logo
२०८१ बैशाख ७ शुक्रवार



त्यागौँ अराजकताको अविछिन्नता

विचार/दृष्टिकोण |




डा. अतीन्द्र दाहाल राजनीति विभिन्न ज्ञाताबाट फरक–फरक हिसाबले परिभाषित छ । फोहोरी खेलदेखि सम्भावनाकोे पुञ्ज, समृद्धिको आधारसमेत भनिएको छ । पाश्चात्य ज्ञान–साहित्यका एक अद्वितीय प्रणेता तथा राजनीतिशास्त्रका पिता मानिने दार्शनिक अरस्तुले राजनीतिलाई ‘विज्ञानकी रानी’ भन्नुभएको छ । सचेत मानसिकताका विषयमा अधिक रुचाइएका पुस्तकहरूका लेखिका एमी मोरिनको एक अनुसन्धानबाट आजकालका युवाबीच छलफलको मुख्य विषय नै राजनीति देखिन्छ, दोस्रो र तेस्रोमा क्रमशः खेल र प्रेम, यौन पर्छन् । यद्यपि, हरेक विषयमा बुझाइको निर्माण तीन फरक आधारबाट हुन्छ । पहिलो ‘इटिमोलोजी’ अथवा कुनै शब्दको आधारभूत वर्णविन्यास र संरचना निर्माण केलाउनु हो । परिभाषात्मक र प्रयोगात्मक आधार अन्य दुई उपाय हुन् ।

राजनीतिशास्त्रका अधिकांश प्रारम्भिक तथा प्रधान स्रोतहरूमा राजनीति अथवा अङ्गे्रजीको ‘पोलिटिक्स’ शब्द तत्कालीन ल्याटिन भाषाको ‘पोलिस’ अथवा ‘पोलिटिक’ बाट व्युत्पन्न भएको मानिन्छ । ‘पोलिस’ को अर्थ सहर हो । राज्यको अस्तित्व नभएको त्यस समयमा सहर नै समाजको उपल्लो निकाय भएकाले सहरको व्यवस्थापन, सञ्चालन तथा समृद्धिमा आवश्यक कामलाई ‘पोलिटिक्स’ अथवा राजनीति भनेको देखिन्छ । अर्काथरी दार्शनिकका अनुसार ‘पोलिटिक’ शब्दबाट (जसको अर्थ सभ्य, स्वीकार्य, संयमित हुन्छ) ‘पोलिटिक्स’ को व्युत्पन्न भयो, तसर्थ राजनीति एक सभ्य, स्वीकार्य, संयमित तथा शोभनीय कार्य तथा व्यवहारको संयोजन हो । यद्यपि, हाम्रो राजनीतिमा पछिल्लो समय केही असभ्य, अस्वीकार्य, असंयमित उच्छृङ्खल अराजकताको अविछिन्नताले प्रश्रय पाउँदै छ । यस्ता गविविधिहरू विशुद्ध एकपक्षीय पूर्वाग्रही उद्देश्यले पे्ररित रहन्छन् ।

प्रतिनिधि घटनाहरू

हालै प्रमुख प्रतिपक्षी दलबाट आफ्नो दलका बाँके जिल्ला सभापतिमाथिको आक्रमणलाई लिएर लगातार संसद् अवरोध भयो । नेता वा नागरिक कसैमाथि साङ्घातिक हमला क्षम्य हँुदैन । कुनै एक दलले सरकार बनाए पनि सरकार बनेपछि त्यो सम्पूर्ण नागरिकको सरकार हुन्छ । प्रतिपक्षले दबाब नदिँदासमेत तदारुकतासाथ अनुसन्धान र दोषीलाई आवश्यक कारबाही गर्न सरकार तयार हुनुपर्छ र भएको होला । तर, आफ्ना नेतालाई भएको अभद्र व्यवहारमा निकै कोकोहोलो गर्ने दलले पर्यटनमन्त्रीमाथि भएको सुनियोजित, अभद्र, अस्वाभाविक तथा अपमानजनक व्यवहारमा निःशब्दताको सङ्कल्प गर्नु अराजकताको समर्थन र पक्षपोषण होइन र ? प्रायोजित अमूक व्यक्तिले पदसोपनको मान्यतासमेत बर्खिलाप गर्दै मन्त्रीलाई गरेको बहुलठ्ठी र अभद्र व्यवहारले केही दिन चर्चा बटुल्यो । यो उच्छृङ्खलता अराजकताको अर्को नमुना थियो । मन्त्रीको क्षमायाचना, संयम र सहनशीलतालाई नमन नगर्ने अधैर्यताले उच्छृङ्खलतालाई दोब्बर र सुनियोजित बनायो ।

