logo
२०७८ कार्तिक ४ बिहीवार



सीले दिएको साथ

विचार/दृष्टिकोण |




गोपाल खनाल

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमण सकेर फर्कनुभयो । सीको भ्रमण आफैँमा ठूलो उपलब्धि हो । सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनपछिको यो भ्रमणले उच्चस्तरको भ्रमण आदानप्रदानमा निरन्तरता दियो । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग असोज २५ मा भएको पहिलो औपचारिक भेटवार्ता, त्यसैदिनको रात्रिभोज सम्बोधन, भोलिपल्ट प्रधानमन्त्री केपी ओलीसँग भएको औपचारिक वार्ता र लगत्तैका २० सहमतिले भ्रमण द्विपक्षीय सम्बन्धमा ऐतिहासिक र उपलब्धिमूलक रह्यो । यसैगरी सार्वजनिक संयुक्त विज्ञप्तिले द्विपक्षीय रणनीतिक र दीर्घकालीन साझेदारी विकास भएको उल्लेख गर्नु द्विपक्षीय सम्बन्धमा नयाँ आरम्भ र नयाँ युग हो ।
द्विपक्षीय विकास स्वभाविक एजेन्डा नै थियो । तर राष्ट्रपति सीले नेकपाको नेतृत्व र प्रतिपक्षी दलका नेतासँग पनि खुला वार्ता गर्नुभयो । नेकपा नेतृत्वलाई चिनियाँ क्रान्ति र विकासको अनुभव राख्दै जनताको मन जितेर काम गर्न सुझाव दिनुभयो । उता, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग द्विपक्षीय सम्बन्धमा काँग्रेसको योगदान कम नरहेको भन्दै सत्तामा जो रहे पनि नेपाललाई निरन्तर सहयोग गर्ने चिनियाँ नीति स्मरण गराउनुभयो । अर्थात् सत्तापक्षलाई जनताको मन जितेर काम गर्न र प्रतिपक्षीलाई चीनसँगको सम्बन्धमा परम्परागत लघुताभाष नपाल्न परोक्ष सन्देश दिनुभयो ।
शक्तिराष्ट्रका प्रमुखहरूको विदेश भ्रमणको प्रवृत्ति हेर्दा, समय र तालिकाले समेत उपयुक्त यो भ्रमणमा सीले नेपाली नेतृत्वलाई सहयोगमा आश्वस्त मात्र पार्नुभएन, कार्यान्वयनको गम्भीरता सम्झाउनुभयो । त्यसमा उहाँले कामको चिनियाँ शैलीको सन्दर्भ कोट्याउनुभयो । ‘हामीले बनाएका योजनाहरू पूरा गरेरै छाडौँ । हामीले चीनमा पनि यस्तै गरेका छौँ’, भन्ने उहाँको वाक्य कार्यान्वयनमा केन्द्रित छ, जहाँ नेपाली शैली परिवर्तनको खाँचो छ । भ्रमणका क्रममा जे सहमति भए, ती अपेक्षित थिए । राष्ट्रपति सीले केरुङ–काठमाडौँ रेलको सम्भाव्यता अध्ययन, टोखा–छहरे सुरुङ मार्गलगायत मूलतः पूर्वाधार विकास र सम्पर्क सञ्जालमा सहयोगको घोषणा द्विपक्षीय गृहकार्यकै आधारमा भएका थिए । सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि रेल परियोजनाको लागत आउने र बल्ल लगानीको मोेडालिटी तय गर्ने समझदारी दुई पक्षबीच भएको छ । अर्थात् अब चिनियाँ रेल नेपाल आउने निश्चित भयो । १४ बुँदे संयुक्त वक्तव्यमा समेत केरुङ–काठमाडौँ हुँदै चिनियाँ रेल लुम्बिनी पु¥याउने उल्लेख छ ।
