logo
२०८१ बैशाख १३ बिहीवार



डेढ महिनामा हात्तीले ९५ घर भत्काए

खुला |
प्रदेश |


डेढ महिनामा हात्तीले ९५ घर भत्काए


बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ १४ गते । सिन्धुली जिल्लामा झण्डै डेढ महिनाको अवधिमा जङ्गली हात्तीको समूहले ९५ वटा घर भत्काएको छ । जिल्लाको दुधौली नगरपालिकाको विभिन्न वडामा ६५ वटा र कमलामाई नगरपालिकाको रानीबासमा ३३ वटा घर तीन वटाको समूहमा रहेका जङ्गली हात्तीले भत्काएको नगरपालिकाले जनाएको छ ।

दुधौली नगरपालिकाको २ मा मात्रै बिहीबार राती जङगली हात्तीले चारवटा घर भत्काएर क्षति पु¥याएको सो वडाका अध्यक्ष रितेस राउतले जानकारी दिनुभयो । जङगली हात्तीको समूहले मानिसको घर भत्काउनुका साथै अन्नपात, खाद्यान्न बाली र फलफूल नष्ट गर्दैआएको उहाँले सुनाउनुभयो ।

नगरपालिकाका अनुसार वडा ३ मा २१ घर, वडा ४ मा एक घर, वडा ६ मा आठ घर, र वडा ११ मा २८ घर भत्काएको छ । हात्ती पीडित परिवारलाई घर मर्मत गर्न नगरपालिकाले क्षति अवस्था हेरी बढीमा २० हजार रुपियाँसम्म नगदसहित प्रतिपरिवार ३० केजी चामल, दुई लिटर तेल, दुई केजी स्वायविन मस्यौरा, नुन एक केजी, दाल दुई केजी र आलु तीन केजी राहत स्वरुप दिने गरेको दुधौली नगरपालिकाका प्रवक्ता वडा अध्यक्ष राउतले जानकारी दिनुभयो ।

यो वर्ष पुस ३ गतेदेखि दुधौली नगरपालिकाको ११ बाट हात्तीको समूहले उपद्रो मञ्चाएर जनजीवनलाई आतङ्कित बनाउदैआएको स्थानीयको भनाइ छ । दुधौली नगरपालिका– ३ कालापानीका बासिन्दा तेजनाथ अधिकारीले हात्तीले आप्mनो घर भत्काउनुका साथै ६ मुरी धान, १६ पाथी चामल र तीन मुरी मकै खाएर र छरेर नष्ट गरेको बताउनुभयो ।

हात्ती पीडित परिवार केही छिमेकको घरमा कोही घर मर्मत गरी बस्न सुरु गरेको उहाँको भनाइ छ । पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी त्रिपाललगायत गैरखाद्य सामग्री सहयोग गरेको छ । डिभिजन वन कार्यालय सिन्धुलीले कोसीटापु राष्ट्रि निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जमा बसाइँ जाने क्रममा ती हात्ती अहिले दुधौली नगरपालिकाको विभिन्न ठाउँमा देखापरेको जनाएको छ ।

कार्यालय प्रमुख थिरबहादुर कार्कीले हात्तीलाई आफ्नो बाटो निर्बाध हिँड्न दिनुपर्ने र जिस्क्याएर आतङ्कित बनाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हात्ती वर्षमा एकदेखि दुई पटक एक निकुञ्जबाट अर्को निकुञ्जमा बसाइँ सर्छन् । यसरी बसाई सर्दा उनीहरुले पुस्तौदेखि प्रयोग गर्दैआएको आफ्नै बाटो (रुट) प्रयोग गर्छन् । सोही क्रममा हात्ती दुधौलीमा देखापरेका हुन् ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?