त्यस्तै, सरकारले संविधान दिवसलाई भव्य उत्साह र उमङ्गसाथ मनाइरहँदा कुनै दल उक्त दिनलाई कालो दिवस मान्दै थियो । यो कदम कम्तीमा चार विशेष कारणले अराजक, गलत र निन्दनीय थियो । एक, उहाँहरूको परिभाषा र बुझाइमा गम्भीर सैद्धान्तिक खोट छ । दिन चहकिलो, उज्यालो, घमाइलो अथवा कहिलेकाहीँ धुम्म हुन सक्छ तर कालो हँुदैन । दुई, उहाँहरू संविधानलाई स्वीकारेर सरकारमा समेत सहभागी हुनुहुन्छ, यसका तलब–भत्ता, सुविधासँगै सम्मान स्वीकार्नुभएको छ । तीन, वर्तमान संविधान नागरिकका अधिकतम र संसारमा धेरै अनुपातमा (९० प्रतिशतभन्दा बढी) प्रतिनिधिहरूको अपनत्व तथा हस्ताक्षरबाट स्वीकृत छ । डा. भीआर अम्बेडकरको नेतृत्वमा निर्मित भारतीय संविधान केवल ६५ प्रतिशतको सहमतिमा बन्योे । ३९४ भागको संसारकै लामो लिखित संविधानमा १०३ संशोधन भए । सन् १७८७ मा अमेरिकाको संविधान प्रमाणीकरण भयो । संसारकै छोटो तर पहिलो लिखित संविधान हस्ताक्षरमा जम्मा ७० मध्ये ५५ प्रतिनिधि उपस्थित भएकोमा केवल ३९ जनाको मात्र हस्ताक्षर सम्भव भयो । जोनथान ड्याटन (२६) र बेन्जामिन फ्र्याङ्कलिन (८१) क्रमशः साना र पाका उमेरका प्रतिनधि हुनुहुन्थ्यो । २३० वर्षमा यसमा २७ संशोधन भएका छन् । सौभाग्य, हाम्रो संविधानको स्वीकार्यता लगभग सत प्रतिशत छ । यद्यपि, असहमतिमा आत्मीय संवादबाट आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ । चार, तर असहमतिका कुरा वार्ता, संवाद अथवा नागरिक अनुमोदनबाट संशोधन गर्नुपर्छ, बाहिर कराएर होइन । रोगको निदान उपचारको प्रक्रिया थालेर हुन्छ, अस्पताललाई गाली गर्दै भागेर हुँदैन ।

यद्यपि, यस्ता घटनाहरू राजनीतिलाई धमिल्याउने, अराजक, असभ्य तथा उन्मादी उच्छृङ्खलतालाई उचाइमा पु¥याउने उत्कट कुअभिलाषा भएकाहरूबाट प्रायोजित हुन्छन् । पर्दा अगाडि देखिएका पात्रहरू कसैको मोहोरा बनेका हुन सक्छन् । कारण जेसुकै होस्, यस्तो अवस्था स्वीकार्य हुँदैन । यसले देश तथा समाजलाई विग्रह र विनाशमा लैजान्छ । अब सोच र संज्ञानताको नयाँ अलौकिक तथा अनुपम आयाम देखिनुपर्छ ।

सोचको अनुपमता

केवल विरोध, बन्द र व्यङ्ग्य राष्ट्रिय चरित्र हुनुहँुदैन । खालि भत्किएको, बिग्रिएको अनि नकारात्मक विश्लेषणले समाजलाई समृद्धि र सकारात्मकतामा लैजाँदैन । विकासको प्रमुख र प्रारम्भिक पक्ष भनेको सोच हो । सबल सोच नै सफल राष्ट्रको आधारशिला हो । विश्वभरि सर्वाधिक पढिएको सूचीमा तेस्रो पुस्तक मानिने नेपोलियन हिलकृत ‘थिङ्क एन्ड ग्रो रिच’ ले समेत यही निष्कर्ष दिन्छ । कसले कहाँ बिगारे भन्दा कसरी बनाउने भन्ने सोच्नुपर्छ । सरकारलाई नङ्ग्याउने अभिप्रायमा प्रमुख प्रतिपक्षले जागरण अभियान गर्छ । सरकारले आफैँले सोचेको र नागरिकले चाहेको तहमा कार्यसम्पादन हुन नसकेकोे बाध्यता नागरिक स्वयम्लाई थाहा छ । सरकार असफल भएको रटान सिकाउनुसट्टा कसरी सुधार्न सकिन्थ्यो भन्ने जागरण गराए नागरिकमा उहाँहरूप्रति नयाँ आशा निर्माण हुन्थ्यो । कार्यकर्ताको परिचालन सडक फोहोर गर्नभन्दा सफा गर्नमा, नारा लगाउनसट्टा नागरिकको जीवनचर्यालाई सहज बनाउनमा गर्दा नयाँ महŒव निर्माण हुन्थ्यो । आन्दोलनमा लाग्ने खर्च गरिब नागरिकलाई सहयोग गरेर, कुनै उद्योगको स्थापना गरिदिएर, सरकारले करमार्पmत नागरिकलाई दुःख दियो भनिरहँदा कर तिर्न नसेकका नागरिकको कर हाम्रा सभासद्को सुविधाबाट तिरिदिन्छौँ भनेर नागरिक विश्वास बढाउन सकिन्थ्यो ।

