logo
२०८१ बैशाख ६ बिहीवार



पिता भक्तिको पर्व

विचार/दृष्टिकोण |




विनायकप्रसाद धिताल

नेपालमा मनाइने विभिन्न चाडपर्व साँस्कृतिक र सामाजिक पक्ष र धर्मदर्शनसँग केन्द्रित भएको पाइन्छ । मानव संस्कृतिका विभिन्न पक्षसँग यस्ता पर्वसँग जोडिएका छन् । यिनै पर्वमध्ये वनस्पति वर्गमा पर्ने एक किसिमको घाँस “कुश” लाई लिएर पौराणिक, धार्मिक र आध्यात्मिक आदि विविध पक्षसँग जोडेर पर्वका रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्षको भाद्र कृष्ण पक्षको आँैसी तिथिलाई कुशे औँसी तथा पिताको मुख हेर्ने दिन भनिन्छ । ज्योतिषशास्त्रका अनुसार सूर्य, चन्द्र एउटै राशिमा पर्ने दिनलाई आँैसी र आँैसी तिथिका स्वामी पितृ हुन् भनिन्छ ।
औँसीका ‘कुहु’ र “सिनीबाली” दुई भेदलाई अमरकोशमा ‘सा दृष्टेन्दुःसिनीबाली सा नष्टेन्दुकलाकुहूः’ । अर्थात् त्यो औँसी चन्द्रकलाको केही शेषले युक्त छ भने सिनीबाली र चन्द्रकला पूरै नष्ट भएकीलाई “कुहू” भनिएको उल्लेख छ । प्रायः ग्रामीण भेगमा चुक अमिलो पोखिएकोजस्तो अन्धकारलाई “कुहू” भनिएको अनुमान लगाउन सकिन्छ ।
एसिया, अफ्रिका महादेशअन्तर्गत नेपाल, भारत, चीन, अफगानिस्तान, बर्मा, इरान, इजरायल, पाकिस्तान, थाइल्यान्ड, भियतनाम, इथियोपिया, इजिप्ट आदिमा कुश पाइन्छ । संस्कृतमा कुश, नेपालीमा कुश, हिन्दीमा कुञ्जडोभ, उर्दूमा विखदेव आदि नामले सम्बोधन गरिन्छ । बोटानिकल नाम एराग्रोसटिस, साइनोसुरोइड्स अथवा डेमोसटाच्या विपिन्नाटाले सम्बोधन गरिने पोएसी परिवारअन्तर्गत पर्ने यो हल्का सुख्खा ठाउँ, नुनिलो माटोमा हुर्कन सक्ने झार जातिको घाँस हो । यसको पात साँघुरो र ५० सेन्टिमिटर लामो हुने वनस्पति खोजकर्ताहरूको भनाइ छ ।
विशेष गरेर हिन्दु धर्मावलम्बीका लागि देवकार्य, पितृकार्य, आशौच आदि कार्यमा कुश अति आवश्यक पर्छ । पौराणिक ग्रन्थहरूमा यसको महŒवबारे उल्लेख गरिएको छ । कुशको चकटी बनाई विभिन्न अनुष्ठान कार्यमा आसन ग्रहण गर्नु उत्तम र पवित्र मानिन्छ । भागवत गीताको अध्याय ६, श्लोक सङ्ख्या ११ मा “शुचौदेशे प्रतिष्ठाप्य स्थिर मासनमात्मनः नात्युच्छितम नातिनीचं चैलाजिनकुशोत्तरम्” अर्थात् ध्यान गर्न आसनको निमित्त शुद्ध ठाउँमा कुशको चकटीमाथि मृगको छाला, त्यसमाथि कपडा (तन्ना) बिछ्याई ठिक्क होचो अग्लो मिलाई स्थिर आसनमा बस्नुपर्ने दर्शाइएको छ । भागवत पुराणअनुसार भगवान् विष्णु पृथ्वीको उद्धार गर्न वराह अवतार लिई हिरण्याक्षलाई वध गर्न लड्दा थकाइ लागेपछि नदीकिनारामा विश्राम लिनुभयो । विश्राम लिँदा ओल्टोकोल्टो फर्कंदा बालुवामा झरेका वराहको रौँबाट कुश उत्पन्न भएको उल्लेख छ । स्वस्थानी व्रतमा हिरण्यरेता राजावसुको “घाँस भएस्” भनी श्राप दिँदा विष्णु भगवान “कुश” घाँस भई उत्पन्न भएको कथा छ ।
