logo
२०८० चैत्र १५ बिहीवार



स्वास्थ्यका लागि अदुवा

विचार/दृष्टिकोण |




गणेशकुमार लाल

अदुवा नेपालको सबै स्थानमा पाइने वनस्पति हो । माटोमुनि उत्पादन हुने अदुवालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ । यसको वैज्ञानिक नाम ‘जिङ्गर औफिनेल रोस्क’ हो । संस्कृतमा आर्दक, हिन्दीमा अदरक, सौठ गुजरातीमा आदु, अरबीमा जजबिल, फारसीमा शङ्गवीर आदि भनिन्छ । बालुवा मिश्रित माटोमा उत्पादन हुने गुल्म जातिको वनस्पति हो अदुवा । यसको पात बाँसको पातजस्तो हुन्छ । अदुवामा भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पाइन्छ । यसको तेलमा जिंजी बेरिन तथा जिंजिबराल इत्यादि तŒव पनि पाइन्छ ।
यसको स्वाद विशिष्ट गुणले भरिपूर्ण हुन्छ । यसले गर्दा चियामा पनि यसको उपयोग गरिन्छ । चिसो मौसममा अदुवा हालेको चिया धेरैले मन पराउँछन् । हरेक दिन तरकारीमा यसलाई मसलाका रूपमा पनि प्रयोग गरिन्छ । यसको सेवनले मानिसको नशामा उत्तेजना पैदा हुन्छ ।
अदुवाबाट बाथ, कफ, खोकी इत्यादिमा फाइदा हुन्छ । अदुवाको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । सुकेको अदुवा आयुर्वेदिक औषधिमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । अहिलेको समयमा मानिस ग्यास (वायु) सम्बन्धी अनेक समस्याबाट पीडित छन् । यो समस्या समाधान गर्न सुकेको अदुवा, मरिच र पिपलाको मिश्रणको उपयोग गर्न सकिन्छ ।
अदुवाको फाइदा
अदुवाको सुप पिउनाले भोक बढ्छ । सुप बनाउन दस ग्राम अदुवालाई टुक्रा पारेर २०० मिलिलिटर पानीमा उमाल्ने । ५० मिलिलिटरजति बाँकी रहेपछि चियादानीमा छान्ने र त्यसमा कागतीको रस र बीरेनुन थोरै मिसाउने ।
३०० मिलिलिटर दूधमा पाँच ग्राम सुकेको अदुवाको चुर्ण र मिश्री मिलाएर उमाल्ने । यसलाई मनतातो भएपछि पिउनाले मूत्रनलीसम्बन्धी समस्या समाधान हुन्छ ।
कहिलेकाहीँ कान दुखेर हैरान हुन्छ । यस्तो अवस्थामा अदुवाको रस र बीरेनुनलाई एकछिन पकाएर सफा कपडाले छानेर कानमा एक÷दुई थोपा हाल्नाले दुखाइ हट्छ ।
पेट दुख्दा अदुवाको रस र दूध समान मात्रामा मिलाएर सेवन गर्नाले राहत हुन्छ ।
निमोनिया लागेमा अदुवाको रस, पुरानो घिउ र कपुर मिलाएर छातीमा मालिस गर्नाले रोगीलाई फाइदा हुन्छ ।
यसरी अदुवा मसलाका रूपमा मात्र होइन, औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

(लेखक रसायनशास्त्री हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?