logo
२०८१ बैशाख ८ शनिवार



तपाईं पनि भुजा ज्यूनार गर्ने कि ?

विचार/दृष्टिकोण |





शरच्चन्द्र वस्ती

कुरा यसै साताको हो, अन्तरिम सरकार गठन भएपछि मन्त्रालय पुगेका एकजना ‘राष्ट्रसेवक’ मित्रलाई मैले फोन गरें । उनी कार्यालयमा रहेनछन् । उनका सहायकलाई सोधें ‘उहाँ कता जानुभयो त ?’ जवाफ आयो ‘भुजा ज्यूनार गर्न सवारी भा’छ ।’
म छक्क परें । क्याहो यो अचम्म ? हिजोसम्म भातखाने मान्छे आज भुजा ज्यूनार गर्ने भैसकेछन्, कतै जाने–आउने कामपर्दा अब उनले सवारी हुनुपर्ने भैसकेछ ! पछि भेट हुँदा मित्र भन्थे, ‘के गर्नु ? त्यस्तो भाषा बोल्न छाड भनेर कतिपल्ट सम्झाइसकें । अगाडि टाउको हल्लाएर हुन्छ भन्छ, एकछिन पछि उस्तै !’
उनी आफ्नो सहायकलाई त्यो भाषा बोल्न छोडाउन सफल भए कि भएनन्, मलाई थाहा छैन । तर यतिचाहिं अवश्य थाहा छ–सार्वजनिक स्थान, कार्यालय र आमसञ्चार माध्यमहरूमा त्यो भाषा बोल्न छाडिएको छैन । तपाईं प्रश्न गर्नुहोला, ‘तँलाई किन टाउको दुख्यो त ? कसैले कसैलाई चाहे जेसुकै भनोस्, तँलाई के मतलब ?’ तर होइन महोदय, यो टाउको दुख्नैपर्ने र मतलब हुनैपर्ने कुरा हो । यो त्यस्तो भाषा हो, जसले हुकुमीतन्त्रको आत्मा बोकेको छ, सामन्तीयुगको अवशेष बोकेको छ, एउटालाई पहिलो दर्जाको नागरिक र अर्कालाई रैती मान्ने परम्परा बोकेको छ । त्यस भाषाले सम्बोधित गरिने व्यक्ति ऐन–कानूनभन्दा माथि हुन्छ भन्ने मनोविज्ञान समेटेको छ । उसले बोलेको कुरा अरूले काट्न नहुने, उसले गरेका अपराधबारे जनसाधारणले चर्चा गर्न नहुने, उसलाई महान व्यक्तित्व सम्झेर अर्काले आफूलाई हीन ठान्नुपर्ने संस्कार च्यापेको छ । अनि यो त्यस्तो भाषा हो, जसले २००७ सालमा जनताले ल्याएको प्रजातन्त्रलाई एक दशकपछि खोस्न अहम् भूमिका खेल्यो र अब पनि त्यही भूमिका दोहो¥याउन खोज्दैछ ।
तपाईं आवेशमा आएर चिच्याउनुहोला, ‘कसरी ?’ नआत्तिनोस् न, भन्दैछु । सात सालमा जनताले राणाहरूलाई पदच्युत गर्न मात्र त्यत्रो क्रान्ति गरेका थिएनन् । त्यो हुकुमीतन्त्रबाट प्रजातन्त्रमा फड्को मार्नेअदम्य अभियान थियो र त्यसभित्र लुकेको थियो, त्यसबेलासम्म चलिरहेका भ्रष्ट सामाजिक–सांस्कृतिक मान्यता एवं कुहिएका परम्पराहरूको उछित्तो काढ्ने मनसाय । तर प्रजातन्त्र प्राप्तिपछि पनि त्यसभन्दाअघि राणाहरूका दरवारमा बोलिने र ‘रैती’हरूद्वारा
‘प्रभु’हरूका निम्ति प्रयोग गरिने उही ‘बक्स्योस्’को भाषा कायम रह्यो, जसले राणाहरूलाई सामाजिक मनोविज्ञानमा जनसाधारणभन्दा एक तहमाथिनै राखि छाड्यो । उनीहरू जतिसुकै स्वाँठ र हुल्याहा भएपनि ‘जर्साब’ र ‘बाबुसाहेब’ शब्दबाट सम्बोधित भई नैरहे, उनीहरूका जतिसुकै उच्छृंखल र अनैतिक क्रियाकलापलाई पनि जनताले विना भत्र्सना शिरोपर गरी नै रहे । देशका नागरिकहरूमा व्यवहारतः दुई तह कायमै रहिरह्यो । अनि, सामन्ती दुर्गन्ध बोकेको यस भाषाले समाजमा यसरी वातावरण–प्रदूषण ग¥यो, चाकरी–चाप्लुसी र कृपा–निगाहको मनोविज्ञान घट्न र हट्न सक्तैसकेन । फलतः राणाहरूलाई गरिने चाकरी ओहदावाललाई गरिन थाल्यो र आफ्नो योग्यता–क्षमतामा विश्वास गर्ने होइन, चाकरी गरिनेको दयादृष्टिको आकांक्षी हुने पुरानै परम्परा अघि बढ्यो । यी सब कुराले गर्दा सामान्य जनता त आत्मसम्मान र आत्मविश्वास सँगालेर दृढ हुन सकेनन् सकेनन्, विशिष्ट व्यक्तिहरूमा पनि यही कालो छायाँ परिरह्यो । यसको फल के भयो र दयादृष्टिको आकांक्षाले जनतालाई कहाँ पु¥यायो, तपाईंलाई थाहा नै छ ।
