logo
२०८१ बैशाख १३ बिहीवार



राष्ट्रिय आकाङ्क्षा समेटिएको संविधान

विचार/दृष्टिकोण |




के.पी. शर्मा ओली

बलिदानका धेरै पक्ष छन् । जीउज्यानको मात्र बलिदानको कुरा होइन । ती सबै सङ्घर्षको उपलब्धिको निचोडका रूपमा संविधान र प्रणाली आएको छ । प्रणालीलाई संविधानले सुव्यवस्थित गरेको छ ।
सारा देशवासी र अग्रजहरूले सङ्घर्ष गरेका छन् । कसैले बलिदान गरेका छन् । कसैले योगदान गरेका छन् । कुनै न कुनै प्रकारको बलिदान धेरै लामो समय लगातार गरेका छन् । यसरी हामीले संविधान प्राप्त गरेका छौँ । निकै कष्टपूर्ण ढङ्गले अनेक व्यवधान झेलेर, तिनलाई पन्छाएर, राष्ट्र एकढिक्का भएर हामीले संविधान प्राप्त गरेका हौँ । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गरेको छ । यसका निम्ति विभिन्न समयमा विभिन्न प्रकारका सङ्घर्ष भए । ती सङ्घर्षमा अभिव्यक्त जनधारणा र जनअभिमतलाई संविधानले सम्मान गरेको छ ।
हरेक व्यक्तिले भनेका सम्पूर्ण कुरा जस्ताको त्यस्तै लागू नभएको होला, त्यो स्वाभाविक हो । यत्रो जनसङ्ख्यामा सबैले भनेका सबै कुरा कहीँ पनि पूरा हुँदैन । त्यहाँ स्वार्थहरूको टकराव हुन्छ । तीमध्ये बृहत्तर राष्ट्रिय हित, बृहत्तर राष्ट्रिय आकाङ्क्षा, बृहत्तर राष्ट्रिय आवश्यकतालाई संविधानले सम्बोधन गरेको छ । संविधानले जिद्दीलाई होइन तर्कलाई सम्बोधन गरेको छ । विगतका सङ्घर्ष, इतिहास, बलिदान र उपलब्धिको सङ्ग्रह हो, यो संविधान । वर्तमान अवस्थाका यथार्थहरूको प्रतिविम्ब हो । भविष्यमा हामीले हिँड्ने बाटो, पुग्नुपर्ने गन्तव्य, ती सबैको पनि एकीकृत रूप हो । यसमा हाम्रा विगतका आँसु, पीडा, सङ्घर्ष र बलिदानका कथा छन् । यसमा वर्तमानका जटिलता, अप्ठ्यारा, आवश्यकता समेटिएका छन् । भावी दिनका निम्ति हाम्रो राष्ट्रिय आकाङ्क्षा र गन्तव्य समेटिएका छन् । यो एउटा सहमतिको दस्तावेज हो । तैपनि यसले हाम्रो इतिहास र गौरवपूर्ण सकारात्मक परम्परालाई अङ्गीकार गरेको छ । यसले परम्पराका नाममा अवैज्ञानिक, अनुचित कुरालाई साहसिक रूपमा अस्वीकार गरेको छ । त्यस्ता पक्षलाई हटाएको छ । यसरी यो संविधानले नेपालको विकास, नेपाली जनताको अधिकार, अवसर, सुरक्षा र सम्मानसम्मको पहुँच र समग्रतामा सुखी नेपालीको आकाङ्क्षालाई समेटेको छ । यस्तो संविधान दिवस कसरी मनाउने ?
संविधान दिवस कस्तो भयो भने सेनाको दिवस सेनाले मात्रै मनाउनुपर्ने जस्तो । हामीलाई बोलाउँछन्, हामी गइदिने । अतिथि भइदिने । जनताले कुनै सरोकार राख्न नपर्ने । जनताले त्यसमा सहभागिता जनाउन पनि नपर्ने । सङ्घर्ष गर्दा, लड्दा, बलिदान दिँदा जनताले दिने । प्राप्त भइसकेपछि त्यसको खुसियाली सीमित घेरामा मनाउने, यो भएन । यसलाई जनताको राष्ट्रिय उत्सवका रूपमा मनाउनुपर्छ । राष्ट्रिय उत्सव भनेको सरकार, सेना, प्रहरी, निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, विभिन्न व्यवसायमा संलग्न व्यवसायी, जनप्रतिनिधि, राजनीतिकर्मी, पार्टी कार्यकर्ता, समाजसेवी, विभिन्न संस्था; जसको हिजो यो प्रणाली र संविधान स्थापनामा योगदान छ, ती सबै सरिक हुनु प¥यो यो खुसियालीमा । खुसियालीलाई जनव्यापी बनाउनु प¥यो । यस राष्ट्रिय दिवसलाई बृहत् रूपमा मनाउनु प¥यो ।
