logo
२०८१ बैशाख ८ शनिवार



सभ्यताको पुनःउदयमा सीका पाइला

विचार/दृष्टिकोण |




हिमाल न्यौपाने

‘वर्तमान समयका लागि इतिहासको खास अर्थ छ । आमनागरिकसँग विगतका सम्झनाहरूमात्र हुन्छन् । तर, एउटा देशको सम्झनामा इतिहास हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो शासकीय कार्यकालको सबैभन्दा उत्कृष्ट लयमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आफ्नो शासकीय वैधता लिनेक्रममा चुनावी अभियान चलाउँदा विकासमा छिमेकी चीनको भरोसा आफूसँग छ भनेर सम्झाउनुभएको थियो ।
त्यो वाणीलाई जनताले पत्याउँदै दृढतापूर्वक समर्थन गरे । आज चीनका राष्ट्रपति सी चिनफिङलाई काठमाडौँको रमणीय शारदीय मौसममा स्वागत गरेर प्रधानमन्त्री इतिहासमा दुई सभ्यताको पुनःउदयलाई सम्भव तुल्याउँदै हुनुहुन्छ ।
राष्ट्रपति सी चिनफिङका लागि पनि एउटा यस्तो छिमेकको भ्रमण हो, जसले उहाँले व्युँताउन खोजेको चिनियाँ सभ्यतासँग आफ्नो सीप र कला साटेको छ । त्यसैले यो भ्रमणको ऐतिहासिकतालाई सीको उदयका आधारसँग जोडेर बुझ्नुपर्छ । सीको उदयका ऐतिहासिक आधारलाई नियालौँ ।
चीनसँग पाँच हजार वर्ष पुरानो सभ्यता र दुई हजार वर्ष पुरानो साम्राज्यको परम्परा छ । सन् १८४० अगाडि चिनियाँ सभ्यता विशिष्ट प्रकारको ट्रिव्युट प्रणालीमा चल्थ्यो, जुन ‘कन्फ्युसियस डक्ट्रिन’मा आधारित थियो । सन् १८४० चीनका लागि पहलो ‘ट्रर्निङ प्वाइन्ट’ थियो । त्यतिबेला एकपछि अर्को गरी चीन तत्कालीन विश्व शक्तिहरूद्वारा पाँचपटक पराजित हुन पुग्यो । यसले चीनको शासकीय निरन्तरता र सभ्यताका आधारहरू भङ्ग ग¥यो । त्यतिखेर संसारको सबैभन्दा विशाल र ऐतिहासिक साम्राज्यको मौलिक ट्रिव्युट प्रणाली समाप्त हुँदै थियो । र, चीन सार्वभौम राज्य प्रणालीमा बदलिन बाध्य थियो ।
त्यसउप्रान्त चिनियाँ सभ्यता र साम्राज्य, पश्चिमा शक्ति र दर्शनको प्रयोगले लगभग ध्वस्त हुन पुग्यो । आधुनिक इतिहासमा चीनमात्र यस्तो देश हो, जसलाई आठवटा विश्व शक्तिले पराजित गर्न पुगे र चिनियाँ बजार पूरै खुला गर्न बाध्य पारे । यसले चीनको परम्परामा आधारित समाज र बजारमात्र होइन, बलियो साम्राज्यलाई पूरै धुजाधुजा पा¥यो । यसरी सन् १८४० देखि १९४५ सम्मलाई चीनमा ‘सेन्चुरी अफ सेम’ वा राष्ट्रिय लज्जाका रूपमा मानिन्छ ।
कतिपयले त्यसलाई चिनियाँ कम्युनिस्टहरूले शक्ति हासिल गर्न र सत्तामा टिकिरहन बढाइ–चढाइ गरेकोसमेत भन्छन् । तर, यो राष्ट्रिय लज्जाको विषय बढाइ–चढाइ थिएन किनकि १९४९ मा सत्ता कब्जापछि बाह्य विश्वसँग माओले बदलाको भाषा बोल्नुभएन र व्यवहार गर्नुभएन । उहाँले भन्नुभयो, ‘समस्या चीनभित्र छ, बाहिर हैन ।’ अर्थात् आन्तरिक कुरा प्रधान हो भने बाह्य कुरा कारणमात्र हो । यसरी सन् १९४९ चीनका लागि अर्को ट्रर्निङ प्वाइन्टका रूपमा आयो, त्यो आन्तरिक र बाह्य दुवै रूपमा ।
