logo
२०७८ माघ ९ आईतवार



शान्ति, बन्धुत्व र मानवताका अभियन्ता

विचार/दृष्टिकोण |




तारा बस्याल

मर्नुपर्दछ एक दिन प्राणीलाई
रिस राग छोडी गर्नु सबको भलाइ
कर्मै मुख्य व्यवहारको यही हो
भन्ने लाग्छ अल्पबुद्धि मलाई
यी पद्यांश गोरखापत्रका संस्थापक, मानवता र विश्वशान्तिका अभियन्ता जयपृथ्वीबहादुर सिंहले पहिलो विश्वयुद्धपछि व्यक्त गर्नुभएको थियो ।
बझाङ जिल्लाको चैनपुरमा विक्रम संवत् १९३४ भदौ ७ गते जन्मिएर, काठमाडौँ, कलकत्ता र प्रयाग (इलाहवाद) मा शिक्षा प्राप्त गर्नुभएका तत्कालीन बझाङका १५आँैं राजा जयपृथ्वीबहादुर सिह जङ्गबहादुर राणाका छोरीतर्फका नाति र चन्द्रशमशेरका जेठा ज्वाईं हुनुहुन्थ्यो ।
गोरखापत्र साप्ताहिक प्रकाशनको आरम्भ विसं १९५८ मा देवशमशेरको प्रधानमन्त्रित्वकालमा ‘गोर्खापत्रमा के छाप्न हुने र के छाप्न नहुने’ भन्ने संहितासहित जयपृथ्वीबहादुरको अग्रसरतामा भयो । गोरखापत्रको सनद १९६० बाट सम्पूर्ण जिम्मेवारी राजा जयपृथ्वीमा सुम्पिएको पाइन्छ । गोरखापत्र छापिने ठाउँ काठमाडौँको पशुपत प्रेस, इन्द्रचोक, डिल्लीबजार, ठथुनटी, नक्साल हुँदै विसं १९९५ देखि गोरखापत्रको छापाखाना, जुद्धसडक भनेर त्यतिबेलाका गोरखापत्रमै उल्लेख भएको पाइन्छ । विसं १९६५ मा गोरखापत्रको सम्पादकका रूपमा जयपृथ्वीले बेलायत भ्रमण गरेको कुरा उल्लेख छ । विसं १९५८ देखि करिव १३ वर्ष गोरखापत्रको बागडोर राजा जयपृथ्वीसँग थियो भनेर उत्तमबहादुर सिंहद्वारा लिखित मानवतावादी राजा जय पृथ्वीबहादुर सिंह ः एक परिचय पुस्तकमा उल्लेख छ ।
सन् १८८९ देखि १९१४ सम्म बझाङका राजाको पदवीमा रहनुभएका जयपृथ्वी प्रथम विश्वयुद्ध सुरु भएको दोस्रो वर्षदेखि ससुरा चन्द्रशमशेरसँगको शासकीय र नीतिगत असहमति तथा प्रथम विश्वयुद्धमा गोर्खाली सहभागिताजस्ता कारणले तत्कालीन भारदारी सभा र बझाङको राजगद्दीसमेत त्यागी भारतको नैनीतालमा गएर बस्नुभयो । त्यो प्रवास बसाइमा मानवतावादका सिद्धान्तहरूको प्रतिपादन र प्रचार–प्रसारमा लाग्नुभयो । उहाँले मानवताबारेमा ‘ह्युमनिज्म’ नामक तीनवटा पुस्तकमार्फत मानवतावादको प्रसार गर्नुभएको थियो । मानवतासम्बन्धी उहाँका विचारहरूको प्रचार–प्रसार अभियानले उहाँलाई एसिया, युरोप, अमेरिका र अफ्रिका महादेशका २० भन्दा बढी देशको दौडाहामा डो¥याएको थियो ।
विश्वशान्ति, विश्वबन्धुत्व र मानवतावादी विचारका अभियन्ता जयपृथ्वी सन् १९२४ मा नैनीतालबाट कर्नाटकको बैङ्ग्लोरमा बसाइँ सर्नुभयो । त्यहाँ उहाँले ‘दि ह्युनिस्टिक’ नामक क्लब खोली ‘ह्युमिनिटी’ नामक मासिक जर्नल र ‘फ्ल्याग अफ पिस’ नामक बुकलेट प्रकाशन गर्नुभएको थियो ।