सहमति भएकामध्ये १० वटा द्विपक्षीय मन्त्रालयस्तरीय सम्झौता, नौ समझदारी र एक सन्धि छन् । यी आफैँमा उपलब्धिमूलक हुन् । त्यसबाहेक राष्ट्रपति भण्डारीसँग भएको भेटवार्तामा सीले नेपाललाई सन् २०२० देखि २२ सम्म ३.५ बिलियन युआन (करिब ५६ अर्ब रुपियाँ) नेपाली सहयोगको जुन घोषणा गर्नुभयो, त्यो सम्भवतः ‘सरप्राइज’ नै थियो । यो नियमित वार्षिक सहयोगभन्दा बाहिरको अतिरिक्त सहयोग हो ।
तर भ्रमणको सन्देश ती सहयोगभन्दा अग्लो र गहन छ । केपी शर्मा ओली नेतृत्वको नेपालले जसरी विश्वमा स्वतन्त्र र सार्वभौम पहिचान स्थापित गर्न प्रयास गर्दैथियो, त्यसमा सफलता हासिल गरिरहेको थियो, त्यो भावना अनुमोदित भयो । विश्वलाई काठमाडौँबाट राष्ट्रपति सीले सन्देश दिनुभयो– नेपाल अब ‘ल्यान्डलक्ड’ रहँदैन, ‘ल्यान्डलिङ्क्ड’ हुन्छ ।’ नेपाल चीनका लागि महìवको छिमेकी भनेर विश्वलाई सञ्चार गर्नुभयो । भ्रमण र त्यसमा भएका सहमति÷सारवस्तुले विश्वमा नै नेपालको अन्तर्राष्ट्रिय छवि र महìव एकैसाथ बढ्यो ।
नेपाल भूपरिवेष्टित होइन, भूजडित भन्ने भाषा ओलीले प्रयोगमा ल्याउनुभएको हो, जब उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । भाषामा के भनियो होइन, व्यवहारमै भूजडितमा रूपान्तरण गर्ने प्रयास भए वा भएनन् भन्ने हो । जब ओलीले २०७२ सालमा दक्षिणको नाकाबन्दीका बीचमा उत्तरसँग पारवहन र यातायात सम्झौता गर्नुभयो, त्यहाँबाट नेपालको वास्तविक भूजडित बन्ने यात्राको आरम्भ भयो । अझ व्यवहारकै दृष्टिकोणबाट हेर्दा, भूपरिवेष्टितसमेत नभएर भारतवेष्टितका रूपमा अथ्र्याइन्थ्यो ।
ओलीको पहिलो र दोस्रो चीन भ्रमणको मुख्य जोड द्विपक्षीय सम्पर्क सञ्जाल विस्तार र चिनियाँ बन्दरगाहमार्फत विश्वसम्मको पहुँच प्राप्त गर्नुमा थियो । त्यसैअन्तर्गत कोसी, कर्णाली, गण्डकी करिडोर निर्माणका सहमति भए । त्यसै अनुसार, चीनका तीन भूबन्दरगाह र चार सामुद्रिक बन्दरगाहसम्मको पहुँच नेपालले पायो । राष्ट्रपति भण्डारीको अप्रिलको चीन भ्रमणमा प्रोटोकलमा हस्ताक्षर भएपछि अब तिनले कार्यान्वयन पर्खेका छन् । यी सबैको केन्द्रमा नेपाललाई भूपरिवेष्टितको परम्परागत पहिचान र त्यसमाथि भारतवेष्टितका रूपमा गरिएका व्यवहारबाट बाहिर निकाल्नु थियो । फेरि ओली सरकारको यो साहसिक पहल कुनै छिमेकी र अन्तर्राष्ट्रिय शक्तिका पक्ष वा विरोधमा थिएनन् । यी नेपाली जनताका पक्षमा थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ओलीसँगको सीधा राजनीतिक सम्बन्ध त्यसैको उदाहरण हो ।
