logo
२०८० चैत्र १६ शुक्रवार



दक्ष जनशक्ति र शैक्षिक नीति

विचार/दृष्टिकोण |




परशुराम पौड्याल

नेपालको विद्यमान शिक्षा आमनागरिकलाई साक्षर बनाउनुपर्ने भए पनि अहिलेको शिक्षामा त्यस्तो नीति लागू भएको देखिँदैन । विद्यालयस्तरको आधारभूत शिक्षादेखि विश्वविद्यालयमा पठनपाठन हुने पाठ्यसामग्री हालको विश्वबजारमा भएको शिक्षाभन्दा फरक छ । यस्तो पाठ्यक्रम भएको शैक्षिक नीतिले आजको एक्काइसौँ शताब्दीमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति निर्माण गर्न सकेको छैन । बौद्धिक तथा प्राज्ञिक समुदायले लामो समयदेखि विद्यमान शिक्षा नीति र पाठ्यक्रमप्रति औँला ठड्याइरहेको छ । शिक्षासँग सम्बन्धित सरोकारवाला सरकारी निकाय र माथिल्लो नेतृत्वले नेपालको शैक्षिक स्तर उठाउन प्रयत्न गरिरहेको छ । तथापि ७० वर्षअगाडि र आज भइरहेको पाठ्यक्रम र पाठ्यसामग्रीमा कत्ति पनि फरक देखिँदैन । नयाँ शिक्षा नीतिमा विषयको सामान्य हेरफेर र पाठ्यपुस्तकका शीर्षकहरूको थपघटभन्दा फरक केही नभएकाले बेलाबेलामा हुने पाठ्यक्रम परिमार्जनको उपलब्धि १९ को २० पनि हुन नसकेको सबै सरोकारवालाहरूले महसुस गरेका छन् ।
हाम्रो देशलाई कस्तो जनशक्तिको आवश्यकता छ, र त्यो जनशक्तिले विश्वबजारमा प्रतिस्पर्धा गर्नका लागि जान्नुपर्ने आधारभूत कुराहरू के–के हुन्, त्यस्ता सबै विषयवस्तु समेटेर राज्यले शैक्षिक नीति निर्माण गर्नुपर्छ । राज्यले निर्माण गरेको प्रगतिशील शिक्षा नीतिका आधारमा कुन–कुन विषय पढाउन आवश्यक छ, उक्त विषय छनोट गर्नुपर्छ । प्रत्येक विषयको पाठ्यक्रम व्यावहारिक, व्यावसायिक र विद्यार्थीको उमेर समूहअनुसारको बौद्धिक स्तर निखार्ने हुनुपर्छ । पाठ्यक्रमको उद्देश्य पूरा गर्नेगरी पाठ्यपुस्तक निर्माण गर्नुपर्छ र पाठ्यपुस्तकमा नेपालको भूगोल र सो भूगोलमा बस्ने बासिन्दाको भाषा, धर्म, संस्कृति र विकासका लागि आवश्यक सीप समेट्नेगरी पाठ्यसामग्री समावेश गर्नुपर्छ ।
अहिले विद्यमान विद्यालय र विश्वविद्यालयबाट उत्तीर्ण जनशक्ति बसिखाने, सुकिलामुकिला भइयो, खेतबारी बाँझो हुन थाले, कलकारखाना चल्न र चलाउन सक्ने जनशक्तिको निर्माण भएन । विद्यालयमा खेलकुदको पुस्तक छैन, मौका परेको बेला खेलाडीले आफ्नै योजनामा खेलेर राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा गर्नुपरेको छ । आधारभूत विद्यालयमा खेलकुदलाई विषयका रूपमा विकास गर्नुपर्छ । त्यस्तैगरी आफ्नो काम आफैँ गर्न सक्ने, गर्दै सिक्ने विभिन्न विधाका व्यावसायिक पुस्तकहरू कक्षा १ देखि नै सुरु गर्नुपर्छ । नैतिकवान् तथा राम्रो चरित्र भएको विद्यार्थी बनाउन भनाइमा मात्र सीमित भएर हैन कि असल नागरिक बनाउन कक्षा एकदेखि नै प्रयोगी शिक्षा लागू गर्नुपर्छ । जसले सकारात्मक सोच्ने, अरूको कामलाई सम्मान गर्ने र रचनात्मक काममा लागिपर्ने नागरिक निर्माण हुनेछ । आजको विश्व प्रविधिमैत्री विश्व हो, त्यसैले हाम्रा साना बाबुनानीहरूलाई उमेरअनुसारको प्रविधिको सिकाइलाई ध्यानमा राखेर इन्टरनेट, वेबपेजसमेत समेटिएको पाठ्यक्रमसहितको पुस्तक छनोट गर्नुपर्छ । गणित र विज्ञानको पाठ्यक्रममा १८० डिग्रीको परिवर्तनको खाँचो छ । देशलाई आवश्यक दक्ष, सीपमूलक र नैतिकवान् नागरिक उत्पादनका लागि राज्यले शिक्षामा आमूल परिवर्तन गर्न जरुरी छ ।

