मालिकार्जुनको आलभित्र गौरा

विचार/दृष्टिकोण |




नरेन्द्रसिंह धामी
भौगोलिक विविधता भएको नेपाल सुन्दरमात्रै नभई, विभिन्न जात–जाति, धर्म एवम् संस्कृतिको धनी देश हो । यहाँ साँस्कृतिक विविधताअनुसार विभिन्न ठाउँमा विभिन्न चाडपर्व मनाइन्छन् । नेपालको सुदूरपश्चिम प्रदेशको सेती र महाकालीका अधिकांश क्षेत्रमा गौरा पर्व मनाइन्छ । यो पर्व सुदूरपश्चिमको पश्चिमी सीमापारिको भारतको अल्मोडा, कुमाउ र गढवाल क्षेत्रमा समेत हर्षोल्लासपूर्वक मनाइन्छ । यसमा खासगरी महेश्वर र गौरी (शिव र पार्वती) को पूजा हुन्छ ।
भगवान् शिवले पार्वतीलाई ’काली’ भनेर गिज्याउने गरेकाले पार्वती गौरीघाटमा तपस्या गर्न बसेकी हुँदा यो पर्वलाई “गौरा पर्व“ भन्ने चलन रहेको किंवदन्ती छ । यस पर्वमा विवाहित महिलाले आफ्नो पतिको साथै सम्पूर्ण परिवारजन एवम् पशुधनलगायत श्रीवृद्धिका लागि पूजाआजा गर्छन् ।
गौरा पर्व देशकै एक पवित्र धाम दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुन स्वामीको मन्दिरमा भाद्र कृष्ण पञ्चमीका दिनदेखि सात दिनसम्म मनाइन्छ । विरुडा पञ्चमी (भाद्र कृष्ण पञ्चमी) का दिन विवाहित महिला व्रत बसी मुहानबाट तामाको भाँडामा पानी ल्याई देवताको भण्डार घरमा पुग्छन् । तामाकै भाँडामा पञ्च विरुडा (गहत, गुँरौस, गँहु, मास र केराउ) भिजाई माङ्गलिक गीत, सगुन, फाग, ठाडोखेल, ढुस्कु र डेउडा खेल्दै जाग्राम बस्ने गर्छन् । भोलिपल्ट षष्टिमा गाउँभरका महिला एकैठाउँमा भेला भई अघिल्लो दिन भिजाएका विरुडालाई माङ्गलिक गीत, सगुन, फाग, ठाडोखेल, ढुस्कु र डेउडा खेल्दै पानीपँधेरो तथा कुवामा गई धुने गर्छन् । विरुडा धुने ठाउँमा धानसँगै उम्रेका सावा घाँस, कुश, ऐँसेलु, बेलपत्र, बल, रोडिञो र फलफूलबाट गौरीको प्रतिमा बनाई फाग गाएर पूजा गरिन्छ ।
उक्त समयमा ज्येष्ठ महिलाले खासगरी नवविवाहित महिलालाई गायत्री मन्त्र सिकाउने, पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामनाको साथै निःसन्तानी महिलालाई सन्तान प्राप्तिको विशेष आशिर्वाद दिन्छन् । बिरुडा धोइसकेपछि भण्डार घर ल्याइनेक्रममा महिलाको लस्कर र सँगै गाइने माङ्गलिक फागले वातावरणमा उत्साह र उमङ्गको माहौल बनाउँछ । साँझ भण्डार गृहमा पुगेपछि व्रतालु महिलाद्वारा पुनः गौरीको प्रतिमा बनाई त्यसमा विभिन्न फलफूल, सात धागो भएको गाँठो
(सप्तमी) र तीन धागो भएको गाँठो (दुबधागो) चढाइन्छ ।
स्थानीय पुजारीबाट पूजाआजा र अभिषेक गराई गाईको गहुँतसहितको जल चाखी व्रतालु महिला गौरीकै महिमासम्बन्धी विशेष किसिमका फागहरू गाएर भोजन गरी रातभरि बस्छन् । भोलिपल्ट अंठवालीका दिन अर्थात् गौराको मुख्य दिन बिहानपख मालिकार्जुन देवताको भण्डारी घरबाट तामाको डालोमा दिदी गौरा र भौतडी लटिनाथ देवताको भण्डारी घरबाट निगालोको डालोमा बहिनी गौरालाई विशेष किसिमले धानसँगै उम्रेका सावा घाँस, कुश, एंँसेलु, बेलपत्र, बल, रोडिञो, फलफूलसहित देवीको वस्त्र र गरगहनाले शृङ्गार गराई करिब एक किलोमिटर माथि रहेको मालिकार्जुन स्वामीको मन्दिरतर्फ प्रस्थान गराइन्छ । यसक्रममा विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू जम्मा भइसकेपछि मड गाउँ र भौतडी गाउँबाट एकै समयमा दुवै गौरालाई विभिन्न बाजागाजासहित हर्षोल्लाससाथ अगाडि बढाइन्छ ।
