logo
२०८० चैत्र १६ शुक्रवार



महोत्सवमा कलाकार नआएको आक्रोशमा आगजनी

चार गाडी र सयौं कुर्सी जले

खुला |
समाज |


महोत्सवमा कलाकार नआएको आक्रोशमा आगजनी
बर्जु महोत्सवमा आक्रोशित भीडले गरेको आगजनी । तस्बिर : गोप


जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ४ गते । सुनसरीको सीमावर्ती गाउँ चिमडीको बर्जु महोत्सवमा उपस्थित हुने भनिएका कलाकार नआएको भन्दै आक्रोशित दर्शकले आगजनी गरेका छन् । जिल्ला सदरमुकाम इनरुवादेखि २२ किलोमिटर दूरीमा रहेको बर्जु गाउँपालिका ६ चिमडीको बर्जु तालमा भारतको बिहारका भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउने भनेर व्यापक प्रचारप्रसार गरिएको थियो । तर, कार्यक्रममा यादव नआएपछि आक्रोशमा दर्शकले मञ्च र केही गाडीमा आगजनी गरेका हुन् ।

बिहानैबाट टिकट काटेर प्रवेश गरेको तर कलाकार यादव नलाउने भएपछि दिउँसो दर्शकले आगजनी गरेको महोत्सवमा सहभागी पत्रकार सुरेन्द्र मेहताले जानकारी दिनुभयो । आगजनीबाट भारतीय नम्बर प्लेट भएका चार वटा स्कारपियो जलेका छन् । भोजपुरी सुपर स्टार कलाकारलाई हेर्न स्थानीय दर्शक बिहानैदेखि दुई सय र तीन सय रुपियाँको टिकट काटेर महोत्सवमा बसेका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पुस २३ गतेदेखि चलेको महोत्सवमा विभिन्न कलाकारको प्रस्तुति हुँदै आएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?