logo
२०८१ बैशाख ७ शुक्रवार



मृत्युको नजिक पुग्दा पनि लेखनमा नै हुनुहुन्थ्यो मदनमणि

विचार/दृष्टिकोण |
कला |


मृत्युको नजिक पुग्दा पनि लेखनमा नै हुनुहुन्थ्यो मदनमणि


जयदेव भट्टराई,

लेखेर नथाक्ने र धेरै लेख्नसक्ने लेखकको परिचय बनाउनु भएका मदनमणि दीक्षित अस्पतालको शय्यामा बस्दा पनि आफ्ना अपूरा कृति पूरा गर्ने सुरसारमा हुनुहुन्थ्यो । निमोनियाका कारण एक साताअघि सुमेरु अस्पताल भर्ना हुनु भएका उहाँले आफ्ना सहयोगी हिमाल जिसीलाई आफूले लेख्दै गरेको जीवनको उहापोह नामक कृति पूरा गर्ने इच्छा व्यक्त गर्नु भएको थियो । साथै, पहिलेदेखि लेख्दै आइरहनु भएको दैनिकीलाई पनि ।

वि.सं १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिनु भएका, झण्डै आठ दशकदेखि लेख्दै आइरहेको उहाँको ९७ वर्षे जीवन काठमाडौंको हिमाल नर्सिंग होममा जनै पूर्णिमाको एकाबिहानै अस्ताएपछि अक्षरका साधक मदनमणि दीक्षितको लेखन थामिन पुग्यो ।

लेख्न सक्दिनँ भन्दाभन्दै पनि निरन्तर लेखिरहेको छु, नलेखी बस्नेै सक्दिनँ । आँखा कमजोर हुँदै छन्, कान कमजोर हुँदै छन्, शरीर गलिसक्यो मलाई थाहा छ म दिन प्रतिदिन मृत्युको नजीक पुगिरहेको छु भन्ने अनुभव भइरहेको छ मलाई । तथापि लेख्ने काम छुट्दैन । लेख्ने कुरा धेरै बाँकी छन् ।

उहाँले भनेजस्तै गर्नुभयो, लेख्ने काम छुटेन, मृत्युको नजीकसम्म आइपुग्दा पनि लेखनमै मन दिनुभयो । सन १९४१ मा बनारस पढ्न बस्दा भागवत गीताको पहिलो अध्यायको नेपाली अनुवाद गरेर थालिएको साहित्ययात्रा मधुपर्क मासिकको २०७६ बैशाख अंकमा प्रकाशित मधु विवाह (अनुभूति) सम्म आइपुग्दा लेखनको इतिहास नै आठ दशकको बन्न पुगेछ ।

पछिल्लो समय मेरी माता (२०७५), जय पराजय (२०७२) नामक कृतिअघि उहाँका कसले जित्यो कसले हार्यो (२०२१), हाम्रा ती दिन (२०२७), मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ (२०३२), लाखौं शिशु लिफ्ट मागिरहेका छन् ।(२०३४), माधवी (२०३९), बर्लिन डायरीका पाना (२०४१), ग्यास च्याम्बरको मृत्यु (२०४२), चरैवेती (२०४४), त्यो युग (२०४७), द्रौपदी र सीता (२०४९), विदुषी गार्गी (२०४९), मेरी निलिमा (२०५०), जेण्डा (२०५१), त्रिदेवी (२०५१), विश्वका प्रथम वैज्ञानिक उद्धालक आरुणी, हाम्रा प्राचीन नारी, भूमिसूक्त (२०५८), श्वेतकाली (२०६०), जय पराजय (२०७२) जस्ता कृति प्रकाशित भइसकेका छन् । उहाँले अनुवाद गर्नु भएको दशलाख हिरोसिमातिर (२०४०), किन्काकुजी (२०४५) आदि कृति प्रकाशित छन् ।
मदनमणि दीक्षितको नाम लिनासाथ धेरैले माधवी, भूमिसूक्त उपन्यासको चर्चा गरिहाल्छन् । पछिल्लो भेटमा उहाँले भन्नुभएको थियो – ‘‘आकारले साना भए पनि मेरा त्रिदेवी, मेरी निलिमा माथिल्लो स्तरका छन् ।’’

नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएर काम गर्दागर्दै नवयुग पत्रिकासँग आवद्ध हुने उहाँले २०१४ सालमा महिनाको तीनसय रुपियाँ तलब खाने गरी हालखबर दैनिकमा जागिर खाएपछि थालिएको पत्रकारको जीवन समीक्षा साप्ताहिकको सम्पादकको रुपमा अलग छवि बनाउँदै २०५२ सम्म निरन्तर चलिरह्यो ।

वि.सं २०१६ सालको चैतदेखि समीक्षा साप्ताहिकमा संलग्न उहाँले आर्थिक अवस्थाको कारण बन्द गर्नुपरेको यथार्थ मात्र होइन पटक पटक गरी नौ पटक समीक्षा बन्द गर्नु परेको, दुई पटक जेल बस्नु परेको, कहिले प्रहरी हिरासतमा रहनु परेको तीतो विगत पनि सँगाल्नु पर्यो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिसम्म बन्नु भएका उहाँले साहित्य साधना र सिर्जनामा मदन पुरस्कार र साझा पुरस्कार (२०३९, माधवी उपन्यासका लागि ), आदिकवि भानुभक्त पुरस्कार, बसुन्धराश्री, शंकर कोइराला स्मृतिपुरस्कार, राष्टिय कलाश्री सम्मान, पहलमानसिंह स्वाँर दीर्घ साहित्य सम्मान, पाण्डुलिपि पुरस्कार आदि पाइसक्नु भएको छ । पत्रकारितामा योगदान दिएबापत् पे्रस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, इमेज एसियन पेण्ट्स मिडिया सम्मान पाउनुभयो ।

साहित्यमा एक से एक कृति सिर्जिएको थलो, समीक्षाको प्रकाशन र सम्पादन हुने थलो काठमाडौंको कालिकास्थानस्थित उहाँको घरमा यतिखेर विवाहउत्सवको ८० वर्ष मनाइसक्नु भएकी उहाँकी जीवनसंगिनी रीता दीक्षित, तीन छोरा–बुहारी, नाति नातिनीहरु आफ्नो अभिभावक गुमाएको पीडा भोग्दै हुनुहुन्छ । नेपाली साहित्य, पत्रकारिता जगत् पनि यस्तै पीडादायी समय भोग्दैछ कलमका दीर्घ साधकलाई गुमाउनुपर्दा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?