‘तिमी’ को दम्भ त्यागौं, मित्रहरू !

विचार/दृष्टिकोण |





रघु मैनाली

सहकर्मी सम्पादक तथा प्रकाशक मित्रहरू
नमस्कार ।

आशा गर्छु– तपाईंहरूलाई बेसै छ । मलाईचाहिँ केही नैतिक, सार्वजनिक र पेसागत लज्जाबोध, असहजता र बेचैनी उत्पन्न भएकाले यो पत्र तपाईंहरूलाई लेखेको हुँ । सुरुमै स्पष्ट पार्न चाहन्छु– यो पत्र कसैलाई गाली गर्न वा होच्याउन होइन, पत्रकारिताको पेसागत मर्यादा र स्तरीयतालाई पुनः एकपटक सम्झनुपर्ने आवश्यकतातर्फ तपाईंहरूलाई घचघच्याउन अभिप्रेरित छ ।
समय–प्रसङ्गमा पटक–पटक उठ्दै आएको मतमतान्तर अहिले फेरि सार्वजनिक रूपमा सुरु भएको छ । पत्रकारितामा प्रयोग भइरहेको ‘तिमी’ सर्वनामप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हालै प्राज्ञहरूलाई सार्वजनिक सम्बोधन गर्दा व्यङ्ग्योक्ति दिनुभयो– पत्रकारले त मर्यादित शब्द प्रयोग गर्न बिर्सिसकेका छन् र घरमा बाबुआमालाई पनि तिमी नै भन्दा हुन् । ठ्याक्कै त होइन उहाँको आसय यस्तैजस्तो लाग्छ । यस अभिव्यक्तिपछि त ‘तिमी’ को विवाद छताछुल्ल भयो ।
पत्रकार पाखुरा सुर्किएर तिघ्रा बजार्दै मैदानमा उत्रिएका छन् । एकथरि पत्रकारले त एक स्वरले शाब्दिक धाँधली नै सुरु गरेका छन् । केही पत्रकारको दाबी छ– हाम्रा परिवारमा पनि तिमी शब्द बोल्ने गरिन्छ । त्यसैले यो प्रयोग स्वाभाविक छ । उनीहरू बुरुक्क उफ्रिएर अर्कोखाले फेसबुके अभिव्यक्ति दिन्छन्– यिनीहरूलाई के अब ‘बक्स्योस्’ भन्नुपर्ने ? पत्रकार थप तर्क दिन्छन्– तिमी पछि ‘तपाईं’ चलाउँदा भोलि ‘हजुर’ किन नचलाउने भन्ने प्रश्न आउला । तिमी शब्द पनि आदरार्थी नै हो । आफूले गरेको अभ्यास आफैँलाई चित्त बुझेन भने सच्चिउँला । नत्र यो हाम्रो पत्रकारिताको शैली हो, इत्यादि ।
यसमा मेरो खरो प्रतिवाद छ, मित्रहरू । मेरालागि यी तर्क होइनन्, अहङ्कार हुन् । निजी अहङ्कारको पक्षपोषण पेसागत मर्यादा होइन । अहङ्कारले सधैँ अप्ठ्यारा कुरालाई आदर्श मानेको हुन्छ । सार्वजनिक रूपमा हामीले गरिरहेका यस्ता कच्चा बौद्धिक हमलाले पत्रकारिता पेसालाई नै रुग्ण बनाउँछ । यसका लागि म यहाँ केही सन्दर्भ, उदाहरण, दृष्टान्त र भाषाका सर्वोपरि मान्यता राख्न चाहन्छु ।
भाषाशास्त्रीहरूका अनुसार भाषामा प्रयोजनपरक भेदहरू (ल्याङ्ग्वेज रजिष्टर) हुन्छन् । भाषाका प्रयोजनपरक भेद भन्नाले भाषा प्रयोग गर्दाका बखतको प्रवृत्ति वा मनोवृत्ति, मिजास, अपनाइएको रूख वा चेष्टा र औपचारिकताको स्तरजस्ता कुरालाई जनाउँछ । सामान्यतया यी भेदहरूलाई अति औपचारिकदेखि अति अनौपचारिक गरी पाँच भाग लगाइएको छ– स्थिर वा अगतिशील भेद, औपचारिक भेद, व्यावसायिक÷प्रोफेसनल भेद, अनौपचारिक भेद र आत्मीय वा वैयक्तिक भेद ।
