मेलमिलापको सामाजिक पर्व

विचार/दृष्टिकोण |




विनायकप्रसाद धिताल

नेपालीको दशैँ सांस्कृतिक र सामाजिक कारणले मौलिक र भिन्न छ । नेपालीपनको झल्को र चारित्रिक विशेषता, हार्दिकता, मैत्रीपूर्ण र स्नेहपूर्ण व्यवहार यसमा पाइन्छ । त्यसैले दशैँ हिन्दु र गैरहिन्दु सबै नेपालीले धर्म निरपेक्ष भएर मनाउने राष्ट्रिय चाड हो ।
दशैँको उत्पत्ति कुन शताब्दीबाट सुरु भयो भन्ने यकिन तथ्य छैन । पाटन च्यासलटोलस्थित लिच्छवि अभिलेखमा दशमी गोष्ठी शब्द पाइनुले त्यस कालदेखि नै दशैँ मनाउने गरिएको अनुमान लगाउन सकिन्छ । त्यसपछि मल्लकालमा ‘थ्यस वु’ (पट्याएर बनाइएको पुस्तक) मा मल्लकालमा दशैँ धुमधामसँग मनाइन्थ्यो भन्ने छ । श्रीमद् देवीभागवतमा चार नवरात्रको उल्लेख गरिएको छ । जसअनुसार एक वर्षको चार ऋतुमा वसन्त ऋतुको दशैँ चैतमा, गृष्म ऋतुको दशैँ असारमा, शरद ऋतुको आश्विनमा, शिशिर ऋतुको माघ महिनामा मनाइने गरिन्छ । श्रीमद् देवीभागवतको श्लोकअनुसार “आश्विने मधुमासे वा तपोमासे शुचौ तथा ÷ चतुर्थु नवरात्रेषु विशोष्पात्फलदायकम् र साथै देवी भागवतको तृतीयस्कन्ध अध्याय ३० मा ४ देत्यहरूको वध अथवा बलिमा विष्णुले मधुकैटभ, महादेवले त्रिपुरासुन्दर, इन्द्रले वृत्तासुर श्रीरामले रावणको वधकार्य देवीको नवरात्रि पूजाबाट सम्पन्न गरेको पाइन्छ । त्यसबाट चार नवरात्रको पुष्टि मिले पनि वर्तमानमा असार र माघ महिनाको नवरात्र पूरै हराइसकेको छ ।
आश्विन कृष्णपक्षमा सोह«श्राद्ध तथा पितृ विसर्जन गरेपछि आश्विन शुल्कपक्ष प्रतिपदा तिथिबाट नववरात्र सुरु हुन्छ । चतुर्मास अन्तर्गतको आश्विन महिनामा देवीस्वरूपा महाकली महालक्ष्मी, महासरस्वतीका केन्द्रीय शक्ति दुर्गादेवी भएकी हुँदा उनैको पूजा आराधना गरिन्छ । जसलाई नवरात्री भनिन्छ । यी दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदातृको प्रायः घरमा र विशेष शक्तिपीठ मन्दिरमा चण्डिपाठबाट पूजा अनुष्ठान हुन्छ । चण्डीपाठमा आस्था राख्ने भक्तजनले आफ्ना वर्ण अनुसार ब्राह्मणले ब्राह्मणकन्या, क्षत्रीयले क्षत्रिय कन्या, वैश्यले वैश्य कन्याको पूजा गर्ने गरिन्छ ।
ती कन्याहरू दुई वर्षकी कुमारी, तीन वर्षकी त्रिमूर्ति, चार वर्षकी कल्याणी, पाँच वर्षकी रोहिणी, छ वर्षकी काली, सात वर्षकी चण्डिका, आठ वर्षकी शाम्भवी, नौ वर्षकी दुर्गा, दश वर्षकी सुभद्रा आराध्य हुन्छन्, पूजिन्छन् । आफ्ना वर्ण आस्थाअनुसार कुमारी कन्याहरूको पूजा सम्मान र पुजिए पनि चण्डीपाठ हुने शक्तिपीठहरूका पुजारी समावेशी आधारमा विभिन्न वर्णजातिका मानिस पुजारी नियुक्त गरिएका छन्् । जसअनुसार काठमाडौंस्थित गुह्येश्वरीमा नेवार समुदायका पोडे, गोर्खा जिल्लाको मनकामना, कालीका मन्दिर अन्य मन्दिरमा मगर, कालीकोटको देवी मन्दिरमा सार्की, तराईका धेरै मन्दिरमा विभिन्न जातिका पुजारी पाइन्छन् । दशैँ अनुष्ठानको पूजा अर्चनाले छुवाछूत र जातीय भेदभावलाई मान्यता दिएको पाइँदैन । नेपाली हुनुको गौरव र एकत्वको भावना जगाउन दशैँको महŒव र मान्यता सर्वाधिक छ ।