आन्तरिक रूपमा अक्टोबर १, १९४९ मा माओले विश्व मानचित्रमा नयाँ देशका रूपमा जनवादी गणतन्त्र चीन घोषणा गर्नुभयो । बाह्य रूपमा यसले विश्व मानचित्रमा चिनियाँ साम्राज्यले आफू उभिने आधार तयार गर्दै थियो । यसका लागि कष्टपूर्ण तरिकाले विगतबाट पाठहरू सिकेर अघि बढ्न तयार हुनुप¥यो । यो यथार्थलाई स्वीकार गर्दै सन् १९४९ मा माओले भन्नुभयो– चिनियाँ साम्राज्य उठ्नु पर्छ र त्यो जिम्मा हामीले लिएका छौँ ।
तर, माओले परिकल्पना गरेको बलियो चिनियाँ साम्राज्य खडा गर्न सहज भएन । सन् १९५० मा छिमेकमै कोरियन लडाइँ सुरु भयो । स्वतन्त्रताको एक वर्ष बत्नै लाग्दा सुरु भएको यो लडाइँमा चीन उत्तर कोरियाको पक्षमा होमियो । यो लडाइँका दुईवटा परिणामहरू देखिए– पहिलो, अमेरिका र चीन पहिलोपटक आमनेसामने भएर लडे । यसबाट अमेरिकाले चीनलाई किसान र खन्चुवाको देशमात्र नभई, लडाइँ लड्न सक्ने शक्तिका रूपमा पहिलोपटक स्वीकार ग¥यो । तर, अर्कोतर्फ चीन कूटनीतिक रूपमा थप एक्लियो भने आर्थिक रूपमा थप पछाडि धकेलियो, राजनीतिक रूपमा थप कमजोर बन्यो । यसले चीनलाई राजनीतिक र आर्थिक दुवै अर्थमा सोभियत सङ्घसँग थप परनिर्भर बनायो ।
बलियो चिनियाँ साम्राज्य निर्माण गर्ने माओको रणनीतिसँग यसले मेल खाएन । तैपनि माओले चीनलाई उभ्याउने प्रयत्न जारी राख्नुभयो । त्यसपछिका केही वर्षहरू निकै उतारचढावयुक्त रहे । चीन र सोभियत सङ्घको सम्बन्धमा दरार, चीन थप एक्लिनु र न्युक्लियर पावरको विकास, साँस्कृतिक क्रान्तिको ज्वारभाटा र अन्ततः सोभियतविरुद्धको मोर्चामा सामेल हुँदै अमेरिकासँग जोडिन पुग्नु माओकालीन चीनका घटनाहरूले ऐतिहासिक महŒव राख्छन् ।
माओकालीन समयलाई बिदा गरेपछि सन् १९७६ र १९७९ सम्मको चार वर्ष सङ्क्रमणकाल थियो । चिनियाँहरूले यो चार वर्षमा माओकालीन ३० वर्षलाई पछाडि फर्केर हेरे । बाँकी विश्व र छिमेक खासगरी दक्षिणमा जहाँ चिनियाँमूलका नेताहरूको हातमा रहेका उदाउँदा अर्थतन्त्र नियाले र अन्तरक्रिया गरे । यसबाट एउटै प्रश्न उठ्यो– यति बलियो र एकत्रित चीन ३० वर्षमा किन अति नै गरिब भयो र पछाडि धकेलियो ? यही जटिल प्रश्नको उत्तर खोज्दै सन् १९७९ मा देङ सियाओ पिङले चीनको नेतृत्व लिनुभयो । व्यक्तिगत तहमा देङले विश्वलाई हेर्ने दृष्टिकोण फरक थियो । उहाँले भन्नुभयो, ‘पछिल्ला तीस वर्षमा कुनै विश्वयुद्ध भएन र अब तत्काल हुनेवाला पनि छैन । त्यसैले बाह्य सतर्कता हैन, शान्तिपूर्ण पुनर्निर्माणमा केन्द्रित हुनु सबैभन्दा उत्तम हो ।’
यसरी सुधार र खुलापनको देङ विचारधारा अगाडि आयो । यसलाई तीनवटा मुख्य धारणामा सङ्क्षेपीकरण गर्न सकिन्छ । देङले भन्नुभयो– वादका आधारमा कम्युनिजम वा पुँजीवाद कुन ठीक वा बेठीक हो भन्ने बहस अस्वीकार्य हुनेछ । अन्तर्राष्ट्रिय रूपमा सोभियत र अमेरिका दुवै सुपरपावरका अगाडि चुपचाप बस । तर, सोभियत युनियनभित्रभित्रै अशान्त भएकाले भूराजनीतिक हिसाबमा बढी खतरा हुन सक्छ । यसलाई सावधानीपूर्वक नियाल ।