कुश कुन कार्यमा कसरी प्रयोग गर्ने भन्ने कुरामा आ–आफ्नै महŒव छ । देवकार्य संस्कारमा कुशको पवित्र मोटक साँहिली औँलामा र पितृकार्यमा चोरी औँलामा धारण गरिन्छ । शरीर शुद्धिमा गाईदान गर्न, कर्मपात्र बनाउन, अग्नि स्थापनामा ब्रह्मा विष्णु, महेश्वरको प्रतीक बनाउन र ऋषिपञ्चमीमा नारी वर्गले अरून्धतिसहित सप्तऋषिको प्रतीकका रूपमा, श्राद्धमा स्थापना गरिने ब्राह्मण उभ्याउन, मृत्यु हुँदा पञ्चक परेमा, अनिष्ट निवारणको निमित्त पुतलाको प्रतीक बनाउने काममा कुशको प्रयोग गरिन्छ ।
भाद्र कृष्ण पक्षको औँसी तिथिलाई गोकर्णे औँसी पनि भनिन्छ । पितृकार्यले आफ्नो कुलको मङ्गल हुने विश्वास र धार्मिक मान्यता रहेकाले श्राद्ध संस्कार गर्न इच्छित व्यक्ति ठाउँ–ठाउँबाट काठमाडौँको गोकर्ण तीर्थमा गई दिवङ्गत पितृहरूको सम्झनास्वरूप श्राद्ध गर्छन् । नेपालमा काठमाडौँको गोकर्णेश्वर महादेवस्थान र रसुवाको बेत्रावती नदी उत्तरगयाका रूपमा चिनिन्छ ।
गोकर्ण मन्दिरको उत्पत्तिको कथा हिमवत् खण्डअनुसार भगवान् शिवको नामहरूमध्ये एउटा गोकर्ण हँुदा पछि ईश्वर थपेर गोकर्णेश्वर भएको बताइन्छ । कुशे औँसी पर्वमा श्राद्धबाहेक जीवित पिताको सम्मानस्वरूप छोरा, नाति, शिष्य आदिले फलफूल, कपडा, मिठाइ, नगदले ढोगभेट गर्ने परम्परा छ । प्राचीन वैदिक आदर्श वाक्य हिन्दु संस्कारको अनुकरणीय संस्कृति “मातृदेवोभवः, पितृदेवोभवः, आचार्यदेवोभवःः, अतिथिदेवोभवः” शिक्षामूलक पूर्वीय संस्कार हुन् । मृत्युुवरण गरेकालाई श्राद्ध र जीवित श्रद्धेयलाई सम्मान र श्रद्धा दर्शाउनु अति उत्तम संस्कार हुन् ।
पश्चिमी सभ्यताले गाँजेको पैसामा केन्द्रित व्यक्तिवादी समाजको विकासका कारण वर्तमान समयमा परम्परागत परिवारिक संरचना विखण्डित हँुदै गएको छ । वृद्ध मातापिताको स्याहारसुसार, पालन पोषणमा वर्तमान पुस्ता क्रमशः उदासीन हँुदै जाँदै छ । वर्षमा कमसेकम एक दिन भए पनि आफ्ना पिताप्रति श्रद्ध्रा र भक्ति अर्पण गर्ने दिन भएकाले कुशे औँसीको महŒव स्वतः सर्वमान्य छ । यो कुरालाई सम्झाउन स्व. कवि शिरोमणि लेखनाथ पौडेलको “पाली पोसी ठूलो पारी सत्कर्मतिर लाउन कति कष्ट प¥यो होला पितालाई तिमी भन” श्लोक निकै मार्मिक छ ।
कुशे औँसीलाई भाषिक र साहित्यिक महŒवसँग पनि जोड्न मिल्छ । नेपाली साहित्यलाई यो पर्वले अविस्मरणीय बनाएको छ । माध्यमिककालको नेपाली साहित्यमा मणिका रूपमा परिचित युवाकवि मोतीराम भट्ट, नेपाली भाषा र साहित्यका अथक साधक कमलमणि दीक्षितको जन्मतिथि पनि कुशे औँसी हो ।

(लेखक ज्येष्ठ नागरिक हुनुहुन्छ । ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?