logo
२०८१ बैशाख ११ मंगलवार



खुला दिसामुक्त : स्वास्थ्य र सभ्यता (सम्पादकीय)

विचार/दृष्टिकोण |






नेपाल सम्भवतः दक्षिण एसियामा नै पहिलोपटक खुला दिसामुक्त मुलुक भएको छ । देशभरिका सबै घरमा शौचालय निर्माण गरिएपछि सोमबार औपचारिक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुभएको छ । उहाँले खुला दिसामुक्त राष्ट्र भएसँगै देश पूर्ण सरसफाइमा अग्रसर भएको घोषणा गर्दै सन् २०३० सम्म नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने महाअभियानमा सक्रिय सहभागी हुन सबै नेपालीलाई आह्वान गर्नुभएको छ । खुला दिसामुक्त राष्ट्र घोषणाले सभ्य समाजको परिचय मात्र नभएर नागरिकको चेतनाको स्तर पनि प्रदर्शन गर्नेेछ । नेपालमा पूर्ण सरसफाइको अवधारणा अनुसार सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताह मनाउन थालिएको थियो । यद्यपि नेपाली समाज सरसफाइप्रति इतिहासदेखि नै सचेत थियो भन्ने लिच्छविकालीन सभ्यताले पुष्टि गर्दछ । बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण, बाक्लो बस्ती, विपन्नताजस्ता कारण घरघरमा शौचालय निर्माण गर्न नसकेर खुला शौचालयका रूपमा सडक, खेतबारी र खुला चौरलाई प्रयोग गर्न थालिएपछि एकातिर असभ्यता प्रदर्शन भएको थियो भने अर्कोतिर सरुवा रोगको महामारीलाई यस्तो फोहरले सघाउँदै आएका थिए । सन् २००३ मा समुदायको अगुवाइमा पूर्ण सरसफाइ अभियान र सन् २००६ मा विद्यालयको अगुवाइमा यस्तो अभियान कार्यान्वयनसँगै नेपालले स्थानीय निकाय÷तहलाई खुला दिसामुक्त घोषणा गर्न प्रेरित र सहयोग गर्दै आएको थियो । यसैक्रममा आज नेपालले आफ्नो घोषित उद्देश्य प्राप्त गरेको छ । सन् २०११ मा सरसफाइ गुरुयोजना बनाएर पूर्ण सरसफाइका विभिन्न चरण र सूचक लागू गरेको नेपालले सन् २०१७ सम्म मुलुकका सबै घरमा शौचालय निर्माण अभियान सञ्चालन गरेको थियो ।
कतिपय स्थानीय निकाय÷तहले चर्पी नबनाउने घरवासीलाई सिफारिस वा कुनै पनि प्रकारका सुविधा नदिने बताएका पनि थिए । यस्ता सक्रियतालाई सकारात्मक परिणामका लागि चालिएका बाध्यात्मक पहल थिए भन्नुपर्छ । परिणामस्वरूप नेपाल एसियामा पहिलोपटक खुला दिसामुक्त मुलुक बन्न पुगेको छ । खासगरी स्थानीय तह, तत्कालीन स्थानीय विकास मन्त्रालय, खानेपानी मन्त्रालय र स्थानीयवासीको व्यापक सहभागिता र परिचालनमा यस्तो परिणाम प्राप्त भएको छ, यद्यपि सन् २०१७ मा नै नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने लक्ष्य राखिएको भए पनि दुई वर्षपछि मात्र लक्ष्य पूरा भएको छ । खुला दिसामुक्त अभियान सिधै मानव स्वास्थ्यसँग जोडिएको हुन्छ । यसबाट हैजा, पखाला, ज्वरोजस्ता समस्याको निराकरणलाई सघाउने भएकाले यसलाई राष्ट्रिय अभियानभन्दा पनि जनचेतनामार्फत निरन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ । चर्पी निर्माण अभियानले बालमृत्युदर घटाएको खानेपानी मन्त्रालयले दाबी गरेको सन्दर्भलाई यहाँ बिर्सन हुँदैन । यसबाट नेपालीको औसत उमेरमा वृद्धि भएको सङ्केत देखिएको बताइएको पनि छ । यसर्थ सरसफाइ मानव जीवनका लागि अति आवश्यक सर्त हो भन्नेमा नागरिक सचेत हुनैपर्छ ।
सरकारको स्थायित्वसँगै नेपालले प्रगतिका विभिन्न शृङ्खलामा सफलता हासिल गरेको छ । प्रधानमन्त्री ओलीले खुला दिसामुक्त राष्ट्र घोषणासँगै सन् २०३० सम्म नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्ता अभियान सरकार एक्लैले सञ्चालन गर्न सम्भव हुँदैन । स्थानीयवासी नै यस्ता अभियानका अभियन्ता भई आफ्नो घर, गाउँ समाज र देश सफा राख्न प्रत्येक नेपालीले स्वयं जिम्मेवारी दिनुपर्छ । कतिपय विकसित मुलुकका सडकमा थुक्नसमेत नपाइने व्यवस्थाको अनुभव गरेका नेपाली सडकलाई चर्पी र डम्पिङ्साइट बनाउनु हाम्रो सभ्यता विपरीत हुनेछ भन्नेमा सचेत हुनैपर्छ । कुनै पनि मुलुक वा संस्थाले हामीलाई यस्तो कुरा सिकाउनु शोभनीय हुनेछैन । जहाँसम्म यस्ता अभियानमा आन्तरिक र बाह्य स्रोत परिचालन गर्ने सन्दर्भ छ त्यसलाई स्वाभाविक रूपमा लिँदै सरसफाइप्रति नेपालीले सचेतना र संवेदन प्रदर्शन गर्नैपर्छ । खुला दिसामुक्त देश घोषणासँगै नेपालले गर्नुपर्ने थप गृहकार्यको आवश्यकता देखिएको छ । खासगरी सडक आश्रित व्यक्तिले जथाभावी गर्ने दिसापिसाब र सार्वजनिक शौचालयलको अभावविरुद्ध अबका कार्यभार केन्द्रित हुनुपर्ने देखिन्छ । सरसफाइयुक्त देशको अभियान सफल बनाउन घर, बस्ती, सहर, राजमार्गमा सार्वजनिक शौचालय निर्माण र उपभोगमा अभ्यस्त हुनुलाई अब संस्कृतिका रूपमा विस्तार गर्नुपर्छ । साथै सरसफाइका विश्व सूचक प्राप्त गरी सन् २०३० सम्म नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउन सकिने सम्भावना हालैको सफलताले पुष्टि गरेकाले अबको यात्रा यसरी नै सुरु गर्नुपर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?