आन्तरिक रूपमा भने चारवटा मुख्य आधारलाई तीव्र आधुनिकीकरणमा लैजाने रणनीतिहरू तयार भए । पहिलो कृषि, दोस्रो उद्योग, तेस्रो सेना र चौथो सूचना प्रविधि । र, अन्त्यमा एकैरातमा निकै ठूलो परिवर्तन असम्भव छ । त्यसैले चरणबद्ध विकासका रणनीतिमा जाऊ । अहिले पनि सी रणनीतिका दुई शताब्दी लक्ष्यहरू यही सूत्रको वरिपरि तय भएका हुन् ।
देङका यस्ता नीतिहरूको आन्तरिक र बाह्य दुवैमा व्यापक प्रभाव प¥यो । सन् १०८० मा चीनको बाह्य विश्वमा सबैसँग सम्बन्ध सुमधुर रहन पुग्यो । अमेरिका, युरोप र जापान लगभग सबैसँग चीनको सम्बन्धमा सुधार भयो । चीन तटस्थ देखिए पनि यसमा सबै शक्तिराष्ट्रका आ–आफ्नै स्वार्थ थिए ।
देङ सियाओ पिङले सत्ता हस्तान्तरण गर्ने समय सन् १९९० मा विश्व राजनीति र चीनको घरेलु राजनीति झनै पेचिलो बन्यो । पूर्वी युरोप र सोभियत कम्युनिस्ट ब्लक तासको घर ढलेजस्तै एकपछि अर्को ढल्दै थियो भने चीनभित्र आर्थिक सुधारको प्रतिफल सीमित व्यक्तिका हातमा पुगेको भन्दै असन्तुष्टि चुलिएको थियो । तर, यो चौतर्फी सङ्कट नियाल्नुभएका देङले भन्नुभयो, ‘जुनसुकै बहानामा पनि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व फेरिने छैन र चीनभित्रको सुधार पनि रोकिने छैन । बाह्य रूपमा अझै बढी चुपचाप रहेर आन्तरिक विकासमा जोड दिइनेछ ।’ यही नीतिलाई जियाङ जमिनले पछ्याउँदै चीनलाई विश्व व्यापार प्रणालीमा जोड्नुभयो भने हु जिन्ताओले विकासका पूर्वाधारको तीव्र आधुनिकीकरण गर्नुभयो ।
यसरी लगभग दह्रो गरी टेकेर उभिँदै गरेको चिनियाँ सामाज्यले फेरि विश्वव्यापी असरहरू देखाउन थाल्यो । यसैको प्रभाव स्वरूप नयाँ पुस्तामा सत्ता हस्तान्तरणका बेला केही रणनीतिगत बहसहरू उठे– एकैपटक थप आक्रामक ढङ्गले उपस्थिति जनाउने या क्रमबद्ध र योजनाबद्ध ढङ्गले अघि बढ्ने । दोस्रो पक्ष हाबी भयो, जसले पार्टीमा सुधार र योजनाबद्ध ढङ्गले चिनियाँ सभ्यताको उदयलाई अघि बढाउन चाहन्थ्यो । त्यसको नेतृत्व सी चिनफिङले गर्नुभयो । सीले भन्नुभयो– नयाँ शताब्दीमा चीनले अब रणनीतिक विचार अघि सार्नेछ । यसमा सरसर्ती पाँचवटा मुख्य पक्षहरू हुनेछन् । पहिलो, चिनियाँहरूको एकमात्र सपना हुनेछ– चिनियाँ सभ्यताको उदय । सीको नेतृत्वमा चिनियाँ सभ्यताको उदयले दुईवटा रणनीतिक सन्तुलनलाई पछ्याएको छ । पहिलो घरेलु र दोस्रो बाह्य । पहिलो, घरेलु रणनीतिमा उत्पादनको चक्र अनुसन्धानमा आधारित छ ।