व्रतालु महिलाहरू कमिलाको ताँतीझैँ क्रमबद्ध भएर गौरा देवीलाई श्रद्धाभावका साथ एकपछि अर्काको टाउकोमा सार्दै नाच्दै, गाउँदै गरिने यात्राको दृश्य गौरा पर्वकै प्रमुख आकर्षण मानिन्छ । मालिकार्जुन स्वामीको मन्दिरनजिकै रहेको मड र भौतडी गाउँबाट आएका दुवै गौरा भेटिने स्थानलाई दोगोरभिटा भनिन्छ । किंवदन्तीअनुसार दोगोरभिटामा दिदी गौरा बहिनीभन्दा केही समय अघि पुगेर बहिनीलाई पर्खिने परम्परा छ । दोगोरभिटामा बहिनी गौरा पुगेपछि दिदीलाई बहिनी गौराले दण्डवत प्रणामसहित भलाकुसारी गराई त्यहाँबाट अगाडि दिदी र पछाडि बहिनीलाई लगाई मालिकार्जुन स्वामीको मन्दिरसम्म पु¥याइन्छ । मन्दिर प्राङ्गणमा पुगेपछि दुवै गौरालाई पाँचपटक मन्दिर परिक्रमा गराई मन्दिरभित्र प्रवेश गराइन्छ । मन्दिरभित्र प्रवेश गरेका गौराहरूलाई पञ्च विरुडा, फूल आदिले पूजा आराधना गरिन्छ ।
पूजाको क्रमसँगै मन्दिरको कुनै विशिष्ट ठाउँमा त्यहाँको परम्पराअनुसार स्थानीय देवदेवी (लटवाव, कैलपाल, वालीचन्द र भगवतीका) धामीहरूमा देवशक्ति अवतरित हुन्छ । ती धामीमार्फत उपाशकहरूले मालिकार्जुन स्वामीको प्रसाद र आशिष पाउने गर्छन् । सूर्यास्तको बेला दुवै गौरामा चढाइएका दुबो धागो विवाहित महिलालाई बाँडी, बाँकी रहेका फलफूलहरू तथा विरुडा भक्तजनहरूको विशाल हुलमा आकाशतिर फालिन्छ, जसलाई फल फट्काइनु भनिन्छ । फट्काइएको फल जसले आकाशमै समात्न सक्छ, उसले शिव–पार्वतीको विशेष आशिर्वाद प्राप्त गर्ने विश्वास गरिन्छ । फल फट्काइसकेपछि दुवै गौरा देवीहरूलाई परम्परागत रूपमा निर्दिष्ट स्थानमा विसर्जन गराइन्छ । गौरा विसर्जनपछि सम्पूर्ण व्रतालु महिलाले सर्वप्रथम आफ्नो श्रीमान् र त्यसपछि क्रमशः पुजारी, धामी (पत्र्या), परिवार तथा इष्टमित्रहरूलाई पञ्च विरुडाले पुज्ने र आशिर्वाद लिने तथा दिने गर्छन् ।
विशिष्ट लोकसंस्कृति एवम् धार्मिक परम्पराको धनी मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन स्वामीको मन्दिरमा मनाइने गौरा पर्वलगायत अन्य चाडपर्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी भारतको उत्तराखण्ड राज्यबाट समेत भक्तजनहरूको उल्लेखनीय उपस्थिति हुने गर्छ । जसले गर्दा यस क्षेत्रको धार्मिक पर्यटकीय विकास हुनुका साथै स्थानीय उत्पादनको बिक्री वितरण भएर आयआर्जनमा समेत समृद्धि हुँदै आइरहेको छ । यस क्षेत्रको उचित सम्बद्र्धन र प्रवद्र्धन भए धार्मिक पर्यटनको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भिœयाई नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने प्रचुर सम्भावना रहेको छ ।
(लेखक दार्चुलाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?