logo
२०७८ माघ ९ आईतवार



भक्तियोगका कृष्ण

विचार/दृष्टिकोण |




विश्वनाथ खरेल
प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीहरूले श्रीकृष्ण जन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजाआजा गरी भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासमा सोही दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । आजैको दिन मामा कंशको कैदमा रहनुभएका पिता वासुदेव र माता देवकीको गर्भबाट उहाँको जन्म भएको मान्यता रहिआएको छ ।
यस दिनलाई वैष्णव धर्मावलम्बी, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्प्रदायलगायत अन्य हिन्दु धर्मावलम्बीले विशेष महŒवका साथ व्रतोवास गरी मनाउँछन् । जन्मष्टमीका दिन देशभरका कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिला व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । भगवान् विष्णुको आठौँ अवतराका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।
श्रीकृष्ण जन्माष्टमीका दिन भक्तजनहरूले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शिलालाई काँक्रोभित्र राख्छन् । मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लाससाथ जन्मोत्सव मनाइन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको सङ्केतका रूपमा लिइन्छ । त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तिल, अछेता र फूलले पूजा गरिन्छ । भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धुपदीप बालिन्छ र भोग चढाइन्छ । नैवेद्य लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाइ तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर अखण्ड दीप बालिन्छ ।
बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्ने अति प्रभावशाली व्यक्तित्वका धनी श्रीकृष्णका परिचयका शृङ्खला थुप्रै छन् । मख्खन चोर, बदमास, गोपिनीहरूका पानी र दूधका घैला फुटाउने चकचकेजस्ता अनेक कार्यहरू ’कृष्णलीला’ को पगरी गुथेर परिचित छन् । उहाँका कथा र घटनाहरू वृन्दावन, मथुरा र यमुनाकिनारमा मात्र नभई, सम्पूर्ण भू­लोकमै चर्चित छन् । श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिन्छ । श्रीमद्भागवत् गीताका अनुसार भगवान् श्रीकृष्णको जन्म, लीलाहरू र उपस्थिति अत्यन्त अलौकिक छ, जसले ती कुराहरू बुझ्न सक्छ उसले स्वतः आध्यात्मिक जगत्मा प्रवेश पाउँछ ।
कृष्णको जन्म र भौतिक उपस्थिति हामी सामान्य मानवका लागि पूर्वजन्मका कार्यको फलका रूपमा भएको होइन र आफ्ना भक्तहरूलाई आफ्नो मायाप्रेम दर्शाउन र उनीहरूलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ । कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रूपमा हेरिनुपर्छ । उहाँका वाक्यहरूमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको सङ्क्षिप्त सार छ, नैतिक शिक्षा, युद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।
भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, ‘जब–जब यस संसारमा पापीहरूको अत्याचार बढ्छ र धर्मको उत्थान एवम् साधुसन्तहरूको जीवनरक्षाका निम्ति म पृथ्वीमा तीन कारणले गर्दा अवतरित हुन्छु । पहिलो कारण म मेरो मधुरलिलामय चरित्रद्वारा आत्माराम मुनिलाई मेरो प्रेम भक्तियोगमा लगाउन, दोस्रोमा दास्य, सख्य, वात्सल्य एवम् शृङ्गार प्रेम रसास्वादनद्वारा स्वयम् सुखी भएर उहाँहरूलाई पनि प्रेम रसास्वादन गराएर सुखी गराउन र तेस्रो दुदीन्त–दैत्यको दुर्दमनीय सेनापतिको भारले दाबिएको पृथ्वीको अतिसय भारलाई भाररहित बनाउन आउँछु ।
यसै सन्दर्भमा श्रीकृष्णसँग अर्जुनले सोध्नुभयो, “तपार्इं कहिले–कहिले र किन जन्म लीला गरेर यस ब्रह्माण्डमा अवतरित हुनुहुन्छ ?” श्रीभगवान्ले भन्नुभयो– यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परिभाणाय साधुनां विनाशय च दृष्कृताम् । धर्मसस्थापनार्थाय सम्भवामी युगेयुगे ।
हे अर्जुन ! जब जब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, साथै साधु पुरुषको रक्षा र दूषित कर्म गर्ने व्यक्तिको नाश गर्नका लागि म युगयुगमा प्रकट हुन्छु । अर्जुनले भन्नुभयो– हे कृष्ण, तपाईंको भक्तजन ब्रह्मर्षि, राजर्षि आदिले पनि त यो काम गर्न सक्नुहुन्छ नि, के तपाईं नै आउनुपर्छ र ? तब श्रीकृष्णले भन्नुभयो– तिमीले ठीक भन्यौ, यी कर्म त ब्रह्मर्षि, राजर्षिले गर्न सक्छन् । सृष्टिको रक्षापालनको दायित्व पनि त श्रीविष्णुको हो । त्यसैले श्रीविष्णु नै युगयुगमा उहाँको अशावतार, लीलाअवतार, कला–आवेश शक्ति अवतार समयानुसार भूतलमा अवतीर्ण भएर धर्मको रक्षा तथा अधर्मको नाश आदि गर्नुहुन्छ । समयानुसार भूतलमा अवतीर्ण भएर धर्मको रक्षा तथा अधर्मको नाश आदि गर्नुहुन्छ ।
यसर्थ कंशको अत्याचारबाट मथुरा र मथुरावासीलाई मुक्ति दिलाउन र गीतामा वर्णित अनेकौँ जीवनोपयोगी दर्शन ज्ञान संसारलाई दिन नै कृष्णवतार भएको हो भन्ने गरिन्छ । निष्काम कर्मयोग सिकाउने उहाँको जीवन तथा “धर्मो रक्षतः रक्षतिः” को भावनालाई उजागर गरी यस महान् परोपकारका लागि लाग्नु सबैको परम धर्म हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?