राष्ट्रिय दिवस भनेको सबैभन्दा ठूलो चाड हो । हामीले सांस्कृतिक रूपमा विभिन्न चाडपर्व मनाउँदै आएका छौँ, त्यो ठीक छ । कतिपय चाड स्थापना गर्दा जनताको योगदान नहोला या सबै पेसा, व्यवसाय, भेगका जनताको सहभागिता नहोला । ती ऐतिहासिक रूपमा विभिन्न कारणले बने होलान् । यद्यपि, यो राष्ट्रिय दिवस राष्ट्रव्यापी रूपमा विदेशमा बसेका नेपालीले समेत योगदान, बलिदान, सङ्घर्ष गरेर ल्याएको हो । यो नेपालका दिवसमध्ये सबैभन्दा ठूलो दिवस हो– जनव्यापी, राष्ट्रव्यापी दिवस । अरू दिवसमा भेगीयपन हुनसक्छ, जातीयपन हुनसक्छ, धार्मिकपन हुनसक्छ । त्यसका भिन्नताहरू हुनसक्छन् । यद्यपि, ती फेरि पनि साझा नै हुन् । यो फलानाका लागि बिदा । यो यस क्षेत्रका लागि बिदा भन्ने पनि छ तर यो बिदा र दिवस देशका लागि हो । यो एउटा पक्ष, क्षेत्रका लागि होइन । यस कारण केन्द्रदेखि प्रदेश र स्थानीय तहका सबै सरकार र निकायले यसलाई राष्ट्रिय दिवसका रूपमा आफ्नो ठाउँबाट अत्यन्तै भव्यतासाथ मनाउन आवश्यक छ । म यो राष्ट्रिय दिवसलाई अत्यन्तै उल्लासपूर्ण रूपमा मनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्दछु ।
त्यो दिन झन्डा दिवसजस्तै हुनुपर्छ । झन्डामय नेपाल । सानो कुरामा ठूलो अर्थ लुकेको हुन्छ । अन्य देशका कार्यक्रममा सबैभन्दा महŒव झन्डालाई दिइएको पाइन्छ । अन्तर्राष्ट्रिय खेलहरूमा झन्डा बोकेर गइन्छ । हरेक दर्शकका हातमा झन्डा हुन्छन् । झन्डाले त्यो देशको प्रतिनिधित्व गरेको हुन्छ ।
पहिला घरमा झन्डा राख्न पाइँदैनथ्यो । जनताले लडेर बनाएको, रक्षा गरेको झन्डा घरमा राख्न किन नपाउने ? अहिले सम्मानजनक ढङ्गले घरमा राख्न पाइन्छ । झन्डाको कपडा पनि लगाउन पाइन्छ तर सम्मानपूर्वक । मुटुको अगाडि वा मुटुको पछाडि पारेर झन्डा लगाउन पाइन्छ । अथवा शिरमा झन्डाको चिह्न भएको पहिरन लगाउन पाइन्छ । हातमा बोक्न पाइन्छ । झन्डालाई त्यसभन्दा पृथक् ढङ्गले प्रयोग गर्न हुन्न । कुन ठाउँमा केको प्रयोग कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ । झन्डा अनुचित ढङ्गले राखिएको, फ्याँकिएको पाइयो भने त्यसलाई सम्हाल्ने काम गर्नुपर्छ । झन्डा अत्यन्त सम्मानको विषय हो । यसले राष्ट्र, राष्ट्रिय एकता, राष्ट्रका उपलब्धि, सबै चिजलाई दृढतापूर्वक अभिव्यक्त गरिरहेको हुन्छ । झन्डाले साझा अभिव्यक्ति, साझा भावना, साझा देशभक्ति बोलेको हुन्छ । हरेक टोल, घर, गाडी, पसलमा झन्डा होस् । घरघरमा दीपावली मनाइयोस् ।
कर्मचारी हातहातमा झन्डा बोकेर कार्यक्रमस्थल जानुपर्छ । त्यो दिन उत्सव मनाउनका लागि बिदा हो । यो घर बिदा होइन । उत्सव बिदा हो । त्यसकारण हाजिर गराएर ‘रेकर्डेड’ ढङ्गले झन्डासहित जाने प्रबन्ध गर्नुपर्छ । यस्ता उत्सवहरूमा असामाजिक तŒवहरूले अवसर छोप्न सक्छन् । त्यतापट्टिको सतर्कता प्रहरी सङ्गठनका विभिन्न निकायले लिनुपर्छ । शान्तिसुरक्षाको प्रबन्धमा ख्याल राख्नुपर्छ ।
सञ्चारजगत्लाई पनि म आग्रह गर्छु– यस्तो विषयमा विवाद निकाल्नु हुँदैन । राष्ट्रप्रति सबै एकजुट होऔँ । हामीले जुन देशको हावामा सास फेरिरहेका छौँ, जुन देशको पानी हाम्रो नसामा रगत भएर पुगेको छ, जुन देशको अन्न र फलफूलले हाम्रो जिन्दगी चलेको छ, बाँचेका हामी जुन देशको जुन धर्तीमा छौँ; त्यो मातृभूमिप्रति हामीले बढाइँ किन नगर्ने ? अहिले भर्खर दुनियाँले बुझ्न थाल्यो कि नेपाल यो धर्तीको स्वर्ग हो । यसलाई हामी बुझाउँदै जान्छौँ । विभिन्न कारणले अलिकति गरिबी भयो यहाँ । यो गरिबी भनेको केही वर्षको खेल हो अब ।
महानन्द सापकोटाले उहिल्यै कविता लेखेका थिए, ‘विधिको यदि त्यही विधान हो भने अब त्यो विधिको पनि आयु पुग्यो । ’ मान्छेलाई भोकै राख्ने कुनै पनि विधि, विधाता कहीँ छ भने त्यसको पनि आयु अब सिद्धियो । अब त्यो ‘आउटडेटेड’ हुन्छ । अब गरिबीयुक्त नेपाल राख्न कसैले सक्दैन । त्यसकारण हामीले अत्यन्तै भव्यतासाथ यस दिवसलाई फरक ढङ्गले मनाउनुपर्छ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयद्वारा बुधबार आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति २०७६ को बैठकमा व्यक्त गर्नुभएको विचारको
सम्पादित अंश । )

प्रस्तुति : दीपक श्रेष्ठ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?