logo
२०८१ बैशाख १३ बिहीवार



सेवा र व्यवसायको सन्तुलन (सम्पादकीय)

विचार/दृष्टिकोण |




विगत केही वर्षयता चिकित्सक/स्वास्थ्यकर्मी, तथा स्वास्थ्य संस्थामाथि आक्रमण बढ्न थालेका छन् । उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्य संस्थाले लापरवाही गरेका भन्दै आक्रमण हुने गरेका छन् । निर्भय र शान्त मनस्थितिमा काम गर्नुपर्ने चिकित्सक र त्यसरी नै सेवा दिनुपर्ने स्वास्थ्य संस्था सम्भावित आक्रमणको भयपूर्ण अवस्थामा काम गर्नुपर्ने अवस्थाले अन्ततः बिरामी र उसको पक्षलाई नै नोक्सान गर्छ । केही वर्षयता अस्पताल र चिकित्सिक÷स्वास्थ्यकर्मीबाट भएका कमीकमजोरी र उनीहरूमाथि भएका आक्रमणको विश्लेषण गर्ने हो भने यसका कारण, परिणाम र समाधानमा गम्भीर हुने बेला आएको छ, अन्यथा अवस्था अरू बिग्रन सक्छ । बिरामी, चिकित्सिक÷स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र बिरामीका आफन्तबीचको समझदारीबाट उपचारलाई परिणाममुखी बनाउन सकिन्छ तर नेपालमा भने क्रमशः यी पक्षबीच अविश्वास र तिक्तता बढ्ने गरेको यथार्थलाई संयोग वा दुर्घटना भनेर आँखा चिम्लनुहुँदैन । आक्रमणको विरोध गर्दै नेपाल चिकित्सक सङ्घले विद्यमान ऐनकानुनमा परिमार्जनसहित स्वास्थ्य संस्था तथा चिकित्सकको सुरक्षा माग गरेको छ । जुन स्वाभाविक छ । असुरक्षित व्यक्तिले सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्न सक्दैन भन्ने स्पष्ट छ ।
स्वास्थ्य क्षेत्रमा भएका र हुँदै गरेका व्यापारीकरणका शृङ्खला पनि यी आक्रमणका मुख्य कारण हुन् भन्ने सत्य बिर्सन हुँदैन । त्यसैले चिकित्सक वा स्वास्थ्य संस्थाले ऐन कानुनको परिमार्जन मात्र होइन पेशागत आचारसंहिता र व्यावसायिक धर्मलाई बिर्सन मिल्दैन । स्वास्थ्य संस्था सञ्चालकले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा नाफामुखी व्यवसाय बनाउने गरेका बुझाइ आममानिसमा पर्न गएको छ । नेपालले चिकित्साशिक्षा र उपचारमा खुला नीति लिएकाले विभिन्न निजी स्वास्थ्य संस्थाले संस्थागतरूपमा स्वास्थ्य सुविधा प्रदान गर्दै आएका छन् । जसबाट स्वास्थ्यसेवा क्रमशः व्यापार वा व्यवसायमा परिणत हुँदैछ तर मानवजीवनसँग प्रत्यक्ष सम्बन्धित व्यवसायमा व्यवसाय र सेवाभाव सन्तुलन हुनेगरी नीति, नियम तर्जुमा गर्नुपर्छ  । जुत्ता बनाउने कारखाना, विद्यालय र अस्पताललाई समान प्रकारका व्यावसायिक घराना बनाउने कानुनी, मानसिक र व्यावहारिक सोच हावी भएको अवस्थामा यस प्रकारका अवाञ्छित घटना रोक्न सम्भव हुँदैन  ।
कतिपय अवस्थामा खासगरी निजीक्षेत्रमा बिरामीको चापका आधारमा सङ्ख्यात्मक तथा गुणात्मक जनशक्ति नराख्ने गरिएबाट पनि यस्ता घटना हुने गरेका छन् । यस्ता संस्थाले स्वास्थ्यकर्मीलाई न्यून वेतन दिएर शोषण गरेका समाचार पनि सार्वजनिक भएका छन् । हालका शिक्षित बिरामी पनि सन्दर्भ सामग्रीको उपलब्धताले आफ्नो स्वास्थ्यबारे जानकार हुने गरेकाले चिकित्सकले सोहीअनुसारको सञ्चारकला र दक्षता उपयोग गरी बिरामी र उसका आफन्तलाई उपचारप्रति विश्वस्त बनाउन सक्नुपर्छ । यसको अभावमा उत्पन्न हुने असमझदारी अन्ततः द्वन्द्वमा परिणत हुन सक्छ ।
पढाइमा अधिक लगानी र असुलीको मनोविज्ञान, पढाइको गुणस्तर, प्रयोगात्मक (प्राक्टिकल) अनुभव आदि पनि यस्ता घटनाका कारण हुने गरेका छन् । अन्य शिक्षामा एकपटक एक निकायको परीक्षा उत्तीर्ण गरे हुन्छ तर चिकित्सक तथा स्वास्थ्यकर्मी भने हरेक दिन हरेक बिरामीसँगको परीक्षामा उत्तीर्ण हुनुपर्ने पेशागत बन्धनमा हुन्छन् । बिरामीको उपचार विधि, प्याथोलोजी परीक्षणको आवश्यकता र उपयोगमा गरिने अपारदर्शी कार्य, चिकित्सकका निजी अस्पताल वा ल्याबमा जानैपर्ने, एउटा आधिकारिक अस्पतालले गरेको परीक्षण सामान्य अवस्थामा पनि अन्यमा अमान्य गरिनु र अस्वाभाविक शुल्कले बिरामी तथा आफन्तमा आउने चिट्चिडाहट अन्ततः चिकित्सकमाथि बज्रने गरेका छन्, यद्यपि यी र यस्ता कारणमा सबै चिकित्सकहरू जिम्मेवार हुँदैनन् । अन्तिम घडीमा मात्र अस्पताल जाने बिरामीको प्रवृत्ति, निजी स्वास्थ्य संस्थाले अधिकतम कतिसम्म शुल्कमा उपचार गर्ने र वार्षिक मुनाफा कमाउन पाउने जस्ता कानुनी व्यवस्था नगरिनु, गरिए पनि कार्यान्वयनमा हुने उदासीनताले पनि यस्ता समस्या निम्त्याउने गरेका छन् । स्वास्थ्यको जिम्मा पूर्णतः राज्यले लिई नागरिकको स्वास्थ्यप्रति उत्तरदायी र समाज कल्याणमैत्री नहुँदासम्म स्वास्थ्यक्षेत्रमा रहेको व्यापारीकरण प्रवृत्ति र बिरामी पक्षबीच द्वन्द्व भइरहनेछ, जसको सिधा प्रभाव चिकित्सक तथा स्वास्थ्य संस्थामा पर्नेछ । स्वास्थ्यक्षेत्रमा व्यापक कमीकमजोरी छन् भन्नुको अर्थ कानुन हातमा लिएर गरिने आक्रमणजस्ता कार्यलाई उचित भन्न सकिन्न तर यसको समाधानमा कानुनीमात्र नभएर आर्थिक र सामाजिक उपचार विधि अपनाउनु आवश्यक देखिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?