नेपाली भाषाको प्रयोजनका हिसाबले साथीसँगाती समूहको अनौपचारिक वृत्त र पारिवारिक तथा वैयक्तिक नातासम्बन्धको आत्मीय वृत्तमा मात्र तँ र तिमी सर्वनामको प्रयोग हुने गर्छ । यस्तो भाषा पारस्परिक हुन्छ । साहित्यको भाषा सिर्जनशील र गतिशील हुन्छ । यसमा व्यक्ति होइन, पात्रहरू हुने हुँदा पनि साहित्यमा ‘तिमी’ सर्वनामको प्रयोग स्वाभाविक मानिँदै आएको छ । यसबाहेक प्रयोजनका हिसाबले स्थिर वृत्त, औपचारिक वृत्त र व्यावसायिक
(प्रोफेसनल) वृत्तमा सञ्चार वा सम्बोधन गर्दा तँ र तिमी सर्वनामको प्रयोग मान्य छैन । यी अवस्थाहरूमा भाषाको प्रयोग नियमबद्ध, व्यवस्थित, प्रामाणिक, सर्वस्वीकार्य र स्थापित वृहत्तर सामाजिक नियमद्वारा निर्देशित हुन्छन् र हुनुपर्छ । पत्रकारिता औपचारिक पेसा हो, यसले ‘स्ट्यान्डर्ड’, सन्तुलन र तटस्थताको सिद्धान्त अवलम्बनको वकालत गर्छ । पत्रकारिता, विशेषगरी समाचारको भाषा अनौपचारिक होइन ‘स्ट्यान्डर्ड’ भाषा हो ।
शपथ लिदाको भाषा, अदालती फैसलाको भाषा, पाठपूजाको भाषामा गतिशीलता पाइँदैन । यो भाषा स्थिर र अति औपचारिक हुन्छ । त्यस्तै औपचारिक, व्यावसायिक सञ्चारको भाषा नियमबद्ध ढङ्गले व्यवस्थित गरिएको हुन्छ । यो बढी जानकारीमूलक, तथ्यपरक तथा वस्तुगत हुन्छ, बहुआयामिक हुन्छ । प्रामाणिक र स्तरीय सामाजिक अभ्यासहरूबाट निर्दिष्ट हुन्छ ।
यस अर्थमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरो आंशिक असहमति छ । उहाँले ‘पत्रकारितामा तिमी सर्वनाम प्रयोग गर्नेहरूले परिवारमा बाबुआमालाई पनि तिमी भन्छन् कि क्या हो’ भन्ने आसय व्यक्त गर्नुभएको छ । यसमा मेरो असहमति के हो भने घरमा बाबुआमालाई ‘तिमी’ भन्ने गरेकै भए पनि पत्रकारितामा ‘तिमी’ भन्ने छुट हुँदैन, पाइँदैन । पत्रकारिता अनौपचारिक वा मनलाग्दी पेसा होइन । यो आत्मीयताको सिद्धान्तमा आधारित भएर पनि चल्दैन । (बरु पत्रकारितामा सिर्जनशील लेखनका सीमित विधाहरू हुन्छन्, तिनमा चाहिँ ‘तिमी’ सर्वनाम प्रयोगमा ल्याउन सकिन्छ । उदाहरणका लागि फिचर लेखन, संस्मरण लेखन आदि ।)
नेपाली भाषामा ‘तपाईं’ शब्द न त चाकरीको शब्द हो न त भारदारी वा बहिष्कृत नै । यो शब्द नेपाली सामाजिक मर्यादाअनुसारको संस्कारी र शोभनीय सर्वनाम हो । नेपाली व्याकरणकारले ‘तपाईं, यहाँ, उहाँ’ आदि शब्दलाई द्वितीय र तृतीय पुरुषलाई सम्बोधन गरिने आदरार्थी र मानबोधक सर्वनामका रूपमा परिभाषित गरेका छन् । यसैगरी, केही नेपाली व्याकरणकारले ‘बक्स्यो, बक्स्योेस्’ जस्ता सर्वनामलाई
‘प्रभुत्व’ जनाउने अर्थमा प्रयोग हुने भनी परिभाषित गरेका छन् ।
यस्तै अर्को पक्ष पत्रकारितामा पनि जातिवाचक नाम, समूहवाचक नाम र व्यक्तिवाचक नाममा दिइने सर्वनाम एउटै हुँदैन । जात, पद वा समूहलाई मात्र उल्लेख गर्नुपर्दा त्यसमा ‘तिमी’ र ‘उनी’ सर्वनाम प्रयोग गर्न मिल्छ । जस्तै बाहुनले पाठ गरे, सञ्चार मन्त्रालयका सचिवले भने, सिपाहीहरू हिँडे, खेलाडीहरू मैदानमा उत्रिए आदि । तर, व्यक्तिको नाम उल्लेख गरिसकेपछि भने ‘तिमी’ सर्वनाम अशोभनीय र अपाच्य हुन जान्छ ।