राष्ट्रपति सीले जसरी भूपरिवेष्टितबाट भूजडित राष्ट्र बनाउने नेपालको सपनालाई यथार्थ बनाउन सहयोग गर्ने बताउनुभयो, योभन्दा ठूलो उपलब्धि अर्को छैन । नेपालको तस्बिर नै बदल्ने उद्घोष सीबाट भयो । रेल, हवाई, सडक सञ्जाल, सुरुङ मार्ग सबै त्यही फराकिलो भूजडित अवधारणाभित्रका अङ्ग हुन् । सीमा वारपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणभित्र त्यही भूजडित भावना सन्निहित छ ।
तीन वर्षदेखि नेपालले छिमेकी राष्ट्रका भ्रमणमा मात्र नभएर, अन्तर्राष्ट्रिय समुदायमा लगातार प्रयोग गर्दै आएको यो भाषा र भावनालाई नेपाल आएरै अनुमोदन गर्नुभन्दा अर्को उपलब्धि के हुन्छ ? विश्वलाई थाहा छ– सी विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति हुनुहुन्छ । विश्व मुद्दा प्रभावित पार्न सक्नुहुन्छ, विश्व व्यवस्थाको ध्रुव निर्माण गर्न सक्नुहुन्छ ।
अहिले विश्वमा चीनविरुद्ध केही योजनाबद्ध अभियान चलाइएका छन् । ती कहिले तिब्बतका रूपमा, कहिले ताइवान र हङ्कङमा घरेलु समस्याको आवरणमा देखापर्छन् । अहिले हङ्कङको प्रदर्शनमा जसरी पश्चिमा घुसपैठ देखिन्छ, त्यसको उद्देश्य चीनमाथिको दबाब नै हो । राष्ट्रपति सीले रात्रिभोजका क्रममा त्यसप्रति सङ्केत गर्दै आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद मान्दैनौँ, बहुलवाद मान्छौँ भन्नुको अर्थ विश्व बहुध्रुवीय भएको र चीन त्यसको प्रमुख शक्ति भएको भन्ने पनि हो । उहाँको मूल उद्देश्य भने त्यस्ता चीनविरोधी मुद्दामा नेपालले एक चीनको नीतिको प्रस्ट कार्यान्वयनमार्फत सहयोग पु¥याएको र त्यो निरन्तर रहोस् भन्ने उद्देश्य देखिन्छ । जुन स्वभाविक हो, जसको नेपाली पक्षबाट सम्बोधन पनि भयो ।
नेपालले विश्वलाई निरन्तर सन्देश दियो कि राजनीतिक आन्दोलनको चरण अब पूरा भयो र आर्थिक विकासको चरण आरम्भ भयो । त्यसका लागि नेपालले राष्ट्रिय आकाङ्क्षा तय ग¥यो ‘समृद्ध नेपाल, सुखी नेपाली’ । नेपालले लिएको लक्ष्यको अन्तर्राष्ट्रिय प्रचार भयो, नयाँदिल्ली, बेइजिङदेखि न्यूयोर्कसम्म यो पुग्यो । राष्ट्रपति भण्डारीले यो आशय राख्दै विदेशी लगानी आवश्यक रहेको र त्यसमा चीन सहयोगी हुने धारणा राख्नुभयो । विकासको प्रारम्भिक चरणमा बाह्य लगानी अपरिहार्य नै हुन्छ । चीनमै पनि देङ सियाओ पिङले आर्थिक विकासको आरम्भ गर्दा बाह्य लगानी उदारतापूर्वक भिœयाउनु भएको थियो ।
