logo
२०८१ बैशाख १३ बिहीवार



पूर्वीय दर्शनमा जनकपुर

विचार/दृष्टिकोण |




डा. रामसागर पण्डित

संस्कृत भाषा हाम्रो पुरानो भाषा हो । यसलाई देवभाषा पनि भनिन्छ । संस्कृत भाषामा लेखिएअनुसार परापूर्वकालदेखि मान्यता दिइएको दर्शनलाई पूर्वीय दर्शन भनिन्छ । जसद्वारा देखिन्छ, त्यसलाई दर्शन भनिन्छ । यो दर्शन शब्द संस्कृतिको दृश धातुमा ल्युट प्रत्यय लागेर बन्छ । दर्शन भनेको नयाँ सिद्धान्त प्रतिपादन गरी त्यसलाई विद्वत्वर्गबाट समर्थित भई मानिसको व्यावहारिक जीवनमा लागू हुनु हो । यसमा विषयवस्तुको सूक्ष्म विश्लेषण गरिएको हुन्छ । अर्कोतिर दर्शनमा जीव–जगत्, लोक परलोक, जन्म पुनर्जन्म, आत्मा–परमात्मा आदिलाई यसको विषयवस्तुका रूपमा लिएको देखिन्छ । मूल रूपमा दर्शनलाई तŒव ज्ञानका रूपमा समेटिएको देखिन्छ । यसरी दर्शन शब्दको मूल अर्थ कुनै विषयवस्तुको अन्तिम वास्तविकताको खोज गर्नु हो ।
पूर्वीय दर्शनलाई हेर्दा पृथ्वीको पूर्वी गोलाद्र्धमध्ये दक्षिणी–पूर्वी एसियामा रहेका देशहरूलाई सम्बोधन गरेको पाइन्छ । जीवन बाँच्ने पद्धतिका जति पनि कुराहरू छन्, त्यसको सही प्रतिपादन यी देशहरूबाट नै भएको पाइन्छ । यसमध्ये पनि मूल रूपमा नेपाल र भारतलाई लिन सकिन्छ । यसलाई जनकपुरसँग जोडेर हेर्दा यसको सान्दर्भिकता अझै बढ्न जान्छ किनभने जनकपुर एउटा यस्तो ठाउँ हो, जो परापूर्वकालदेखि मानिसको जीवन बाँच्ने पद्धतिसँग सम्बन्धित कुराहरूमा निकै दर्शन प्रतिपादन भएका छन् ।
वैदिक र पौराणिककालदेखि नै प्राच्य विद्याको केन्द्रका रूपमा प्रख्यात यस ऐतिहासिक विदेह नगरी जनकुरधामको गौरवमय इतिहास देखिन्छ । जगत् जननी जानकीको जन्मभूमि, याज्ञवल्क्य, गार्गी, मैत्रेयीजस्ता विद्वान् एवम् विदुषीहरूको साधना भूमि, ब्रह्मज्ञानी जनकको कर्मभूमि, अष्टाबक्रजस्ता मनीषिहरूको शास्त्रार्थ भूमि एवम् विभिन्न जिज्ञासुहरूका जिज्ञासा पूर्ति गर्ने पवित्र एवम् पुण्यभूमि जनकपुरधामबारे पूर्वीय दार्शनिकहरू विभिन्न कोणबाट आ–आफ्ना विचार प्रकट गरेका छन् ।
मूल रूपले जनकपुर रामायणसँग जोडिएको छ । रामायणले नेपाल र भारतमा एउटा असल चरित्रको जीवन बाँच्ने पद्धति प्रदान गरेको छ । जनकपुरले परम्परादेखि चलिआएको संस्कृतिलाई अँगाल्दै रामायणलाई आधार मानी वर्तमानकालसम्मको बाटो तयार गरेको देखिन्छ । शैव धर्मालम्वीहरू शिवको आचरणलाई अपनाउन खोज्छन् । त्यस्तै चार्वाक, जैन र बौद्ध नास्तिक दर्शनमा अडेका छन् । यसरी हेर्दा जनकपुर पूर्वीय दर्शनको संरक्षणमा उच्च स्थान प्राप्त गरी नेतृत्वसमेत प्रदान गरेको बुझ्न सकिन्छ ।
प्राचीनकालदेखि हालसम्म जनकपुरलाई हेर्दा मध्यकालमा केही नराम्रो अवस्था आए पनि जनकपुरले पूर्वीय सभ्यताको केन्द्रकै रूपमा आफूलाई प्रमाणित गरेको छ । प्राचीनकालमा वैदिक वाङ्मय, पुराण, रामायण, महाभारत आदि ग्रन्थहरूले समेत जनकपुरको अस्तित्वलाई स्वीकार गरिसकेका छन् । हालको जनकपुरको देन सन्तद्वय शुर किशोर दास र चतुर्भुज गिरीलाई जान्छ । त्यसैबेलादेखि जनकपुर सन्त, महन्थ तथा सन्यासीको आवासस्थलका रूपमा परिचित हुँदै आएको छ । यिनीहरूले रामायणलाई जीवनको आधारशिलाका रूपमा अपनाएर विभिन्न भाषामा अनुवाद गरेर आदर्शको पाठ सिकाएको देखिन्छ । अन्य धर्मावलम्बीले समेत रामायणलाई उत्तिकै आदर्शका रूपमा हेरेका छन् ।
