logo
२०८१ बैशाख १३ बिहीवार



जनस्तरमा फैलँदो सम्बन्ध (सम्पादकीय)

विचार/दृष्टिकोण |




चीनले नेपालको पूर्वाधार र भौतिक क्षेत्रमा मात्र नभएर मानव संसाधनको विकासमा पनि उल्लेख्य सहयोग गर्दै आएको छ । चीनको सहयोगमा बर्सेनि सयौँ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । नेपाली विद्यार्थीले पूर्ण छात्रवृत्तिमा चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा चीनमा अध्ययनको अवसर पाएका छन् । यसैगरी निजी लगानीमा पनि नेपाली विद्यार्थीले चीनमा अध्ययन गर्ने गरेका छन्  । सन् १९५८ बाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको चीनले हालसम्म साढे छ हजार नेपालीलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरिसकेको छ । यस्तै उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेकाले नेपाल र चीनबीच शैक्षिक अनुभव आदानप्रदानको उचित वातावरण बनेको छ । यस्तो आदानप्रदानले प्रविधि र आर्थिक क्षेत्रमा चीनले प्राप्त गरेको सफलता नेपाली विद्यार्थीले औपचारिक अध्ययन तथा स्थलगत अनुभवबाट सिक्ने र देख्ने अवसर प्राप्त गरेका छन् । यसैगरी चिनियाँ विद्यार्थीले नेपालका भाषा, संस्कृति तथा सामाजिक पक्षमा गहिरो जानकारी लिन सक्ने अवस्था बनेको छ ।
चीनले गतवर्ष इन्जिनियरिङका लागि २६, कृषिमा छ, वनका लागि चार, विज्ञान तथा प्रविधिमा पाँच र मानविकीका लागि एक जनालाई स्नातकोत्तर तहका लागि छात्रवृत्ति उपलब्ध गराएको थियो । आठ जनाले विद्यावारिधिका लागि पनि छात्रवृत्ति प्राप्त गरेका थिए । यसैगरी चीनले काठमाडौँ विश्वविद्यालयसँग मिलेर हालै १५० जना विद्यार्थीलाई हवाई उड्डयन, जलस्रोत, प्रशासन, सार्वजनिक स्वास्थ्यलगायत विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यसका अतिरिक्त चिनियाँ कूटनीति, संस्कृति, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्रजस्ता विषयमा छात्रवृत्ति पाएर चीन जाने विद्यार्थीको सङ्ख्या ठूलै छ । त्रिभुवन विश्वविद्यालयले चीनको सिचुआन विश्वविद्यालयको सहकार्यमा ट्रान्स हिमालय रिसर्च सेन्टर पनि स्थापना गरेको छ । दुवै देशका परम्परा, संस्कृति, भूगोल आदिका बारेमा अनुसन्धान गर्न सो सेन्टर स्थापना गरिएको र हालसम्म त्रिविले एउटा सम्मेलन गरेको छ । हालै चीनबाट १० जना विद्यार्थी नेपाली भाषा अध्ययनका लागि नेपाल आइपुगेका छन् । यस्तो शैक्षिक अन्तरक्रियाबाट भविष्यमा नेपाल र चीनमा विभिन्न क्षेत्रको नेतृत्व गर्ने पुस्ताबीच थप भ्रातृत्व स्थापना हुनेछ ।
नेपालका कतिपय नगरपालिका र चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना गरिएको छ । चीनका सहरमा भएका विकास नमुना र सांस्कृृतिक आदानप्रदान गर्ने उद्देश्यले स्थापित सम्बन्धले नेपाल र चीनको जनस्तरको सम्बन्धलाई अझै नजिक ल्याउनेछ । काठमाडौँ महानगरपालिकाले चीनको सेन्जेन, ल्हसा, सियान, लान्जाओ, छेन्दु सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यस्तै, पोखरा महानगरपालिकाले कुनमिङ्ग, गोन्जाओ, यिविन, लिन्जी, छुसाओ, हाइकाओ नानिङ्ग र बुटवल उपमहानगरपालिका र चीनको सीमान सहरसँग यस्तो सम्बन्ध स्थापित छ । ललितपुर महानगरपालिका र गोन्जाओ, भक्तपुर र छेन्दु, बनेपा र सिगात्से सहरसँग पनि भगिनी सम्बन्ध कायम गरिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणले भगिनी सम्बन्ध थप प्रगाढ हुनेछ । साथै दुई देशका नगरबीचको सहरी पूर्वाधार, विकास, निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्नेछ । यस्ता सम्बन्ध र अन्तरक्रियाबाट नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा पुग्न सहज भएको छ । चीन नेपालको असल छिमेकी मात्र नभएर विकासको साझेदार पनि भएकाले त्यहाँबाट हाम्रा विद्यार्थीले सिक्ने ज्ञान तथा सीप अन्ततः नेपालको समग्र विकासका लागि सुनौला उपहार हुनेछन् । पढाइ, भाषा, पाठ्यक्रम, इन्टर्नसिपजस्ता प्राविधिक पक्षमा रहेका कमीकमजोरी हटाई चीन नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य हुनसक्छ । नेपाली विद्यार्थीले चीनबाट विकासमा समकालीन आयाम सिक्नेछन् । यसैगरी साहित्य, कला, संस्कृति प्रवद्र्धनमा नेपाल र चीनबीच स्थापना भएका औपचारिक तथा जनस्तरका सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पु¥याउन दुवै देशमा उच्चस्तरको राजनीतिक भ्रमण, सरकारी नेतृत्वबीच निरन्तर सम्पर्क तथा संवाद हुन त्यत्तिकै आवश्यक हुनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?