logo
२०८० चैत्र १५ बिहीवार



झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई सहज

खुला |
प्रदेश |


झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई सहज


राजन रावत
हुम्ला, माघ १४ गते । खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चुबजार जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुल निर्माण भएको छ । कोरोना कहरले पुल निर्माणका लागि सम्झौता भएको तीन वर्षपछि कार्य सम्पन्न भएर सञ्चालनमा आएको हो ।

पुल निर्माणको जिम्मा पाएको कङ्ग्र निर्माण सेवाका स्थानीय प्रतिनिधि कुलबहादुर लामाले कोरोना कहरबीच पुलको निर्माण कार्य पूरा भएको बताउनुभयो । केही तारजाली लगाउन बाँकी भए पनि ९० प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भएको उहाँले बताउनुभयो । हाल सो पुलबाट मानिसहरु आउजाउ गर्न सुरु भएको छ ।

११० मिटर लम्बाइ भएको पुल निर्माणका लागि २०७६ सालमा सम्झौता भएको थियो । एक वर्षमै सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडि बढाएको भए पनि कोरोनाका कारण दुई वर्ष लगातार काम रोक्नुपरेको उहाँले बताउनुभयो । पुलका स्टिलपार्टका सामग्री र पुल जोड्ने मुख्य प्राबिधिक जिल्ला बाहिरबाट ल्याउनुपर्ने भएको कारण कोरोनाको कारण बन्दाबन्दी हुँदा ल्याउन नसकिएपछि पुल निर्माणको कार्य ढिलो भएको बताउनुभयो । ढिलै भएपनि काम सम्पन्न भएको र अब थोरै बाँकी काम पनि केही दिनमै सम्पन्न गरेर हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले चर्चा पाएको गाउँपालिका केन्द्र याङ्चु बजार जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । २०७३ सालबाट सो पुलको माग गरिएको भए पनि २०७६ सालमा मात्र निर्माण सम्झौता भएको थियो । यसअघि पुल नहुँदा पहिले स्थानीयले बनाएको र पछि गाउँपालिकाले लगानी गरेर निर्माण गरिएको तुइनबाट मानिसहरु कर्णाली नदी तर्नुपर्ने बाध्यता थियो । अब पुल निर्माणसँगै त्यो समस्या हटेको उहाँले बताउनुभयो ।

अध्यक्ष रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले पनि कार्यालयमा जाँदा त्यही तुईन तर्दै आउनुभएको थियो । सो तुईन तर्दा तीन जना यात्रुहरु खसेर घाईते हुनुभएको थियो । यो कुरा सार्वजनिक भएपछि २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै गाउँपालिका अध्यक्ष रावललाई पुल निर्माणको कार्य अगाडि बढाउन निर्देशन दिनुभएको थियो ।

तत्कालीन सरकारले देशलाई तुइनमुक्त घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । पुल निर्माणसँगै उक्त गाउँपालिकाका तीनवटा वडाका बासिन्दालाई गाउँपालिका केन्द्र पुग्न सहज भएको छ । त्यसैगरी अन्य सर्वसाधारणले पनि तुइन तर्नुपर्ने बाध्यता हटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?