विषय छनोट
नेपाललाई आवश्यक दक्ष, सीपमूलक प्रविधिमैत्री र नैतिकवान् र बौद्धिक जनशक्ति निर्माणका लागि के–कस्ता पाठ्यसामग्रीहरू पठनपाठन गर्ने गराउने भन्नेगरी विषयको छनोट गर्न जरुरी छ । अन्तर्राष्ट्रियस्तरमा कस्ता विषयहरू छनोट गरेर राज्यले शिक्षा दिन्छ, त्यसको पनि अध्ययन हुनु जरुरी हुन्छ । हाम्रो देशको भूगोल, भाषा, धर्म र सामाजिक संस्कृतिको पनि अध्ययन गरिनुपर्छ । देशको सर्वाङ्गीण विकासका लागि विश्वबजारमा प्रतिस्पर्धा गर्न नागरिकले आधारभूत विद्यालयदेखि कक्षा १२ सम्मका लागि न्यूनतम अध्ययन गर्नुपर्ने विषयहरूको छनोट गर्नुपर्छ । विषयको छनोट गर्दा विद्यार्थीले सानै उमेरदेखि क्रमिक रूपमा सिक्दै र पढ्दै जाँदा अध्ययनपश्चात् सिक्ने सिकाइहरू कक्षागत रूपमा ठोस गर्नुपर्छ । आधारभूत विद्यालयबाट उत्तीर्ण विद्यार्थीले जानेका सीपहरू कुनै कारणले माथिल्लो पढाइ हुन नसकेमा व्यक्तिले दैनिक जीवनमा इच्छाएको काम गरिखाने हुनुपर्छ । आभारभूत तह उत्तीर्ण विद्यार्थीको रुचिअनुसार पढ्न पाउनेगरी देशलाई चाहिने सीपसहितको बौद्धिक जनशक्ति उत्पादनका लागि कक्षा नौदेखि बाह्रसम्मका लागि विभिन्न विषयहरूको छनोट गर्नु आवश्यकता छ ।
यो तहमा अध्ययन गर्ने विद्यार्थी भोलिका दिनहरूमा विषयगत निपूर्ण नेतृत्वलाई जनशक्ति बनाउनका लागि राज्यले विषयगत पाठ्यक्रम, पाठ्यसामग्री र पठनपाठन विधि गर्दै र व्यक्तिको निजी जीवनमा प्रयोगमुखी हुनेगरी बनाउन जरुरी देखिन्छ ।

पाठ्यक्रम निर्माण
विभिन्न विषयको छनोटपछि विषयगत पाठ्यक्रम निर्माण गर्नुपर्छ । पाठ्यक्रम निर्माण गर्दा उक्त विषयको अध्ययनका लागि कक्षा १ देखि १२ सम्मका विद्यार्थीको उमेर समूहले सिक्नुपर्ने न्यूनतम सिकाइ पाठ्यसामग्रीको पहिचान हुन जरुरी हुन्छ, त्यसको उद्देश्य र विशिष्ट उद्देश्य प्राप्तिको आधार पनि प्रस्ट हुन जरुरी हुन्छ । पाठ्यक्रमा नै सो विषयको मेरुदण्ड हुने हुँदा त्यसमा समेटिएका सबै सामग्रीको अन्तर्राष्ट्रिय प्रयोगलाई अध्ययन गरेर नेपालको भूगोलमा सहजै अध्ययन गर्न सकिने र प्रयोगमुखी बनाइनुपर्छ । पाठ्यक्रम निर्माणमा व्यावसायिक र व्यावहारिक अध्ययन एकैसाथ लैजाने सामग्री हुनुपर्छ । पाठ्यक्रममा राखिएका सूची र अनुसूचीमा समेटिएका सामग्रीहरू त्यो विषयले ओगट्ने दायराका लागि पूर्ण हुन जरुरी हुन्छ । हरेक सूची र अनुसूचीको उद्देश्य र विशिष्ट उद्देश्य विषयको ज्ञानलाई प्रयोगात्मक अध्ययनका साथ बौद्धिक ज्ञानको पूर्णता हुनुपर्छ । राज्यमा आवश्यक जनशक्ति निर्माणका लागि विषयहरूको छनोट गरेपछि प्रत्येक विषयमा विद्यार्थीले सिक्नुपर्ने अधिकतम सामग्री समेटिएको पाठ्यक्रम तयार गर्नुपर्छ ।

