logo
२०८० चैत्र १६ शुक्रवार



कस्मिरको गौरव

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कस्मिरको पुरानो गौरव पुनःस्थापित गरिने बताउनुभएको छ । कस्मिरका सम्बन्धमा राजनीतिक खतरा मोल्नुभएका उहाँले कस्मिरी जनतालाई आतङ्कवादबाट मुक्त गरी समृद्धि र शान्ति दिने प्रण गर्नुभयो । भारत सरकारको पछिल्लो यो कदमले कस्मिरमा तत्काल केही असहज भए पनि परिस्थिति सामान्य बन्दै गएको छ ।
जम्मु कस्मिरका सम्बन्धमा प्रधानमन्त्री मोदीले सन् १९४७ यताकै ठूलो निर्णय गर्नुभयो । मोदी सरकारले जम्मु कस्मिरलाई दिइएको विशेषाधिकारले आतङ्क र गरिबीबाहेक केही दिन सकेन भन्दै विशेषाधिकार हटाइदियो । यो निर्णय एकतर्फी भयो भनी पाकिस्तानले आपत्ति जनायो, चीनको पनि विमति रह्यो ।
यो विषयमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा अनौपचारिक छलफल भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गर्दै शान्त रहन आग्रह गर्नुभयो ।
मोदी सरकारले अगस्त ५ मा जम्मु कस्मिरलाई दिएको विशेषाधिकार अन्त्य गर्दै केन्द्र शासित दुई राज्य बनायो । सरकारले संविधानको धारा ३७० र ३५ ‘ए’ खारेज गरेसँगै जम्मु कस्मिरले विशेषाधिकार गुमायो, जम्मु कस्मिरलाई टुक्राएर जम्मु कस्मिर र लद्दाखलाई केन्द्र शासित राज्य बनाइयो ।
भारतको दुवै सदन राज्यसभा र लोकसभाले धारा ३७० र ३५ ‘ए’ खारेजीसम्बन्धी विधेयकलाई पारित गरेका छन् । विपक्षी कङ्ग्रेस आईले भने विरोध ग¥यो ।
जम्मु कस्मिर भारतको एकमात्र यस्तो राज्य थियो, जसले राष्ट्रिय झन्डासँगै आफ्नो झन्डा पनि राख्न सक्थ्यो । उसको आफ्नै संविधान पनि थियो । जम्मु कस्मिर सात दशकअघि एउटा स्वतन्त्र देश थियो । अहिले जम्मु कस्मिरका विभिन्न भाग भारत, पाकिस्तान र चीनको नियन्त्रणमा छन् ।
मोदी सरकारले गरेको सात दशकयताकै ऐतिहासिक निर्णयसँग हिंसा भड्किन सक्ने भन्दै अगस्त ४ को रातिदेखि नै जम्मु कस्मिरका नेताहरूलाई घरमै नजरबन्द गरेको थियो । प्रमुख सहरमा कफ्र्यु जारी गर्दै, मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल बन्द गरी सामूहिक हिँडडुल गर्न रोक लगाइयो । स्थिति सामान्य बन्दै गएपछि करिब दुई सातापछि प्रतिबन्ध हटाइएको छ । शान्ति र स्थिरतालाई गम्भीरतापूर्वक लिइएको छ ।
भारत र पाकिस्तानले जम्मु कस्मिरलाई आफूमा गाभ्न सात दशकसम्म कहिले लडाइँ लडे, कहिले अन्तर्राष्ट्रिय समुदाय गुहारे । बेलायती उपनिवेशबाट स्वतन्त्र भएर भारत र पाकिस्तान टुक्रिएपछि हिन्दु बाहुल्य क्षेत्रहरू भारतमा र मुस्लिम बाहुल्य क्षेत्रहरू पाकिस्तानमा गाभिए ।
धेरै जनता मुस्लिम भएकाले जम्मु कस्मिर आफूतिर आउने पाकिस्तानको आशा थियो । राजा हिन्दु भएका कारण जम्मु कस्मिर आफूमा मिसिने भारतले ठानेको थियो । तर, दुवै देशको आशाविपरीत केही समय जम्मु कस्मिर कतै ढल्किएन ।
कस्मिरका राजा हिन्दु भएकाले भारतमा मिसिन्छन् भन्ने आँकलन गरी पाकिस्तानले जम्मु कस्मिर कब्जा गर्न सेना पठायो । उनीहरूसँग लड्न राजा हरि सिंहले भारतको मद्दत माग्नुभयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू मद्दत गर्न सहमत हुनुभयो । तर सेना पठाउनुअघि उहाँले हरि सिंहसँग भारतमा मिसिन सहमत हुनुपर्ने सर्त राख्नुभयो । हरि सिंहले नेहरूको सर्त स्वीकार गर्दै भारतमा मिसिन आफ्ना पनि केही सर्तहरू राख्नुभयो । भारतीय सेना कस्मिर गयो ।
भारत पाकिस्तानबीच युद्ध भयो । युद्ध चलिरहेका बेला नेहरूले कस्मिरको विषय सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घमा लग्नुभयो । राष्ट्रसङ्घले पाकिस्तानलाई सेना फिर्ता गर्ने र भारतलाई पनि सेना कम गर्नुपर्ने निर्णय सुनायो । स्थिति साम्य भएपछि जम्मु कस्मिरीले भारत र पाकिस्तानमध्ये कुनमा मिसिने वा स्वतन्त्र देश रहने निर्णय जनमतसङ्ग्रहबाट लिने प्रस्ताव राष्ट्रसङ्घले ग¥यो । भारत र पाकिस्तान उक्त प्रस्तावमा सहमत भएका थिए ।
भारत र पाकिस्तानबीच युद्धविराम भएपछि आ–आफ्ना सेनाको कब्जामा रहेको भाग दुवै देशले आफूसँगै राखे । अर्काको कब्जामा रहेको भाग पनि आफ्नो भएको दाबी गरिरहे । सन् १९५२ मा जम्मु कस्मिरसँग दिल्ली सम्झौता गरेर भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मु कस्मिरका जनतालाई भारतीय नागरिकता दिने व्यवस्था ग¥यो । सोही सम्झौता र राजा हरि सिंहका सर्तको मर्मअनुसार नेहरू मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति राजेन्द्रप्रसादले भारतीय संविधानमा धारा ३७० को प्रावधान राख्नुभयो ।