शारदीय बडादशैँमा सरकारको तर्फबाट सरकारी कार्यालय, विद्यालयमा विशेष बिदा दिने, सप्तमीमा फूलपाती भिœयाउने, सदर टुँडिखेलमा पल्टनहरूको कवाज खेलाउने, तोप पड्काइ हर्षबढाइँ गर्ने आदि रौनक र चहलपहल हुन्छ । दुर्गा भवानीको पूजा आराधना गर्ने, भवानीको प्रसादका रूपमा टीका जमरा ध्वजा लगाउने काम बिशेष व्यवसायले स्वदेश तथा विदेशमा छरिएर रहेका परिबारजन, इष्टभित्रसँग भेटघाट गर्ने, नातासम्बन्धमा न्यानोपन खुसियाली ल्याउने चाड दशैँ हो । अनि वयोवृद्ध वृद्धाहरूले छोराबुहारी नाति नातिना लगायतसँग भेटघाट भलाकुमारी गरी तत्कालीन सन्तोष र आनन्द लिने, अर्को वर्षको अपेक्षा गर्ने चाड पनि दशैँ हो ।
प्रायः गाउँघरमा दशैँ सुरु हुनु अघिदेखि नै मानिसहरू घर लिपपोत गर्न सिँगार्न, गोठ, बाटो, चोक सफासुग्घर गर्नेमा लाग्छन् । ऋण काढेर भए पनि खर्चको जोहो गर्दछन् । फरक जिल्लामा रहेका र विदेशमा रहेका व्यक्तिहरू समेत आफ्नो मौलिक घरमा भेटघाट र जम्मा हुन लालायित हुन्छन् । नवरात्रि प्रारम्भ भएपछि काठमाडौँलगायत अन्य विभिन्न जिल्लाका शक्तिपीठ तथा मन्दिरमा मालश्रीको धुन बज्दछ । भक्तजनहरूको घुइँचो हुने गर्दछ ।
समय परिवर्तनसँगै दशैँमा परिवर्तन धेरै देखिन थालेको छ । पहिलेको लाहुरे जमानामा विदेशबाट दशैँका निमित्त पुख्र्यौली घर फर्किएकाहरू शरदऋतु विशेषमा चारैतिर फुलेका फूलका दृश्य, डाँडाकाँडा हेरेर रमाउँथे । आफन्तसँग गाउँका चौर र चौतारामा गफ हाँक्दै रमाइलो गर्दथे । हिलोमैलो र पानीको वर्षाद नहँुदा ठाउँठाउँमा निर्माण भएका लिङ्गेपिङ, जाँतेपिङ, रोटेपिङ, तौलेपिङ आदिमा रमाउँदै चाडवाडमा धर्ती छोड्नुपर्दछ भन्ने मान्यता थियो । अझै कतिपय ठाउँमा त्यो परम्परा जीवितै छ । झनै रसिलाहरू चाहिँ वरपीपलको हाँगा जरामा पिङकै रूप सम्झेर मच्चिन्थे । ससाना बालबालिका दशैँको गीत रच्दै पाती फुल्यो, दशैँ आयो, खाउँला पिउँला..गीतको भाकामा रमाउँथे । त्यतिबेला नयाँ लुगा लगाउने, यथेष्ट मासुभात मीठो मसिनो खाने अवसर दशैँ नै हुन्थ्यो । अरू एकादशी तिथिमा मासु खान निषेधित भए पनि दशैँ पक्षको एकादशी तिथिमा मासु खान बन्देज हुँदैनथ्यो । त्यसैले दशैँको आकर्षण र महत्ता बढी थियो ।
वर्तमानमा सञ्चारको नौला प्रविधि, नयाँ व्यवसाय र उत्पादन आदिका कारणले दशैँ बढी तडकभडक, फजुलखर्ची र मनोरञ्जन हावी हुन गएको छ । यसको अन्य कारण बढ्दो आर्थिक निर्भरतालाई लिन सकिन्छ तर आपसी भेटघाट, शुभकामना आदानप्रदान र मान्यजनको हातबाट टीकाजमरा र आशीर्वाद ग्रहण आदिमा कुनै कमी आएको छैन । वामपन्थी नेता लेखक मोदनाथ प्रश्रित भन्नुहुन्छ– “अरू बखत जुनसुकै धारणा व्यक्त गरे पनि दशैँ विशेषको सन्दर्भमा” बडादशैँ त कुमाउँदेखि बर्मासम्मका नेपालीले मनाउने चाड हो, यस क्षेत्रमा विभिन्न नाउँमा गरिने शक्तिपूजामा सबै जातजतिको उत्तिकै आस्था देखिन्छ । शक्तिपूजा र मातृपूजा हिन्दुहरूको मात्र मान्यताभित्रको कुरा होइन ।”
स्वामी प्रपन्नाचार्यको भनाइअनुसार सबै नेपाली हिन्दु नै हुन् । पछि पछि कसैले अरू धर्म ग्रहण गरेका छन् । बडादशँै नेपालीकै हो, गैरहिन्दू भए पनि सबै नेपालीलाई दशैँ मान्ने छुट छ । कविवर माधव घिमिरे दशैँले मातृ प्रधानता लाई महŒव दिएको मान्नुहुन्छ । दुर्गापूजामा स्थापना गरिने पूर्ण कलशलाई गर्भिणी नारीको कोख र नवरथाको ९ दिनलाई ९ महिनाको कोखको बच्चा (भ्रूण) पूर्ण हुने समयावधि र दशौं महिनामा बच्चा जन्मने आधार लिएर विजयादशमी सम्बोधन भएको हो ।

(लेखक ज्येष्ठ नागरिक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?