२०४६ सालको जन–आन्दोलन पनि केवल पञ्चहरूलाई पदच्युत गराउन भएको होइन । यो निरंकुशतन्त्रबाट प्रजातन्त्रतर्फ फड्को मार्ने अभियान हो र यसभित्र पनि लुकेको छ, पञ्चायती शासनमा चलेका भ्रष्ट एवं कुहिएका सामाजिक–सांस्कृतिक परम्पराहरूको उछित्तो काढ्ने जनताको अदम्य इच्छा । तर अहिले पनि उही ‘बक्स्योस्’को भाषा उसै गरी अघि बढिरहन्छ र सामाजिक मनोविज्ञानलाई उसैगरी प्रभावित पारिरहन्छ भने कसरी भन्न सकिन्छ, इतिहास फेरि एकपल्ट दोहोरिने छैन ? जनताको हातमा नै राज्यको सार्वभौमसत्तानिहित छ र हुनुपर्छ भन्ने सिद्धान्त स्थापित भइसक्दा पनि ‘बक्स्योस्’ को भाषा चलाइन्छ र यसमार्फत पहिलो र दोस्रो श्रेणीको नागरिक छुट्टिने मानसिकता समाजमा कायमै राखिछाड्न प्रयास गरिन्छ भने कसरी मान्ने, इतिहास नदोहोरिएला भनेर ? कसरी मान्ने, ‘बक्स्योस्’ भनिने र भन्नेले एक अर्कालाई समान ठान्न सक्लान् भनेर ? कसरी स्वीकार्ने, यस भाषाले तयार पारेको सामाजिक मनोविज्ञानले राणातन्त्र र पञ्चायतीतन्त्रमा झंै एउटा सानो, तर ‘बक्स्योस्’वालावर्गले नचाहिंदा कृत्य गरेर देशै डुबाउन लागि सक्दा पनि जनताले निरीह भएर हेरिरहने वातावरणलाई पुनःस्थापित गर्न अहम् भूमिका खेल्नेछैन भनेर ?
अब भन्नोस् महोदय, प्रजातन्त्रमा देशका हरेक नागरिक समान हुन्छन् भने किन कुनै परिवार,जात वा मुठ्ठीभर वर्गका लागि सारा जनताले एउटा अलग्गै भाषाको भारी बोक्नु जरूरी हुन्छ ? किन आवश्यक छ तमाम नेपालीले एउटा सानो समुदायका निम्ति भनेर छुट्टै भाषा प्रयोग गर्नु ? ‘तपाईं’ ले सारा संसारलाई सम्मान गर्न सकिन्छ र संसारको सृष्टि वा पालन गर्ने परम शक्ति भनेर उनीहरूले समेत मानेकाहरूलाई पनि पर्याप्त आदर पु¥याउन सकिन्छ भने यसभन्दा बढी बोझ बोक्न तपाईंलाई किन रहर छ ? तपाईंलाई थाहा हुनुपर्ने हो, प्रजातन्त्रमा परिवार वा वंशानुगत कारणबाट मात्र कोही अरू भन्दा विशिष्ट मानिन सक्दैन । विशिष्टता त उसले आफ्नो योग्यता, इमान्दारी, प्रजातान्त्रिक आचरण एवं कर्मठताबाट सिद्ध गर्नुपर्छ र त्यो विशिष्टता अलग भाषाको माध्यमबाट होइन, जनताले उसलाई दिने आदर र सम्मानबाट प्रतिबिम्बित हुन्छ । त महोदय, मलाई लाग्छ, पियनले खरदारलाई ‘बक्स्योस्’ भन्ने, खरदारले सुब्बालाई
‘दर्शन’ गर्ने, सुब्बाले शाखा अधिकृतलाई चुरोट
‘ज्यूनार’ गराउने, शाखा अधिकृतले उपसचिवलाई फाइल ‘टक्र्याउने’, सहसचिवले सचिवलाई ‘सवारी’ हुन ‘बिन्ती’ गर्ने र सचिवले केही कुरा ‘मर्जी’ हुने पञ्चायती परम्परा तपाईंलाई निकै मन परेको होला र अरूबाट नभए कम्तीमा पियनबाट, त्यो पनि नभए नोकर–चाकर राखेर भए पनि यस्तो ‘सम्मान’ लिएर दङ्ग पर्न तपाईंलाई बानी पनि बसिसकेको होला !
तर याद गर्नुहोस्, जबसम्म तपाईं नेपाली समाजबाट ‘बक्स्योस्’को भाषाको उछित्तो काढ्नुहुन्न, तबसम्म यसले बोकेर ल्याएको सामन्ती संस्कार, भ्रष्टाचार–कमिशनतन्त्रप्रति आँखा चिम्लेर र मुखथुनेर टाउको निहु¥याउने प्रवृत्ति अनि सत्ता–शक्ति र त्यसको वृत्तमा रहेकाहरू देशको नियम–कानून र संविधानभन्दा माथि हुन्छन् भन्ने मनोविज्ञान समाजबाट निर्मूल हुन सक्नेछैन, जसले अन्ततोगत्वा प्रजातन्त्रमाथि नै मन्दविषको काम गर्नेछ ।
अब भन्नोस् महाशय ! तपाईं पनि भुजा ज्यूनार गर्ने कि ?

(लेखक वस्तीको बहुचर्चित स्तम्भ ‘...अर्को अर्थ नलागेमा’बाट यो लेख साभार गरिएको हो । यो गोरखापत्र दैनिकमा २०४७ जेठ ७ गते सोमबार प्रकाशित भएको थियो । गोरखापत्र नेपाली भाषाको मानक रहेको हुनाले यो लेख पुनः प्रकाशन गरिएको हो ।) –सम्पादक
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?