म तपाईंलाई सन्निकट विगतको एउटा घटना स्मरण गराउन चाहन्छु । नेपालमा २०४६ सालतिर बहुदलीय व्यवस्था पुनस्र्थापना भइसकेपछि तत्कालीन राजाले प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गर्दा धुवाँधार आपत्ति जनाउने पनि नेपाली पत्रकारिता नै थियो । त्यसबेलाको नेपाली पत्रकारिताले व्याख्या गर्दै औँलो ठड्याएको विषय थियो– जननिर्वाचित प्रधानमन्त्रीलाई ‘तिमी’ भन्नु यो सरासर सामन्ती हैकम हो । राजाले ‘तिमी’ भन्दा सामन्ती हैकम हुने, त्यही शब्द तपाईं पत्रकार र सञ्चार संस्थाले जननिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, न्यायकर्मीहरू, विभिन्न पेसा र वर्गका महानुभावलगायतलाई दैनिक र बारम्बार औपचारिक रूपमा लेख्दा र प्रसारण गर्दाचाहिँ तपाईं पत्रकार सामन्त ठहरिनु नपर्ने उन्मुक्तिको विशिष्ट कारणचाहिँ के होला मित्रहरू ?
पत्रकारितामा सर्वनाम प्रयोगबारे पहिला पनि धेरै छलफल र बहस भए । शरच्चन्द्र वस्तीहरूले यो बहसको नेतृत्व गर्नुभएको थियो । ओहदा वा शक्तिका आधारमा सर्वनामको प्रयोग हुनुहुँदैन भन्ने मान्यता त्यसबेला स्वीकार गरिएको कुरा हो । म यहाँ केही उदाहरण दिन्छु । विक्रम संवत् २०५१ सालमा रेडियो नेपालको लोकप्रिय कार्यक्रम ‘घटना र विचार’ मा कुन्दन अर्याल, शार्दूल भट्टराई, गोकुल बाँस्कोटा, सुरेश आचार्य र मलगायतका साथीहरू बसेर समान सम्बोधनका लागि सबैलाई ‘तपाईं’ शब्द प्रयोग गर्ने र राजालाई पनि सम्बोधन गर्दा ‘बक्स्योस्’ नभन्ने र यसका ठाउँमा ‘कर्मवाच्य’ प्रयोग गर्ने निर्णय गरेका थियौँ । जस्तो कि ‘श्री ५ वीरेद्रबाट फलानो कार्यक्रमको समुद्घाटन भयो ।’ त्यसबेला रेडियो नेपालका एक उच्च अधिकारीले स्टुडियोमै आएर राजालाई अपमान गर्न पाइँदैन भनी आपत्तिसमेत जनाएका थिए । यसखाले अभ्यास त्यसबखतका विशेषगरी केही वामपन्थी र नेपाली काँग्रेस समर्थक साप्ताहिक पत्रपत्रिकाले समेत प्रचलनमा ल्याएका थिए ।
अर्को अलि भिन्न उदाहरण छ । हामी (म, घमराज लुइँटेल, जितेन्द्र राउत, मधु आचार्य) ले २०५४ सालमा रेडियो सगरमाथाबाट प्रसारित कार्यक्रममा सबैलाई समान रूपले ‘तपाईं’ सर्वनाम प्रयोग गर्ने निर्णय ग¥यौँ । त्यसो गर्नुका पछाडिको हाम्रो तर्क थियो, मान्छेलाई पद, उमेर, जात, लिङ्ग र शक्तिका आधारमा होइन, उसको स्वाभिमान र गरिमाका आधारमा समान ढङ्गले सम्बोधन गरिनुपर्छ । हामीले यस्तो शैली निर्धारण गरिरहेका बेला गोरखापत्र, कान्तिपुरजस्ता पत्रपत्रिकाले राजालाई ‘बक्स्यो’, ठूला ओहदावालालाई ‘तपाईं’ र किसान, मजदुर, दलित, महिलालगायत आमजनतालाई ‘तिमी’ सर्वनाम प्रयोग गर्दथे । कान्तिपुरमा यो चलन २०६२ सालसम्म चलेको थियो । त्यसपछि उसले सबैलाई ‘तिमी’ लेख्न थालेको हो तर २०६४ सालमा गणतन्त्र घोषणा नहुँदासम्म तत्कालीन राजालाई भने ‘तिमी’ लेख्ने आँट गरेको थिएन ।