वर्तमान जनकपुरले पनि पूर्वीय दर्शनलाई जोगाउन सक्दो प्रयास गर्दै आएको छ । तर पनि अहिले विश्वव्यापीकरणको प्रवाहले जनकपुर पनि केही अंशमा मर्माहत भएको कुरालाई नकार्न सकिँदैन । यहाँ अहिले पनि लगभग दुई सय मन्दिर तथा कुटीहरू यसको संरक्षण गर्न प्रयासरत छन् । पश्चिमी मूल भाषा अङ्ग्रेजी र भारतीय भाषा हिन्दीबाट प्राचीन भाषा संस्कृत तथा मैथिली पूर्ण रूपमा प्रभावित भएका छन । भेषभूषा, खानपान, रहनसहन, धर्मकर्म आदि कुरासमेत प्रभावित भएका छन् । हाम्रा पुर्खा यहाँ साधुसन्त तथा ऋषि महर्षिद्वारा पाएको ज्ञानबाट प्रकृतिप्रेमी बनेका थिए ।
जनकपुरले अहिले पनि अपनाएका सामाजिक, साँस्कृतिक तथा धार्मिक पद्धतिलाई सबैले स्वीकार गरेका छन् । जन्मदेखि मृत्युसम्म हुने संस्कारहरूमा जनकपुरको स्थान अहिले पनि प्रथमै रहेको छ । त्यतिमात्र होइन, जनकपुरले एउटा आस्तिक पक्षको नेतृत्वलाई जोगाएर अगाडि बढ्न खोजेको कुरा कसैबाट लुकेको छैन । पर्व–तिहारदेखि सामान्य धार्मिक कार्यक्रममा पनि जनकपुरको भूमिका प्रमुख रहेको देखिन्छ ।
भारतदेखि विश्वका सबै हिन्दुले अहिले पनि पूर्वीय दर्शनको प्रतीकको रूपमा माता जानकीलाई स्वीकारेका छन् । भारतका सरकार तथा राष्ट्रप्रमुखले समेत यस कुरालाई स्वीकार गरेर नै जनकपुरलाई नमन गरेका छन् । उनीहरू पनि जनकपुरले पूर्वीय दर्शनलाई जोगाएर नेतृत्व गरेको कुरालाई स्वीकारेका छन् । नेपाल सरकार तथा स्थानीय सरकारसमेत यस्ता साँस्कृतिक धरोहरलाई जोगाउन सक्रिय भएका छन् । अहिले जनकपुरमा रहेका मन्दिर, कुटी तथा धर्मस्थललाई मर्मत–सम्भार तथा निर्माण गर्न सुरु गरिएको छ । यहाँका धार्मिक पोखरी, तलाउ, कुण्ड तथा कुपलाई समेत आधुनिकीकरण गरी विश्वको पर्यटकलाई तान्न खाजेको प्रयास कम सराहनीय छैन । यसबाट हाम्रो दर्शनलाई विश्वसमक्ष राख्न ठूलो अवसरका रूपमा लिन सकिन्छ ।
अर्कोतिर संस्कृत क्याम्पसदेखि अन्यले समेत यसको संरक्षणका लागि आ–आफ्ना ठाउँबाट काम गरिरहेका छन् । यहाँ रहेका त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयका आङ्गिक क्याम्पसबाट विभिन्न विषयका प्राज्ञ उत्पादन हुँदै आएका छन् । यसरी अहिले पनि जनकपुरमा विद्वान्विदुषीको कमी छैन भने कुरा प्रमाणित भएको देखिन्छ । जनकपुरमात्र यस्तो ठाउँ हो, जहाँ अहिले पनि पश्चिमी संस्कृति तथा धर्मको प्रवाहलाई आंशिक रूपमा पनि स्वीकारेको देखिँदैन । जनकपुर एउटा यस्तो ठाउँ हो, जसले पूरै नेपाललाई पूर्वीय दर्शन हाम्रो आफ्नै दर्शन रहेको सन्देश दिएको छ । त्यसैले यसको संरक्षण तथा सम्बद्र्धन गर्नु हाम्रो कत्र्तव्य हो । नेपाल सरकारदेखि लिएर स्थानीय सरकारसमेतले यस्ता सामाजिक तथा साँस्कृतिक परिवर्तनलाई रोक्न सक्दो प्रयास गर्नुपर्छ ।

(लेखक नेपाल विद्यापति पुरस्कार कोषका अध्यक्ष हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?