नेपालमा एकथरी राजनीतिक वृत्त र बुद्धिजीवी नेपाल–चीन सम्बन्धमा भारत र नेपाल–भारत सम्बन्धमा चीन सधैँ आउनुपर्छ भन्ने ठान्छन् । र, चीन जाँदा भारतको त्रास पाल्छन्, भारत जाँदा चीनको त्रास पाल्छन् । वा एकखाले नेपाली नेताहरू बेइजिङ र दिल्ली दुवैतिर जान लोभ गर्छन् तर दिल्लीले बोलाउँदा बेइजिङको र बेइजिङले बोलाउँदा दिल्लीको कालोसूचीमा पर्ने ठान्छन् । विश्व कूटनीतिको अभ्यास नबुझेका र आफूप्रति विश्वास नभएकाहरूमा यो अवस्था देखिन्छ । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा नवीनतम् विकास भइसकेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विचार र वादमा सीमित छैन । राष्ट्रिय स्वार्थको प्राप्ति र संरक्षण नगर्दासम्म वा अर्काको त्यही स्वार्थलाई चोट नपु¥याउँदासम्म सार्वभौम सरकार प्रमुख र नेताले एकअर्काप्रति आक्रमण गर्दैनन्, शक्तिराष्ट्रका हकमा अपवादबाहेक । त्यसैले सीको भ्रमणलाई भारतले कसरी हे¥यो वा सी भ्रमणपछि नेपाल चिनियाँ शिविरभित्र छि¥यो भन्ने कोणको अर्थ रहँदैन ।
सी जुन राष्ट्रमा भ्रमणमा जानुहुन्छ, त्यहाँ एउटा नयाँ थालनी गरेको देखिन्छ । त्यो भनेको रणनीतिक साझेदारीको विकास हो । अहिले संयुक्त वक्तव्यमा नेपाल र चीनबीच रणनीतिक साझेदारी कायम भएको उल्लेख हुनु चिनियाँ कूटनीति हो । राष्ट्रपति सीले भन्नुभएको छ– ‘मैत्रीपूर्ण रणनीतिक सहकार्यको साझेदार सम्बन्ध स्थापना गर्ने निर्णय गरेका छौँ ।’ चीनले नेपालसँग रणनीतिक सम्बन्ध कायम राख्ने प्रस्ताव गर्दा नेपालले स्वीकार्छ  । नेपालका लागि चीन र चीनका लागि नेपाल द्विपक्षीय विकास र पारस्परिक लाभका दृष्टिले मात्र होइन, भूराजनीतिक संवेदनशीलताका कारण पनि आवश्यक छन् । नेपाल र भारतबीच पनि त्यही सम्बन्ध हो । चीनसँग रणनीतिक साझेदारिताको सम्बन्धको अर्थ भारतसँग रणनीतिक साझेदारिता कायम हुनुहुँदैन भन्ने होइन । राष्ट्रपति सीले नेपालप्रतिको चिनियाँ बुझाइलाई फरक तर सम्मानजनक कथनमा रूपान्तरण गर्नुभयो । आफूले नेपाललाई प्राथमिकतामा राखेको र पहिलेदेखि आउन चाहेकोलाई परिपक्व कूटनीतिक लवज मान्न सकिन्छ । तर उहाँले गोरखापत्रको लेखमार्फत प्रयोग गरेका ‘असल छिमेकी’ र ‘असल दाजुभाइ’ को सम्बन्धका शब्दमा नेपाल र नेपालीप्रतिको उच्च सम्मान प्रदर्शित भएको छ ।
सीका विश्वव्यापी प्राथमिकतालाई पनि नेपालले बुझ्नुपर्छ । उहाँसँग नेपालजस्ता सीमा जोडिएका १४ वटा मुलुक छन्, सबैसँग उत्तिकै सुमधुर सम्बन्ध उहाँले विकास गर्नुपर्छ । त्यसैले विश्व राजनीतिक व्यवस्थालाई समेत प्रभावित पार्ने रणनीति विकास गर्ने शक्तिशाली नेताले काठमाडौँ आएर जुन सहयोग र सम्मान दिनुभयो, नेपालको विकासमा यो ‘टर्निङ प्वाइन्ट’ हो । नेपालको तस्बिर बदल्ने मात्र होइन, अन्तर्राष्ट्रिय जगत्मा नेपालप्रति सम्मान आधार हो ।

(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?