राष्ट्रपति सीले भन्नुभयो, “सन् २०१३ पछि चीनले ‘वर्कसप’को पहिचान बदल्नेछ । र, आफ्नै अनुसन्धानमा आधारित प्रविधि र उत्पादनमा जानेछ । दोस्रो, बाह्य रणनीतिमा विदेश नीति लक्ष्यमा आधारित हुनेछ । चीनले इमर्जिङ पावर (उदीयमान शक्ति)को हैसियतबाट माथि उठेर ग्रेट पावर (महाशक्ति) को लक्ष्य तय गर्नेछ ।’ यसरी चीनले राष्ट्रपति सीको नेतृत्वमा आफ्नो दुई हजार वर्ष पुरानो ऐतिहासिक गौरव र समृद्धि फर्काउने लक्ष्य तय गरेको छ ।
यो लक्ष्य हासिल गर्न राष्ट्रपति सीले एकपछि अर्को गरी निकै योजनाबद्ध देखिने वान बेल्ट वान रोड (ओबर) को रणनीतिक मार्ग चित्र अघि सार्नुभयो । सुरुका वर्ष ओबर आन्तरिक रूपमा आवश्यक उत्पादनका नयाँ आधारहरू तयार गर्न र बाह्य रूपमा मित्रहरूको घेरा निर्माणमा केन्द्रित देखिन्थ्यो । पछि ओबर रणनीतिको विकासक्रम निकै द्रुत ढङ्गले भयो । तर, राष्ट्रपति सीले यसलाई निकै सावधानीपूर्वक नरम रणनीतिका रूपमा व्याख्या गर्दै जानुभयो, जसले गर्दा पश्चिमा स्थापित शक्तिलाई यसको विरुद्धमा विश्वमत खडा गर्न धौ–धौ प¥यो । यो नरम कूटनीतिक प्रयोगमा राष्ट्रपति सी अब्बल साबित हुनुभयो ।
शताब्दीयौँ पुरानो सिल्क रोडलाई पुनर्जीवन दिने परिकल्पना गरेर राष्ट्रपति सीले नयाँ सिल्क रोडको पुनः रेखाङ्कनको आभास दिलाउनुभयो । यो भिजनको व्याख्या गर्दै राष्ट्रपति सीले भन्नुभयो, “रेशममार्गवरिपरि संयुक्त रूपमा आर्थिक घेरा बनाउनुपर्छ । यस बाटोमा पर्ने सबै देशका मानिसलाई फाइदा हुने यो एउटा ठूलो व्यवसाय हुनेछ । यस परिकल्पनालाई वास्तविकतामा परिणत गर्नका लागि हामीले कुनै खास क्षेत्रबाट काम प्रारम्भ गर्न सक्छौँ र पछि सम्पूर्ण क्षेत्रलाई ढाक्ने गरी यसलाई जोड्न सक्छौँ ।’’
मूलतः यही रणनीतिमा टेकेर १४ मे २०१७ मा बेइजिङमा पहिलो बीआरआई फोरम सम्पन्न भयो । यो फोरममा नेपालसहित २९ देशका सरकारका प्रतिनिधि तथा राष्ट्रप्रमुखहरू सहभागी थिए । जुलाई २०१८ मा बीआरआई फोरमको दोस्रो संस्करण आयोजना भयो । एक सयभन्दा धेरै देशहरू र अन्तर्राष्ट्रिय सङ्घ संस्थाले बीआरआई फ्रेमवर्कअन्तर्गत सहायता लेनदेनमा नेपालले पनि सम्झौता ग¥यो । यसमध्ये दुई देशबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारी उल्लेखनीय हो । यही फोरममा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले भाग लिनुभयो । नेपालको यो उच्चस्तरीय सहभागिताको गुन तिर्न र मित्रहरूको घेरालाई थप कसिलो बनाउँदै चिनियाँ सभ्यताको पुनःउदयको रणनीतिक उद्देश्य हासिल गर्न सी चिनफिङ नेपाल भ्रमणमा हुनुहुन्छ ।
सीको नेतृत्वमा हुन लागेको चिनियाँ सभ्यताको पुनःउदयले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षासहित प्रधानमन्त्री ओलीको नेतृत्वमा उठ्न खोजेको नेपाली सभ्यताको विकासमा कस्तो असर पर्ला भन्ने प्रश्नको उत्तर अबका दिनमा नेपाल–चीन सहकार्यले दिँदै जानेछ ।

(लेखक चिनियाँ कूटनीतिमा पोस्टग्य्राजुयट हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?