सन् १९६५ मा पाकिस्तानले जम्मु कस्मिर कब्जा गर्न फेरि सेना पठायो । १७ दिनसम्म भारतसँग युद्ध भयो । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युद्ध रोकियो ।  सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका विषयमा भारत र पाकिस्तानबीच फेरि युद्ध भयो । सो युद्ध भारतले जित्यो र बङ्गलादेश छुट्टै देश बन्यो ।
सन् १९७२ मा सिमला सम्झौता गरेर दुवै देशले आ–आफ्नो कब्जामा रहेको जम्मु कस्मिरको भू–भागलाई स्वीकारे र त्यसलाई छुट्याउने सीमालाई ‘लाइन अफ कन्ट्रोल’का रूपमा मान्यता दिए । सन् १९८९ देखि जम्मु कस्मिरमा हिंसात्मक विद्रोहको सुरू भयो ।
सन् १९९९ को फेबु्रअरीमा भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर जानुभयो । १९९९ को मेमा पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा गरेपछि कार्गिल युद्ध भयो । भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् पाकिस्तानी सेना फिर्ता भए ।
२००१ को मेमा भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफको भेटवार्ता भए पनि कुनै सम्झौता हुन सकेन ।
२००१ को अक्टोबरमा श्रीनगरस्थित कस्मिरको विधानसभामा विद्रोहीले आक्रमण गर्दा ३८ जनाको मृत्यु भयो । डिसेम्बरमा नयाँदिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु भयो ।
२००७ को फेब्रुअरीमा भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट हुँदा ६८ जनाको मृत्यु भयो । नोभेम्बर २००८ को नोभेम्बरमा विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेसन, तारे होटलहरू तथा एक यहुदी साँस्कृतिक केन्द्रमा आक्रमण गर्दा १६६ जनाको मृत्यु भयो ।
२०१६ कोे जनवरीमा पठानकोटस्थित भारतीय वायुसेनाको अखडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनिक र छ विद्रोहीको मृत्यु भयो । २०१६ को सेप्टेम्बरमा कस्मिरस्थित उरीमा रहेको सैन्य अखडामा विद्रोहीद्वारा आक्रमण हुँदा १९ सैनिकको मृत्यु भयो । २०१६ को सेप्टेम्बरमा भारतद्वारा पाकिस्तानी कस्मिरमा सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक’ भयो ।
२०१९ को फेब्रुअरीमा कस्मिरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट गराउँदा ४० सैनिकको मृत्यु भयो । त्यसको लगत्तै भारतीय वायुसेनाद्वारा पाकिस्तानी भू–भागमा आक्रमण गरी लडाकु समूह जैस ए मोहम्मदको शिविर नष्ट गरिएको दाबी गरियो ।
झन्डै सात दशक बितिसक्दा पनि कस्मिरमा जनमतसङ्ग्रह नभएकाले भारतीय संविधानको धारा ३७० को व्यवस्था सान्दर्भिक नभएको हुँदा खारेज गर्नुपर्ने माग सत्तारूढ भारतीय जनता पार्टीले उठाइरहेको थियो ।  भाजपाले सन् २०१४ कै चुनावको घोषणापत्रमा आफूले जिते जम्मु कस्मिरको विशेष मान्यता हटाउने र अयोध्यामा राम मन्दिर बनाउने प्रतिबद्धता गरेको थियो । मोदीले पहिलो कार्यकालमा जम्मु कस्मिरबारे केही निर्णय गर्नुभएन । तर, अहिले दोस्रो कार्यकालका लागि सत्तामा आएपछि प्रतिबद्धताअनुसार जम्मु कस्मिरको विशेष मान्यता हटाउने निर्णय गर्नुभयो ।
भारत नियन्त्रित जम्मु कस्मिर र लद्दाखको कुल क्षेत्रफल एक लाख एक हजार ३८७ वर्ग किलोमिटर छ । जनसङ्ख्या एक करोड ५० लाख छ । त्यसमध्ये झन्डै ६८ प्रतिशत मुस्लिम छन् भने २८ प्रतिशत हिन्दु छन् ।
पाकिस्तानको नियन्त्रणमा रहेको आजाद कस्मिरको क्षेत्रफल १३ हजार २९७ वर्ग किलोमिटर छ भने जनसङ्ख्या झन्डै ४५ लाख छ । सन् १९४७ अघिको जम्मु कस्मिरको केही भू–भाग अहिले चीनको नियन्त्रणमा पनि छ । सन् १९६३ पछि पाकिस्तान नियन्त्रित कस्मिरबाट चीनले पाँच हजार १८० वर्ग किलोमिटर भू–भाग आफूले लिएको छ ।  त्यसलाई अक्साई चीन भनिन्छ ।  हिउँ पर्ने सो भू–भागमा बसोवास छैन ।
अनिश्चितता र अन्योलमा सात दशक बिताएको धर्तीको स्वर्ग भनिने जम्मु कस्मिरको समस्याले अब कस्तो रूप लिने हो हेर्न बाँकी छ ।

(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?