पाठ्यपुस्तक निर्माण
प्रत्येक विषयको पाठ्यक्रमले निर्देश गरेको पाठ्यसामग्रीहरूलाई समेटेर पाठ्यपुस्तकको निर्माण गर्नुपर्छ । जस्तै ः गणित विषयको पाठ्यपुस्तक निर्माण गर्दा विद्यार्थीले जान्नुपर्ने न्यूनतम ज्ञानलाई समेटेर उसको दैनिक जीवनमा प्रयोगमा आउने गणितीय विषयवस्तु अनिवार्य समेटिनुपर्छ । कक्षा १ का विद्यार्थीले सिक्ने पाठ्यसामग्री माथिल्ला कक्षाका लागि आधार हुनेगरी निर्माण भएको हुनुपर्छ । हरेक कक्षाका सबै पुस्तकहरूका पाठ्यसाम्रगीहरू परस्पर सम्बन्धित हुनुपर्छ । विषयगत ज्ञान लिनका लागि सो उमेर समूहले आफैँले गर्न सक्ने र सो भूगोलमा सजिलै पाइने सामग्रीहरू पाठ्यपुस्तकमा समेटिएको हुनुपर्छ । विषयमा भएका गर्दै सिक्ने पाठ्यसामग्रीको अध्ययनले विद्यार्थीको हरेक दिनको क्रियाकलापमा परिवर्तन हुँदै जान्छ र जीवन जिउने पद्धति सरल र सहज हुन्छ । सानो कक्षामा सिकेका सिकाइहरू माथिल्लो कक्षामा सिक्ने जटिल सिकाइलाई सरलीकृत गराउने हुनुपर्छ । पाठ्यपुस्तकमा सिक्ने सीप र ज्ञानको प्रयोग विद्यार्थीको उमेरअनुसार माथिल्ला कक्षाहरूमा ठाडो रेखामा विकास गर्दै लगेको हुनुपर्छ । यसरी बनेका पुस्तकको अध्ययनबाट आठ कक्षासम्म पढेका विषयहरूबाट व्यक्तिको सीप र ज्ञानमा निखार ल्याउने हुन्छ । जसले गर्दा कक्षा नौभन्दा माथि कुन विषय अध्ययन गर्न चाहने हो, सोअनुसारको विद्यार्थीले विषय छनोट गर्न सक्छन् । कुनै कारणले कक्षा आठमा पढाइ छोडनुप¥यो भने पनि विद्यालयमा पढेका र सिकेका सीपले उक्त व्यक्तिले बाँकी जीवन सजिलै व्यतीत गर्न सक्छ । कक्षा नौबाट १२ सम्म आफूले इच्छाएका विषयहरू पढ्दा विद्यालय सकेपछि सक्षम र सबल हुनेगरी सिक्ने सिकाइपाउन सोअनुसारको पाठ्यक्रम र सिकाइ विधि भएको पाठ्यपुस्तक नै विद्यार्थीको रोजाइ हुन्छ । समाजमा भिन्न प्रकृतिका कामहरू हुन्छन् । जस्तै ः स्वास्थ, निर्माण, कृषि, पर्यटन, मनोरञ्जन, खेलकुद आदि । यी सबै कामका लागि दक्ष र सीपमूलक जनशक्तिको निर्माणलाई आधार बनाएर नौ कक्षादेखि १२ कक्षा सम्मको विषय छनोट गरी पाठ्यपुस्तक निर्माण गर्नुपर्छ । विद्यार्थीको सिकाइ विधि कामको प्रकृति र आवश्यकताअनुसार फरक–फरक हुन्छ र सोहीअनुसारको पाठ्यसामाग्री राखेर पाठ्यपुस्तकको निर्माण गर्नुपर्छ ।

(लेखक शिक्षण पेसामा संलग्न हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?