सन् १९२८ मा बैङ्ग्लोरमा ‘जेपी इन्स्टिच्युट’ नामक संस्था स्थापना गरी ‘वल्र्ड फेलोसिप अफ फेथ अर्गनाइजेसन’सँग आबद्ध भई एसियामा भारत, चीन, जापान, म्यानमार (बर्मा), श्रीलङ्का (सिलोन), सिङ्गापुर, हङकङ, युरोपमा स्वीट्जरल्यान्ड, पोल्यान्ड, अस्ट्रिया, युगोस्लाभिया, रोमानिया, जर्मनी, फ्रान्स, रूस, आइसल्यान्ड, बेलायत र इटाली तथा अमेरिकासम्म मानवताका सिद्धान्त र व्यवहारका अभियन्ता बन्न पुग्नुभएको थियो ।
अफ्रिकाको इथियोपिया (अविनिया) मा भएको इटली–इथियोपिया युद्धमा युद्धपीडितहरूको घाउमा मलहम लगाउन जापानी चिकित्सक र नर्ससमेतलाई लिएर स्वयम्सेवकका रूपमा युद्धग्रस्त क्षेत्रमा जापानी राहदानीमा पुग्दा जयपृथ्वी इटाली सरकारद्वारा बन्दीसमेत बन्नुपरेको थियो । उहाँ ब्रिटिस सरकारको पहलमा रिहा भएको भनी धन लामाले आपनो शोधग्रन्थमा लेख्नुभएको छ ।
वार्सा, जेनेभा, प्राग, बुढापेस्ट, बेलग्रेड, बुखारेस्ट, बर्लिन, पेरिस, मस्को र लन्डन तथा कलकत्ता, बैङ्ग्लोर, साङ्घाई, मेमियो बर्मा, न्युयोर्क र सिकागोमा विश्वशान्ति, एकता र मानवतावादको प्रवद्र्धन गर्ने उद्देश्यले उहाँले दिएका प्रवचनहरूको सँगालो छ– ‘स्पीच एन्ड राइटिङ्स अफ जयपृथ्वीबहादुर । ’
यसरी विश्वभरि नै मानवतावाद र विश्वबन्धुत्वको भावना जागृत गराउन उहाँले गर्नुभएको प्रयासलाई जापान टाइम्स, न्युयोर्क टाइम्स, न्युयोर्क इभिनिङ जर्नल, चाइना प्रेस र मेघालयको गोरखा सेवकजस्ता मिडियाहरूले प्राथमिकतासाथ समाचार बनाएको कुरा शोधकर्ता लामाले ‘ह्युमानिस्ट इन लाइफ एन्ड डेथ’ नामक पुस्तकमा उल्लेख गर्नुभएको छ । भारतीय र नेपाली सञ्चारमाध्यमले भने उहाँका विचार र गतिविधिका समाचारहरू प्रकाशित गरेको पाइँदैन ।
त्यतिबेला नेपालमा राणा शासन र भारतमा बेलायती शासन दुवैलाई जयपृथ्वीबहादुरका विचार ग्राह्य थिएनन् । यद्यपि, मुम्बईबाट प्रकाशित हुने द विक्ली अखबारले ‘फेमिनिज्म न्यु होप फर वल्र्ड पिस’ शीर्षक समाचारमा उहाँको प्रवचनलाई स्थान दिएको पाइन्छ ।
नेपालको पारिवारिक राणा सत्ता र भारतको बेलायती सत्ताबीच सुमधुर सम्बन्ध भएको अवस्थामा जयपृथ्वीबहादुरका सामाजिक गतिविधिले शासन व्यवस्थामा खतरा उत्पन्न गराउने महसुस गरेर सम्बन्ध सुधार हेतु राणा शासक चन्द्रशमशेरले आफ्नो बेलायत यात्रामा सँगै लगेको, बेलायती राजा एडवर्ड सातौँबाट राजा जयपृथ्वीलाई बेलायती सेनाको मानार्थ कर्नेल पदवीबाट विभुषित गराएको र नेपालको तर्फबाट कलकत्तास्थित तत्कालीन राजदूतस्तरको महावाणिज्यदूतको जिम्मेवारीमा पठाएको देखिन्छ ।
नेपालको शासन व्यवस्थालगायत आर्थिक सामाजिक विकास र रूपान्तरणका लागि शिक्षा, स्वास्थ्य तथा उद्योगधन्दा क्षेत्रमा उहाँको अद्वितीय योगदान रहेको विषय उहाँले लेखेका कृति र व्यवहारबाट प्रस्ट हुन्छ ।
देशभित्र जमिनमा किसानको मोहियानी हकको अवधारणा, सतीप्रथाको अन्त्य, आयुर्वेदशालाको स्थापना, काठमाडाँैको नक्साल र बझाङको मेल्लेखमा श्रीसत्यवादी प्राथमिक पाठशालाको स्थापना गर्नुभएका जयपृथ्वी अक्षरमाला, बालबोध, ज्ञानमाला, भूगोल विद्या, पदार्थ तŒव विवेक, शिक्षा दर्पण, प्राकृत व्याकरण, तŒव प्रशंसा, उद्योगधन्दा, प्राकृत भाषा कोश र अक्षराङ्कजस्ता पुस्तकका लेखक पनि हुनुहुन्छ ।