अर्को एउटा प्रसङ्ग पनि मलाई सधैँ याद आउँछ । जसलाई म नेपाली पत्रकारिताको प्रतिनिधि चरित्रका रूपमा लिने गर्छु । जुन सम्झिँदा मेरो मनमा निकै खिन्नता हुन्छ । कान्तिपुर दैनिकको दुई वर्षअघि २०७४ फागुन ७ गते प्रकाशित रजत विशेषाङ्क ‘रजत यात्रा’ को पहिलो लेख कान्तिपुरका सम्पादकको थियो– ‘हामीले हिँडेको बाटो’ । यो लेखमा कान्तिपुर प्रकाशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियालाई तीन ठाउँमा ‘सर’ शब्दले सम्बोधन गरिएको छ भने एक ठाउँमा ‘उहाँ’ सर्वनाम प्रयोग गरिएको छ । तर, त्यही लेखमा पूर्वराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई ‘तिमी’ सम्बोधन गरिएको छ । अनि पत्रिकाको अग्रभागमा प्रकाशित समाचारमा पनि प्रधानमन्त्री, सरकार तथा समाजका विभिन्न ओहदामा रहेका व्यक्तिलाई
‘तिमी’ शब्दले सम्बोधन गरिएको छ ।
सो अखबारको त्यही बयानमा ठूलो स्वरमा भनिएको छ, ‘यो हाम्रो शैली हो । ‘तपाईं’ लेख्दा त चोर र बलात्कारीलाई पनि तपाईं लेख्नुपर्ने हुन्छ । त्यसैले हामीले सबैलाई तिमी लेख्ने निर्णय ग¥यौँ ।’ यस्तै खोचे तर्कले पत्रकारिताको शैली निर्धारण गर्ने हो भने मित्रहरू, तपाईंका नाकको डाँडीमै ठोक्किनेगरी चोर औँलो ठड्याएर म प्रश्न गर्छु– त्यसो हो भने के यसको अर्थ ‘तिमी’ लेखेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारी कर्मचारी, प्राध्यापक, डाक्टर, इन्जिनियर, नर्सलगायतका प्रतिष्ठित पेसाकर्मीहरू, समाजका विभिन्न ओहदा र पेसा व्यवसायमा संलग्नलगायत आमनेपालीलाई चोर र बलात्कारीकै दर्जामा राख्नुभएको हो ?
सो अखबारले तिमी सर्वनाम प्रयोग गर्नुको सार्वजनिक बयान पनि त्यही रजत यात्राकै ‘कान्तिपुरको तिमी’ शीर्षकको आधा पेज लामो लेखमा छ, ‘वर्ग–विभेद आदरार्थीमार्फत भेदभाव गरिरहेका रहेछौँ ।अनि सम्बोधनमा रहेको भेदभाव हटाउने निचोडमा पुग्यौैँ ।’ सामन्ती चेतलाई क्रान्तिकारी लेपन लगाउँदालगाउँदै पनि यसरी नेपाली पत्रकारितामा डोकाले छोपेको ‘बिरालो म्याउँ’ गरिहाल्छ । आफ्नो मालिकलाई चाहिँ नेपालकै सर्वोच्च व्यक्ति ठानेर ‘सर’ र ‘तपाईं’ नै सम्बोधन गर्नुपर्ने ! बाँकी सारालाई ‘तिमी’ । मित्रहरू ‘तिमी’ लेख्ने होडबाजीले सामन्ती संस्कारको जुवामा थाहै नपाई हामी आफैँ पो नारिइसकेका छौँ त ।
