logo
२०७७ माघ १४ बुधवार

ताल जोगाउन घरवास

विचार/दृष्टिकोण |





स्मिता अधिकारी


रूपाका स्थानीयवासी भन्छन्, ‘मुआब्जा–मर्म बुझिदिए हुन्थ्यो’ रूपाताल वरपरको फाँटमा खेतीबाली लगाउँदा हरेक हिउँद र बर्खामा दिनहुँ गामबेँसी गरेको अनुभव कास्कीको रूपा गाउँपालिका भँगेरेका ५६ वर्षीय रामचन्द्र अधिकारीको स्मरणमा फिल्मको रिलझैँ घुमिरहन्छ । पोखरा ३२ खोलाछेउ सिस्ठ्यानीमा, रूपाताल वरपर उहाँको करिब ३० रोपनी खेत छ । त्यो माटोसँग बाल्यकालदेखिकै आत्मीयता छ । घर भँगेरेदेखि करिब दुई घण्टाको बाटो हिँडेर तल बेँसी झर्नु र खेतीबालीको काम सकेर पुनः घर फर्किनु उहाँका बुबाबराजुका पालादेखि नै चलेको संस्कार हो । आफ्नो खेतबारी रक्षार्थ तालबेँसी (सिस्ठ्यानी) मै उहाँका बुबाले गाईवस्तु बाँध्ने घर (गोठ–धन्सार) पनि बनाउनुभएको थियो । खेतीबाली र वस्तुभाउ कुर्न कहिलेकाहीँ त्यही बेँसीगोठमा परिवारका सदस्य पालो गरी बस्ने चलन हुन्थ्यो । त्यही क्रममा रामचन्द्र सिस्ठ्यानी घरमै जन्मिनुभयो ।
समयक्रमसँगै गाउँका मानिस सहर झर्ने क्रम बढ्यो । उहाँका बुबा, बाजे, काका ठूलाबुबा आफ्ना छोरीछोरी र सन्ततिको इच्छाअनुसार नै अन्य सहरी ठाउँमा बसाइँ सरे । तर रामचन्द्रले जन्मिएको घर छोड्न सक्नुभएन । ताल वरपरको आफ्नो भागको खेतीबाली स्याहार्दै सिस्ठ्यानीमै बस्नुभयो । अहिले भने आफ्ना यी अनुभव कथामात्र हुने हुन् कि भन्ने चिन्ताले सताएको छ ।
घरको पिंढीमै (जग्गामा) अहिले रूपाताल चेकड्यामको उत्तरीछेउ बस्ने पक्कापक्की भएको छ  । पुर्खादेखिको थातथलो छाडेर जानुपर्दाको पीडा पोख्दै उहाँले भन्नुभयो, “अब त पुराना संस्कार र चालचलन सम्झनामा मात्र सीमित रहने भए” । जैविक विविधता र जलाधार संरक्षणका लागि जग्गा अधिग्रहण हुँदा व्यक्तिगत रूपमा आफूलाई परेको दुःखमर्का यसरी नै सुनाउँछन् रूपातालक्षेत्रका स्थानीयवासी । रूपा जलाधार विकास तथा रूपाताल संरक्षण परियोजना कार्यान्वयन अन्तर्गत यतिबेला रूपाताल वरपरको करिब १४ सय रोपनी जग्गा सरकारले अधिग्रहण गरिरहेको छ । यी कतिपय जग्गाधनी पुख्र्यौली पालादेखि नै महानगरका अन्य सहरी क्षेत्रमा बसाइँ सरिसकेका छन् । रामचन्द्र भने ती परिवारका प्रतिनिधि पात्र हुनुहुन्छ, जो अझै पनि दैनिक जीवनयापनका लागि यही माटोमा दिनचर्या बिताउने गर्नुहुन्छ ।
भँगेरेकै ५१ वर्षीय सूर्यनाथ अधिकारीलाई भँगेरे तल रूपाडिल र सिस्ठ्यानीमा रहेका आफ्नो ८ रोपनी जग्गा अधिग्रहणमा परेको छ भन्ने कुरा रेडियोको समाचार सुनेर थाहा भयो । समाचार सुनेको दिनभन्दा लगभग एक महिनाअघि मात्र प्रतिरोपनी ७० लाख रुपियाँ बुझाउने गरी जग्गा किन्ने ग्राहक आउँदा आफूले नदिएको स्मरण गर्नुभयो । अधिग्रहणबाट उहाँले पाएको रकम बजार मूल्यभन्दा झण्डै पाँच दोब्बरले कम छ । “आफूसँग खेतिपाती मेलापातबाहेक अरू सीप, रोजगार छैन, सहरीकरण बढिरहेका बेला गाह्रोसारोमा अरू काम गर्न नसकिए पनि यही जग्गाजमिन बेचेर बालबच्चाको भविष्य सुरक्षित गर्ने धोको अधुरै रहने भो” उहाँको दुःखेसो छ ।
पोखराको सुन्दरताको खानीका रूपमा रहेका तालहरूमा समयानुकूल विकास र परिवर्तन गर्नु समग्र विकासका लागि गर्वको विषय हो तर यो विकासका लागि आफ्नो त्यागको मूल्य सरकारले मात्र नभई यो विकासका हरेक उपभोक्ताले चुकाउनैपर्ने ठान्नुहुन्छ सिस्ठ्यानीकै चिरञ्जीवी पँगेनी । उहाँ भन्नुहुन्छ– मानो रोपेर मुरी फल्ने उर्वर खेत, उसैमाथि ताल वरपर महानगरले छोएको सहरबजारको जग्गाजमिन, थोरैतिनो मूल्यमा कहाँ पाउँछौँ र अब हामीले ।
सङ्घीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत विभागले विगत तीन वर्षदेखि यहाँ रूपाताल एकीकृत विकास परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाका लागि करिब पाँचसय परिवालाई उहाँहरूको जग्गा अधिग्रहणवापत प्रतिरोपनी १२ लाख ९३ हजार रुपियाँ सरकारले दिइरहेको छ । रूपाताल जग्गा अधिग्रहणले यहाँका करिब ३० घर विस्थापित हुँदैछन् । थोरै जग्गाजमिन भएकाहरू त जिन्दगीभरि अरूको घरजग्गामा शरणार्थी हुनुपर्ने हो कि भन्ने पीर छ । किनभने अधिग्रहणबाट पाएको रकमले स्थानीय जग्गाको बजार मूल्य नधान्ने उहाँहरू बताइरहनुभएको छ ।
रूपाताल कास्कीमा रहेका नौवटा तालमध्येको तेस्रो ठूलो ताल हो । यहाँ चेकड्याम लगायतका संरचना निर्माण, तालमा फोहोर तथा अनावश्यक माटो थुप्रिनबाट जोगाउनु तथा उक्त ताललाई पूर्ववत् क्षेत्रफलमै कायम राख्नु र जैविक विविधता संरक्षणमार्फत उत्पादनमूलक काम गर्न स्थानीयलाई प्रेरित गर्नु परियोजनाको मुख्य उद्देश्य हो । पाँच वर्षमा सकिने गरी एक वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको भए पनि मुआब्जालगायतमा ढिलाइ भएको कारण परियोजना कार्यान्वयनको समयावधि थप पाँच वर्ष बढाइएको थियो । तालको क्षेत्रफल अहिले १२२ हेक्टर छ । परियोजना सम्पन्न भएपछि १८५ हेक्टर हुने परियोजनाका इन्जिनियर मोहनराज आचार्य बताउनुहुन्छ ।

(लेखक पत्रकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?