६३ वर्षे जीवनकालको पूर्वाद्धका ३८ वर्ष स्वदेशमा र उत्तराद्र्धका २५ वर्ष प्रवास, जेल र नजरबन्दमा बिताउनुभएका जयपृथ्वीबहादुर एक महान् विचारक हुनुहुन्थ्यो । भारतका राष्ट्रपिता महात्मा गान्धी र नोबेल पुरस्कार विजेता साहित्यकार रवीन्द्रनाथ टेगोरका समकालीन जयपृथ्वीका बारेमा ह्युमानिस्टिक क्लबका मानार्थ सदस्य रहनुभएका टेगोरले आफ्नो गोल्डेन बुकमा पनि उल्लेख गर्नुभएको छ ।
आज संसारभर लोककल्याणकारी राज्य अवधारणाको सामाजिक, राजनीतिक बहस चल्दै गर्दा, १२० वर्षअघि नै लोककल्याणकारी राज्य व्यवस्थाको परिकल्पना गर्ने शासकलाई महान् विचारक भन्नु अत्युक्ति नहोला ।
‘चीन, अमेरिका र भारतले सहिष्णु व्यवहारका साथ रचनात्मक समन्वय गर्ने हो भने निःशस्त्रीकरण सम्मेलनको आवश्यकता नै पर्ने छैन । ’
सन् १९२९ अप्रिल २२ मा जेनेभाको प्रवचनमा प्रथम विश्वयुद्धपछि विश्वशान्तिमा योगदान गर्न खोलिएको संस्था लिग अफ नेसन्सको कार्यदिशा गलत भएको धारणासहित आलोचना गर्दै जयपृथ्वीले आफ्नो विचार यसरी राख्नुभएको थियो । अन्ततः लिग अफ नेसन्सको असफलताले दोस्रो युद्धपछि संयुक्त राष्ट्रसङ्घको स्थापना हुन पुगेको थियो ।
मानव जातिको भलाइ र विश्वशान्तिका लागि, व्यवहारवादी बन्न उत्प्रेरित गर्ने उहाँका उद्गारले विश्वका आधाजसो जनसङ्ख्या रहेका उक्त तीनवटा देशलाई गरेको आग्रह र दिएको सन्देश मानवतावादका लागि आज पनि उत्तिकै सान्दर्भिक र मर्मस्पर्शी रहेको छ ।
देशमा रहँदा पनि तत्कालीन जहानियाँ राणा शासन र ब्रिटिस साम्राज्यविरुद्ध अखबार, जर्नल, पुस्तक र प्रवचनमार्फत जनमत सिर्जना गरेकै कारण देशनिकाला र नजरबन्द अवस्थामा बैङ्ग्लोरस्थित जयभवनमा विसं १९९७ असोज १ मा उहाँको मृत्यु भएको थियो । लोकप्रिय प्रकाशन हिन्दु दैनिकको मद्रास संस्करणले उहाँको मृत्युको सम्बन्धमा ‘दोस्रो गौतम बुद्धको मृत्यु’ भनी सम्पादकीय प्रकाशित गरेबाट उहाँको भूमिका प्रष्टिन्छ ।
बैङ्ग्लोरमा रहँदा जयपृथ्वीसँग रानी खड्ग दिव्येश्वरी लक्ष्मीबाहेक अन्य कोही आफन्त नरहेको भनी मेमियो
(बर्मा)को सत्यवादी नेपाली पाठशालाका शिक्षक हर्षध्वज राईले ‘बितेका बेलिविस्तार’ आत्मवृत्तान्तमा लेख्नुभएको छ । मानव सेवा र शिक्षा क्षेत्रमा योगदान पु¥याउन बर्माको मेमियो सहरमा जेपी इन्स्टिन्च्युट सञ्चालन भएको थियो ।
यस्ता महान् व्यक्तित्वको कृतिको संरक्षण, विचारधाराको प्रचार–प्रसारमार्फत विश्वभर भाइचारा र विश्वबन्धुत्व भावको विकास गर्न सके विश्वशान्ति र एकता निर्माणमा नेपालको योगदान निःसन्देह उँचो रहन सक्नेछ ।

(लेखक गोरखापत्रका संस्थानका प्रवक्ता हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?