद्धि अहिलेको तुलनामा सन् २०२५ सम्ममा ७० प्रतिशतले बढ्ने देखिन्छ भने त्यसको व्यवस्थापनका लागि लाग्ने खर्च ८० प्रतिशतभन्दा बढीले बढ्ने एक अध्ययनले देखाउँछ । अझ सहरी फोहोर र त्यसको व्यवस्थापनका लागि लाग्ने खर्च विकासोन्मुख राष्ट्रहरूजस्तै नेपालका लागि झन् बढ्ने देखिन्छ, जहाँ अहिलेको तुलनामा सन् २०२५ सम्ममा सहरी फोहोर उत्पादन १५० प्रतिशतभन्दा धेरै बढ्ने देखिन्छ ।
सहरी फोहोरमा सजिलै कुहिने (प्राङ्गारिक) वस्तुहरूको मात्रा विश्वव्यापी रूपमा लगभग ४६ प्रतिशत भएको पाइए पनि कम आय भएका नेपालजस्ता मुलुकमा लगभग ६४ प्रतिशतभन्दा बढी भएको देखिन्छ । प्रस्ट छ– सहरी फोहोरमा भएको प्राङ्गारिक वस्तुहरूबाट यदि प्राङ्गारिक वा जैविक मल बनाउन सकेमा आधाभन्दा बढी सहरी फोहोरको उपयोग तथा व्यवस्थापन सजिलै गर्न सकिने देखिन्छ ।
सहरी फोहोरमा भएका कुहिने किसिमका वस्तुहरू जस्तै भान्सा तथा बजारमा खेर वा कुहिएर फालिएका तरकारी तथा फलफूलहरू, खाएर बाँकी फालिएका वस्तुहरू, कृषि तथा बगैँचाबाट निस्किएका वस्तुहरू आदिलाई कुहाएर प्राङ्गारिक वा जैविक मल बनाउन सकिन्छ । यस्तो मल घरमा सजिलैसँग बनाई बोटबिरुवामा प्रयोग गर्न सकिनुको साथै व्यावसायिक रूपले मल बनाई बजारमा समेत बिक्री–वितरण गर्न सकिन्छ । सहरी फोहोरको प्राङ्गारिक वस्तुहरूलाई छोटो समयमा कुहाएर कम्पोस्ट मल बनाउन सकिन्छ । यसको प्रयोगले माटोको जैविक तथा भौतिक गुणमा सुधार हुनुको साथै बोटबिरुवाहरूलाई सजिलै खाद्यतŒवहरू उपलब्ध हुन्छन् । यसैगरी, सहरी फोहोरमा भएका प्राङ्गारिक वस्तुहरूलाई गँड्यौलाको सहायताले कुहाएर भर्मिकम्पोस्ट बनाउन सकिन्छ । यसलाई गँड्यौलाको बिस्टा पनि भनिन्छ । भर्मिकम्पोस्टमा बोटबिरुवाहरूलाई आवश्यक पर्ने खाद्यतŒवहरू अन्य प्राङ्गारिक वा कम्पोस्ट मलमा भन्दा बढी पाइने हुँदा भर्मिकम्पोस्टलाई गुणस्तरीय कम्पोस्ट मलका रूपमा लिइन्छ ।
झोल मलका रूपमा भान्सा अथवा सहरमा कुहिएर फालिएका विभिन्न फलहरू जस्तै ः केरा, मेवा वा फर्सीहरूको रस सदुपयोग गरी बनाउन सकिन्छ । फलको रसको प्रयोग खासगरी फल लाग्ने बालीहरूमा अत्यन्त प्रभावकारी हुन्छ । यसलाई फलको वृद्धि गर्ने, रोगबाट बचाउने अनि चाँडो फुल्न वा फल्न सहयोग गर्ने भिटामिन वा हर्मोनका रूपमा पनि लिइन्छ । त्यसैगरी, भान्सामा फालिएका कुखुराको अण्डाका खोस्टाहरूलाई कुहाएर झोल मलका रूपमा पानीमा घुलनशील क्याल्सियम बनाउन सकिन्छ, जसमा क्याल्सियमको मात्रा बढी हुने हुँदा भिटामिनका रूपमा बोटबिरुवाहरूमा छर्न सकिन्छ भने खाएर बाँकी रहेका माछा–मासु वा कीराहरूलाई कुहाएर प्रोटिनयुक्त रस (फिस÷मिट अमाइनो एसिड) बनाई बोटबिरुवाहरूमा प्रयोग गर्न सकिन्छ ।
यसरी सहरी फोहोरको प्रयोग गरी प्राङ्गारिक वा जैविक मल बनाउँदा सहरी फोहोरको दिगो रूपमा व्यवस्थापन हुनुको साथै यसले सहरी कृषिलाई आवश्यक पर्ने मलको माग सजिलै पूरा गर्छ । मल उत्पादनमा सहरी रोजगारीको समेत सिर्जना गर्दछ । साथै, यसले रासायनिक मलमाथिको निर्भरता हटाई आत्मनिर्भर र दिगो कृषि उत्पादनमा सहयोग गर्नुको साथै मानव स्वास्थ्य तथा वातावरणमैत्री उत्पादन प्रक्रिया स्थापित गर्न मद्दत गर्दछ ।

(नेपाल कृषि अनुसन्धान परिषद्मा वैज्ञानिक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?