logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाको तेस्रो लहर : फेरि सुस्तायो पर्यटकीय क्षेत्र

खुला |
पर्यटन |


कोरोनाको तेस्रो लहर  : फेरि सुस्तायो पर्यटकीय क्षेत्र


नवीन शिशिर विक
बागलुङ, माघ १० गते । कोरोनाको दोस्रो लहरपछि तङ्ग्रिदै गरेको पर्यटकीय क्षेत्र फेरि सुस्ताएको छ । कोरोनाको तेस्रो लहर व्यापारुपमा फैलिएपछि जिल्लाका पर्यटकीय क्षेत्रमा चहलपहल कम हुँदै गएको हो । कोरोनाको तेस्रो लहर र मौसमी रुखाखोकी एकै पटक सुरु भएपछि पर्यटकीय क्षेत्रमा आउने जाने आन्तरिक पर्यटकको सङ्ख्यामा कमी हुँदै गएको पर्यटकीय क्षेत्र पञ्चकोटका कार्यालय संयोजक रामबहादुर केसीले बताउनुभयो ।

पहिलो र दोस्रो लहर मथ्थर भएपछि यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रमा चहलपहल बढेको थियो । भर्खर लय फर्किदै गरेको पर्यटक क्षेत्र फेरि ठप्प भएको छ । बागलुङ–पर्वत जोडन कालीगण्डकी नदीमाथि निर्माण गरिएको विश्वकै दोस्रो अग्लो बञ्जी जम्पमा पनि तेस्रो लहरको सिकार बनेको छ । दोस्रो लहरपछि लयमा फर्केको बञ्जी तेस्रो लहरको सुरुवातसँगै मर्कामा परेको छ । गत महिना दैनिक सयौको सङ्ख्यामा बञ्जी पुग्ने पर्यटक यो महिला सुरु भएपछि दैनिक दश÷बाह्र जनामा सीमित भएको छ ।

द क्लिप प्रालिले करिब २८ करोड लगानीमा सञ्चालन गरेको बञ्जी, स्विङ र जिपलाईन अहिले ठप्प जस्तै भएको दल क्लिप प्रालिका व्यवस्थापक विष्णु कार्कीले बताउनुभयो । बलेवा–कुश्मा ओहोरदोहोर गर्ने स्थानीय यात्रुबाहेक अन्य पर्यटक बञ्जी क्षेत्रमा आउने क्रम बन्द जस्तै छ ।

बञ्जी, स्वीङ र जिपलाइन खेल्नको लागि कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । खेल क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गरिएको व्यवस्थापक कार्कीको भनाइ छ । जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चाप घट्दै गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?