जहाँसम्म सबैलाई समान रूपले सम्बोधान गरेको भन्ने कान्तिपुरलगायत मिडियामा कार्यरत तपाईं पत्रकारको तर्क छ, त्यसमा मेरो जिकिर छ ‘तिमी’ शब्द नै किन रोज्नुभयो ? यो सर्वनाम प्रयोगमा ल्याएर के गर्न खोजेको भन्ने प्रश्नको उत्तर तपाईंसँग छ ? सबैलाई समान सम्बोधन गर्न ‘तँ’ सर्वनाम पनि रोज्न सक्नुहुन्थ्यो र ‘तपाईं’ सर्वनाम पनि । तपाईंले ‘तँ’ सर्वनाम किन रोज्नुभएन त्यो तपाईंलाई नै थाहा होला तर तपाईंहरूले ‘तपाईं’ सर्वनाम रोज्न नसक्नुको विशेष कारणचाहिँ मलाई थाहा छ । किसान, मजदुर, दलित, महिला र सर्वसाधारणलाई ‘तपाईं’ शब्दले सम्बोधन गर्न नदिने मुख्य तŒव तपाईं पत्रकार र कर्पाेरेट मिडियाका मालिकभित्र जमेर बसेको सामन्ती वंशाणुगत चेत हो । राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न ओहदामा बसेका व्यक्तिलाई ‘तिमी’ भन्न सुरिने च्याँखे क्रान्तिकारी आडम्बर । दम्भ अनायासै हामी पत्रकारमा पलायो र समानताको जामा पहि¥याई नेपाली सामाजिक अपेक्षा र सार्वजनिक मर्यादाभन्दा निकै तल गिरेर मालिकले लगानी गरेका सञ्चारमाध्यमले प्रयोग गर्नलाई सर्वनाम रोजेको हो– ‘तिमी’ ।
‘तिमी’ को वकालत गर्ने पत्रकार मित्रहरू ! म तपाईंलाई चुनौती दिन्छु– के सार्वजनिक रूपमा भन्न सक्नुहुन्छ– ‘मिडिया मालिक र पत्रकारसिवाय सबै व्यर्थका मानिस हुन् । यिनीहरूलाई हामी आफ्नो निगाहका आधारमा मनखुसी सम्बोधन गर्न पाउँछौँ ।’ होइन भने राजतन्त्र कायमै रहेकाबेलामा राजसंस्थाले दुईपक्षीय भेटमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दासमेत अस्वीकार्य ठानिएको ‘तिमी’ सर्वनाम आज सञ्चारमाध्यमले औपचारिक रूपमा पटक–पटक लेख्दा वा बोल्दाचाहिँ कसरी मान्य र क्रान्तिकारी हुन्छ ? एकपल्ट आफैँतिर फर्केर हेर्नुहोस् । सञ्चारमाध्यमका मालिकलाई गणतन्त्रका राजा, महाराजा बनाएर हामी पत्रकार गणतन्त्रका भाइभारदार बन्ने दुस्साहस त गरिरहेका छैनौँ ? अरू ओहदा, पेसा, वर्ग, समुदायमाथि हैकम र प्रभुत्व लाद्न त उद्यत छैनौँ ?
पत्रकारको स्वतन्त्रता भनेको अरूको स्वतन्त्रतालाई मुखरित गर्ने सूत्राधार बन्नलाई हो, उनीहरूको मानमर्दन गर्नलाई होइन । अरूका अधिकार र सम्मानको रक्षा गर्नु पत्रकारका लागि अगाडि बढ्दै जाने सिँढी होे । जसको अधिकार र सम्मानको रक्षा गर्नुपर्ने हो, जुन आमजनता (पाठक, दर्शक वा श्रोता) सञ्चारमाध्यमका लागि भगवान् हुन्, तिनैसँग पौँठेजोरी खेल्न थाल्छौँ, तिनैलाई अपमान गर्छौं भने राम्ररी बुझे हुन्छ, यो एकोहोरो शङ्ख फुकाइ हो । हामी पेसागत आर्यघाटको नजिक पुगिसकेका छौँ । जिम्मेवार पेसाकर्मीका नाताले हामीले आवारा अभिव्यक्ति होइन, सार्थक जवाफ र समाधान खोज्नुपर्ने हुन्छ । सच्चा र प्रतिबद्ध पेसाकर्मीका लागि गल्ती–कमजोरी सच्याउनु पनि एउटा आनन्ददायी क्षण बन्न सक्नुपर्छ ।
पत्रकार मित्रहरू ! तपाईंहरूसँग जोरी खोज्नु मेरो काम थिएन । तर, पेसाप्रतिको निष्ठाले गर्दा यसो गर्नैपर्ने सन्दर्भ आयो । बाँकी कुरा भेटघाटका बेलामा नै गरौँला । अहिलेलाई यति नै ।
तपाईंको उही सहकर्मी मित्र ।
(वरिष्ठ पत्रकार मैनालीको हालै प्रकाशित लेखको सम्पादित अंश ।) –सम्पादक
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?