जापानमा एक कम्पनीका मजदुरहरू रिसाउँदा अधिक उत्पादन गरिदिएर व्यवस्थापनलाई बजार खोज्न धौ–धौ पारिदएका थिए । वैज्ञानिक विरोधमा निकै चर्चित भएको ‘सु लेबर स्ट्राइक’, १८आँै शताब्दीको औद्योगिक क्रान्ति र भिजिल मुभमेन्टबाट शिक्षा लिँदै अराजकता प्रतिस्थापित गर्नुपथ्र्यो । अन्य केही पक्षहरू नेतृत्व र लोकतन्त्रमाथि नै धावा बोल्दै अराजक अभिव्यक्ति दिन्छन् अनि देशका ठूला भनेका छापा सञ्चार यसैको जञ्जाललाई नागरिकसामु विनाहिच्किचाहट प्रसारित गरिदिन्छन् । अब त सामाजिक सञ्जाल र सञ्चार जगत अफवाह पैmलाउने हतियार बन्दै छन् । देश बिग्रियो, नेता खराब भए, सरकार असफल भयो भनेर कराउने स्वघोषित अभियन्ताले मनन गर्नुपर्छ कि नेता खराब हुन सक्छन् तर नेताको ठाउँमा व्यापारी, मिसनरी दाता वा आजीवन विरोधकर्ता अभियन्ता ल्याएर समस्या हल हँुदैन । बिरामीको उपचार गर्ने डाक्टर यदाकदा गलत र अक्षम हुन सक्छ तर हल्कारा वा जल्लाद ल्याएर उपचार हुँदैन । अर्को राम्रो डाक्टर ल्याउनुपर्छ । त्यसैले नेताको विकल्प राम्रो नेता हो, लोकतन्त्रको विकल्प राम्रो र परिष्कृत लोकतन्त्र हो ।

दुई÷चारजनाले कराउँदैमा र एक÷दुई मिडियाले केही दिन कसैलाई उचाल्दैैमा गणतन्त्रविरुद्ध दरबारको वकालत गर्ने, सङ्घीयता लगायतका उपलब्धिमाथि धावा बोल्ने, राज्य प्रशासनलाई चुनौती गर्ने र आफैँलाई सर्वशक्तिमान मान्ने भ्रमपूर्ण आत्मरतिमा उड्नेहरूले बुझ्नुपर्छ, नागरिक अलिक निराश त होलान् तर मूर्ख भने छैनन् । यदि साँच्चै देशको चिन्ता भए योगदान गर्नतिर लाग्नुपर्छ । अमेरिकामा माइकल ब्लुमबर्ग, इटालीमा सिल्भियो बर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, युईएईका खालिफा बिन जायद अल नायन, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका ११औँ राष्ट्रपति कलाम, रूसका पूर्वराष्ट्रपति बोरिस योल्तसिन, अमेरिकामा फ्राङ्कलिन डी रुजबेल्टलगायतले नोकरी, व्यापार, उद्यमका अनि पत्रकारिता क्षेत्रबाट राजनीतिमा आई नागरिकका लागि प्रगतिशील कामहरू गर्नुभयो । त्यसैले, सबैको सत्कर्मबाट देशलाई सफल बनाउनुपर्छ ।

केही नसके नागरिक मनोबल गिर्न नदिई, सकारात्मकता सम्प्रेषण गर्नुपर्छ । अवस्थित कमजोरीलाई सुधार्दै लोकतन्त्रको स्वीकार्यता वृद्धि गर्नमा होमिनुपर्छ । नारा लगाएर देश बन्दैन, काम गर्न दिनुपर्छ, नजाने सिकाउनु र सहयोग गर्नुपर्छ । जापनिज जर्नल अफ पोलिटिकल साइन्समा प्रकाशित अनुसन्धानका अनुसन्धाकर्ताद्वय चिङ वाङ तथा डेनिस वेङकृत शोधका अनुसार नागरिक चरित्र (सिभिक कन्ससनेस) सफल राजनीतिको प्रमुख आधार हो । अफसोस, चर्को स्वरसहित नकारात्मक बुद्धिविलासको कुसाग्र प्रवाहलाई सफलता मान्ने दृष्टिभ्रमले हामी सबैलाई अराजक र उच्छृृङ्खल हुन पे्ररित गर्दै छ । यस्तो सोच सबैले परित्याग गर्नुपर्छ । आधारहीन अराजकतामा रमाउनेलाई सरकारले यथोचित नियन्त्रण र नियमन गर्नुपर्छ ।

(लेखक काठमाडौँ स्कुल अफ लमा प्राध्यापन गर्नुहुन्छ। )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?